८ कार्तिक २०७७ शनिबार
विचार

कोभिड–१९ खोप विकासमा हतारो

अनिल पोखरेल/ सरोज खड्का

करिब दश महिनाअघि चीनको वुहानमा अज्ञात भाइरसका कारण केही व्यक्तिमा देखिएको निमोनिया हुँदै सुरु भएको कोभिड–१९ संक्रमणले यतिबेला महामारीको रूप लिइसकेको छ। हालसम्म विश्वभर तीन करोड भन्दा बढी मानिस कोभिड–१९बाट संक्रमित भइसकेका छन् भने नौ लाख भन्दा बढीले ज्यान गुमाएका छन्। दोहोरो अंकको आर्थिक वृद्धि दर अपेक्षा गरेका राष्ट्रहरू महामारीकै कारण ऋणात्मक वृद्धिदरमा संकुचित भएका छन्। संक्रमण नफैलियोस् भनेर अपनाइएको सतर्कताका विभिन्न उपायले गर्दा हामी सबैको दैनिकीमा परिवर्तन आएको छ र निकट भविष्यमै यो सामान्य अवस्थामा फर्किहाल्ने देखिँदैन। यिनै तमाम समस्याबाट पार पाउने एउटा महत्वपूर्ण समाधानको सूत्रका रूपमा कोभिड–१९ विरुद्धको सम्भावित खोपलाई लिइएको छ। यो खोप चाँडो बनेको खण्डमा नयाँ संक्रमितको संख्यामा कमी ल्याउँदै अन्ततः महामारीलाई नियन्त्रणमा ल्याउन सकिन्छ। यसका साथै महामारीका कारण आगामी वर्षहरूमा पर्न सक्ने थप सामाजिक तथा आर्थिक हानि/नोक्सानी पनि कम गर्न सकिन्छ।  

विश्वभर जुन गतिमा कोरोना भाइरस (सार्स सिओभी–२) फैलिएको थियो त्यति नै तीव्र गतिमा यस रोगविरुद्धको खोप विकाससम्बन्धी अनुसन्धान तथा परीक्षणहरू पनि भइरहेका छन्। हाल सयभन्दा बढी खोप विकासको क्रममा छन् भने ३८ वटा खोप मानव परीक्षणका विभिन्न चरणमा छन्। यस्तै पाँचवटा (चिनिया४ र रुसि १) खोपलाई केही देशले सीमित उपयोगका लागि अनुमति दिएका छन्। यद्यपि परीक्षणका सम्पूर्ण चरण नसकिएका कारण कुनै पनि खोपले पूर्ण स्वीकृति भने पाएका छैनन्।  

एउटा प्रभावकारी र सुरक्षित खोप तयार पार्न धेरै अनुसन्धान तथा परीक्षण आवश्यक पर्छ। कुनै पनि खोप निर्माण गर्दा भाइरसको कुन भाग प्रयोग गरे अधिकतम प्रतिरोधात्मक क्षमता विकास हुन्छ, विकास गरिएको खोप मानव प्रयोगका लागि सुरक्षित छ वा छैन, प्रयोगपछि के/कस्ता सामान्य र दुर्लभ प्रतिकूल असरहरू देखिनसक्छ, खोपको उपयुक्त मात्रा कति हो आदि कुरा निक्र्याेल गर्दै जाँदा खोप विकासमा लामो समय लाग्ने गर्छ। सामान्यतया एउटा खोप प्रयोगशाला हुँदै स्वीकृति पाएर बजारसम्म आउनलाई ८ देखि १० वर्ष वा बढी समय लाग्न सक्छ। तथापि विज्ञान र प्रविधिमा भएको विकास तथा विभिन्न क्षेत्रबाट एकैसाथ भइरहेको प्रयासका कारण कोभिड–१९को खोप नै हालसम्मकै छिटो विकास भएको खोप हुने बाटोमा छ।  

विज्ञान र प्रविधिमा भएको विकास तथा विभिन्न क्षेत्रबाट एकैसाथ भइरहेको प्रयासका कारण कोभिड–१९ को खोप नै हालसम्मकै छिटो विकास भएको खोप हुने बाटोमा छ।

