coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

परामर्श होइन भोकको उपचार

विश्वव्यापी कोरोना कहरले मनोसामाजिक समस्या बढिरहेको छ । भय र निराशाको आयतन बढ्दै जाँदा मानसिकरूपमा विचलित हुने क्रम बढेको छ । मानसिक विचलनकै फलस्वरूप मानिसमा डिप्रेसन, असामान्य व्यवहार र आत्महत्यासम्मको समस्या बढेको छ । आर्थिक तथा सामाजिक असुरक्षाको अनुभूतिले गर्दा मानिसमा भय र चिन्ता बढ्ने र अन्ततः त्यही कारण मानिसमा मानसिक समस्या बढ्ने हो । त्यसैले त्यस्तो भय र चिन्ता बढ्न नदिनेतर्फ ध्यान दिनु आवश्यक हुन्छ । यस्तो समस्या उत्पन्न हुन नदिन अथवा यस्तो समस्यालाई न्यूनीकरण गर्न आपसमा सहयोगी भावनाको खाँचो हुन्छ । सहयोगी भावनाले एकआपसमा भरोसा पैदा गर्छ । यस्तो भरोसाको अनुभूतिले भय र चिन्ता कम गरी मानसिक समस्या न्यूनीकरण गर्छ ।  

‘कोरोनाका कारण मान्छेमा भय बढ्यो, डिप्रेसनले सतायो । यसलाई हटाउन सक्रिय भूमिका खेलिदिनुप¥यो’ भन्दै गत भदौ २३ गते आयोजित एक छलफल कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नै मनोविद् र मनोचिकित्सकहरूसँग आग्रह गरेका थिए । कोरोना कहरकै कारण आत्महत्या, डिप्रेसन, चिन्ताजन्य विकार आदि समस्याले विकराल रूप लिइरहेको अवस्थामा देशका प्रधानमन्त्रीले यसरी चासो लिनु सराहनीय कार्य हो । तर कोरोना कहरले सिर्जना भएको मानसिक विचलनको अन्त्य मनोविद् अथवा मनोचिकित्सकसँगको परामर्शले मात्रै सम्भव हुँदैन । कोरोना कहरका कारण आर्थिक गतिविधि ठप्प हुँदा यतिखेर आममानिसको रोजगारी प्रभावित भएको छ । आयआर्जन ठप्प भएको छ । विशेषगरी दैनिक आयआर्जन गरी हातमुख जोर्नुपर्ने न्यून वर्गका मानिसको दैनिकी प्रत्यक्ष प्रभावित भएको छ । त्यसैले यतिखेर आममानिसलाई आर्थिक तथा सामाजिक सुरक्षाको खाँचो छ ।  

भयमुक्त समाज निर्माण गर्न आर्थिक गतिविधिलाई निरन्तरता दिँदै रोजगारी अथवा स्वरोजगारीको अवस्था सिर्जना गर्नु जरुरी छ । लामो समयसम्मको बन्दाबन्दी र निषेधाज्ञाले आर्थिक गतिविधि गम्भीररूपमा प्रभावित भएको छ । गरिब मानिस झन् गरिब भएका छन् । न्यून आय वर्गका मजदूर अझ बढी प्रभावित भएका छन् । दैनिक ज्यालादारी गरी खानेहरू अझ बढी प्रभावित भएका छन् । खाइ/नखाइ साँचेर राखेको दुई चार पैसा पनि बन्दाबन्दी र निषेधाज्ञा जस्ता आयआर्जन नहुँदाका दिनहरूमा खाएर सकिएपछिका दिनहरू यस्ता मजदूरले भोकभोकै बिताउनुपरेको अवस्था छ । भारी बोक्ने सूर्यबहादुर तामाङ र मजदूरी गर्ने मलर सदाले भोककै कारण ज्यान गुमाएका छन् भने अरू धेरै सूर्यबहादुर र मलरहरू पनि भोकले मर्ने स्थितिमा पुगेका छन् । भोकको पीडा असह्य हुन्छ । खुलामञ्चमा निःशुल्क खाना खानेहरूको लाइनले भोकाहरूको संख्या बढेको संकेत गर्छ ।  

भोकको पीडा असह्य हुन्छ । खुलामञ्चमा निःशुल्क खाना खानेहरूको लाइनले भोकाहरूको संख्या बढेको संकेत गर्छ ।

कोरोना कहरकै बेला आत्महत्या गर्नेहरूको संख्या पनि बढेको प्रहरीको तथ्यांक छ । आत्महत्या गर्नुको प्रत्यक्ष कारण कोरोनामात्रै नभई कोरोनाको कारण सिर्जना भएको शून्य आर्थिक गतिविधि र त्यसले सिर्जना गरेको बेरोजगारी र शून्य आयले गर्दा बढेको आर्थिक असुरक्षा मुख्य कारण हो । रोगले त बिस्तारै मार्ने हो तर भोकले त छिट्टै मार्दोरहेछ । त्यसैले भोकको पीडा सहन नसकेर अथवा भोकले तड्पिएर छटपटाएका छोराछोरीको अँध्यारो अनुहार हेर्न नसकेर धेरै बाबु र आमाले आत्महत्या गरेका छन् । कसैकसैले सामूहिक आत्महत्या नै गरेका छन् । रोगको चिन्तालाई मनोपरामर्श, सान्त्वना र सहानुभूतिले केही कम गर्न सक्छ तर भोकको चिन्तालाई यसले केही पनि कम गर्न सक्दैन । भोकलाई शमन गर्न भोजन नै चाहिन्छ । भोजनको व्यवस्था गर्न नसकेर नै भोकको रनाहामा परेर मानिसले आफ्नै जीवन समाप्त पार्ने हुन् । त्यसैले आत्महत्या मानसिक समस्यामात्रै नभई भोकको पीडाले सिर्जना गरेको बाध्यता हो ।  

अहिले कोरोना महामारीका कारण बढेको मानसिक समस्या महामारी अन्त्यपछि पनि केही वर्षसम्म रहिरहने देखिन्छ । आर्थिक गतिविधि पूर्णरूपमा पुरानै लयमा नफर्केसम्म र आममानिसले आयआर्जन गरी दैनिक आधारभूत आवश्यकताका रूपमा रहेको भोजनको व्यवस्था गर्ने अवसर सिर्जना नभएसम्म मानसिक विचलनको समस्या कायम रहिरहने देखिन्छ ।

मनोविद् र मनोचिकित्सकहरूका अनुसार कोरोना कहरकै बेला मन डराउने, आत्तिने, छट्पटिने, मन उदास हुने, जाँगर नआउने, चिड्चिडापन, निद्रा नलाग्ने जस्ता समस्या धेरै मानिसमा देखिएको छ । यद्यपि यस्तो समस्या विशेषगरी न्यून आय वर्गका मानिसमा बढी देखिएको छ । आम्दानीको निश्चित स्रोत नभएका, रोजगारी संकटमा परेका, बेरोजगार बनेका, आम्दानी शून्य भएका धेरै मानिसमा यो कोरोनाकालमा उल्लिखित समस्या देखिएको छ । यस्तो समस्या देखिनुको मूल कारण आर्थिक तथा सामाजिक असुरक्षा नै हो । एकातिर आर्थिक असुरक्षाले त्यस्ता मानिस मानसिक तनावमा छन् भने अर्कोतिर कोरोना संक्रमण पुष्टि भएका र निजको परिवारका सदस्य र आफन्तहरूमा सामाजिक उपेक्षाको सिकार हुनुपर्ने भय उत्तिकै छ । कसैलाई रोगको भन्दा भोकको चिन्ता छ भने कसैलाई रोगको भन्दा समाजको डर छ । अनि भविष्यको पनि चिन्ता छ । हो, यही चिन्ता र डरले धेरै मानिसमा मनोसामाजिक विकार उत्पन्न भएको छ । त्यसैले आर्थिक र सामाजिक सुरक्षाको प्रत्याभूति नहुँदासम्म कोरोनाकालमा मात्रै होइन योभन्दा अघि र पछि पनि धेरै मानिसमा मानसिक समस्या देखिने निश्चित छ ।

कोरोना कहरमा मनोपरामर्शको आवश्यकता पर्ने र पारिवारिक तथा सामाजिक सहयोगको खाँचो पर्ने मनोचिकित्सकहरूले बताउने गरेका छन् । कुरा सही नै हो तर मनोपरामर्शका क्रममा मनोविद् वा मनोचिकित्सकहरूले सम्झाइबुझाइ गरुन्जेल मनको भय र चिन्ता अलि कम होला । तर जसलाई भान्सामा रित्ता भाँडाकुँडा हेर्नुपर्ने बाध्यता छ र साँझ÷बिहान भोकै बस्नुपर्ने अवस्था छ ऊ चिन्ता नलिइ कति बेर बस्न सक्छ ? उसलाई मनोविद्ले दिएको परामर्शले कति बेर काम गर्छ ? भान्सामा रित्ता भाँडा देखेपछि अथवा भोकले टुलुटुलु आफैँलाई हेरिरहेका सन्तानको टीठलाग्दो अनुहार देखेपछि र आफ्नै पनि पेट भोकले मडारिएपछि कतिन्जेल चिन्ता नलिइ बस्न सकिन्छ ?

