८ आश्विन २०७७ बिहीबार
विचार

स्तनपान प्रबर्द्धनमा कलापक्ष

सन्दर्भ: स्तनपान सप्ताह

स्वास्थ्य क्षेत्रका विभिन्न विषयविधाका पेसाकर्मीहरू विश्वव्यापीरूपमा अगस्ट महिनाको पहिलो हप्तालाई स्तनपान प्रबर्धन सप्ताहकारूपमा मनाउँदैछौँं। स्तनपानको महत्वका विषयमा धेरै कुरा गर्नु आवश्यक छैन। यस क्रममा दोस्रो विश्वयुद्धको समयमा नेतृत्व गरेको बेलायतका प्रधानमन्त्री तथा चर्चित लेखक विन्स्टन चर्चिलले आफ्ना बहादुर सिपाहीहरूको हौसला बढाउने अभिव्यक्त धारणालाई उद्धृत गर्नु सान्दर्भिक हुन्छ। उनले भनेका थिए– हरेक व्यक्ति, परिवारले समुदाय र राज्यप्रति निर्वाह गर्नुपर्ने सर्वोत्कृष्ठ भूमिका भनेको देशका नयाँ पुस्तालाई स्वस्थ र सवल नागरिक बनाउन स्तनपान गराउने (वा सघाउने) बराबरको अर्को ठूलो केही हुनै सक्दैन।  

यो तथ्य प्राकृतिक न्यायको सिद्धान्तअनुसार जीवन र जगतको सञ्चालन र समृद्धिका लागि आवश्यक भएका कारण मानव विकासको आदिमकालदेखि चलिआएको छ। मानव विकासको क्रमसँगै परापूर्वकालदेखि चलिआएको यो प्राकृतिक न्यायमाथि विभिन्न कारणबाट विचलन आउँदै गयो। त्यो क्रम पछिल्लो समयमा जनशिशुको जन्म भएको एक घण्टाभित्र स्तनपानको थालनी गर्नुपर्ने र बच्चाले छ महिना स्तनपान गर्न पाउनुपर्ने मान्यतामा निकै स्खलन भएको छ। त्यसका धेरै कारण हुन सक्छन्। हाम्रा सामाजिक, पारिवारिक, व्यक्तिगत मूल्य÷मान्यतामा आएको परिवर्तन, विकासको चरणसँगै भित्रिएका बाध्यता वा रहर, उपचारात्मक विधि प्रक्रियामा आएको विचलन, राज्यका नीतिनियमको भूमिका थोरधेर जिम्मेवार छन्।  

विभिन्न तथ्यका आधारमा नेपालमा स्तनपानको दर करिव ६६ प्रतिशत र जन्मेको पहिलो एक घण्टामा स्तनपानको दर ५५ प्रतिशत (जनसांख्यिक सर्भेक्षण २०१६) रहेको पाइन्छ। त्यसमा पनि सही अर्थमा स्तनपानको मर्मअनुसार यसको अनुशरण सम्बन्धमा धेरै शंका गर्न सकिन्छ। यस्तो परिस्थिति विश्वव्यापीरूपमा गम्भीर चिन्ता र सरोकारको विषय भएकाकारण अगस्ट पहिलो हप्तालाई स्तनपान प्रबर्धन सप्ताह मनाउने प्रचलन थालनी भएको हो। स्तनपान सप्ताह मनाउने क्रम जारी रहेका बेला यो लेखबाट स्तनपानका फाइदा÷बेफाइदाबारे चर्चा गर्नु आवश्यक लागेन।

स्तनपान भनेको पेट भर्ने कुरामात्र होइन। यो त आमा र बच्चाबीच भावनात्मक सम्बन्ध विस्तार गर्ने अवसर पनि हो। त्यसका लागि आमा र बच्चाले एकअर्कालाई हेर्ने, मुस्कुराउने, कुरा गर्ने गर्नुपर्छ।

