२३ असार २०७७ मंगलबार
विचार

सि जिनपिङको विश्व दृष्टिकोण

आधुनिक चीनका प्रमुख नेतामध्ये माओत्से तुङले राष्ट्रलाई मुक्ति दिलाए, देङ स्याओ पिङले सम्पन्नता ल्याए, ज्याङजमिनले अन्तर्राष्ट्रिय प्रतिष्ठा दिलाए भने सि जिनपिङले करिब ३ सय वर्षदेखि पश्चिमाहरूले नेतृत्व गरेको विश्व व्यवस्थाको दाबी गरे। यिनै चिनिया विश्व व्यवस्थाका दावेदार सि जिनपिङ जो चीनका वर्तमान राष्ट्रपति हुन्, उनको चीन र विश्व राजनीति अर्थनीति र कूटनीतिसम्बन्धी नीतिगत विचारहरूको संकलन ‘दि गभर्नेन्स अफ चाइना’ को दोस्रो भागले वर्तमान चीन अर्थात सिको मस्तिष्क बुझ्न मद्दत गर्छ। ६०० पृष्ठको यो पुस्तक वर्तमान चीनको नीति र त्यसले दूरगामी पार्ने प्रभावबारे बुझ्न सघाउँछ।  

समकालीन चीन के सोचिरहेको छ ? यसको शक्ति सञ्चालन कसरी हुन्छ ? आर्थिक तथा राजनीतिक कार्यक्रम के के छन् ? अन्तर्राष्ट्रिय सम्बन्धलाई कसरी लिन्छ ? आदि प्रश्नको उत्तर खोज्न यो पुस्तक पढ्नैपर्ने हुन्छ । बीसौँ शताब्दीमा आफूलाई विकासशील देश ठान्ने चीन अहिले महाशक्ति भएको छ। कृषिप्रधान चीनमा व्यापक औद्योगिकीकरण भएको छ। विश्व अर्थव्यवस्थाको दोस्रो खेलाडी भएको छ। विज्ञान प्रविधिमा तीव्र विकास गरिरहेछ। १.४ अरब जनसंख्या भएको यस राष्ट्रमा ५२ जाति छन्। ५ हजार वर्षको लिखित इतिहास भएको चीनको प्राचीन संस्कृति छ। जसलाई राष्ट्रपति सिले प्राचीन कवि र दार्शनिकहरूलाई बारम्बार उद्धृत गरेका छन्।  

पार्टीको १२औँ कांग्रेसका नीति तथा कार्यक्रमहरूलाई ध्यान दिएका उनका सम्भाषणहरू पार्टी कार्यकर्तादेखि संयुक्त राष्ट्र संघसम्म तानिएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमणदेखि अरब राष्ट्रहरूको सम्बन्धमा घोत्लिएका छन्। अर्थतन्त्रदेखि साइबर सुरक्षा हुँदै माक्र्सवादको महत्व र सन्दर्भसम्म चिन्तन गरिएको छ। वर्तमान चीनका चुनौती र सम्भावनालाई केलाइएको यो पुस्तकले चीनको डिएनए बुझ्न मद्दत गर्छ। सन् १९४९ मा क्रान्ति गरेर आएको माओको नेतृत्वको चीनदेखि वर्तमानसम्म उनले कम्युनिस्ट पार्टीको उतारचढावहरू देखेका छन्। माक्र्सवादलाई सर्वोत्तम र वैज्ञानिक दर्शन मान्ने सि चिनिया चरित्रको समाजवादमा जोड दिन्छन्। यो चिनिया चरित्रको समाजवाद भने कम्युनिस्ट पार्टीको नेतृत्वमा उदार अर्थव्यवस्थाको अभ्यास हो।  

