१९ श्रावण २०७७ सोमबार
विचार

घामले पोल्दा रूखको छहारी

बाइरोडको बाटोमा

कम्युनिस्ट पार्टीका लागि एउटा सजिलो सूत्र, अझ भनौँ मन्त्र छ– एकता, संघर्ष र एकता। जब आन्तरिक परिस्थिति खराब बन्छ, नेतृत्वलाई सुविधा छ, यही सूत्रलाई आफूअनुकूल व्याख्या गरिदिए पुग्छ– हेर्नुस्, हामी कम्युनिस्ट साह्रै वैज्ञानिक छौँ, पार्टी जीवनमा जे भइरहेको छ, यो स्वाभाविक छ, यसको विज्ञानसम्मत हल हुन्छ, हामी त्यसकै खोजीमा छौँ। अनि, कार्यकर्ता पंक्ति रनभुल्ल ! नेताको मान राख्न पनि यति पत्याइदिनै प¥यो। बाँकी जनताले बुझे पनि नबुझे पनि के नै फरक पर्छ र ?  

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको सम्बन्धको आयाम अपरिमेय छ। कहिले हामी दुई नेकपारूपी जहाजका पाइलट हौँ भन्छन्। कहिले यो जहाज एक्लैले उडाएको हो र ? भन्न पनि भ्याउँछन्।  

पार्टीका दुई नेता पुष्पलाल र नरबहादुर कर्माचार्यको स्मृति दिवसलाई शुक्रबार सम्बोधन गर्दै दाहालले ओलीविरुद्ध आक्रामक भाषण गरे। नेपालको अद्यावधिक नक्सा जारी गरेको जस एक व्यक्ति (ओली)लाई मात्र दिनु न्यायसंगत नभएको भाषण गरेलगत्तै उनी बालुवाटार पुगे। बालुवाटार पुगेर दाहालले ओलीलाई आफ्नो भाषणबारे के भने होलान् ? अनुमान धेरैले लगाउन सक्छन् र उनको छविले पनि देखाउँछ, उनी भन्दा हुन्– तपाईँले पनि बेलाबेला ‘टियर ग्यास’ छाड्नुहुन्छ, मैले पनि त्यस्तै एक थान छाडेर आएँ।  

उता यसरी छाडेको टियर ग्यासको धुवाँमा मान्छे आँखा मिच्दै हुन्छन्, यता नेताले गला मिलाइसकेका हुन्छन्। वास्तवमा हाम्रा नेता महान् छन्। पुराणमा कुनै देवताको प्रशंसामा एउटै वाक्य प्रयोग भएको पाइन्छ– प्रभु, हजुरको वर्णन गर्न हजार जिब्रा भएका शेष नागले पनि सक्दैनन्।

दाहाललाई व्यस्त राख्नु सजिलो काम होइन। प्रधानमन्त्री ओलीले भने यो काम सहजै गरेका छन्। सबैभन्दा राम्रो कुरा, जति उछलकुद भएको छ, त्यो नेकपाभित्रै सीमित छ। कल्पना गरौँ, यतिबेला उनी नेकपाभित्र नभएर कुनै एउटा सानो दललाई नेतृत्व गरिरहेका हुन्थे भने राष्ट्रिय राजनीतिमा उनको भूमिका के हुन्थ्यो ? वास्तवमा दाहालले सिंगो देशलाई अस्थिर तुल्याइरहेका हुन सक्थे, जो विगतमा देखिएकै हो। अहिले त जे भइरहेको छ, त्यो नेकपाभित्रै सीमित छ।  

कम्युनिस्ट पार्टीका लागि एउटा सजिलो सूत्र, अझ भनौँ मन्त्र छ– एकता, संघर्ष र एकता। जब आन्तरिक परिस्थिति खराब बन्छ, नेतृत्वलाई सुविधा छ, यही सूत्रलाई आफूअनुकूल व्याख्या गरिदिए पुग्छ– हेर्नुस्, हामी कम्युनिस्ट साह्रै वैज्ञानिक छौँ, पार्टी जीवनमा जे भइरहेको छ, यो स्वाभाविक छ, यसको विज्ञानसम्मत हल हुन्छ।

ओलीले गर्नुपर्ने र नगरेका धेरै काम छन्। दाहाललाई व्यस्त राख्न भने उनले सकेका छन्। यसको श्रेय उनलाई अवश्यै जान्छ। नेकपामा नभएर बाहिर रहेका भए दाहालले अनेकन् धम्की दिन सक्थे। बेलाबेला उनी भन्ने गर्थे– मलाई फेरि जंगल जाऊँ जस्तो लाग्न थालेको छ।  

अचेल दाहाल जंगल जाने कुरा गर्दैनन्। दाहाल नेकपाभित्रै व्यस्त छन्। कहिले उनी पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालकहाँ पुग्छन्, कहिले प्रधानमन्त्रीकहाँ। यसले उनलाई पर्याप्त काम पुगेको छ। दाहाल यसै पनि प्रशस्त क्षमता भएका, हदैसम्म लचिलो हुन सक्ने, कठोरमा कठोर र कमलोमा कमलो मन भएका नेता हुन्। यस्ता बहुआयामिक नेता नेकपाजस्तो शक्तिशाली र बहुरंगी नेता भएका दलमै हुनु उचित हुन्छ। यसले उनलाई भरपुर काम दिन सक्छ।  

२०४६ सालको जनआन्दोलनपछि मुलुकमा विभिन्न दलले खुला गतिविधि गर्न पाए। त्यो बेला हामीले पत्रकारका रूपमा यी दलबारे समाचार लेख्ने मौका पायौँ। नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीबीचको आधारभूत विशेषता फरक थियो। कांग्रेसभित्र नेताअनुसारका शिविर थिए। कार्यकर्ताले चियापसलमा दल र नेतालाई गाली गर्न छूट पाउँथे। कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्तालाई त्यो छूट थिएन। पार्टीका नेतालाई आफ्नो कार्यकर्ताले पुतलीसडकको कुन सेकुवा पसलमा पसेर मदिरा सेवन ग¥यो भन्नेसम्मको जानकारी पुग्थ्यो। त्यसैले कार्यकर्ता नेतासँग थर्कमान थिए। अनुशासित हुनैपर्ने।  

अहिले आएर कांग्रेस र नेकपाबीच ठूलो अन्तर छैन। कांग्रेसभित्र जे÷जस्ता बेथिति देखिन्थे, त्यो अचेल नेकपामा पनि देखिन्छ। कांग्रेस नेताका गुट भेला हुन्थे। कसैलाई कारबाही हुँदैनथ्यो। कम्युनिस्ट पार्टीमा गुट भेला भए अनुशासनको कारबाही हुन्थ्यो। यस हिसाबले नेकपा बल्ल कांग्रेस मापदण्डअनुसारको पार्टी भएको छ।  

झुलभित्र र बाहिरका लामखुट्टेको अवस्था जस्तो हुन्छ, यतिबेला नेकपामा देखिएको संघर्षको रूप त्यस्तै छ। फरक यति हो, झुलभित्रको लामखुट्टे त अघाएपछि बाहिर निस्कन कोसिस गर्छ तर झुल अर्थात् सत्तामा रहेकाको अवस्था त्यो छैन, भित्रै मोज गरिरहेछन्। र, बाहिरका धेरै लामखुट्टे झुलभित्र प्रवेश गर्न खोजिरहेका देखिन्छ। नेकपा संघर्षको मूल मर्म यही हो।

अचेल मौसम पूर्वानुमान गर्ने प्रविधि भए पनि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को राजनीतिको अनुमान गर्न सजिलो छैन। एकाबिहानै अचानक पार्टीमा विवाद सकिन्छ, अपराह्नतिर फेरि कसले कसलाई कटाक्ष गर्ने हो कुनै ठेगान हुँदैन।  

हुन त नेकपामा अहिलेजस्तो धेरै नेता तथा कार्यकर्ताको व्यवस्थापन कहिल्यै भएको थिएन। राष्ट्रपति, प्रधानमन्त्रीदेखि मन्त्रीसम्म, प्रदेश प्रमुखदेखि मुख्यमन्त्रीसम्म, गाउँ÷नगरपालिकादेखि वडासम्म नेकपाको वर्चस्व छ। सात प्रदेशमध्ये ६ प्रदेशमा यिनकै रजगज छ। यस्तो बेला पनि नेकपाभित्र संघर्ष छ।  

नेकपाका निम्ति यस्तो अनुकूल समय आएकै थिएन। २०१५ सालको निर्वाचनपछि तत्कालीन प्रधानमन्त्री बिपी कोइरालाले पाएको अवसरसँग यतिबेला ओलीलाई जोडेर हेर्ने काम पनि भइरहेको छ। २०१७ पुस १ मा कांग्रेसको त्यो प्रचण्ड मतको सरकार शाही कुका कारण अपहरित भयो। अहिले त्यस्तो कु गर्न सक्ने कुनै शक्ति छैन। देशभित्रको परिस्थिति ठीक अवस्थामा रहुन्जेल विदेशी शक्तिले पनि यहाँ केही गर्न सक्दैनन्।  

