८ वैशाख २०८१ शनिबार
विचार

क्वारेन्टाइनमा मानव अधिकार

कोभिड–१९ का कारण हिजोआज हरेक मानिसको दैनिकी नजानिँदो तरिकाले बदलिएको छ। मानिसले बन्दाबन्दी भन्दा अगाडि बनाएका आफ्ना सबै योजना खोलाले बगाएसरह भए। अहिले हरेक व्यक्तिको जीवनदेखि लिएर संसारै शून्यमा अड्किएको छ। खुलेर जिउन पाइएको छैन। साथीभाइ भेला भएर रमाइलो गरौँ भन्ने छैन। अफिसमा गएर काम गर्न नपाउँदा साथीभाइ नै विराना भइसके। अफिस विरानो भयो। गाउँघर, इष्टमित्र कस्ता भए पत्तो छैन। एउटा कम्पाउन्डभित्रको यो झण्डै चार महिनाको समयावधि कैयौँ दशक जस्तो लागिसक्यो। डिजिटल प्रविधिको भरमा दैनिकी चलेको छ। जुम मिटिङ, अनलाइन प्रविधिबाट गरिने अफिसियल काम, जीवन उदेकलाग्दो भइसक्यो। एक किसिमको निरस, केही गर्न मन नलाग्ने, न सुत्ने उठ्ने ठेगान, न खाने ठेगान न कुनै दैनिकीकै ठेगान। रोगको डर, भोकको डर, डरैडर अरे वा समय। यस्तो पनि दिन आँउदो रहेछ कहिलेकाहीँ जीवनमा। यस्तो दिनचर्या कहिलेसम्म हो, ठेगान भएन।  

बन्दाबन्दीको यो समयमा मेरो जस्तै जीवन सबैको नहुन पनि सक्छ। कसैलाई चाहेर नचाहेर आफ्नो कर्मथलो छाडेर जन्मथलोतिर जानुपरेको छ। किनकि आखिरी चाहिने त हरेक व्यक्तिलाई घर नै हो। विभिन्न कारणले एक ठाउँबाट अर्को ठाउँमा हिँड्नुपर्ने बाध्यता पनि छ मानिसलाई। भारतबाट, तेस्रो मुलुकबाट तथा अन्य मुलुकबाट स्वदेश फर्किएका तथा नेपालभित्र पनि एक जिल्लाबाट अर्को जिल्लामा प्रवेश गरेका मानिस गम्भीर स्वास्थ्यका दृष्टिकोणले अहिले अनिवार्यरूपले तोकिएको समयावधिमा क्वारेन्टाइनमा बस्नुपर्ने बाध्यात्मक अवस्था छ। यसै कुरालाई मध्यनजर गरी हरेक स्थानमा क्वारेन्टाइनको व्यवस्था गरिएको छ। सरकारले आवश्यकताअनुसार अहिले विभिन्न ठाउँमा, विभिन्न स्थानलाई क्वारेन्टाइन बनाएको छ– स्कुल, सरकारी भवन तथा कतै नयाँ क्वारेन्टाइनस्थल पनि बनेका छन्।  

यसरी आवश्यकताअनुसार बनाइएका क्वारेन्टाइन कत्तिको मानव अधिकारमैत्री छन् त ? कत्तिको लैंगिकमैत्री छन् त तथा कत्तिको अपांगमैत्री छन् त भनेर आकलन गर्नु त्यति नै चासो र आवश्यकताको विषय हो। क्वारेन्टाइन भन्दैमा मानिसलाई भेडाबाख्रा हुले जसरी एउटा कोठाभित्र हुल्नु मानव अधिकारमैत्री अवस्था कदापि हुन सक्दैन। त्यस्ता क्वारेन्टाइनमा कम्तीमा उचित गाँस, बास र कपासको व्यवस्थासहित मानिसले सम्मानपूर्वक बस्न र बाँच्न पाउने वातावरणसहितको क्वारेन्टाइन हुनु आवश्यक मानिन्छ।  

क्वारेन्टाइनको व्यवस्थापकीय पक्ष एकदमै चुस्त र दुरुस्त हुनु अति नै आवश्यक छ जहाँ कुनै पनि व्यक्ति भयरहित, विनाभेदभावपूर्ण व्यवहारले सम्मानपूर्वक बस्न सकोस्।

क्वारेन्टाइन बनाउनु मात्र ठूलो कुरा होइन। यहाँ बस्नेले खाने खानाको गुणस्तर कस्तो छ ?, बस्ने कोठा प्रशस्त हावा पास हुनेखालका फराकिला छन् कि छैनन् ?, सुत्न आरामदायक विस्तारा, झुल छन् कि छैननु ? स्वच्छ पानी, सुरक्षित नुहाउने स्थान, साबुन, टावेल, स्यानिटाइजर, महिलाका लागि स्यानिटरी प्याड, स्वास्थ्य स्वयंसेविका, डाक्टर र सुरक्षाकर्मीको व्यवस्था, सूचना तथा सञ्चारको पहँुच, मनोविमर्शकर्ता आदि जस्ता अति आवश्यक व्यवस्था भए÷नभएको हेक्का राख्नु आवश्यक छ। यी यावत् न्यूनतम सुविधा भएको खण्डमा मात्र क्वारेन्टाइनलाई मानव अधिकारमैत्री मान्न सकिन्छ। सरकारले पनि क्वारेन्टाइन कस्तो हुनुपर्छ भनेर न्यूनतम मापदण्ड तयार पारेको छ जसलाई अवलम्बन गर्दा धेरै कुरा सही हुन जान्छ।  