देङको बिरालो कालो÷सेतो भन्दा मुसा समात्ने हुनुपर्छ भन्ने भनाइलाई ध्यानमा राख्दा चीनले १९७८ को सुधारदेखि अहिलेसम्म मुसा समातेको निक्र्यौल छ। कम्युनिस्ट पार्टीलाई जनतासँग जोड्न, गाउँमा जानु र जनतालाई सम्पन्न बनाउन दृढ संकल्पित भई काम गर्न कार्यकर्तालाई सुझाव दिन्छन्। तथ्यबाट सत्य खोज्नुपर्ने देङको बाढीलाई बारम्बार दोह¥याउँछन्। उनले कानुनको शासनमा जोड दिएका छन्। सुशासनमा राष्ट्रको विकास हुने तर्क गरेका छन्। अनुशासन र संगति मिलेको समाजमा ध्यान दिन आग्रह गरेका छन्। चीनको भव्य प्राचीनताको वकालत गरेका छन। कम्युनिस्ट पार्टीको ऐतिहासिक दायित्व सम्झाउँदै माक्र्सवाद माओ विचारधारा, देङ विचारधारा पालना गर्नुपर्ने दायित्व पनि बुझाउँछन्।  

समकालीन विश्व राजनीतिमा प्रचलित हार्डपावर सैन्य र आर्थिकमा चीन दरो छ। तर सफ्टपावर संस्कृति र भाषामा पनि चीनको आसाधारण हैसियत छ।

उनको विचारलाई नयाँ युगको चिनिया चरित्रको समाजवादसहितको विचारधारा मानिन्छ। पार्टीबाट आजीवन नेतृत्वमा रहने प्रधिकार पाएका सि समकालीन चीनका सम्राट हुन। जुन अधिकार असाधारण छ। यसर्थ यस्ता नेताको राष्ट्रिय नीतिहरूले भरिएको यस पुस्तकलाई सि विचारधाराको ग्रन्थ भने पनि हुन्छ। कूटनीतिज्ञ हेनरी किसिन्जर चीन आफूलाई विशेष ठान्ने गरेको बताउँछन्। मध्य अधिराज्यको ग्रन्थी बोकेको चीनको मनोविज्ञान आफूलाई विश्वको केन्द्र ठान्ने गर्छ। यही विश्वको केन्द्र ठान्ने राष्ट्रका राष्ट्रपति सिको चिनिया राष्ट्रको पुनर्ताजगी र पुनर्जागरणसम्बन्धी अवधारणाहरूले कत्तिको मूर्त रूप लिन्छन त्यो हेर्न बाँकी नै छ।  

सन् २०१३ मा कजाकस्तानमा सुरु गरिएको रेशम मार्ग (जो पछिबाट बेल्ट र रोड अभियानमा परिणत भयो) का बारेमा सिले पर्याप्त बोलेका छन्। ३० राष्ट्रलाई छुने बेल्ट एन्ड रोड अभियान सि कार्यकालको विशेष उपलब्धि हो। एसिया, युरोप र अफ्रिकासम्म पुग्ने यो अभियानमार्फत चीनले विश्वमा पूर्वाधार र व्यापारको क्षेत्रमा क्रान्ति ल्याउनेछ। सामूहिक स्वार्थ र सपना बोकेको यो अभियान सम्पूर्ण मानव जातिका लागि भएको उनको दाबी छ। जसका लागि चीनले ४० बिलियन डलरको प्रतिबद्धता जनाएको छ। २० हजार सञ्जाल विशेषज्ञहरू तयार पारिनेछ। प्राचीन रेशम मार्गद्वारा बौद्ध धर्मको प्रचारप्रसार भएको थियो। कन्फुसियसका शिष्यहरू युरोपसम्म पुगेका थिए। जसलाई भोल्टेयर र लिबिनिज जस्ता युरोपेली दार्शनिकहरूले प्रशंसा गरेका कुरा सिले उल्लेख गरेका छन्। यस अभियानअन्तर्गत चिनिया कम्युनिस्टहरूले ५६ अर्थ र व्यापारसम्बन्धी सहयोग क्षेत्र खोलेका छन। जसले १०१ बिलियन डलर कर संकलन र १ लाख ८० हजारलाई रोजगारी दिएका छन्।

संयुक्त राष्ट्र संघको जेनेभास्थित कार्यालयमा बोल्दै ७० वर्षअघि गठन भएको संयुक्त राष्ट्र संघप्रति चीन प्रतिबद्ध रहेको र यसका संगठनका मातहतमा रहेर सक्रिय भूमिका खेलेको उल्लेख गर्दै विश्वका जल्दाबल्दा समस्या समाधान गर्ने वर्तमान विश्वलाई ध्यान दिनुपर्ने बताउँछन्। शान्तिपूर्ण सहअस्तित्व र वार्ताबाट नै समस्या समाधानमा चीनले जोड दिएको बताउँछन्। चिनिया उखान ‘समुद्र अथाह छ किनभने यसले सम्पूर्ण नदीलाई समाहित गर्छ’ भन्छन्। ४० वर्षसम्म चलेको शीतयुद्धको संस्मरण गर्दै यसबाट गहिरो पाठ सिक्नुपर्छ भन्छन्। आतंकवाद आतंकवाद नै रहेकाले यो राम्रो÷नराम्रो नहुने उनको निचोड छ। कुनै पनि द्वन्द्व समाधान हुनु ठूलो नभएको र कुनै पनि बरफ फुट्नु ठूलो नभएको तर्क गर्छन्। अन्तर्राष्ट्रिय कानून सबैलाई लागु हुनुपर्ने बताउँदै विश्वमा अन्तर्राष्ट्रिय कानुन छनोट गरी लागु हुन नसक्ने उनको तर्क छ।  

सि विश्वभर चीनको बढ्दो महत्व र उपस्थितिका कर्ता हुन्। यसर्थ अन्तर्राष्ट्रिय मञ्चहरूमा उनी चीनको धारणा सन्तिुलित र स्पष्टरूपमा राख्छन्। चीनको राजनीतिक प्रणालीलाई जनताको सल्लाह÷सुझावमा चल्ने राजनीतिक प्रणाली मान्ने सिले आफूले पढेका पुस्तकहरूको विवरण पनि दिएका छन्। जसमा एरिस्टोटलको पोलिटिक्स हुँदै जन लक, मोन्टेस्क्यु र क्लस वित्जको अन वारसम्म छन्। यस क्रममा उनले पढेकामा एडम स्मिथदेखि पल स्यामु यलसानसम्मका अर्थशास्त्री छन्। प्राचीन चिनिया साहित्यको उल्लेख गर्ने उनी पश्चिमी मस्तिष्कलाई बुझ्ने तर विशुद्ध चिनिया कन्फुसियाली चिन्तक प्रतीत हुन्छन्। साहित्यले जनताको सेवा गर्नुपर्छ भन्ने माक्र्सवादी अवधारणालाई पनि उनी मान्छन्।  

चीनले कसैको आन्तरिक मामलामा हस्तक्षेप नगर्ने र आफ्नो कुरा नथोपर्ने बताउँदै विश्वको साझा भविष्यका लागि काम गर्ने उनको दाबी छ। चीनले आफ्नो कूटनीतिमा विश्वकै प्रमुख राष्ट्रको हैसियतमा स्थान खोजेको बताउँछन्। देङ भन्थे– ‘क्षमता र शक्ति लुकाऊ’ तर सिसम्म आइपुग्दा चीन विश्व मामलामा प्रत्यक्षरूपमा आफ्नो क्षमता प्रदर्शन गर्ने र हैसियत खोज्नेसम्म अवस्थामा पुगेको देखाउँछ। अरब लिगको मुख्यालयमा बोल्दै अरब राष्ट्रहरू बेल्ट र रोड अभियानको महत्वपूर्व साझेदारका रूपमा रहेकाले दुवैबीच सहयोग कार्य गर्ने बताउँछन्। अरब सभ्यताको प्रशंसा गर्दै दुवैबीच सांस्कृतिक र बौद्धिक आदान–प्रदान गर्ने योजना अघि सार्छन्। यी सबै पढ्दा लाग्छ– सि चीनलाई पश्चिमी अवधारणाको राष्ट्र राज्यभन्दा सभ्यतागत राष्ट्रका रूपमा अघि सार्छन् किनकि चीन भिन्न छ। यो सभ्यतागत राष्ट्रको अवधारणा पश्चिमीकरणको विरुद्ध देखिन्छ।  