यो स्थिति सम्हाल्न नसक्नुमा भने प्रधानमन्त्री ओलीको व्यवस्थापकीय क्षमताको अभाव देखिन्छ। दलको नौ सदस्यीय केन्द्रीय सचिवालय उनले औँलामा नचाउन सक्छन्। यी सबै शीर्षलाई उचित मानभाउको व्यवस्थापन गर्न उनले सकेका छैनन्। त्यसका निम्ति यिनलाई सघाउन सक्ने भरपर्दो सल्लाहकार टिमको अभाव देखिन्छ। ओली आफू त अरूका पेटका कीरा मर्ने गरी बोल्न सिपालु छन्। त्यस्तै, बोली उनको टिमका व्यक्तिले पनि गर्न जरुरी छैन। तिनले सबैसँग उचित व्यवस्थापकीय भूमिका निर्वाह गर्न सक्छन्।  

सल्लाहकार टिम भनेको जी–हजुरी गर्नेमात्र हुनुहुँदैन। कतिपय बेला बहकिन लागेका नेतालाई सम्हाल्ने व्यक्तिहरू त्यहाँ हुन आवश्यक छ। वास्तवमा तीमध्ये कतिपयले ओलीलाई चित्त नबुझ्ने कुरा सुनाउनै सक्दैनन् भन्ने पनि सुनिन्छ। चाकडी सुन्नेमात्र बानी लाग्यो भने त्यो खतरनाक हुन्छ।  

नेकपाभित्रको वातावरण सुधार गर्ने हो भने ओलीले आफ्नो आसपासमा विशेषज्ञ र सल्लाहकार समूह राख्नु उचित हुन्छ। वास्तवमा अहिलेसम्म दलभित्रबाट उनलाई ठूलो चुनौती छैन। उनको विरुद्धमा पार्टीमा बहुमत छ भने पनि त्यसले सिद्ध गर्न सकेको छैन। ओलीलाई कुनै निर्देशन दिन सक्ने हैसियत राखेको पनि देखिएन। अहिले ओलीविरुद्ध यत्रो वातावरण बन्दा पनि कुनै निर्णय हुन सकेको छैन। यसको अर्थ हो– ओलीले ठीक ढंगले राज्य सञ्चालन सुरु गरे भने उनलाई सबैको साथ रहन्छ।  

सरकारले भटाभट विकास निर्माणलाई गति दिन थाल्यो भने कसैको बोल्ने ठाउँ हुँदैन। कतिपय अवस्थामा आएका विधेयकले मुलुकको लोकतन्त्र र स्वतन्त्रताको स्थितिप्रति चिन्तित हुनुपर्ने अवस्था सिर्जना भएको छ। यस्ता विषयमा बेलैमा प्रधानमन्त्री मातहतकै विधेयक अध्ययन गर्ने संयन्त्रहरू सक्रिय भए भने त्यसले संविधान र स्वतन्त्रता विरोधी विधेयक आउन रोकिन्छ। कतिपय अवस्थामा कर्मचारीतन्त्रले आफूखुसी तयार पारेका विधेयकबाट समेत सरकार बदनाम हुने गरेको छ। त्यस्तो अवस्था आउन नदिन पनि प्रधानमन्त्रीको ध्यान पुग्नुपर्ने हुन्छ।  

सरकारले ठीक ढंगले काम गर्न थाल्ने हो भने हामीकहाँ अनायासै सकारात्मक वातावरण देखिन्छ। उदाहरणका लागि नेपाल विद्युत् प्राधिकरणको सुधारमा कुलमान घिसिङ वा सडकको अवस्थामा सुधारमा मन्त्री वसन्तकुमार नेम्वाङको पछिल्लो स्थिति हेरे पुग्छ। भूकम्पले धराशायी भएका सम्पदा धमाधम बन्न थालेका छन्। त्यसले मानिसको मनमा सकारात्मक भाव उत्पन्न हुन्छ। यसरी काम हुन थाल्यो भने सरकारप्रतिको विरोध पनि क्रमशः कम हुँदै जान्छ।  

त्यो अवस्थामा दलभित्र हुने सामान्य बाधा–विरोधले खासै फरक पार्दैन। वास्तवमा अहिले सरकारका निम्ति नेपाली कांग्रेस सबैभन्दा सहज र हार्दिक छ। आफ्नै सहयोद्धा कमरेडहरूको छिनछिनको मौसमी प्रभावमा परेका ओलीका निम्ति कांग्रेस सभापति शेरबहादुर देउवा शीतल छहारी जस्ता बन्न पुगेका छन्। त्यही भएर नेकपाको सूर्यले भतभती पोलेका बेला ओलीले कांग्रेसको रूखमुनि ओत खोज्नुपरेको छ।

प्रकाशित: ११ श्रावण २०७७ १०:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App