२५ श्रावण २०७७ आइतबार
विचार

प्रधानमन्त्री पद आकर्षक कि ईष्यालु ?

यस्ता झगडा सत्तामा भइरहने। पार्टी पद्धतिमा त झगडा भयो भयो। निर्दलीय पञ्चायतमा पनि सत्तामा हुने पञ्च र सत्ताबाहिरको पञ्चमा यस्तै द्वन्द्व र अन्तः कलह भइरहने। पञ्चायतका हस्तीहरू तुल्सी गिरीले पाए सूर्यबहादुरलाई, कीर्तिनिधि बिष्टसमेत पाएसम्म सूर्यबहादुर, डा तुलसी गिरीलाई थुन्ने। अनि सूर्यबहादुरको पालो आए यसै गर्ने। जेलमा कालोटीका लगाउने, राजनीतिका एकांकी, बहुअंकी नाटक कति मञ्चन भए कति नेपालको राजनीतिक डबलीमा। अबको गणतन्त्र नेपालमा त्यो अमिल्दो र अस्वाभाविक परिवर्तको युग सिद्धियो कि भन्ने सकारात्मक सोच पलाएको थियो। तर घटनाक्रमहरू त्यही सत्ता संघर्षको युग बाँकी नै छ भन्ने देखाउँदैछन्। गिरिजाप्रसादले कृष्णप्रसाद भट्टराईलाई देखिसहेनन्। गणेशमान सिंह, जगन्नाथ आचार्यहरूलाई कांग्रेसबाट खेदिछाडे। २०५६ सालको  संसद्को निर्वाचनमा भट्टराईलाई भावी प्रधानमन्त्री भनी घोषणा नगरे कांग्रेसले ‘घुँडा’ टेक्ने भो। तब अबको प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई भनी सार्वजनिक गरेर निर्वाचनमा बहुमत ल्यायो नेपाली कांग्रेसले। २०५६ जेठ १० मा भट्टराई प्रधानमन्त्री बनाइए। तर गिरिजा फेरि प्रधानमन्त्री बन्न यति हतारिए कि फ्रान्सको औपचारिक भ्रमण गर्ने अवसरसमेत नदिइ भट्टराईलाई राजीनामा गराएर २०५६ चैत ८ मा आफैँ फेरि प्रधानमन्त्री बने। यो उनको तेस्रो पल्टको प्रधानमन्त्रित्व थियो। यसरी हेर्दा यो प्रधानमन्त्री पद सधैँ नै आकर्षक र झगडाको केन्द्र रहँदै आएको छ। त्यसैले आजको झगडा नौलो होइन।  

हिले माछा समात्ने तर चिप्लने
अब एक दृष्टि यता पनि दिउँकि ? अहिलेको नयाँ ‘नछोड–जोड’ नाटकका दुई पात्रबारे अलिकति यसो कोरिपाउँ कि ? सरसर्ती हेर्दा कोट्यायो हरक आउँछ, नकोट्यायो किन नकोट्याएको होला भन्ने लाग्छ। यसो सिकसिको पनि लाग्न खोज्छ। समाजमा बसेपछि मन लागेको सबै गर्न पनि पाइँदैन। मन नलागेको पनि गर्नुपर्छ कहिलेकाहीँ। यी दुई शिखर व्यक्तित्वले जनताको घोर अपमान गरे। दुइटा भेट हुन्छन्, बालुवा पेले जस्तो गर्छन्। जनतालाई तेल निकाल्ने भन्छन्। भन्नेले त भने भने, हामी पत्याउने कस्ता ? मूर्खमात्र हो र महामूर्ख पो प¥यौँ कि ?

