१५ आश्विन २०७७ बिहीबार
विचार

विचित्र राजनीतिको चित्राकृति

लाग्न थाल्यो– यो कोरोनाको बढ्दो संक्रमण र हाम्रा राजनीतिक दलहरूमा राजनीतिक कोरोना भाइरसको संक्रमण व्यापक हुँदै गइरहेको छ। विद्यमानको विश्लेषण गर्दा ७७ फागुनमा नेपाली कांग्रेसको १४ औँ महाधिवेशन र ७७ चैतमा नेपाल कम्युनिस्ट पार्टीको प्रस्तावित एकता महाधिवेशन होला/नहोला। ती सम्मेलन भए धमिलो राजनीति सङ्गलन थाल्थ्यो कि भन्ने लोभ त छ, म पनि यही नेपालको नागरिक हुँ नि ! यो राष्ट्र समुन्नत, स्वस्थ र समृद्ध भयो भने म पनि सुखी हुन थाल्छु। अरु नेपालीको परिवार जस्तै मेरो परिवार पनि ढुक्कसँग जीवन निर्वाह गर्न पाउछ। तर महाधिवेशनका लागि जति तयारी हुनुपथ्र्यो, नेता, नेतृत्व, कार्यकर्ता कति खटिनुपथ्र्यो त्यो पटक्कै देखिएको छैन।  

कति कुरा यस्ता हुन्छन् जुन सद्भावनाले मात्र सम्पन्न हुँदैन। अधिवेशन, महाधिवेशन भनेको त झनै बौद्धिक एवं भौतिक तयारी जरुरी हुन्छ। अझ नेकपाको एकता महाधिवेशन हो। नेकपा एमाले र नेकपा माओवादी पार्टीबीच यसका निम्ति दार्शनिक, वैचारिक एवं व्यावहारिक पक्ष र दृष्टिबाट पनि पूरा तयारी हुनैपर्ने। त्यसमा पनि दुई पार्टीबीच २१ औँ शताब्दीको जनवाद कि जनताको बहुदलीय जनवाद (जवज) भन्ने जटिल गाँठो फुक्न बाँकी नै छ। पार्टीको मूल गन्तव्य २१ औँ शताब्दीको ‘जनवाद’ कि ‘जनताको बहुदलीय जनवाद’ कुन हो ? भन्ने जस्ता दार्शनिक भञ्ज्याङमा सहमति सजिलैसँग होला ? राजनीतिमा जति उचो पद सरकारी पदमा पनि त्यति नै उच्च पद पाइने प्रचलन। भारतमा भने अपवाद छ। सरकारका प्रमुख नरेन्द्र मोदी, भारतीय जनता पार्टीका प्रमुख होइनन्। पार्टी प्रमुख त अमित शाह हुन। नेपालमा भने नेकपाका एक अध्यक्ष पनि केपी शर्मा ओली, प्रधानमन्त्री पनि उनै !  

फागुनमा भएन भने के हुन्छ कांग्रेस ?
प्रसंङ्ग थियो सत्तापक्षको र प्रमुख प्रतिपक्षी पार्टीको पनि आ–आफ्नु विधानअनुसार एउटाको २०७७ फागुनमा र अर्कोको चैतमा। कथं यी यी मितिमा महाधिवेशन हुन सकेनन् भने त्यसपछि के ? भन्ने प्रश्नको शायद उत्तर छैन क्यार ! तदुपरान्त पार्टी के हुने ? नेपाली कांग्रेस पार्टी बन्दा ७४ वर्षअघि आज संकट ल्याउने कोरोना भाइरसको जन्म नै भएको थिएन। तसर्थ त्यसपछि के भन्ने मुद्दा उठेन। कांग्रेसले चार वर्षमा महाधिवेशन गर्ने कुरा आफ्नो विधानमा राख्यो तर त्यस्तै परिस्थिति परे अर्को एक वर्ष बढाउन सकिने प्रावधान पनि राख्यो। यो आजको पाँचौँ वर्ष त्यसैअनुसारको कार्यकाल हो कांग्रेस पार्टीको। पार्टीभित्रका चरम गुटबादी पदलोलुपताका कारण चार वर्षमा कांग्रेसले गर्न सकेन १४ औँ महाधिवेशन। विधानअनुसार अब म्याद बढाउने प्रावधान छैन।