कोभिड–१९को खोप चाँडो उपलब्ध गराउनकै लागि खोप निर्माताहरू मानव परीक्षणको एउटा चरणको नतिजा नआउँदै अर्को चरण सुरु गरेर अघि बढिरहेका छन्। अर्कोतर्फ परीक्षण सफल भएपश्चात संसारभरलाई पुग्ने मात्रामा खोप उत्पादन गर्न समय लाग्ने भएकाले केही खोप निर्माता कम्पनीहरू परीक्षण सकिनुअगावै खोप उत्पादनमा लागिपरेका छन्। यसले गर्दा तेस्रो चरणको परीक्षणमा अपेक्षाकृत नतिजा आएमा कोभिड–१९को जोखिम समूहमा रहेका व्यक्तिहरूसम्म विनाकुनै ढिलाइ तुरुन्तै खोप पु-याउन सकिन्छ। तर मानव परीक्षणमा नतिजा कस्तो आउँछ भन्ने कुरा अगाडि नै आकलन गर्न नसकिने भएकाले खोप निर्माताहरू नतिजाअगावै उत्पादन सुरु गर्नतर्फ लाग्दा अर्बौँको लगानी खेर जाने सम्भावना पनि छ।  

कोभिड–१९को सुरक्षित खोप विकासमा राजनीतिक प्रभावले पनि थप चुनौती थपिएको देखिन्छ। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले हालसालै ‘स्पुत्निक ५’ नामक खोपलाई सर्वसाधारणमा प्रयोगका लागि स्वीकृति दिएको घोषणा गर्नुलाई यसैको एउटा उदाहरण मान्न सकिन्छ। कोभिड–१९को खोप विकास गरी स्वीकृति दिने पहिलो राष्ट्र बन्दै लोकप्रियता बढाउने होडमा लाग्दा रुसले आफ्ना नागरिकको स्वास्थ्यलाई जोखिममा पारेको भनाइ विज्ञहरूले राखेका छन्। यस खोपलाई स्वकृति दिनुपूर्व मानव परीक्षणका तीन चरणमध्ये पहिलो दुई चरण मात्र पूरा गरिएको छ जसमा सयभन्दा कम मान्छे मात्र समावेश गरिएको थियो। कुनै खोप प्रभावकारी र सुरक्षित छ कि छैन भन्ने निष्कर्ष निकाल्नलाई यो संख्या एकदमै कम हो। यस्तो निष्कर्ष निकाल्नलाई हजारौँ सहभागीमा तेस्रो चरणको परीक्षण गरिन्छ र सम्भाव्य असरलाई लामो समयसम्म निगरानी गरिन्छ। रुसले यही चरणको परीक्षणलाई ‘कोभिड–१९को पहिलो स्वीकृत खोप’ भन्ने घोषणा गरेपश्चात बल्ल सुरु गरेको छ।  

खोप परीक्षणका क्रममा केही दुर्लभ प्रतिकूल असर तुरुन्तै नदेखिएर केही महिना वा वर्ष दिनपछि मात्र देखिन सक्छ। यसैगरी महामारी सुरु भएको वर्षदिन पनि नपुगेको अवस्थामा संक्रमणपछि मानिसमा रोग प्रतिरोधात्मक क्षमता कति समयसम्म कायम रहन्छ भन्ने ठोस जानकारी अनुसन्धानहरूबाट आउनै बाँकी छ। यसरी हेर्दा यदि खोप सुरक्षित नै भए पनि यसको प्रयोगबाट विकास भएको रोग प्रतिरोधात्मक क्षमता लामो समय कायम रहेन भने खोपलाई प्रभावकारी मान्न सकिँदैन। सोचौँ त, प्रभावहीन खोप बजारमा आयो भने के हुन्छ ? मानिस खोप लगाएर सुरक्षित महसुस गरेर सामान्य सावधानीहरू पनि अपनाउन छाडिदिनेछन् र संक्रमितको संख्या कम हुने हैन, उल्टो स्थिति झन भयाबह हुनसक्छ।  

विगतमा भएका खोप विकाससँग सम्बन्धित केही दुर्घटनाले पनि खोपलाई बजारसम्म ल्याउने अनावश्यक हतारो गर्न नहुनेतर्फ इंगित गर्छ। सन् १९५५मा अमेरिकामा पोलियोविरुद्धको पहिलो खोप विकास भएको घोषणा गरिएको थियो। घोषणापश्चात खोपको उत्पादन सुरु गर्नेमध्येको एक कम्पनी, ‘कटर ल्याब्स’बाट उत्पादित खोपमा भाइरसलाई निष्क्रिय गर्ने प्रक्रिया त्रुटिपूर्ण हुँदा दुईलाख भन्दा बढी बालबच्चामा त्रुटिपूर्ण खोप प्रयोग हुनपुगेको थियो। यही खोपको प्रयोगका कारण चालीसहजार भन्दा बढी बालबच्चा पोलियोबाट संक्रमित हुनपुगेका थिए। यसै घटनापछि खोप विकास र उत्पादनमा कडा नियमन सुरु भएको थियो र फलस्वरूप हाल उपलब्ध खोपहरू प्रयोगका लागि सुरक्षित छन्। थप स्मरण रहोस्, हाल प्रयोग गरिने पोलियोको खोप सुरक्षित र प्रभावकारी रहेकै कारण विश्वव्यापीरूपमै पोलियो उन्मूलन हुने क्रममा छ।  

कुनै पनि रोगविरुद्धको खोप उपलब्ध हुँदैमा रोग नियन्त्रणमा अपेक्षाकृत सफलता हासिल हुन्छ भन्ने छैन। यसका लागि कुल जनसंख्याको अधिकांशमा खोपको प्रयोग भएको हुनुपर्छ र यसका लागि सर्वसाधारणहरू खोपको उपयोगिताबारे विश्वस्त हुन जरुरी छ। पछिल्ला वर्षहरूमा विश्वव्यापीरूपमै खोपप्रतिको हिच्किचाहट (भ्याक्सिन हेजिटेन्सी) बढ्दै गएको देखिन्छ। विकसित भनिएकै राष्ट्रहरूमा विभिन्न रोगविरुद्धका खोपबारे तथ्यहीन अफवाह (जस्तै–खोपको प्रयोगले अटिजम गराउँछ)हरू फैलिने क्रम जारी छ। हिजोआज सामाजिक सञ्जालले गर्दा यस्ता गलत सूचना झनै छिटो प्रवाह हुने गर्छ। सन् २०१९ मा विश्व स्वास्थ्य संगठनले खोपप्रतिको हिच्किचाहटलाई विश्व स्वास्थ्यमा परिरहेको प्रमुख दश खतरामध्ये एक मानेको छ। त्यसैले कोभिड–१९को खोपमा भइरहेको हतारोले गर्दा यदि असुरक्षित खोप प्रयोग हुन गएमा सर्वसाधारणमाझ खोपप्रतिको विश्वासमा झनै कमी आउन सक्छ। साथै यसले गर्दा खोप विरोधी समूहहरूलाई थप ऊर्जा मिल्नेछ र भविष्यमा यसको नकारात्मक प्रभाव अन्य खोप कार्यक्रममा समेत पर्नसक्छ।

महामारी सुरु भएलगत्तै विश्वभरीबाट भइरहेको प्रयास र हालसम्म आएका सकारात्मक नतिजालाई विचार गर्दा कोभिड–१९को खोप चाँडै नै उपलब्ध हुनेमा हामी आशावादी हुन सक्छौँ। तर खोप निर्माणमा रहेको चुनौती र विभिन्न स्वार्थले हुनसक्ने हतारोका कारण सिर्जना हुने नकारात्मक असरलाईपनि हामीले मनन् गर्नैपर्छ। अहिलेकै अवस्थामा पनि खोपका अतिरिक्त आममानिसले व्यवहारमा ल्याउने परिवर्तन र बलियो स्वास्थ्य सेवा प्रणालीको विकास गर्दा महामारीलाई नियन्त्रण गर्न सकिन्छ भन्ने उदाहरण केही देशले पेस गरेका छन्। त्यसकारण, कोभिड–१९ विरुद्धको ‘सिल्भर बुलेट’ उपलब्ध नहुँदासम्म हामी सतर्क रहेर सावधानी अपनाउँदै आफ्नो दिनचर्या अघि बढाउनुको विकल्प छैन।
(दुवै जना मेडिकल माइक्रोबायोलोजीमा स्नातकोत्तर, त्रिवि)

प्रकाशित: ८ आश्विन २०७७ १०:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App