पार्टी भन्छन्, पार्टी पनि कम्युनिस्ट पार्टी भन्छन्। ए हो कि भन्यो। कम्युनिस्ट स्मेल पनि आउँदैन। फेरि कता कताबाट चुहिन्छ के के कुरा ? फेरि दुई दिन वार्ता स्थगित गर्छन्। दुई दिन सिद्धिहाल्छ। फेरि दुई दिन थप्छन्। आजित पारे यी दुई मिलेर। २०७२ असोजमा सरकार बनाए। ओली प्रधानमन्त्री बने। पुष्पकमल दाहाल कांग्रेससँग मिलेर ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराए संसद्मा। ओलीलाई लघारे प्रधानमन्त्री पदबाट। दाहाल प्रधानमन्त्री भए २०७४ जेठमा। शेरबहादुर देउवाले दाहाललाई लघारे। ओलीबाट पनि गयो, दाहालबाट पनि हिले माछो चिप्लियो, देउवाले समाते, त्यो माछा समात्ने खेल हाम्रा लागि पनि नयाँ भएन। माछा समात्नेहरूका लागि त झन् नयाँ हुने कुरै भएन। 

७१ वर्ष पुगेपछि सार्वजनिक पदबाट निवृत्त होऔँ। यो पनि एउटा उपचार हुन सक्छ टाँस्सिने रोगको। 

सरकार र दलभित्र अन्तद्र्वन्द्व
दलीय पद्धतिमा दलको प्रथम पुरुष नै सरकार प्रमुख भएको एउटा अवस्था तर ती दुई पदमा अलग अलग व्यक्ति भएभने अर्को अवस्था। अझ पार्टी एउटै अध्यक्ष दुई जना भएको छ भने अर्को अवस्था जस्तो कि आज नेपालमा छ। राजनीति एउटा बुभुक्षा हो, भोक हो, तृष्णा हो। यो जति नै भएपनि पर्याप्त हुँदैन। फेरि पार्टीहरूमा शिखर पुरुषहरूको कलह आजको मात्र होइन, पुरानै हो। २००७ सालको क्रान्ति नेपाली कांग्रेसको नेतृत्वमा मातृकाप्रसाद कोइरालाको कमान्डरीमा सम्पन्न भएको हो। तर के भएर हो सातसालमा बनेको सरकारमा मातृकाप्रसादलाई सरकारमा राखिएन। प्रधानमन्त्री मोहनशमशेर नै भए। कांग्रेसबाट गृहमन्त्रीमा विश्वेश्वरप्रसाद कोइरालालाई राखियो, उनी बसेपनि। राणा शासनविरुद्धको क्रान्ति सफल भो। तर मर्यादाक्रममा तेस्रो भएर पनि विश्वेश्वर गृहमन्त्रीमा बसे। एक नम्बरमा प्रधानमन्त्री मोहनशमशेर, दुई नम्बरमा रक्षामन्त्री बबरशमशेर र बल्ल तेस्रो नम्बरमा विश्वेश्वर। क्रान्ति सम्झौताबाट टुङ्गिदा प्रायः यस्तै हुन्छ। त्यो सरकार बल्लतल्ल चल्दै गयो।  

अब मातृकाप्रसाद कोइरालाको प्रधानमन्त्रित्वमा २००८ मंसिर १ मा नेपाली कांग्रेसको एकमना सरकार बन्यो। सो सरकार बनेको दिन विश्वेश्वरले बल्ल राणाशाही अन्त्य भयो भने। नयाँ सरकार गठन भएपछि विश्वेश्वरले पार्टीलाई बलियो पारी सरकारलाई सहयोग गर्न सक्ने र नियन्त्रण गर्न पनि सक्ने बनाउनुपरेको छ भन्ने प्रतिक्रिया दिए। पार्टी पद्धतिमा वास्तवमा पार्टीले सरकारलाई नियन्त्रण गर्न खोज्छ खोज्छ,त्यो नौलो कुरा होइन।  

नेकपाको दोस्रो र तेस्रो पुस्ता पनि पार्टी एकता पक्षमा छ। तसर्थ एक साता बैठक स्थगन गरेर भएपनि सिंङ्गो पार्टी सुरक्षित रहन्छ भने के बिग्रियो त भन्ने दृष्टिकोण बलियो देखिएकोछ।

