२२ फाल्गुन २०७७ शनिबार
विचार

यसरी चल्दैन

राजनीतिमा शत्रुराष्ट्रको तेजोवध गर्न यदाकदा छलकपट पनि हतियार र क्षम्य मानिन्छ। जगतप्रसिद्ध ‘ट्रोजन हर्स’ र यस्ता कैयन प्रसंग आउँछन्, युद्धकथामा। ट्रोय सहरको पतनसँग गाँसिएको प्राचीन ग्रिसको ‘ट्रोजन हर्स’ यस्तै कपटको कथा हो।

काठको विशाल कलात्मक घोडा सहर प्रवेश गर्छ कथामा। त्यहाँभित्र निपुण, प्रवल, साहसी र निष्ठावान सैनिकहरू लुकेका हुन्छन्। सयौँ सैनिक बाहिर आएपछि सहर नै भयाक्रान्त बन्छ। रातको समयमा सन्नाटा छाउँछ। ट्रोय सहर कब्जा गर्न सकिने वातावरण देखेपछि शत्रुले चारैतिरबाट हमला गर्छन्। मृत्युको चक्रव्यूह अर्थात ‘किलिङ्जोन’ बनाइन्छ सहरलाई।

‘द किलिङ जोन: माइ लाइफ इन द भियतनाम वार’ पुस्तकमा फ्रेडरिक डाउन्स (जुनियर) भन्छन्– ‘किलिङ जोन नामको धरापमा परेर पनि घर फर्किनु ठूलो कुरा हो।’ उनले बयान गरेको रणभूमिको कथाका पात्रहरू महारथि र योद्धा हुन्छन्। मुलुकको राजधानीमा बसेर रणनीति बनाउनेहरू हुन्छन्। उनीहरूको चित्र–चरित्र, आचरण–आवरण, मन–मुख, दृश्य–अदृश्य कपट वा सदाचार–दुराचार बुझ्न सकिन्छ। राष्ट्रको निम्ति उपकार–अपकार, यश–अपयश, योगदान–अवदान के गर्दैछन्, त्यो पनि लुक्दैन। छद्मयुद्ध (प्रोक्सी–वार) गराउन विदेशीले उच्च पदमा पु-याएका पात्रहरू झट्ट हेर्दा ‘हाम्रा’ जस्तै लाग्छन्। यथार्थ त्यस्तो हुँदैन। उनीहरू यन्त्रमानव हुन्।

दोस्रो महायुद्ध सुरु हुने बेलामा सन् १९३९ मा अमेरिकामा टेलिभिजन प्रसारण नियमित हुन थाल्यो। न्युयोर्क टाइम्सले टिप्पणी गर्दै टेलिभिजनको भविष्यबारे लेख्यो– टिभी हेर्न सबैले एकै ठाउँ बसेर ध्यान दिनुपर्छ। रेडियो जहाँ पनि, जसले पनि सुन्न सक्छ। तसर्थ टिभी नै रेडियोको विकल्प होइन।

आफ्नै नेताको लात्ती त हो नि भनेर ढाड थापिरहने जनता भएका देशमा विकासको वृक्ष सुक्छ र विनास मौलाउँछ।

विकल्प खोज्दै गणतन्त्र ल्याइएपछि एक्काइस केजी फूलको माला लाइदिने जनताले नेपाली राजनीतिका केही पात्रलाई जुत्ताको माला लगाइदिने मनस्थिति बनाएको देखिन्छ। राष्ट्र र जनताको अवस्था उठाउन कुनै प्रयास नगर्ने तर विदेशीले लाए÷अराएको काम मात्र गर्ने त्यस्ता कुपात्रहरू आफू मात्र बदनाम भएनन्, उनीहरू हिँडेको मार्ग नै दुर्गन्धित बन्न पुग्यो। त्यसैले, गणतन्त्रका लागि गर्धन थाप्नेहरू नै नेतालाई पासो थाप्ने सोचमा छन्। रामवाण भनिएको गणतन्त्र गलगाँड सावित भइसकेको छ। गणतन्त्र ‘ल्याइते’ सिद्ध भएको छ।

