१५ आश्विन २०७७ बिहीबार
विचार

संयुक्त राष्ट्रसंघलाई सम्बोधन

श्रीमान् अध्यक्षज्यू,  

सन् २०२० को संयुक्त राष्ट्रसंघको ७५ औँ साधारण सभा जुम र अन्य भिडियो प्रविधिमार्फत भइरहेछ। कैयौँ राष्ट्रका लिखित वक्तव्य इमेल वा फ्याक्समार्फत पठाइँदैछ भन्ने पनि सुनिएको छ। यो एक असाधारण परिस्थिति हो। यस असाधारण परिस्थितिमा आजको यो मेरो सम्बोधन पनि केही असाधारण लाग्न सक्छ किनकि यो संयुक्त राष्ट्रसंघको परम्परागत भाषा र शैलीमा छैन। आजको यस वक्तव्यमा म केही प्रश्न उठाउने अनुमति चाहन्छु।  

श्रीमान् अध्यक्षज्यू,  

आज एकातिर मानव जातिले गरेको विज्ञान र प्रविधिको नाटकीय सफलतालाई प्रशंसाभावले हेर्नुपर्छ भने न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको साधारणसभा हलका सिट खाली रहेको र सबै सदस्य राष्ट्रका प्रतिनिधिमण्डलले खासगरी राष्ट्र प्रमुख, सरकार प्रमुख वा प्रतिनिधिमण्डलका नेतालगायत सबैले आ–आफ्नै देशबाट अरूका भाषण सुन्नुपर्ने बाध्यात्मक स्थिति आउनुलाई एक प्रकारको विडम्बना पनि मान्नुपर्छ। हामी संयुक्त राष्ट्रसंघमा कत्तिको संयुक्त हुन पाएका छौँ भन्ने प्रश्न त छँदैछ तर कोभिड–१९ ले खडा गरेको आजको परिस्थितिले हाम्रासामु केही मूलभूत प्रश्न पनि उठाएको छ।  

श्रीमान् अध्यक्षज्यू,  

पहिलो प्रश्न संयुक्त राष्ट्रसंघको बडापत्रको प्रस्तावनाको पहिलो वाक्यमा अभिव्यक्त चाहनासित सम्बन्धित छ। त्यस वाक्यमा हामी संयुक्त राष्ट्रसंघका जनता हाम्रै जीवनमा दुईपटकसम्म मानव जातिलाई अकथनीय शोक पैदा गरेको युद्धको पीडाबाट भावी पुस्तालाई जोगाउन कृतसंकल्प छौँ भन्दै विश्व शान्ति र सुरक्षाको चहना व्यक्त गरियो। तर आज हाम्रासामु यो प्रश्न उठेको छ– हामी मानव जातिले खोजेको सुरक्षा भनेको के हो र कस्तो हो ? हामी सबैको मातृभूमि यो पृथ्वी भन्ने प्यारो ग्रहमा बस्ने समस्त मानव जातिको सुरक्षा एउटै विषय हो कि मानवले आपसमा लडेर इतिहासमा खडा गरेका देश–देशका सीमाभित्र उसको अलगअलग सुरक्षा हुन्छ ? के शान्ति र सुरक्षा राष्ट्रिय सीमाभित्र बाँड्न सकिन्छ, अंश बन्डा गरेभैmँ ? पृथ्वीलाई एउटा उडिरहेको यान सम्झने हो भने के हामी सबै यसमा सवार यात्री होइनौँ र ? हामी सबैको भाग्य यसैको भविष्यमा मात्र निर्भर छैन र ? यस यानमा कुनै दुर्घटना भयो भने के हुन्छ ?  

