२३ असार २०७७ मंगलबार
विचार

अमेरिका–चीन सम्बन्ध विच्छेद

कोभिड–१९ महामारीले केवल स्वास्थ्य क्षेत्रलाईमात्र असर गरेको छैन्। यसले विश्व व्यवस्थाको संरचना, पद्धति, शक्ति राष्ट्रबीचको सम्बन्ध र शक्ति सन्तुलनमासमेत धक्का दिएको छ। दुई ठूला अर्थतन्त्र अमेरिका र चीन नयाँ शीत युद्धतर्फ उन्मुख रहेको विज्ञहरूको चेतावनी छ। चिनिया विदेश मन्त्रीले समेत त्यसतर्फ धकेल्न केही राजनीतिक भाइरस लागिपरेकास्वीकार गरेका छन्। शीत युद्धबीच सम्बन्ध सुधार गरेका अमेरिका र चीन, पुरानो शीत युद्ध अन्त्यको दुई दशकपछि नयाँ शीत युद्धतर्फ प्रवेश गर्न लागेको संकेत देखिएका छन्।  

हालै न्युयोर्क टाइम्सका स्तम्भकार थोमस एल फ्रिडम्यानले एक लेखमार्फत अब अमेरिका र चीन सम्बन्ध पहिले जस्तो सहज हुन नसक्ने विश्लेषण गरेका छन्। यो स्थितिमा आफूहरू जस्ता सन्तुलित धारणा राख्नेहरूलेपनि सोच्नुपर्ने समय आएको संकेत उनले गरेका छन्। सन् १९७२ यता राजनीतिक एवं रणनीतिक दृष्टिकोणले अनेकौँ भिन्नता भए पनि अमेरिका र चीनबीचको सहकार्यबाट दुवै देशले मात्र होइन, बाँकी विश्वलेसमेत लाभ लिन सकेका छन्। चिनिया नेता तङ सियाओफिङले पश्चिमाहरूले पाँच सय वर्षमा गरेको प्रगति चीनले ५० वर्षमै गर्नुपर्नेछ भनेअनुसार सबल चिनिया नेतृत्व, कुशल व्यवस्थापन र चिनिया जनताको कठोर मेहनतले तङले भनेको सुधारको ५० वर्ष पनि नपुग्दै चीनदोस्रो आर्थिक शक्ति बन्नुका साथै विश्वलाई समय सुहाउँदो नयाँ व्यवस्था निर्माणका लागि सामूहिक प्रयासमा लागिपरेको छ।  

खुलापन र आर्थिक सुधारलाई सहयोग गरेर चीनलाई आफूजस्तै बनाउँछु भनेर लागिपरेको अमेरिकासहित पश्चिमा विश्व अहिले झस्केको छ र चीनले वर्तमान र भविष्यमा आउनसक्ने विश्व चुनौती सामना गर्न र विश्वमा शान्ति एवं समृद्धि कायम गर्न वर्तमान विश्व संरचनाले पुग्दैन्, यसमा व्यापक सुधारमात्र होइन, नयाँ संरचना र पद्धति पनि निर्माण हुनुपर्छ भनेर लागेको छ। यो माग प्रत्यक्ष÷परोक्षरूपमा विकासशील मुलुकहरूले धेरै पहिलेबाट उठाउँदै आएका हुन्।  

यसका लागि चिनिया राष्ट्रपति सी चिनिफिङले न्याय र खुलानीतिमा आधारित विश्व व्यवस्थाको वकालत गर्दै आएका छन्। डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासन विश्व मुद्दाबाट पछि हट्न लागेसँगै चीनले स्वाभाविकरूपमै विश्वव्यापीरूपमा आफ्नो उपस्थिति, सहकार्य र प्रभाव बढाउँदै लगेको छ।कम्युनिटी अफ सेयरड फ्युचर फोर म्यानकाइन्डलाई मूल मन्त्र बनाउँदै विश्व समुदायबीचको एकता र सहकार्यका लागि चीननीति र संयन्त्रमार्फत व्यावहारिकरूपमै अघि बढ्छ भन्ने राष्ट्रपति सीले केही अभ्यासबाट सन्देश दिइसकेका छन्। पुराना संयन्त्र उपयोग गर्दै नयाँ संयन्त्र र पद्धति निर्माणमा तीव्र जुट्ने पथचिनिया नेतृत्वले अवलम्बन गरिरहेको छ। चीनको यही गति बुझेका विज्ञहरू अमेरिकालाई जति चीनलाई फुर्सद छैन भन्ने गर्छन्।  