यो त भयो एउटा मानव अधिकारमैत्री क्वारेन्टाइनको कुरा। यो भन्दा पनि अझ जटिल कुरा त्यस्ता क्वारेन्टाइन कत्तिको लैंगिकमैत्री तथा अपांगमैत्री छन् भन्ने हो। महिलाका लागि अलग्गै क्वारेन्टाइन हुनुपर्छ। अलग्गै शौचालय, नुहाउने ठाउँ तथा रातको समयमा महिला सुरक्षाकर्मी हुनुपर्छ। साथै अपांगता भएका व्यक्तिका आवश्यकताअनुसार अपांगमैत्री संरचनाको पनि ख्याल राख्नुपर्छ। महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिका आवश्यकता मनन गरी सोही किसिमले क्वारेन्टाइन व्यवस्था गर्न सकेमात्र न्यायोचित मानिन्छ।  

क्वारेन्टाइन गर्भवती, सुत्केरी तथा अशक्तहरूका लागि पनि सम्बोधन गर्ने किसिमका हुनुपर्छ। कुनै आपत्कालीन अवस्था आइपरेमा तुरुन्तै सम्बोधन गर्नुपर्ने भएकाले त्यहीअनुसारको अवस्था मिलाउनुपर्छ। जस्तै– कोही सिकिस्त भएमा तुरुन्तै अस्पताल लान एम्बुलेन्स तयारी अवस्थामा राख्ने। किनकि कतिपय क्वारेन्टाइनबाट बिरामीलाई समयमै अस्पताल पु¥याउन नसक्दा मृत्यु भएको हामीले सुनेका छौँ।  

त्यस्तै क्वारेन्टाइनको व्यवस्थापकीय पक्ष एकदमै चुस्त र दुरुस्त हुनु अति नै आवश्यक छ जहाँ कुनै पनि व्यक्ति भयरहित, विनाभेदभावपूर्ण व्यवहारले सम्मानपूर्वक बस्न सकोस्। हामीले कतिपय सञ्चार माध्यममार्फत थाहा पाएका छौँ कि क्वारेन्टाइनमा जातीय भेदभाव भएको, बलात्कार भएको अनि न्यूनतम आवश्यकता पनि पूरा नगरिएका।

केही दिनपहिले एउटा अनलाइन न्युजमा पढेकी थिएँ– भारतको उत्तर प्रदेशस्थित एउटा क्वारेन्टाइनको जिम्मेवार व्यक्तिले शारीरिक सम्पर्क गर्न दिएपछि मात्र खाना खान दिने सर्त राखेको। भलै नेपालमा यस्तो समाचार त बाहिरिएको छैन तर पनि के थाहा र बाहिर नआएको पो हो कि ?  

हामीकहाँ पनि केही समयपहिले कैलालीको लम्की चुहा नगरपालिका–१ पूर्वी लम्कीस्थित सहिद स्मृति मा.वि.को क्वारेन्टाइनमा ३ जनाले एक महिलामाथि सामूहिक बलात्कार गरेका घटना बाहिरिएको थियो। यसले देखाउँछ कि हाम्रा क्वारेन्टाइन पनि सुरक्षित छैनन्।

कोरोनाका कारण सिर्जित बन्दाबन्दी हामी सबैका लागि नौलो अनुभव हो। यस्तो भयाबह अवस्थामा आफ्नो जीवन जोगाउनु नै सबैभन्दा महत्वपूर्ण हुन्छ। यस्तो महामारीको अवस्थामा जनधनको ठूलो क्षति हुन नदिन सरकारले अवलम्बन गर्ने आवश्यक सुरक्षा नीति तथा कार्यक्रम पनि नयाँ छन्। आवश्यकताअनुसार सिक्दै जाने हो। यस कारण हामी सबैसामु आएको यो नयाँ चुनौतीको डटेर सामना गर्नु हरेकको जिम्मेवारी हो। त्यसैले क्वारेन्टाइनमा रहेका कमजोरी सुधार्दै जानुपर्छ। यसबाट सबैभन्दा बढी कार्यबोझ स्थानीय सरकारलाई परेको देखिन्छ किनकि विदेश तथा स्वदेशका पनि शहरबाट गाउँमा मानिस बढी फर्केका छन्। यसबाट स्थानीय सरकार पनि संयम भएर समस्याको सामना गर्न तयार रहनुपर्छ। र, मुख्य ध्यान क्वारेन्टाइनमै हुनुपर्छ।  

क्वारेन्टाइनका सम्बन्धमा अहिलेसम्म जे÷जस्ता कमी÷कमजोरी रहे तापनि तिनै कमजोरीबाट सिक्दै अब सम्बन्धित जिम्मेवार पक्षले आजैदेखि हाम्रा क्वारेन्टाइनलाई मानव अधिकारमैत्री, महिलामैत्री, अपांगमैत्री बनाउनै पर्छ। साथै क्वारेन्टाइनलाई भयरहित, विभेदरहित बनाउँ। जहाँ बस्ने हरेक व्यक्तिले तोकिएको समय आत्मसम्मानका साथ बिताउन सकोस्। सुरक्षित महसुस गरोस्। यहाँ बिताएको अवधि जीवनभर सकारात्मक तरिकाले सम्झिरहन पाओस्। यो विषम परिस्थितिमा हामी सबै संवेदनशील भई सकेसम्म क्षतिको आकार घटाउन लाग्नुपर्छ। ‘आफू बचौँ र अरूलाई पनि बचाऔँ’ भन्ने भावनाका साथ आवश्यक सुरक्षा नीति अवलम्बन गरौँ। यो महामारीको युद्ध जितौँ।  

(मानव अधिकारकर्मी)

प्रकाशित: १८ आश्विन २०७७ ०२:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App