आमालाई स्तनपान सिकाउन पर्दैन, प्रकृतिले यो सिप स्वतः सिकाउँछ भन्ने मान्यता मानव जातिले राखेको पाइन्छ। यो मान्यता सही होस्, सबै आमाले स्तनपान गराउने उचित कला जान्नुहोस्, हाम्रो कामना छ। यद्यपि स्वास्थ्य सेवा प्रदानका क्रममा धेरै आमा भेट्दा कतिपयलाई स्तनपान गराउने वैज्ञानिक कलाबारे राम्रो जानकारी नभएको पायौँ। अतः यो लेखमार्फत तिनै कलामाथि चर्चा गर्नु सान्दर्भिक हुने ठानेका छौँ।  

अहिले सूचना प्रविधिको युगमा जान्न चाहेको विषयमा थुप्रै सूचनाको सहज पहुँच हुन सक्ने अवस्था छ। सूचना खोजी गर्न प्रयोग गरिने एक माध्यम गुगलले मात्र संसारको करिव २० प्रतिशत ज्ञानको भण्डार आफूले समेटेको दाबी गर्छ। त्यस्तै दाबी अन्य कैयौँ इन्टरनेटमा आधारित सूचनाको खोजी गरिने माध्यमहरूको हुन सक्छ। त्यसका अलावा असंख्य लेख, पुस्तकमा संग्रहित ज्ञानको सीमा छैन। मानव जातिका असंख्य ज्ञान र सिप केवल व्यवहारमा सीमित छन्, पुस्तान्तरण भइरहेका छन् र कतिपय त विलुप्तसमेत भइसकेका छन्। हाम्रा आमा, दिदीबहिनीहरू सामाजिक मर्यादाले थिचेर हो या लज्जाबोधले, लुकिछिपी वा बाक्लो ओढ्ने ढाकेर असुरक्षित तरिकाबाट स्तनपान गराइरहेका हुन्छन्। उनीहरूले स्तनको सफाइ, पालैपालो स्तनपानको नियम, स्तनपानको समयअन्तर आदिबारे ध्यान दिएको देखिँदैन। कतिपय अवस्थामा काम गर्दागर्दै धुलोमैलो अवस्थामा पनि स्तनपान गराउने वा थाकेर सुस्ताएको बेला स्तनपान गराउँदा आमा भुसुक्क निदाएका कारण पनि असुरक्षित हुन सक्छ। त्यस सम्बन्धमा उनीहरूलाई घर÷परिवारका सदस्य वा पाका महिलाले समेत सही सल्लाह दिएकादेखिन्न।  

हाम्रै देशमा पनि प्रसूति अवस्थाका विविध पक्षमा सत्यतथ्य जानकारी दिने, मनमा उठेका जिज्ञासाको समाधान दिनुका अलावा आवश्यक सेवाको सहज पहुँच बढाउने र प्रसूति अवस्थालाई सकभर रोमाञ्चित, सुखद र स्मरणीय बनाउने उद्देश्यले मोबाइलमा आधारित आमा र बच्चामा लक्षित आमाको माया कार्यक्रम विकास भएको छ। यो प्रविधिको प्रयोगबाट आमा वा उसको परिवारले गर्भवती, प्रसूति वा सुत्करी अवस्थाबारे थुप्रै जानकारी पढ्न, सुन्न र हेर्न सक्छन्। त्यसका अलावा खतराको लक्ष्यण देखिएमा टोल फ्रि नम्बरमा दक्ष प्रसूतिकर्ताहरूसँग कुरा गर्न र उनीहरूको परामर्शअनुसार सेवा लिन सक्छन्। यस्ता गतिविधि विकसित देशहरूमा निकै पहिलेदेखिहुँदै आएको भए तापनि नेपालका लागि यो एउटा नवीनतम अनुभव हो। त्यसमा पनि कोभिड कहरबीच सहज ढंगले स्वास्थ्य संस्थाबाट सेवा र परामर्श लिन कठिनाइ भएको अवस्थामा आमाको माया जस्ता प्रविधियुक्त सेवाको सान्दर्भिकता थप प्रवल भएको छ। यसको मद्दतबाट गर्भवती महिला, उनका श्रीमान्, घर÷परिवारले पनि सत्यतथ्य कुराको जानकारी पाउन सहज भएको यसको प्रयोगकर्ताले बताएका छन्।  