चिनिया राष्ट्रपति सीले अमेरिका–चीन ‘नयाँमोडलको प्रमुख राष्ट्र सम्बन्ध’ प्रस्ताव पटकपटक ट्रम्पसमक्ष प्रस्तुत गरेपनि अमेरिकी प्रशासन आफ्नो प्रभुत्वमा धक्का लाग्ने डरले स्वीकार गर्न मानिरहेको छैन्।

कतिपय विज्ञचाहिँ अमेरिकी नेतृत्वको उदार विश्व व्यवस्थाको विकल्पमा बेल्ट एन्ड रोड संयन्त्र आएको दाबी गर्छन्। उनीहरूको यो विचार तर्कसंगत देखिँदैन्। अमेरिका र चीनबीचको सम्बन्धमा तनाव आउन नदिन चिनिया राष्ट्रपति सीले अमेरिका–चीन‘नयाँमोडलको प्रमुख राष्ट्र सम्बन्ध’ प्रस्ताव पटकपटक ट्रम्पसमक्ष प्रस्तुत गरे। तर,  अमेरिकी प्रशासन आफ्नो प्रभुत्वमा धक्का लाग्ने डरले स्वीकार गर्न तयार छैन। चीनको ‘डिजिटल सिल्क रोड योजना’ र ‘साइबर सुपरपावर’ बन्ने महत्वाकांक्षाले अमेरिकालाई झन् बढी छटपटी छ। ब्रुकिङ इन्स्टिचुसनका अनुसन्धानकर्ता तरुण छव्रा नयाँ डिजिटल प्रविधि र साइबर पावर दुवैमा चीन धेरै अगाडिपुगिसकेको र गति तीव्ररहेको बताउँछन्।  

जर्मनीको डालिया रिसर्च एजेन्सी र अलायन्स अफ डेमोक्रेसी फाउन्डेसनकोअध्ययनले कोरोना नियन्त्रणमा अमेरिकी प्रशासनको प्रयास निकै फितलो रहेको भन्ने जनमत बढिरहेको निष्कर्ष निकालेको छ। चिनिया प्रयासचाहिँ प्रभावकारी भएको जनमत देखिएको छ। कोरोना जस्ताका चुनौती कुनै देशले एक्लै सम्बोधन गर्न नसक्ने पुष्टि भएको बताउँदै अमेरिकी प्राध्यापक ग्राहम आलिसनले विश्व मामिलामा अमेरिका र चीनले एकअर्कालाई बेवास्ता गर्नै नसक्ने दाबी गर्छन्। चिनिया प्राध्यापक यान स्वेथोङका अनुसार आउँदो दुई दशक विश्वमा नयाँ किसिमका जटिलता देखा पर्ने तर त्यसको सम्बोधनका लागि ठोस नेतृत्वको अभाव खट्किने तर्क गर्छन्। मुख्यगरी अमेरिकी प्रशासनको एकलकाटे नीतिले साझा चुनौती सम्बोधनमा व्यवधान खडा हुने उनको आकलन छ।  