शुद्ध हुन नसक्ने आत्मा बुद्ध हुँदैन। इमान, त्याग, निष्ठा, समर्पणसहितको देशप्रेमको भावनाले ओतप्रोत व्यक्तिले मात्र समाज तथा राष्ट्रको हित गर्न सक्छ। पञ्चतन्त्रमा छट्टु स्यालको कथा आउँछ। सुखभोग गर्न एउटा स्यालले अनौठो जुक्ति निकाल्छ। नीलो रंग मिसिएको पानीमा ऊ डुबुल्की मार्छ, धोबीको आँगनमा। त्यसपछि जंगल पस्छ। अनौठो प्राणी देखेपछि वन्यजन्तुहरूले उसलाई वनराजा घोषणा गर्छन्। पानी परेका बेला रंग उडेपछि नयाँ राजा त स्याल पो रहेछ भन्ने थाहा हुन्छ। विदेशीले रंग दलिदिएका धेरै छट्टु स्याल नेपाली राजनीतिमा आए। उनीहरूको रंग अब खुइलिसक्यो। त्यसैले जनताले हजारौँ स्याल होइन, एउटै सिंहलाई विश्वास गर्नुपर्छ भन्ने अभिव्यक्ति दिन थालेका छन्। केटाकेटीले ऐना हेरेर ‘म राम्रो’ भनेझैँ आफैँलाई योग्य र राम्रो ठाने पनि हरेक दलका अधिकांश छट्टुको स्यालतन्त्र अन्त्य हुने निश्चित छ। युवा जागेका छन्। जुन राष्ट्रमा सत्कर्म गर्ने युवा जाग्छन्, तब भ्रष्ट भाग्छन्।

‘अपि राष्ट्रविनाशाय चौराणामेक चित्तता’ (चोरहरू मिले भने राष्ट्रको विनास हुन्छ) भनिएको छ, शास्त्रमा। छल गर्नेलाई छल गरेरै सिध्याउनू भनिएको छ। दानव प्रवृत्तिलाई मानव अधिकारले अभिषेक गर्ने काम जनताले नै गरेको परिणाम देखिँदैछ। राष्ट्रघातीहरूलाई टाउकोमा बोकेर फूलमाला, अवीरजात्रासहित खुसी मनाउने जनताले ‘सिटामोल’ नपाएर छोराछोरी मरेको दृश्य देखेपछि हिजोका दिन सम्झिए। व्यक्तिगत सुखमा मात्र हुरुक्क हुने नेतागणले जनतालाई जन्तु सम्झिए। ‘हामीले जे गरे पनि हुन्छ’ भन्ने सोचले राष्ट्र जर्जर भयो।

नब्बे वर्ष नाघेर पनि सक्रिय रहेका लेखक तथा पुराना पत्रकार भैरव रिसाल लेख्छन्– गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएपछि विचौलिया वर्ग जन्मेको हो। गिरिजाले इमानदार बलदेव शर्मा मजगैयालाई माया मारेर लोकमानसिंह कार्कीलाई भित्र्याए। बलदेवले जलस्रोत मन्त्रीबाट राजीनामा गरे, २०५८ मा। यसरी लोकमान बलदेवभन्दा नजिक भए गिरिजाबाबुको।’ (नेपाल कसले चलाउँछ ? २०७७ साउन ३२ गते, नागरिक दैनिक)

‘यसरी चल्दैन’ भनेर स्वतन्त्र लेखक, विश्लेषक, विद्वान्–विदुषीले सिरिया, सोमालिया, सुडान, कंगो, रुआन्डा, लाइबेरिया, लेवनान, युगोस्लाभिया, अफगानिस्तान, सेन्ट्रल अफ्रिकन रिपब्लिकलगायतका पचासाैँ रोगी राष्ट्रका शासकलाई पहिले नै सचेत गराएका थिए। शासन गर्नेहरूले कुरा सुनेनन्। फलतः बोटमै कुहिएर भुइँमा झरेको फलझैँ राजनीतिक प्रणाली नै माटोमा मिल्यो।

हरेक दिन पैँतीस करोड रुपियाँ खर्च गरेर नेतागण र उनीहरूका सहयोगीलाई तलवभत्ता दिन जनताले कहिलेसम्म कर बुझाउनुपर्ने ?

असफल सावित भएको राजनीतिक प्रणालीले जनविश्वास गुमाउँछ। राजगद्दी सम्हाल्ने बित्तिकै राजा ज्ञानेन्द्रको घोर निन्दा गर्ने विभिन्न दलमा आबद्ध र कुनै दलमा प्रत्यक्ष संलग्न नभएका मानिस हजारौँ स्याललाई दाना खुवाउनभन्दा एउटै सिंह पाल्नु राम्रो भन्न थालेका छन्। दलहरूले त्यसलाई कसरी लिन्छन्, जगजाहेर छ तर राष्ट्रको दुर्दशा गराउन प्रमुख दलका जमिनदार, साहू र तल्सिङहरू जिम्मेवार छन्। हरेक महिना अर्बौँ रुपियाँ लुटेर आफू र प्रियजन पाल्ने काम मात्र भइरहेको छ। कोरोनाले महामारीको रूप लिएपछि पनि सुखसुविधा थप्दै सरकारले अर्बौँ रुपियाँका महँगा गाडी किनेको तर ‘पैसा छैन’ भनेर स्वास्थ्य उपकरण खरिद गर्न नचाहेको कुरा मिडियामा आयो। साउन ६ (२०७७ साल) लकडाउन खुला गर्नुको मुख्य कारण ‘कर उठाउनु मात्र थियो’ भन्दै सरकारको आलोचना भइरहेको छ। खुला सिमानामा पर्याप्त निगरानी र व्यवस्थापन गरेर अन्तर्राष्ट्रिय मापदण्डको पालना गरिएन। फलतः हरेक गाउँ सहरमा महामारीको बीउ–विजन पु-याइयो। केही महिनाभित्र हजाराँै नेपाली मर्न सक्ने शंकाले वाल–वृद्ध–वनिता सबै भयाक्रान्त छन्।

अन्तर्राष्ट्रिय समुदायबाट विश्वास गुमाइरहेको छ नेपालले। हरेक दिन पैँतीस करोड रुपियाँ खर्च गरेर नेतागण र उनीहरूका सहयोगीलाई तलवभत्ता दिन जनताले कहिलेसम्म कर बुझाउनुपर्ने ? रोग, भोक, अशिक्षा र भ्रष्टाचारले पीडित जनताको जिम्मा कसले लिने ? सुरु नै नभएका र अधुरा विकास आयोजना कहिले  सम्पन्न हुने ?

‘ह्वाइ नेसन्स फेल’ द अरिजन्स अफ पावर, प्रस्परिटी एन्ड पोभर्टी (राष्ट्र किन असफल हुन्छ ?) भन्ने पुस्तक निकै चर्चित छ। डेरोन र जेम्स रबिन्सनद्वारा लिखित सो ग्रन्थमा आर्थिक विषमता र भेदभावले हरेक राजनीतिक प्रणालीलाई जरैसँग उखेल्छ भनिएको छ। पुस्तकमा बोत्स्वाना, जिम्बाबे, कंगो, सियरालिओन आदि राष्ट्रमा अभावले जनताको स्वभाव बिगारेको तर्क गरिएको छ। हुन पनि हो, खानै नपाएपछि अफ्रिकाका दरिद्र राष्ट्रका पूर्वसांसद र पूर्वमन्त्री पनि चोर्न हिँडेका उदाहरण छन्। नेपालमा पनि घूस, कमिसनलगायतका भ्रष्टाचार रोक्ने कुनै ‘ज्युँदो शक्ति’ आयो भने दिनहुँ बीसाँै हजार रुपियाँ खर्च गर्ने बानी लागेका भ्रष्टहरूको हालत के होला ?  

कवि शिरोमणि लेखनाथ पौड्यालको कविता घतलाग्दो छ–‘कसैको लोकमा पनि छैन, एकैनासको समुन्नति, अरूको के कुरा हेर, सन्ध्यामा सूर्यको गति।’ राजनीतिशास्त्रको तुलनात्मक अध्ययन गर्ने विद्यार्थीहरू तर्क गर्छन्, गणतन्त्र हुँदैमा राष्ट्र सुखी, शान्ति र समृद्ध हुन भए शान्ति स्थापना कार्यमा संलग्न राष्ट्र संघले गणतन्त्र भएका राष्ट्रमा मात्र किन शान्तिसेना पठाउनुपरेको छ ? सन् १९४५ मा सुरु भएको राष्ट्र संघको शान्ति मिसन राजतन्त्रात्मक राष्ट्रमा किन पठाइएन ? आज पनि हरेक साल सात अर्ब डलर खर्च हुन्छ, शान्ति स्थापनाका लागि। जनतालाई सुख, शान्ति र समृद्धि दिन्छाँै भन्दै अशान्ति, अभाव र दुःख दिनेहरूका कारण अधिकांश राष्ट्रमा गणतन्त्र बदनाम छ। संघीयता अभिशाप बनेको छ। आफ्नै नेताको लात्ती त हो नि भनेर ढाड थापिरहने जनता भएका देशमा विकासको वृक्ष सुक्छ र विनास मौलाउँछ। नेपालमा त्यही देखिएको छ।

नेपाल, इथियोपिया, रुआन्डा, पाकिस्तान, भारत, स्पेन, दक्षिण कोरिया, ब्रिटेनलगायतका १२२ राष्ट्रले शान्ति सेनामा जनशक्ति पठाएको पाइन्छ। नेपाल चौथो स्थानमा पर्छ। संयुक्त राष्ट्र संघले महत्वपूर्ण योगदान गरेका भन्दै नेपाली सेनालाई सधन्यवाद सम्मान गरेको छ। अरू राष्ट्रमा शान्ति स्थापना गर्न अतुल्य योगदान गर्ने नेपाली सेनाले आफ्नै राष्ट्र भाँड्ने भाइरसहरूलाई सलाम गरिहरनुपर्ने अवस्था (बाध्यता ?) अन्त्य भएन भने केही वर्षभित्रै राष्ट्र संघले नेपालमा पनि ‘शान्ति सेना’ राख्ने प्रस्ताव पारित गर्न सक्छ। झट्ट सुन्दा, अतिशयोक्ति जस्तो लाग्ला। राजनीतिक अस्थिरता, अराजकता, बेथिति, चरम भ्रष्टाचार, विदेशी हस्तक्षेप र आर्थिक दुरवस्था बढ्दै गएमा अन्त्यमा त्यही निहुँमा राष्ट्र संघमार्फत महाशक्तिहरूले हस्तक्षेप गरेका उदाहरण धेरै छन्।

‘यसरी चल्दैन’ भन्नेहरू केही वर्षअघिसम्म मौन थिए। सात आठ वर्षपहिले कुनै दलको आलोचना गर्नेहरूलाई ‘दरवारको मान्छे’ भनेर व्यंग्य गरिन्थ्यो। अहिले चालीस वर्षअघिदेखि राजनीतिमा लागेका मानिस नै भनिरहेका छ– ‘यसरी चल्दैन।’ सैनिक मुख्यालय, प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरीको केन्द्रीय कार्यालय, उद्योग–वाणिज्य, न्याय, कानुन क्षेत्र, निजामती प्रशासन र सर्वसाधारणको समेत आवाज सुनिन्छ– ‘यसरी चल्दैन।’ सत्तारुढ दलभित्रै ‘यसरी चल्दैन’ भन्नेहरूको बहुमत देखिँदैछ। त्यसो भए कहिलेसम्म चल्छ यो प्रणाली ? कसको सरकार ढल्छ र कसको बन्छ भन्ने कुरा अब महत्वहीन भइसक्यो। गणतन्त्र चल्छ भनेर जबर्जस्ती जनतालाई कंगाल बनाइँदैछ। यो बलात्कार रोकिएन भने राष्ट्र ढल्छ। राष्ट्र बचाउने कि गणतन्त्र ? जनताले निर्णय गर्नैपर्ने बेला भएको छ।

रसियाका पूर्व राष्ट्रपति बोरिस यल्सिन भन्छन्– ‘बन्दूकका कुन्दा सजाएर बनाइएको सिंहासनमा तपाईँ शासन गर्न सक्नुहुन्छ तर धेरै दिन टिक्न सक्नुहुन्न।’ जनता रिसाए भने कुनै शासक टिक्दैन भन्ने तर्क गर्दै पत्रकारहरूलाई उनले भनेका थिए– मेरा कारणले रसियाका जनताले दुःख पाउने छैनन्।

आफ्ना भूल तत्काल स्वीकार गरेर तत्काल क्षमा माग्ने राष्ट्रवादी, इमानदार राष्ट्र र जनताको दुःख हटाउन तत्पर रहने, सुशासन दिने, अरूको आदर गर्ने, सबैलाई समेटेर राष्ट्रनिर्माणमा प्रेरित गर्ने मानवतावादी, स्वतन्त्रताप्रति सम्वेदनशील र जनप्रिय नायकलाई जनताले सम्मान गर्ने परम्परा बस्नै सकेन नेपालमा। त्यसैले, कुनै गुण नभए पनि गुटनायक र दलनायकलाई जनताले ‘हिरो’ मान्ने भूल गरे। अब पनि जनताले स्पष्ट निर्णय गरेनन् भने राष्ट्रले अझै कति वर्ष पीडा भोग्नुपर्ने हो ? निश्चित छैन।

प्रकाशित: ५ भाद्र २०७७ ११:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App