यतिखेर धेरै मानिसलाई परामर्श, सान्त्वना र सहानुभूतिभन्दा पनि भोक शमन गर्ने आधार चाहिएको छ । रोगले भन्दा भोकले मर्ने तनावमा रहेका मानिसलाई मनोपरामर्शले मात्रै केही असर गर्दैन । भोक मेट्ने साधन उपलब्ध नभएसम्म उसको तनाव अन्त्य हुँदैन । अनि त्यो तनाव अन्त्य नभएसम्म मानिसमा देखिएको मानसिक समस्याको पनि अन्त्य सम्भव छैन । यतिखेर दैनिक ज्यालादारी गरी खाने मजदूरमात्रै होइन, रोजगारी गुमाएका अरू धेरै पेसाकर्मी पनि आर्थिक असुरक्षाको भयले तनावमा छन् । भोको मानिसले जतिसुकै सुन्दर फूललाई पनि कुरूप देख्छ किनभने त्यो फूल खाएर पेट भर्न सकिन्न । बरु बासी नै भए पनि एक छाक भातलाई उसले सुन्दर देख्छ । उसलाई त्यो भातको सौन्दर्यले लोभ्याउँछ ।  

यतिखेर मानिसलाई मनोपरामर्शको भन्दा भोक शमन गर्ने वस्तुको बढी आवश्यकता छ । मनोपरामर्शको कुरा त विज्ञहरूका हुन् । त्यो उनीहरूको पेसा हो र परामर्शको आवश्यकता देख्नु उनीहरूको पेसागत धर्म हो । पहिलो आवश्यकता भनेको भोकलाई मार्नु नै हो । त्यसैले आर्थिक सुरक्षालाई मजबुत बनाउन सके धेरै हदसम्म मानसिक समस्या कम हुन्छ । भोकै सुत्नु पर्दैन भने समाजले भन्ने कुरामा पनि मानिसले त्यति वास्ता गर्ने छैनन् । आर्थिक सुरक्षा बलियो छ भने रोगसँग लड्ने आत्मबल पनि आफैँ दरो बन्छ । जो गरिब छ, जसलाई साँझ÷बिहान खानकै समस्या छ, उसैको आत्मबल कमजोर हुने हो र उसैलाई रोगले बढी आक्रान्त पार्ने हो । संसारमा जति मान्छे रोगले मरिरहेका छन्, त्यो भन्दा बढी भोकले मरिरहेका छन् । विश्वभरि ८२ करोडभन्दा बढी मानिस भोकमरीबाट पीडित रहेका र दैनिक २५ हजारभन्दा बढी मानिसको मृत्यु भोककै कारण हुने गरेको संयुक्त राष्ट्र संघको तथ्यांक छ । त्यसैले चिन्ता रोगको होइन, भोकको छ । भोकको चिन्ता हटाउन सके रोगको प्रभाव पनि कम हुनेछ ।

भोक लागेपछि छटपटी हुन्छ । निद्रा लाग्दैन । शरीर गल्छ । अनि नलाग्नुपर्ने रोगले पनि समात्छ र च्याप्छ । त्यसपछि मानिस मर्छ । अहिले धेरै मानिसलाई यस्तै भइरहेको छ । रोगको भन्दा भोकको छटपटी बढी छ । भोकको पीडाले रन्थनिँदै हिँडेको मानिस बौलाहाभन्दा कम हुँदैन । उसले जे पनि गर्न सक्छ । उसको मनोदशा अस्थिर हुन्छ । उसको सोच अस्थिर हुन्छ । अनि उसको व्यवहार नै असामान्य हुन्छ । यसैलाई मनोविद्हरूले मानसिक समस्या भन्छन् भने यो रोगको कारण देखिएको समस्या होइन, भोकको कारण देखिएको हो । भोकले रन्थनिएर घरभित्रै निसास्सिएर बस्न बाध्य मानिसको संख्या धेरै छ, जो पागलझैँ सडकमा मनलाग्दी हिँड्न पनि सक्दैनन् । भोकको पीडाले जन्माएको मनोसामाजिक पीडाको आयतन अथाह छ जुन कोरोनाको पीडाभन्दा अझ बढी पीडाडायी छ ।  

यतिखेर मानिसमा जति मानसिक समस्या देखिएको छ, त्यो भोकको भय र भविष्यको चिन्ताले भएको हो । भोकको भय र भविष्यको चिन्ता मानसिक रोग होइन । त्यसैले यतिखेर मानसिक रोगको उपचारभन्दा भोकको उपचार जरुरी छ । भोकको उपचार भोजन हो, मनोचिकित्सा वा मनोपरामर्श होइन ।

प्रकाशित: १६ आश्विन २०७७ ०२:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App