मौलिक सभ्यता र राजनीतिक संरचना भएकाले चीनले आफ्नो असाधारणपन जोगाइराख्न प्रयत्न गरिरहेको छ। यही असाधारणपनलाई उनी बारम्बार उल्लेख गर्छन्। लन्डन स्कुल अफ इकोनोमिक्सका प्राध्यापक मार्टिन ज्याक्सले विश्वमा चिनियाकरण हुने बताएका थिए। तर सि चीनले आफ्नो मौलिकतामा जोड दिने र अरूका मौलिक धारणाको सम्मान गर्ने बताउँछन्। उनले बारम्बार चिनिया संस्कृतिको विशिष्टतामा जोड दिएका छन्। संसारमै सबैभन्दा धेरै सदस्य संख्या भएको चिनिया कम्युनिस्ट पार्टीको नेतृत्व गरिरहँदा सि चीनको स्थायित्व र सुशासनप्रति चिन्तित देखिन्छन्। निश्चय पनि १.४ अरब जनसंख्या भएको चीनलाई शासन गर्न सजिलो छैन। ताइवानसँगको सम्बन्ध, हङकङ एक राष्ट्र दुई प्रणालीको रक्षा र निरन्तर खुला आर्थिक प्रणाली र त्यसको वृद्धिमा उनले ध्यान दिएका छन्। र, निरन्तर ४७ वर्षको उदारीकरण र खुलापन नबिथोल्ने उनको वाचा छ।  

चीनसामु तिब्बत, सिनजियाङ, मानव अधिकार र धार्मिक स्वतन्त्रताका लागि पश्चिमी दबाब छ तर यसलाई चीनले आफ्नै ढंङ्गले बुझेको छ। यही बुझाइका संकेत यत्रतत्र पाइन्छ। विश्व मामलामा हैसियत बनाइसकेको चीनको नीति र कार्यक्रमहरूलाई पुस्तकले बुझ्न मद्दत गर्छ। पुस्तक घटना र पात्रहरू भन्दा नीतिगत भएकाले दार्शनिक प्रकारको छ। जसको दर्शन नै सि जिनपिङको मस्तिष्क हो। सि जिनपिङका नयाँ युगको समाजवादको चिनिया चरित्रमाथिका यी विचार अगस्ट २०१४ देखि सेप्टेम्बर २०१७ सम्मका ९९ लिखित र मौखिक धारणाहरूको संकलन हो। जसको सार छ– नयाँ युगमा चीन शास्त्रीय साम्यवादको अभ्यास गर्दैन। विश्वसँगै हिँड्न चाहन्छ। राष्ट्रमा शान्ति, स्थायित्व र प्रगतिसँगै विश्व शान्तिका लागि अन्तर्राष्ट्रिय जगतमा काम गर्ने प्रतिबद्धता जनाइएको छ।  

पश्चिमाहरूको एकाधिकारवादको आरोपलाई चीनले चिनिया जनताको उन्नति गरेर खण्डन गरिसकेको छ। यसर्थ सि विचारधाराको आकर्षण बढ्दो रहेको कुरा पुस्तक पढ्ने जोकोहीले थाहा पाउन सक्छन्। ‘दि राइज एन्ड अफ ग्रेट पावर्स’ का लेखक पल केनेडी आर्थिक र सैन्य शक्तिको वृद्धिले राष्ट्र महाशक्ति हुने बताउँछन्। आज चीनको आर्थिक तथा सैन्य क्षमता वृद्धि भएको छ। त्यसैअनुसारको हैसियत उसले खोज्ने हो। यही हैसियत खोजाइको आकांक्षा पुस्तकमा व्यक्त भएको छ। समकालीन विश्व राजनीतिमा प्रचलित हार्डपावर सैन्य र आर्थिकमा चीन दरो छ। तर सफ्टपावर संस्कृति र भाषामा पनि चीनको आसाधारण हैसियत छ। यी दुवै शक्तिको अभिव्यक्ति हो यो पुस्तक।

प्रकाशित: ८ असार २०७७ ०९:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App