सन् २०१९ को विश्व प्रतिरक्षा बजेट लगभग १,९१७ अर्ब डलर थियो। तर आज देखिँदैछ कि प्रतिरक्षामा सबैभन्दा धेरै खर्च गर्ने देशहरूमा नै सबैभन्दा बढी कोभिड–१९ संक्रमितहरू मरेका छन्।

मेरा पुर्खाले यस पृथ्वीलाई एउटा गुँड भनेका थिए र हामी सब यसमा बसेका बचेरा भन्थे– यत्र विश्वं भवत्येकनीडम्। यो गुँड भत्किँदा या संक्रमित हुँदा कोही त्यसबाट अप्रभावित रहन सक्छ ? हामी सबैलाई विश्वव्यापी लकडाउन गराउने कोभिड–१९ ले के सन्देश दिइरहेछ ? विगतदेखि चलिआएको शस्त्रास्त्रको होडबाजीको के काम भयो ? भण्डारण गरिएका परमाणु बमले कसलाई सुरक्षा प्रदान गर्न सक्यो ? कोभिड–१९ ले हाम्रा परम्परागत तथाकथित सुरक्षाका प्रबन्धलाई व्यर्थ बनाइदिएन र ? यतिखेर म एक नेपाली कवि जीवनहरि शर्माले कोभिड–१९ कै विषयमा लेखेका कविता यहाँ उद्धृत गर्न चाहन्छु–

आयो संकट विश्वमा दिनदिनै झुक्दैछ मान्छे किन ?  

खायो विश्व सखाप पार्छ कि कतै हाम्रै घुस्यो आँगन।

यौटा मात्र रहेन देश अछूतो, दिन्नन् कुनै उम्कन  

ठूलो शक्ति छ अस्त्र शस्त्र महिमा क्षेप्यास्त्रको भेदन।

 

जंगी यान रकेट जेट बनिए त्यो चन्द्रमा उक्लिन

इष्र्या, दम्भ, घमण्ड शक्ति सबको खोज्दैछ सिध्याउन।

शूरो भै घुमिदिन्छ नित्य पथमा श्रद्धाञ्जली पाउन  

मेरै हो सुखभोग हैन अरूको आफैँ पुग्यो मासिन।

 

अर्बौँ अर्ब गरेर खर्च बममा सद्बुद्धिको दोहन  

राख्या छौ दिनरात भन्छ वशमा, हुङ्कार थाक्यो किन ?  

अर्को सूर्य र यान मंगल पुगे बन्दैछ तारा जुन  

भन्छन् दिग्विजयै ग¥यौँ, प्रकृतिमा सामथ्र्य काम्यो किन ?  

श्रीमान् अध्यक्षज्यू,  

दोस्रो प्रश्न हो– मानवको सबैभन्दा ठूलो शत्रु मानव नै हो कि कुनै जलचर, थलचर या नभचर प्राणी ? कि कोरोना या अन्य कुनै विषाणु हुन् ? सन् २०१५ मा नै एउटा छोटो टेड टकमा बिल गेट्सले भनेका थिए– ‘आगामी केही दशकमा यदि कुनै कुराले एक करोडभन्दा बढी मानिस मार्नेछ भने त्यो कुनै युद्धले होइन, सम्भवतः कुनै एक अत्यन्त संक्रामक भाइरसले मार्नेछ। क्षेप्यास्त्रले होइन, जीवाणुले। यसको कारण के हो भने हामीले परमाणु बमलाई रोक्ने उपायमा त विशाल खर्च गरेका छौँ तर महामारी रोकथाम गर्ने कुरामा ज्यादै कम लगानी गरेका छौँ। हामी अब आउने महामारीसित जुध्न तयार छैनौँ।  

बिल गेट्सले एउटा भविष्यवाणी जस्तै गरेर भनेका थिए– मसँग अहिले नै कति बजेट लागानी हुन्छ भन्ने हिसाब त छैन तर मलाई राम्रै थाहा छ कि सम्भावित हानिको तुलनामा यो निकै सानो खर्च हुनेछ। विश्व बैंकको अनुमान छ कि यदि विश्वव्यापी फ्लुको महामारी चल्यो भने त्यसले विश्व अर्थतन्त्रमा तीन खर्ब डलरको नोक्सान पार्नेछ र लाखौँलाख मानिस मर्नेछन्। त्यसैले आज हामीले गर्ने लगानी भनेको त्यस्तो सम्भावित महामारीका लागि पूर्वतयारी मात्र होइन कि त्यसबाट निकै नै फाइदा पनि हुनेछ।  

सबैसँग मेरो तीनवटा आग्रह छ– छिमेकी राष्ट्रसितको सम्बन्ध सुधारौँ, प्रतिरक्षा बजेट घटाउँदै जाउँ र आर्थिक–सामाजिक विकासमा लगानी बढाउँदै जाउँ। हाम्रा सन्ततिलाई हामीले भोगेको भन्दा बढी सुखी, शान्तिपूर्ण र समृद्ध विश्व हस्तान्तरण गरेर जाउँ।

तर आज हामी केमा ठूलो लगानी गरिरहेका छौँ ? हातहतियारमा। सिप्रीको रिपोर्टअनुसार सन् २०१९ को विश्व प्रतिरक्षा बजेट लगभग १,९१७ अर्ब डलर थियो। तर आज देखिँदैछ कि प्रतिरक्षामा सबैभन्दा धेरै खर्च गर्ने देशहरूमा नै सबैभन्दा बढी कोभिड–१९ संक्रमितहरू मरेका छन्। कोरोना महामारीकै बीचमा पनि एक महाशक्ति राष्ट्रका राष्ट्रपतिले आफ्नो सेनालाई यस्तो र उस्तो सबमरिन दिइनेछ भनी प्रतिज्ञा गरेको खबर पढ्दा आश्चर्य लाग्यो। हामी कसका निमित्त र कसका विरुद्ध प्रतिरक्षा खोजिरहेछौँ ? हिरोशिमा र नगासाकीबाट हामीले पाठ सिक्ने कि नसिक्ने ? यो पनि एउटा महत्वपूर्ण प्रश्न छ– के मानवीय सुरक्षाको चिन्तन गर्ने जिम्मा राजनीतिक नेताहरूको मात्र हो ?  

श्रीमान् अध्यक्षज्यू,  

तेस्रो मूलभूत प्रश्न हो– मानव जीवनको लक्ष्य के हो ? हामी केका लागि यति धेरै संघर्ष गरिरहेछौँ ? हाम्रो संघर्षको गन्तव्य के हो ? गर्न त हामी समस्त मानव जातिकै कल्याणका लागि काम गरेको दाबी गर्छौँ। हामीले व्यक्तिगत स्तरमा जे दाबी गरे पनि संयुक्त राष्ट्रसंघको बडापत्रको पहिलो प्रस्तावना वाक्यमा व्यक्त विचारलाई मनन गर्ने हो भने भावी पुस्तालाई युद्धको विभीषिकाबाट बचाउने लक्ष्य नै देखिन्छ। अनि आणविक बमहरूले त्यो विभीषिकाबाट बचाउँछन् कि ती विभीषिकालाई अझ तीव्र पार्छन् त ? आज हाम्रा छोरा÷नातिको पुस्ता सुरक्षित अनुभव गरिरहेछ कि असुरक्षित ? ग्रेटा थन्बर्गलाई मात्र होइन, उनी जस्तै विश्वका अरबौँ केटाकेटीलाई सोधौँ। पहिले त हरेक घरमा हामी आफ्नै छोरा÷छोरी, नाति÷नातिनालाई सोधौँ।  

अनि यो मानव असुरक्षाको मुहान वा मूलस्रोत के हो। आजसम्मको हाम्रो अध्ययन र अनुभवले यस सृष्टिमा सबैभन्दा खतरनाक प्राणी त मानव नै रहेछ भन्ने देखाउँदैन र ? यदि त्यसो हो भने मानवका खराब मानसिक प्रवृत्तिहरूको उपचार नभएसम्म मानवलाई मानव जातिबाटै हुने खतरा निमिट्यान्न हुँदैन।  

श्रीमान् अध्यक्षज्यू,  

यो भनिरहँदा धृष्टता होला, तर मानवका ती तीन खराब मानसिक प्रवृत्ति हुन्– लोभ, क्रोध र काम। यिनै प्रवृत्तिका कारण भएको प्रथम विश्व युद्धजनित विध्वंश देखेर नोबेल पुरस्कार विजेता कवि टि. एस. एलियटले वेस्ट ल्यान्ड (खेर गएको जमिन) कविता लेखे र त्यस कविताको अन्त्य यसरी गरे– दत्त, दयध्वम् दम्यत, शान्तिः शान्तिः शान्तिः। हाम्रो हृदयमा रहेका मानवीय लोभ, राक्षसी क्रोध र दैवत काम जस्ता खराब प्रवृत्ति नै हाम्रा मुख्य शत्रु हुन्। तिनलाई परास्त गर्ने उपाय भनेका दान, दया र दमन (संयम) हुन्। तिनको उपचार भए मात्र शान्ति होला नत्र मानव जातिले खोजेको सुरक्षा एक मृगमरीचिका र उसको संघर्ष सिसिफसको संघर्ष नै हुने पक्का छ। प्रश्न यही हो– हामी रोगको कारणको उपचारमा लाग्ने कि बाहिरी लक्षणहरूको ?  त्यसकारण बाइबलले भनेझैँ किन तरवार चुटेर फाली नबनाउने ? अनि बुद्धले भनेझैँ किन वैरभावलाई अवैरभावले नमेट्ने ? मेरा पूर्व प्रतिनिधिमण्डलहरूले त सदैव भनिआएका थिए कि हामी खासगरी अल्पविकसित, विकासोन्मुख असंलग्न देशहरू सैन्य गठबन्धन र आणविक हातहतियारको प्रसारबाट विश्व शान्तिमा योगदान हुँदैन नै भनिठान्छौँ। साथै हामी हातहतियारमा हुने खर्चलाई जनताको आर्थिक र सामाजिक स्तर सुधारमा खर्च गर्न चाहन्छौँ। हाम्रो यो नीति पनि संयुक्त राष्ट्रसंघको बडापत्रको प्रस्तावनाबमोजिम नै छ जसले भन्छ– बृहत्तर स्वतन्त्रतामा माथिल्लो स्तरको जीवन बाँच्न सामाजिक प्रगति गर्ने।’ त्यसकारण अहिले विश्वले आज गरिरहेको प्रतिरक्षा खर्चमा आधा घटाउँ र त्यसलाई गरिब भन्दा गरिब जनताको जीवनस्तर उकास्नमा खर्च गरौँ।  

यतिखेर म राष्ट्रपति ओबामाले ५ अप्रिल २००९ मा प्रागमा र २७ मइ २०१६ हिरोशिमामा गएर विश्वलाई परमाणु बमरहित शान्ति र सुरक्षा प्रदान गर्ने भनी बोलेका साहसिक वचनहरूलाई कृतज्ञतापूर्वक सम्झन सबैसँग आग्रह गर्छु। सबैसँग मेरो तीनवटा आग्रह छ– छिमेकी राष्ट्रसितको सम्बन्ध सुधारौँ, प्रतिरक्षा बजेट घटाउँदै जाउँ र आर्थिक–सामाजिक विकासमा लगानी बढाउँदै जाउँ। हाम्रा सन्ततिलाई हामीले भोगेको भन्दा बढी सुखी, शान्तिपूर्ण र समृद्ध विश्व हस्तान्तरण गरेर जाउँ। के यस्तो चाहना राख्नु कमजोर मानसिकता हो र ? आशा छ, अवश्य होइन।  

(संयुक्त राष्ट्रसंघका पूर्वस्थायी प्रतिनिधि आचार्यद्वारा वर्तमान सन्दर्भलाई लिएर राष्ट्रसंघको साधारणसभालाई सम्बोधन गर्ने शैलीमा तयार पारिएको।)

प्रकाशित: २८ भाद्र २०७७ १०:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App