विश्वेश्वरलाई मन पराउँदैनथे  
यसो भनेर विश्वेश्वरप्रसाद एक सालका लागि पटना गए। अब कोइराला बन्धुहरूमा झगडा यति धेरै शिखरमा पुगेछ कि मातृकाप्रसाद कोइराला प्रधानमन्त्रित्वको कांग्रेस सरकार टिक्न सकेन। तब राजाले २००९ साल साउन २६ मा सरकार विघटन नै ग¥यो। त्यसपछि जनरल केशरशमशेर राणासमेत ६ जना सदस्य भएको परामर्शदातृ सरकार सोही साल साउन ३० मा बन्यो। भन्दा प्रजातन्त्र भन्ने तर काम भने त्यसअनुरूप नहुने हुँदा प्रजातन्त्रको नै चीरहरण हुन थाल्यो।  

यता नेपाली कांग्रेस फुट्नेतिर अग्रसर हुन लाग्यो। अब यसैबीच सत्तामा जान मातृकाप्रसादले राष्ट्रिय प्रजापार्टी खोले। २०१० असार ४ मा प्रधानमन्त्री भए दोस्रोपल्ट। त्यसपछि कलकत्तामा नेपाली कांग्रेसका दुई भाइबीच छलफल भई युद्धविराम भयो। त्यो आठ सूत्रीय सन्धिपत्र थियो। २००९ जेठ १० बाट जनकपुरमा नेपाली कांग्रेसको महाधिवेशन भो। विश्वेश्वर सभापति छानिए। मातृकालगायतलाई कांग्रेसको सदस्यताबाट निष्काशन गरे। २००९ भदौमै सरकार विघटन भो। फेरि पार्टी फुट्यो।कोइराला दाजुभाइको झगडामा राजाले राजनीति गिजोल्न पाए। अन्ततः २०१२ साल माघमा टंकप्रसाद आचार्यको प्रधानमन्त्रित्वमा सरकार बनाए राजा महेन्द्रले। भारतका प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरू पनि राजा त्रिभुवन जस्तै विश्वेश्वरलाई मन पराउँदैनथे।  

परिस्थिति प्रतिकूलतातर्फ
हाम्रा आदर्श दुई नेता ओली–प्रचण्ड दुई जनामात्र बसेर वार्ता गरेर घिउ लाग्छ कि भनी सहयात्रीहरूले सुझाएपछि दुई अध्यक्षबीचमात्र कुरा भइरहेको थियो। तर घिउ लागेको भने थिएन। बरु अरूचर्का कुरा पो बाहिर आउन लागे। प्रचण्डले सरकारको उपलब्धि देखिएन तसर्थ तपाईँले प्रधानमन्त्री पदबाट राजीनामा दिनोस् भने रे। तर ओलीले प्रचण्डलाई ठाडै भने रे– प्रधानमन्त्री हुने भए चुनाव कुर्नोस्, एक्लै अध्यक्ष हुने चाहना छ भने महाधिवेशन पर्खनोस्। साँच्चै ओलीले यी कुरा भनेकै हुन् भने अब नेकपा के हुने ? प्रश्न उठ्यो।  

ओलीलाई पढ्नेहरू भन्छन्– उनी त्यसो भन्ने दर्जाका होइनन्। यो जवाफ त भित्तो पुग्ने गरी भएन र ? यसखालका शब्द प्रयोग हुने एउटा–एउटा बीचको वार्ता पनि घिउ त के तरसमेत नलाग्ने दूध तताएजस्तै भएन र ? यस्ता एक्ला एक्लै वार्ताको सुझाव कुन वा कुन कम्रेडका थिए अब सोच्न थाल्नुभो होला। कति महान् रहेछन् हाम्रा दुई महापुरुष भनेर। साँच्चै ‘एकान्त’ सधैँ फलदायी हँुदैन रहेछ। आफ्ना अरू तहका नेता, जनतामा सँगै बसेर काम गर्ने सदस्य कम्रेडहरू यी दुई अध्यक्षको एकताको गोल के रहेछ भन्ने गतार्थ भयो होला। उहाँहरू दुई शिखर पुरुषमुनि सहशिखर पुरुष वरिष्ठ नेता झलनाथ खनाल एवं अर्का सहशिखर पुरुष माधवकुमार नेपाल के कथाको के पात्र जस्तो ‘खस्ला र खाउँला’ भन्ने शिवशर्माको सातु घैँटो फुटेको कथा जस्तो होला भन्नेतिर यसो ध्यानदृष्टि लगाए कम्तीमा नोक्सान त पर्दैन। परिस्थिति नेता अनुकूल छैन। अझ प्रतिकूलतातर्फ गइरहेकोछ।

अवकाशको उमेर सरदर आयु !  
नेकपा आफू के हो ? माक्र्सवाद, लेलिनवाद अझ माओवादको परिभाषा जनताको बहुदलीय जनवाद अटाउने गरी कसरी गर्छ ? त्यो अर्को राजनीतिक सगरमाथा हुनेछ। यो गन्तव्य सजिलो छैन। २०७७ साल चैत मसान्तसम्म सम्पन्न गर्ने भनिएको नेपाल कम्युनिस्ट पार्टीको महाधिवेशनको परिकल्पना गर्दा पनि सहज होला जस्तो लाग्दैन। २०७७ चैत मसान्तसम्म नभए पनि २०७८ चैत मसान्त वा २०७९ चैत मसान्तसम्म त अवश्य गर्नुपर्ला। त्यो बेलाको परिदृष्य कस्तो होला ?नेकपाको प्रस्तावित महाधिवेशन यही आजकै नेतृत्वले गर्ला ? गरे कसरी गर्ला ?के नेकपाका आजका शीर्ष नेताहरू नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण गर्न चाहँदैनन् ? राणाशासन र शाह शासनमा जस्तै पशुपति आर्यघाटको ब्रह्मनालमा वा कुनै मेघा अस्पतालको मृत्युशैयामा मात्र पार्टीको पदको पगरी बुझाउने मनोविज्ञानमा हो ?पार्टी राजनीति शाह वा राणाशासनको रेप्लिका–प्रतिकृति–होइन जो आजीवन रहिरहन्छ।  

पार्टी राजनीति भनेपछि त्यो आवधिक हुने गर्छ। कथं व्यक्ति उही नै दोहोरिए पनि जनतामा भने जानैपर्छ। तर कम्युनिस्ट पार्टी भनेको वैज्ञानिक माक्र्सवादबाट निष्पन्न पार्टी भएको हुँदा सक्रिय नेतृत्व गर्ने एउटा सामान्य उमेरको हद राख्ने परिपाटी बसाल्नु जाति होला। त्यो हद नेपालीको सरदर आयु ७१ वर्ष राख्नु तर्कसंगत लाग्छ। ७१ वर्ष पुगेपछि सार्वजनिक पदबाट निवृत्त होऔँ। यो पनि एउटा उपचार हुन सक्छ टाँस्सिने रोगको।  

एउटै थालमा खानेहरू नै विपक्षमा !
नेपालीमा एउटा उखान छ–‘तँ आँटेस्, म पु¥याउँला’ भन्ने। नेकपाभित्रको रडाको खारिँदै खारिँदै दुई अध्यक्षको घेरोमा सीमित हुँदै आएको थियो। निष्कर्षमा प्रचण्ड पक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष पदबाट समेत राजीनामा दिनुप¥यो भन्ने टुङ्गोमा पुग्यो एकातिर भने अर्कोतिर ओली दुवै पदमा अडिइरहने एउटा पद पनि नछाड्ने अडानमा अडिने अडान लिए। यसबीचमा वाञ्छित÷अवाञ्छित धेरै कदम चाले। छँदाखाँदाको संसद् अधिवेशन असमयमै अन्त्य गराए। नाटकीय ढङ्गबाट। सभामुखसम्मले पनि सुइँको नपाइकन। आफूलाई सत्ता र पार्टीबाट विस्थापन गर्न भारतीय संयन्त्रसम्म पनि गुहारे आफ्नै पार्टीका नेताहरूले। यसरी आफूलाई घेरामा पारेको भन्ने निक्र्यौलमा पुगेका प्रधानमन्त्री ओली आफू दुई पदमध्ये एउटा पनि नछाड्ने टुङ्गोमा पुगे। यस अडानमा उनलाई काँध थाप्नेमा पार्टीभित्रका हनुमान त हुने नै भए। उनका आफू नजिकका यती, ओम्नीहरू हुनु अस्वाभाविक भएन।  

बल्लबल्ल आयोजित नेकपा स्थायी समितिको बैठक आफ्नो अनुकूलतातर्फ होइन, प्रतिकूलतातर्फ उन्मुख भएको टुङ्गोमा पुगेर मदन भण्डारी जयन्तीको सभालाई बिटुलेर अनर्गल आक्रोश पोखे। यही कारण स्थायी समिति बैठक नै भाँडियो र विषयान्तरतिर लाग्यो। अब पार्टी बिथोलिन लाग्यो। दुई अध्यक्ष वा दुई शीर्ष नेता नै पार्टी एवं सरकारका निम्ति समाधान नभएर समस्याका रूपमा खडा भए। पार्टी पूरा एकीकरण गर्न असफल यी दुई नेता आआफ्नो मर्यादामा पनि बस्न सकेनन्। एउटाउपर अर्को पक्ष खनिन लागे। यो विघटन उन्मुख पक्षलाई सघाउने त कति कति आफ्नै मान्छे एउटै थालमा भात खानेहरू।  

ढिला गर तर सिंगो राख
नेकपाका दुई अध्यक्ष नै आजको रडाकोका कारक हुन् भने कारण पनि यी दुई नै हुन्। सरसर्ती हेर्दा विकसित मुलुकहरूमा पनि राष्ट्रको कार्यकारी प्रमुखको पद चाहे त्यो पद राष्ट्रपतिको वा प्रधानमन्त्री, बढी आकर्षक हुन्छ। जो आकर्षक हुन्छ त्यो पद झगडाको केन्द्र पनि हुन्छ हुन्छ। त्यो चाहे संयुक्त राज्य अमेरिकी राष्ट्रपति होस्, चाहे चीनको, चाहे रुसको राष्ट्रपति या भारतको, जापानको, गणतन्त्र नेपालको प्रधानमन्त्री पदको। त्यसमाथि त्यो पदउपर राजा सर्वेसर्वा रहेका बेला २००८ सालतिरदेखिकै हो। जुनबेला एउटै पद प्रधानमन्त्री पदका निम्ति एउटै बाबुका छोरा विश्वेश्वरप्रसाद र मातृकाप्रसाद कोइरालाबीचको तीव्र विवाद। फेरि मेल, फेरि विवाद ! यस दृष्टिबाट हेर्दा यी दुइ पात्र ओली–प्रचण्डबीचको अनवन अन्ततः नयाँ होइन न त हो अनौठो पनि। हो, राजनीतिको सैद्धान्तिक एवं दार्शनिक पाटो एउटै भएका ओली–प्रचण्डबीच तल्लो तहको जस्तै ङ्यारङ्यार ङुरङुर हेर्दामात्र अनौठो लागेको हो। तर असार २६ गते नेकपा स्थायी समितिको हुने भनिएको स्थगित बैठक फेरि एक सातासम्मका लागि स्थगित गरियो। यो स्थगनको निहुँ बाढी÷पहिरोले पायो।  

नेकपाको दोस्रो र तेस्रो पुस्ता पनि पार्टी एकता पक्षमा छ। तसर्थ एक साता बैठक स्थगन गरेर भएपनि सिंङ्गो पार्टी सुरक्षित रहन्छ भने के बिग्रियो त भन्ने दृष्टिकोण बलियो देखिएकोछ। तर यो सात दिनमा अथक परिश्रम गरी पार्टीलाई सिंङ्गो राख्नोस्, झगडा टुंग्याउनोस् ।

प्रकाशित: ३१ असार २०७७ १०:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App