अमेरिकी प्रशासनले हालै सार्वजनिक गरेको चीनसम्बन्धी रणनीतिक दृष्टिकोण प्रतिवेदनको निष्कर्ष सहकार्यलाई निरन्तरता दिने भनिए पनि अमेरिकी स्वार्थ रक्षार्थ चिनिया वेग रोक्न कुनै कसर बाँकी नराखिने घुमाउरो किसिमले सन्देश दिएको छ। अब अमेरिका–चीन सम्बन्ध पहिलेको जस्तो पक्कै हुन सक्दैन्। प्रविधि, साइबर सुरक्षा, आर्टिफिसियल इन्टेलिनेन्स, व्यापार र कडा एवं नरम शक्तिका आधारहरू सबैतर्फ कडा प्रतिस्पर्धा एवं टक्करको अवस्था देखापर्ने स्पस्ट छ। बाहिरबाट हेर्दा व्यापार युद्धजस्तो देखिएपनि अमेरिकी वर्चस्व कायम राख्ने एकथरी र नयाँ सन्दर्भमा नयाँ सहमतिको बहुधु्रवीय नयाँ विश्व व्यवस्था निर्माण हुनुपर्छ भन्ने अर्कोथरी बीचको टकराव सुरु भएको हो। यो टकरावमा अमेरिका वा चीन दुवैले आफ्नो विचार र सामथ्र्य बढाएर बढ्ता प्रभाव बटुल्ने प्रयास गरिरहनेछन्। ट्रम्पका पूर्व सुरक्षा सल्लाहकार जोन बोल्टनले आगामी चुनाव जित्न ट्रम्पले चिनिया राष्ट्रपति सीको सहयोगका लागि आग्रह गरेको  आफ्नो हालैको पुस्तकबाट बाहिर ल्याएपनि उग्र राष्ट्रवादी ट्रम्प राष्ट्रिय स्वार्थका लागि कतिसम्म गम्भीर छन् भन्ने चिनिया प्रशासनले राम्रैसँग बुझेको छ। तर बाह्य मामिलामाअमेरिका पछि हट्दा चीनलाई गतिलो जिम्मेवारीप्रस्तुत गर्ने ऐतिहासिक अवसरपनि बनेको छ।  

चिनिया विदेश मन्त्रीले संकेत गरेजस्तै नयाँ शीतयुद्धको थालनी गर्न केही अमेरिकी राजनीतिक भाइरस लागिपरेका भन्नेमा धेरै हदसम्म सत्यता रहेपनि नयाँ चुनौती सामना गरिरहेको विश्वमा दुई प्रमुख शक्ति अमेरिका र चीन थप जटिल द्वन्द्वमा धकेलिएर सम्बन्ध विच्छेदको अवस्था सिर्जना भयो भने यो विश्व शान्ति, स्थिरता र सहकार्यका लागि खतरनाक सावित हुन्छ र यसले सन् १९१८ देखि २०३९ सम्मको जस्तो निकै तनावपूर्ण अवस्थामा विश्वलाई धकेल्न सक्छ। 

‘मेड इन चाइना २०२५’ र ‘चाइना स्टान्डर्ड २०३५’चीनलाई नयाँ उचाइमा पु¥याउन सार्वजनिक कार्यक्रम हुन्। यसबाट पनि अमेरिकी प्रशासन निकै चिन्तित बनेको छ। सन् १९७२ यता चीनलाई पाठ पढाएर आफूजस्तै बनाउँछु भन्दा आफैँ भ्रममा परेर विश्वबाटै प्रभाव गुम्नेस्थितिमा पुग्न आँटेको अमेरिकी ठम्याइ छ। राजनीतिक विचार–ढाँचा र आर्थिक मोडल दुवैमा आफूभन्दा भिन्न चीनले विश्व व्यवस्था पनि आफूलाई सहज हुने आधारहरू तय गर्ने अमेरिकी भय छ। त्यसैले यतिखेर अमेरिकी प्रशासनका पुरातन वा उदार दुवै पक्षधर चीनलाई जसरीपनि रोक्ने र प्रविधि हस्तान्तरणलगायतमा कठोर बन्ने निष्कर्षमा पुगिसकेका छन्। हालै सार्वजनिक रणनीतिक दृष्टिकोण प्रविवेदनमा पनि यी कुराको स्पष्ट संकेत पाइन्छ।  

अमेरिकाको अर्को चिन्ता चीनले नयाँ अन्तर्राष्ट्रिय संस्थाहरू निर्माण र विद्यमान संस्थालाई आफ्नो प्रभावमा पार्न आँट्यो भन्नेमाछ। चीनलाई विश्व व्यापार संगठनमा ल्याएर गल्ती गरियो भन्ने एकथरी अमेरिकीहरूको गुनासो छ। विश्व स्वास्थ्य संगठनले चीनको प्रभावमा काम ग¥यो भन्ने ट्रम्प प्रशासनको आरोप पनि छ। सी सत्तामा आएपछि विश्वभर चिनिया प्रभाव बढ्यो भन्नेमा अमेरिकीहरूको रोष छ। तर उनीहरू के बिर्सन्छन् भने अमेरिकी प्रयासमै स्थापित संगठनहरूका नियमहरू पालन गर्दै चीनले आफ्नो राष्ट्रिय स्वार्थ संरक्षण र सम्वद्र्धन गरेको छ। मिलेरै संगठन चलाउने तर साथीले बढी मेहनत गरेर केही लाभ हासिल ग-यो भनेर इष्र्या गर्ने अमेरिकी व्यवहार छ। यसले विश्वमा सहकार्य र साझेदारीको आधारलाई थप कमजोर मात्र पार्दैन अविश्वासलाई बढाउँछ।  

चिनियाहरूको बुझाइमा पनि वासिंगटनसँगको संघर्षमा ‘न्यु लङ मार्च’ सुरु भइसकेको छ। जसले आर्थिक, प्रविधि एवं सामरिकरूपमा फड्कोमार्न सक्छ। त्यसैले विश्वलाई नेतृत्व दिन सक्छ भन्ने बुझाइमा रहेको देखिन्छ। केही वर्षयता पश्चिम प्रशान्त क्षेत्रमा देखिएको प्रतिस्पर्धाले पनि संघर्ष चर्को हुँदैछ भन्ने देखाउँछ।  

सिंगापुरका प्रधानमन्त्री ली सियन लोङले एसियाली मुलुकलाई विद्यमान अमेरिकी प्रभाव र ढोकैअगाडि आइपुगेको चिनिया सामथ्र्यबीच सन्तुलन कायम गर्न निकै चुनौतीपूर्ण हुने फरेन अफेयर्स म्यागेजिनमा हालै प्रकाशित आफ्नो लेखमा उल्लेख गरेका छन्। अमेरिका र चीनबीचको सहकार्यको अवस्थाले मात्र अबको विश्वको मार्गचित्र कोरिने उनको कथन छ। अमेरिकी प्राध्यापक जोसेफ ने अमरिका र चीनबीच कडा प्रतिस्पर्धात्मक अवस्था सिर्जना भएपनि मुख्यगरी अमेरिकी प्रशासनले आफ्ना मूलभूत मूल्य÷मान्यतामा सम्झौता नगरी चीनसँग सहकार्य जारी राखेर विश्वलाई ‘पब्लिक गुड’ प्रवाह गर्न सक्नुपर्ने सुझाव दिन्छन्।  

चिनिया विदेश मन्त्रीले संकेत गरेजस्तै नयाँ शीतयुद्धको थालनी गर्न केही अमेरिकी राजनीतिक भाइरस लागिपरेका भन्नेमा धेरै हदसम्म सत्यता रहेपनि नयाँ चुनौती सामना गरिरहेको विश्वमा दुई प्रमुख शक्ति अमेरिका र चीन थप जटिल द्वन्द्वमा धकेलिएर सम्बन्ध विच्छेदको अवस्था सिर्जना भयो भने यो विश्व शान्ति, स्थिरता र सहकार्यका लागि खतरनाक सावित हुन्छ र यसले सन् १९१८ देखि २०३९ सम्मको जस्तो निकै तनावपूर्ण अवस्थामा विश्वलाई धकेल्न सक्छ। त्यसैले सिंगापुरका प्रधानमन्त्री लीले भनेजस्तै विभिन्न असहमतिका बाबजुद विश्वलाई नयाँ गति दिन अमेरिका–चीनबीचको नियमित संवाद, विश्वास र सहकार्यकै विश्वलाई खाँचो छ। एक्लै होइन, संयुक्त प्रयासबाटमात्रै विश्वका साझा चुनौती सम्बोधन गर्न सकिन्छ।  
(चीनको सिचुवान प्रान्तस्थित लसान नर्मल विश्वविद्यालयका सहप्राध्यापक एवं सेन्टर फर ट्रान्स हिमालय स्टडिजका सिनियर रिसर्च फेलो)

प्रकाशित: १७ असार २०७७ १०:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App