आजको राजनीतिक कचिंगलको एउटा ओखती भनेको वरिष्ठ वृद्ध राजनीति नेताले पार्टीका पदको राजनीति छाड्नु हो। पछिल्लो पुस्ताले स्वीकार ग-यो भने सल्लाह दिने नत्र परमार्थतिर।  

हाम्रा राजनीतिक दल पार्टीभित्रै पनि दलदलमा फसेका छन्। समयमा कुनै पार्टीको कुनै मुद्दा टुंगिँदैन। त्यसमा पनि नेपाली कांग्रेस त मातृकाप्रसाद, विश्वेश्वरप्रसाद, कृष्णप्रसाद, गिरिजाप्रसाद, सुशील कोइराला, शेरबहादुर देउवा, विजय गच्छदारदेखि फर्मुल्लाह मन्सुरसम्मले गिजलेको पार्टी हो। १४ औँ महाधिवेशन दैलोमा आइसक्यो। तर कति जिल्लामा अधिवेशन भैसकेको छैन। क्रियाशील सदस्यता फाराम सभापतिले पठाएकै छैनन रे। आफूलाई मत आउँदैन जस्तो लागेको जिल्लामा पठाएकै छैनन् रे। कांग्रेसमा कति समूह कति ? अब त समूह पनि कति कति ! समीकरण को को को कोसँग हो ? विमलेन्द्र निधी सभापति पदका लागि उम्मेदवार हुने भन्ने खवरले शेरबहादुर शिविरमा भूकम्प नै आयो।  

देउवा तावाबाट भुंग्रोमा
१३ औँ महाधिवेशनमा देउवाले विमलेन्द्र निधीलाई चौधौँ महाधिवेशनमा सभापति तपाइँ भनी मत बटुलेका रहेछन्। अब पन्ध्रौँ अधिवेशनसम्म कुर्ने धैर्य देखाएनन् निधीले र देउवालाई तपाईँको पनि उम्मेदवार म, तपाईँले तेह्रौँ अधिवेशनमा मलाई वचन दिइसक्नुभएको छ भनेछन्। अहिले विमलेन्द्रले पार्टी सभापति पदमा प्रत्याशी हुने कुरा सार्वजनिक गरेपछि देउवा तावाबाट झन् भुङ्ग्रोमा खसेका छन्। आफ्नो पक्षमा चौधौँ अधिवेशन पार्न देउवा आकाश–पाताल जोड्दैछन्। यता रामचन्द्र पौडेल पक्ष, कृष्णप्रसाद सिटौला पक्ष, निधी पक्ष, शेखर, शशांक, सुजाता पक्ष, रामशरण महत पक्ष, गगन थापा पक्ष, अर्जुननरसिंह के.सी. पक्ष र अरू कैयौँ उपपक्ष कुन ढोका खोल्ने कुन ढोकामा बाहिरैबाट ताल्चा मार्ने भन्नेमा धुरन्धरसँग लागिरहेका छन्। निधी उठ्दैछन् भन्ने कुरा सार्वजनिक हुनासाथ कांग्रेसी राजनीतिमा आँधीबेहरी आएको छ। त्यसअघिसम्मको कांग्रेसी राजनीति अलमलिएको थियो। आजसम्म को कता को कता, ठेगान छैन। हिजोसम्म बनेको समीकरण भाँडिएका छन्। अब के हुन्छ को भन्न सक्छ ?  

आजको कांग्रेसमा कति प्रतिशत कांग्रेस छन् भन्ने थाहा पाउन प्रयोगशाला लानुपर्ला।

कति प्रतिशत कांग्रेस ? प्रयोगशाला लैजाऊ
कांग्रेसको एउटा मूल कामका रूपमा रहेका स्वयं देउवा कता ? प्रश्न उभियो। निधीलाई अघिल्लो अधिवेशनमा फकाएर सभापति भएका देउवा अब निधीलाइ छाड्छन् कि आफू नउठी निधीलाई सम्पूर्ण सहयोग गरेर विजयी गराउँछन् ? कि कोइराला–शशांकलाई सहयोग गरेर आफ्नी धर्मपत्नी डा. आरजुका लागि कांग्रेसको नेतृत्वको पद खोज्छन् हेर्न बाँकी छ। सम्पूर्ण समीकरण बिथोलियो र नयाँ समीकरण हुने भए। राजनीतिलाई एकथरी सरल रेखाका रूपमा लिने गर्छन्। तर आजको नेपाली कांग्रेसको बहिखाता पल्टाउँदा सरल लाग्दैन। त्यो त हिजो अस्तीको नेपाली कांग्रेस हे-यो भने स्वयं मातृकाप्राद, विश्वेश्वरप्रसाद, केदारमान व्यथित, टेकबहादुर पन्थी, बालचन्द्र शर्मा, कैलाशराम श्रेष्ठ, जगन्नाथ आचार्य, सुन्दरराज चालिसे, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, नारदमुनी थुलुङ, भूदेव राई, श्रीकान्त अधिकारी, कुलबहादुर गुरुङ, डा.रामवरण यादव, शिवराज पन्त, सूर्यप्रसाद उपाध्याय, भरतमणि शर्मा, रामनारायण मिश्र, महेन्द्रनारायण निधी आदि छन्। आजको कांग्रेसमा कति प्रतिशत कांग्रेस छन् भन्ने थाहा पाउन प्रयोगशाला लानुपर्ला।  

पेसा/व्यवसाय र राजनीति
राजनीतिको निर्णायक तह व्यवसायीको कब्जामा प¥यो। व्यवसायीले व्यावहारिकरूपमा विचौलिया राखे। विचौलिया भनेको बुद्धि, चलाखी र फटाइँ प्रयोग गर्ने वर्ग रहेछ। विचौलिया व्यवसायीहरूको पैसाको खेलो गर्दोरहेछ। निर्वाचन महँगो भयो। इमान्दार राजनीति गर्ने नेता निर्वाचनमा उभिन नसक्ने अवस्था आयो। तसर्थ निर्वाचन आयोगले उम्मेदवार हुन पेसा÷व्यवसाय छाड्नुपर्ने कानुनी व्यवस्था गर्नेतिर ध्यान दिन लागेको छ। हालका प्रमुख निर्वाचन आयुक्त निजामती फाँटबाट यो पदमा पुगेका हुन। इमान्दार राजनीतिक नेताले समेत उम्मेवार हुन नसकिने स्थिति आयो। प्रमख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया काठमाडौँ महानगरको हाकिमका रूपमा काम गर्दादेखि चिनेको हुँ। पछि पनि स्थानीय विकास मन्त्रालयमा सचिव हुँदा जनसम्पर्क हुनेमा परे। तसर्थ राजनीति सुँघ्न सक्ने भए। यो पेसा र व्यवसायीले राजनीतिक पदमा उम्मेदवार हुन पेसा÷व्यवसाय छाड्नुपर्ने ऐन ल्याउन उत्तम हो तर छिटो ल्याउनुप-यो।  

पार्टी हारे नेताको राजीनामा
राजनीति नै मैलो भएपछि, धमिलो भएपछि के पो सुकिलो÷सङ्ग्लो हुन्छ र ? राजनीतिलाई सेवाको माध्यम बनाउने हो एकपल्ट निर्वाचन हारेको पदमा दुई कार्यावधि उम्मेदवार हुने वा हुन नपाउने गरौँ। आमनिर्वाचनमा बहुमत नल्याउने पार्टीको अध्यक्ष वा सभापति पदबाट राजीनामा दिने थिति बसालौँ। नेतृत्व पनि विकास हुन्छ। पार्टीहरू पनि परिष्कृत हँुदै जान्छन्। पार्टीहरू वृद्धतन्त्रको कब्जाबाट उम्कन पाउँछन्। नत्र नेपालका राजनीतिक नेताहरू राणा शासनका श्री ३ हरू जस्तै प्राणोत्सर्ग नहोउञ्जेल पदबाट निवृत्त हुने लक्षण देखिएन। शेरबहादुर देउवा, शर्मा ओली, पशुपतिशमशेर राणा, चित्रबहादुर केसी सधैँ सभापति भैरहनुपर्ने। माधवकुमार नेपाल दुइवटा निर्वाचन क्षेत्रबाट पराजित भएर पनि सरकारबाट मनोनीत सुशीलचन्द्र अमात्यलाई सांसदबाट राजीनामा गर्न लगाएर प्रधानमन्त्रीसमेत भएको सबैलाई थाहा छ। यस्तो प्रवृत्ति रहँदासम्म कसरी प्रगति हुन्छ ? जनताले नरुचाएपछि ढोका खोल्दैन तर नेताहरू आँखीझ्यालबाट पसेर पनि प्रधानमन्त्री हुनैपर्ने। जनताले नपत्याएको मान्छे सरकारमा जानु के नैतिकताले दिन्छ ?  

बुद्धिको सिमाना त देखिइहाल्यौँ  
जसरी आजको खेती काठको फालीले चल्दैन। अब आज नेपालका परिपक्क एवं वयस्क नेताहरू काठको फाली भएको हलोले जोतिखाने तहका भए। महाकाली एकीकृत विकास सन्धि त गरियो, एक वर्षमा विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने र कार्यान्वयन गरिहाल्ने हतारोमा कालीको मुहान कुन हो ? भन्ने पत्ता नलगाइकनै सन्धिमा हस्ताक्षर ठोक्यौँ। भारतको आशय महाकाली परियोजना कार्यान्वयन गर्ने थिएन। महाकाली विकास रोक्ने थियो। किनकि भारतले आफ्ना लागि त टनकपुर बाँध बनाइसकेकै थियो। तपाईँ आजका नेकपाका शीर्ष नेताहरू त्यो बेला को को कता कता कुन कुन कित्तामा हुनुहुन्थ्यो ? एकपल्ट सिंहावलोकन गर्नोस् त, छर्लङ्गै आ–आफ्नो सक्कली अनुहार देखिन्छ।  

महाकाली एउटा उपमा हो। यस्ता अरू धेरै कुरा छन्। तपार्इँ नेताहरूको बुद्धिको साँध सिमाना त्यही रहेछ। हामी हेर्नेमात्र भयौँ, प्रयोग गर्ने  ठूल्दाजुहरू भए। अब तपाईँ शीर्ष तहका नेताहरूबाट देशले पाउने मात्र होइन पाउन नहुने पनि पाइसक्यो। तसर्थ अब नेतृत्वबाट सरक्क पन्छिएर अभिभावकको भूमिकामा बसिदिनोस् न। त्यो उमेरमा पनि किन तृष्णा ?  

मागे परामर्श नत्र परमार्थ  
यता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टी दायित्वबाट निवृत्त हुनु राम्रो। तपाईँले देशको सेवा पर्याप्त मात्रामा गरिसक्नु भयो। कांग्रेसमा सभापति प्रजातान्त्रिक कांग्रेस त आफैँले खोल्नु भयो। कांग्रेस प्रजातान्त्रिक लागेन र प्रजातान्त्रिक विशेषणसहितको कांग्रेस पार्टीकै नेतृत्व गर्नु भयो। प्रजातन्त्र राजा ज्ञानेन्द्रलाई बुझाउनु भयो। त्यसको पुरस्कार थुनिनु भयो। अन्यायमा परेँ भन्ने दुखेसो पोख्नु भयो। त्यसबीच धेरैवटा सूर्य उदाए÷अस्ताए। फेरि प्रधानमन्त्री हुनु भो र गर्वसाथ भन्नु भो– गोर्खाली राजाबाट न्याय पाएँ पनि भन्नु भयो। यस मुलुकको चारपल्ट त प्रधानमन्त्री भैसक्नु भयो। फेरि पनि धीत मरेको छैन जस्तो छ। ज्योतिषीले फेरि पनि प्रधानमन्त्री हुने जोग छ भनेको छ क्यार। मेरो परामर्श, भो छोडिदिनोस् त्यो सभापति हुने लफडा। विमलेन्द्र निधीलाई सघाउँछु भनेको भए सघाउँदा राम्रो होला। साँचो बोल्दा नराम्रो होला र ? रामचन्द्र पौडेल पनि अलि अग्लो हुने होइन ? तपाईँको प्रधानमन्त्री हुने इच्छा पनि विश्ववन्धु थापा र राजेश्वर देवकोटाको जस्तै हुने भयो। नेपालको आजको राजनीतिक कचिंगलको एउटा ओखती भनेको वरिष्ठ वृद्ध राजनीति नेताले पार्टीका पदको राजनीति छाड्नु हो। पछिल्लो पुस्ताले स्वीकार ग¥यो भने सल्लाह दिने नत्र परमार्थतिर लाग्ने।  

प्रवेश र अवकाशको उमेर ?  
राजनीतिमा उमेरको प्रश्न बाक्लैरूपमा उठ्न थालेको केही वर्षदेखि हो। संघर्ष गर्ने युगमा उमेरको प्रश्न उठ्दैनथ्यो। जनताका कवि युद्धप्रसाद मिश्रले निर्दल ढाल्ने संघर्षमा प्रज्ञा भवनबाट निस्केको कलम र अक्षरका उपासकहरूको जुलुसको कत्रो वाह वाह भएथ्यो। तर यो उमेरमा पनि जुलुसमा ? कसैले प्रश्न गरेन। तर अहिले सक्रिय राजनीति गर्ने उमेर ७० वर्ष नाघ्नुहँुदैन भन्ने आवाज उठिरहेको छ। यो बेला कमरेड वामदेव गौतम ७० नाघेपछि तात्नु भयो। परम मित्र प्रधानमन्त्री शर्मा ओलीलाई कक्र्याउनु भयो र राष्ट्रिय सभा सदस्य हुनुहुने भयो। गौतमले अर्थमन्त्री नै हुने र दश वर्षमा चीन जस्तै समृद्ध बनाउने संकल्प गर्नु भएको छ। उमेरको सवाल उठाउने नयाँ पुस्ता कमरेड वामदेवमा देखापरेको दश वर्षमा चीन जस्तै बनाउने दृढताबाट उत्साहित भयो होला कि निराश ? जिज्ञासा !  

प्रधानमन्त्री ओली युवराज खतिवडालाई छाड्न वाध्य भई वामदेवलाई च्याप्ने अवस्थामा पुग्नुभयो। अब मन्त्रिमण्डल पुनर्गठनको अर्को उकालो पार गर्ने झन् कठोर दिन दैलोमा उभिइसक्यो। अग्निपरीक्षामा कसरी उभिन्छन् हेर्न बाँकी छ। मन नपर्न सक्छ तर परिस्थिति राम्रो छैन, अनुकूल छैन। तपाईँ जनताकै हुनुप¥यो। अहिले जनताको हुनुहुन्न भन्ने छ। 

प्रकाशित: २२ भाद्र २०७७ ०९:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App