स्तनपान सम्बन्धमा घर÷परिवारमात्र होइन, कतिपय अवस्थामा हाम्रा अस्पतालमा पनि निकै हेलचेक्रयाइँ हुने गरेको पाइन्छ। अस्पतालमा दक्ष प्रसूतिस्याहारकर्मी (मिड्वाइफ) कोअभाव हुन्छ। जसका कारण त्यहाँ आमालाई स्तनपानलगायतका विविध पक्षमा राम्रो परामर्श नहुन सक्छ। ठूला अस्पतालमा स्त्रीरोग विभाग र बालस्वास्थ्य विभागबीच समन्वय कमीका कारण कहिलेकाहीँ आमा र बच्चालाई फरक फरकरूपमा हेरिने कारणले स्तनपानले उचित प्राथमिकता नपाएकोमहसुस हुन्छ।  

हरेक आमा, परिवार र समाजमा स्तनपानको जागरुकता जगाउन जरुरी छ।स्वास्थ्य संस्था स्तरमा हरेक गर्भवती तथा सुत्केरी महिलालाई स्तनपानको महत्व परामर्श, स्तनपान कसरी गराउने, कहिलेसम्म गराउने भनेर सिकाउनुपर्छ। महिलाहरू कार्यरत कार्यालय, शिक्षण संस्थामा स्तनपानका लागि छुट्टै कक्ष बनाउन जरुरी हुन्छ। महिलालाई आवश्यक सुत्केरी बिदा दिन जरुरी हुन्छ। यदि यस्तो भइदिएको भए धेरैकाछोराछोरी आमाको दूध खानबाट वञ्चित हुनुपर्दैन।यसैगरी सरकारी नीति÷नियम कडाइका साथ लागु गरिनुपर्छ। जस्तो– शिशुको आहाराका नाममा बजारमा उपलब्ध दूधहरू स्वास्थ्यकर्मीको सिफारिसमा मात्र पाइने गरी नियमन गरिनुपर्छ।पूर्ण स्तनपान प्रबर्धन गर्न त्यसको पूर्ण पालना गर्ने महिलालाई प्रशंसापत्र वा अरू कुनै प्रभावकारी माध्यमबाट हौसला बढाउन सकिन्छ।  

आजकल अस्पतालहरूमा अत्यधिक मात्रामा शल्यक्रियाको माध्यमबाट प्रसूति गराइने गरेको पाइन्छ। यस क्रममा आमा र बच्चालाई लामो समयसम्म छुट्याएर राखिन्छ। यो गलत प्रवृत्ति हो।साधारण प्रसूति गराउँदा आमालाई केही घण्टा पीडा हुन्छ, त्यस क्रममा उनलाई सहयोग र सहजीकरण गर्ने फुर्सद सेवाग्राहीलाई छैन। अर्कोतर्फ आधुनिक आमाहरू प्रसूति पीडा सहन अनिच्छुक भई पहिल्यै शल्यक्रियाका लागि चिकित्सकसँग आग्रह गर्ने प्रचलन पनि बढ्दै गएको छ। अधिकांश निजीस्तरका अस्पतालमा करिब ८० प्रतिशतभन्दा बढी शल्यक्रियाबाट प्रसूति हुनेगरेका तथ्यांक छन्।त्यस्ता अस्पतालले प्रसूति हुनुअगावै कचौरा, चम्चा वा बोतल र फर्मुला मिल्क जोहो गर्न लगाउने प्रचलन पाइन्छ।  

स्तनपानमा आसनको ठूलो भूमिका हुन्छ। हाम्रा घर÷परिवारको के कुरा, अस्पतालमा समेत त्यस सम्बन्धमा जानकारी दिने गरेको पाइँदैन। स्तनपानका लागि थुप्रैथरीका आसनहरू विकास भएका छन् तर सबै आसनका फरक फरक विशेषता हुन्छन्। त्यस सम्बन्धमा दक्ष प्रसूतिकर्मी नर्सले उचित ढंगले सहजीकरण गर्न सक्छन्। आमाहरूले स्तनपानका सहज आसन कलाबारे जिज्ञासा राख्ने वा उनीहरूका जिज्ञासालाई सहजीकरण गराइदिने क्रममा पनि अधिकांशरूपमा कन्जुस्याइँ गरिन्छ।

स्वास्थ्य सेवाप्रदायकले आमा र बच्चालाई सजिलो हुने गरी टाँसिएर स्तनपान गर्ने कलाबारे जानकारी गराउनुपर्छ फलस्वरूप आमाको स्तनमा कम दुःख होस् र बढीभन्दा बढी दूध सहज प्रवाह हुन सकोस्। यस क्रममा ख्याल गर्नुपर्ने पक्ष भनेको स्तनपान गराउँदा आमाको स्तन बच्चाको मुखसम्म पु-याउने जबर्जस्त कोसिस गर्ने होइन कि बच्चालाई सहज ढंगले आमाको स्तनसम्म पुग्ने वातावरण सिर्जना गर्नुपर्छ। बच्चाको मुख पूरा खुलेको र उसको चिउँडो स्तनमा टाँसिएको हुनुपर्छ। स्तनपानका क्रममा बच्चाले स्तन चुस्दातल्लो मुख चलाएको गतिविधि साथै दूध निलेको आवाज आमाले प्रष्ट देख्न र सुन्न सक्ने हुनुपर्छ।  

स्तनपान भनेको पेट भर्ने कुरामात्र होइन। यो त आमा र बच्चाबीच भावनात्मक सम्बन्ध विस्तार गर्ने अवसर पनि हो। त्यसका लागि आमा र बच्चाले एकअर्कालाई हेर्ने, मुस्कुराउने, कुरा गर्ने गर्नुपर्छ। एउटा स्तनको दूध सकिएपछि मात्र अर्को स्तनतर्फ सार्नुपर्छ। यस क्रममा साधारणतया बीस मिनेटसम्म लाग्न सक्छ। यस प्रकारका गतिविधिले बच्चाको पूर्ण पोषणमात्र होइन,उसको मस्तिष्कको विकासमा ठूलो मद्दत पुग्छ। आमाहरूलाई आफ्नो स्तनपानले बच्चालाई पर्याप्त पोषण पुग्यो÷पुगेन भन्ने चिन्ता हुनु स्वाभाविक हो। त्यसका लागि बच्चाको दिसा पिसाबको आधार सहज अनुमान लगाउन सक्छन् भने उनीहरूको शारीरिक वृद्धिका आधारमा पनि एकीन गर्न सक्छन्।  

अन्तमा,स्तनपान नै शिशुका लागि उत्कृष्ट आहार हो जसमा धनी÷गरिब, विपन्न÷सम्पन्न, गाउँ÷सहर केही नभनी बच्चालाई आवश्यक पर्ने सम्पूर्ण पोषण तत्व भरिपूर्ण हुन्छ। स्तनपान नै कुपोषण घटाउने मुख्य आधार हो। स्तनपानको मूल मन्त्र भनेकै बच्चा जन्मेपछि सकेसम्म छिटो (एक घण्टाभित्र) स्तनपान गराउने, छ महिना पूरा नभएसम्म आमाको दूधमात्रै खुवाउने (अ– खानेकुरा वा पानी पनि दिनुपर्दैन), बच्चा छ महिना पूरा भएपछि कम्तीमा दुई वर्षआमाको दूधका साथसाथै थप पौष्टिक आहार दिन थाल्नुपर्छ। स्तनपानका लागि हरेक महिलालाई घर÷परिवार, समुदाय र सरकारी स्तरबाट प्रोत्साहन हुने व्यवस्था गर्नु टड्कारोआवश्यकता भइसकेको छ।
(पौडेल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहप्राध्यापक र न्यौपानेजनस्वास्थ्य विषयमा स्नातकोत्तर नर्स हुन्।)

प्रकाशित: २० श्रावण २०७७ १०:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App