दिनदिनै घट्न थालेको शोधनान्तर बचतले देशको अर्थतन्त्रलाई नकारात्मक दिशामा लैजान्छ। दुई वर्षअघि शोधनान्तर घाटामा जाँदा अर्थतन्त्रका अन्य गतिविधि सुस्ताएर आर्थिक वृद्धि दरसमेत झरेको थियो। व्यापार घाटा फराकिलो भएको, रेमिट्यान्सको वृद्धि दर घटेको, पर्यटन आयमा कमी आएको जस्ता कारणले शोधनान्तर बचतमा उच्च गिरावट आएको हो। खासगरी सिमेन्ट तथा पाइपको आयात बढेर ठूलो रकम बाहिरिएको छ। यसबाहेक पेट्रोलियम पदार्थको आयातमा पनि ठूलो रकम बाहिरिने गरेको छ।
कात्तिकसम्म कुल वस्तु व्यापार घाटा ३६.३ प्रतिशतले बढेर १५२ अर्ब ३८ करोड पुगेको छ। कुल वस्तु व्यापार घाटामध्ये भारतसँंगको घाटामात्र ३९.३ प्रतिशतको उच्च दरले वृद्धि भएकोे छ। त्यसैगरी विदेश पढ्न जाने विद्यार्थीले लैजाने रकमको आयतनमा पनि वृद्धि भएको छ। रेमिट्यान्सको वृद्धि दरमा कमी आउनुका साथै पूर्ण बजेट नआउँदा वैदेशिक सहयोग तथा ऋण पनि घटेको छ।
रेमिट्यान्सको वृद्धि दर ३४.२ प्रतिशतबाट घटेर २३.४ मा झरेको छ। कात्तिकसम्म १२७ अर्ब ३५ करोड रेमिट्यान्स भित्रिएको छ। कात्तिकसम्म सरकारलाई वैदेशिक नगद ऋणवापत् ७० करोड १३ लाख र वैदेशिक नगद अनुदानवापत् ४ अर्व ५९ करोडमात्र प्राप्त भएको छ। अघिल्लो वर्ष यतिबेला वैदेशिक नगद ऋणवापत १ अर्व ५५ करोड र वैदेशिक नगद अनुदानवापत् ११ अर्ब ५२ करोड प्राप्त भएको थियो।
पर्यटकबाट हुने आम्दानी रकमसमेत घटेका कारणले पनि शोधनान्तर बचतमा कमी आएको हो। पछिल्लो समय पर्यटक बढिरहेको र होटलको शुल्क बढिरहेका बेला आय भने घट्नु तर्कसंगत छैन। शोधनान्तर बचत घट्दा स्वदेशमा लगानीमा संकुचन आउँछ। यसबाट रोजगारी सिर्जना घटेर आर्थिक वृद्धिदर घट्न थाल्छ। बैंक तथा वित्तीय संस्थाहरुमा तरलता अभाव हुन थाल्छ। जसले गर्दा ऋण लगानी हुन सक्दैन। ऋण लगानी नभएपछि उद्यमशीलतामा कमी आउने निश्चित छ। शोधनान्तर घाटा भएका मुलुकहरुको साख पनि घट्छ। आयातको वृद्धि दर बढ्दै गएमा आगामी महिना शोधनान्तर घाटामा जाने निश्चित छ।
शोधनान्तर बचत बढाउनका लागि निर्यात नै बढाउनुपर्ने हुन्छ। निर्यातजन्य उद्योगलाई बढावा दिँदै पर्यटनको विकास गर्न सकेमा मुलुकले विदेशी मुद्रा राम्रोसँग आर्जन गर्न सक्छ। अघिल्लो वर्षभन्दा निर्यात केही बढे पनि आयात फराकिलो भएका कारण शोधनान्तर बचतमा कमी आएको हो। निर्यात ११ प्रतिशतले बढ्दा आयात ३२ प्रतिशतले वृद्धि भएपछि यस्तो स्थिति आइलाग्नु स्वाभाविकै पनि हो। अर्कोतर्फ पर्यटनबाट भइरहेको आयलाई राष्ट्रिय खातामा देखाउन नसक्दा पनि बचत घट्न गएको हो। पर्यटन आयमा भएको चुहावटलाई नियन्त्रण गर्नसके यसबाट केही राहत मिल्ने देखिन्छ।
प्रकाशित: १ पुस २०६९ २२:५३ आइतबार

