१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
विचार

नयाँ सालको सायरी

नयें साज उठाओ, नयाँ साल आया
नयें गीत गाओ, नयाँ साल आया

नयाँ वर्ष उपलक्ष्यमा नेपालगञ्जको मुसायरखानामा शुक्रबार राति आयोजित मुसायरा (उर्दु कविता गोष्ठी) मा वाचित एक पंक्ति कविताले मन झंकृत बनाइरन्छ। राजधानीमा यस्ता कृतिको बेलाबेला चर्चा हुन्छ। चर्चाविनै यहाँ यति सुन्दर सिर्जना भइरहन्छन्। कसैले हेरे पनि नहेरे पनि उपवनमा फूल फुल्न छाड्दैन।
मोहम्मद अमिन ख्यालीको यो सायरीको महत्व काठमाडौँले सुन्न नपाउदैमा कम हुँदैन। पश्चिम क्षेत्रमा पंक्तिकार आएको एक साता नपुग्दै यहाँका सांस्कृतिक गतिविधिबारे सुन्ने र बुझ्ने अवसर मिल्न थालिसकेको छ।

अर्कातिर 'नेपाली साकिरा' इन्दिरा जोशीले 'उध्रेको चोली' मार्फत नेपालगञ्जका युवामा थप गर्मी बढाइरहेकी थिइन्। काठमाडौँबाहिर पनि सांस्कृतिक कार्यक्रम आयोजना गर्ने होडबाजी रहेछ। नेपाली गीत र तिनै कलाकारको आफ्नै घरआगनछेउ प्रेक्ष्यालयमा उपस्थितिले मोफसलका दर्शकलाई दिने माया उल्लेख्य रहेछ।
इन्डियन आइडल प्रशान्त तामाङलाई नेपालगञ्जमा उतार्न एक दिन त हावाहुरी नै बाधक भयो। भोलिपल्ट उनी टुप्लुक्किए। उनीसँगै इन्दिरा जोशीलगायत कलाकार पनि। चर्को गर्मीमा पनि रमिरहेका थिए स्थानीयबासी। रंगशालाबाहिर बेपत्तासग मोटरसाइकल पार्किङ भएका थिए। अनुमान गर्न गाह्रो भएन। सांगीतिक कार्यक्रमका पारखी यिनै कामकाजी मोटरसाइकलवाला युवा हुन्।

गीतसंगीत र रमाइलो भन्दा बढी यहाँ समस्या छन्। मौका पर्नासाथ फाइदा उठाउनेको भिड छ। लोडसेडिङको अन्तहीन शृंखला छँदैछ। प्रशान्त, इन्दिरालगायत कलाकारले दर्शकलाई उत्साहित तुल्याइरहेका बेला स्टेजपछाडि निरन्तर प्रलाप गरिरहेको जेनेरेटरको आफ्नै पीडा थियो। तैपनि कलाकार र दर्शक दुवैले मनोरञ्जन दिन र लिन कुनै कसर राखेका थिएनन्।

रमाइलो गर्न हामीलाई केहीले छेक्दैन। हरेक दिनजस्तो कुनै न कुनै क्षेत्रमा जात्रा, मेला वा सांगीतिक कार्यक्रम हुन्छन्। तर, धेरै कामका निम्ति यहाँ साधन-स्रोतले
छेक्छ। धारा छ, पानी आउँदैन। शौचालय छ, प्रयोग हुँदैन। शौचालयबारे जाजरकोटको खबर छ- ७ करोड खर्च गरेर स्कुलहरूमा शौचालय बनाइएको छ। विद्यार्थी भने जंगल जान्छन्। किनभने शौचालयमा पानी आउँदैन। स्कुलको भौतिक सुधार कार्यक्रमअन्तर्गत दुई वर्षयता १ सय ८४ वटा स्कुलमा शौचालय बनेका रहेछन्।
सरकारको बजेट कुनै न कुनै रुपमा खर्च गर्नैपर्छ। शौचालय बनाउने भन्ने शत प्रतिशत प्रगति देखाइदिए भइहाल्यो। शौचालयका आडमा खुला दिसापिसाब मुक्त क्षेत्र घोषणाको लोकप्रिय कार्यक्रम पनि सञ्चालन भइरहेको छ। एनजीओहरू चलिरहेका छन्। सरकार पनि चलिरहेको छ।

एउटै सडकमा दुइटा नाम राखेर पनि बजेट निकासा हुने रहेछ। यो डोटीको खबर हो। बीपीनगर-सुर्खेत सडकको नाममा एक पटक र बीपीनगर-सडेखान-घाङल सडकका नाममा अर्को पटक अर्कै उपभोक्ता समितिका अध्यक्षले निकासा लिएछन्। विकास निर्माणका नाममा भइरहेका यस्ता अनियमितता कसले हेरिदिने? हरेक व्यक्ति मौका पाउनासाथ भ्रष्टाचारमा उत्रिहाल्छ।

नागरिक पश्चिमेलीले केही दिनयता छापेका समाचार शीर्षकमात्रले यहाको परिचय दिन्छन्। द्वन्द्वकालमा सल्यानबाट हिँड्दै हिँड्दै म रुकुम पुगेको थिएँ। अहिले रुकुमका युवामा चोरीका बाइक चढ्ने फेसन चलेछ। युवाले चोरीका बाइक चढेपछि प्रहरीलाई समस्या थपिएछ। उसले पक्राउ गरेका मोटरसाइकल राजस्व कार्यालय, दाङ पठाएर कारबाही गर्नुपर्नेमा प्रहरीलाई समस्या परेको रहेछ, तिनलाई दाङसम्म पठाउने यातायात भाडा कसरी जुटाउने? यातायात भाडा नपाएर प्रहरीले जफत गरेका चोरीका मोटरसाइकल कवाडीमा परिणत हुन लागेका रहेछन्।

जहाँ इच्छा, त्यहाँ उपाय। रुकुम प्रहरीले बुटवल प्रहरीबाट सिके हुन्छ। जुवाडेबाट जफत गरेको रकमबाट बुटवल प्रहरीले साइकल, ब्रेथलाइजर र राडर गन खरिद गरेछ। रुपन्देही प्रहरी प्रमुख एसपी रविन्द्र रेग्मीका अनुसार प्रहरीलाई गस्ती गर्ने साइकललगायत सामग्री किन्न स्रोतको अभाव भएकाले जुवाको खालमा प्रयोग भएको रकमको उपयोग हुन लागेको हो।

यहाँका समस्याको छिनोफानो गर्न व्यवस्थापकीय क्षमता चाहिन्छ। जबाफदेही बनाउनसक्ने प्रणालीको आवश्यकता छ। बिग्रिएका संयन्त्रलाई नयाँ रुप दिनुपर्ने छ। सिंहदरबारमा सत्ता टिकाउन भ्रष्टाचारीलाई नै काँधमा बोकेर भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको भाषण गर्न सहज हुन्छ। यथार्थमा पद्धतिमै नयाँपन आवश्यक छ।
नेपालगन्ज १५, सदरलाइनका ७४ वर्षीय सायर हाजी अञ्जुमले नयाँ साललाई स्वागत गर्दै गाएको सायरीबाट कतै प्रेरणा लिन सकिन्छ कि?

पुराने चमनको नयाँ रुप देदो
नयेँ गुल खिलाओ नयाँ साल आया

प्रकाशित: ५ वैशाख २०६९ ००:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %