९ आश्विन २०७८ शनिबार
विचार

भारतको यो कस्तो अन्याय ?

लिम्पियाधुरा, कालापानी र लिपुलेकमा हाम्रो ३३५ वर्ग किलोमिटर जमिन भारतले हडप्दै आएको छ। नेपालले बारम्बार यसबारे छलफल गरौँ भन्दा र पूर्वप्रधानमन्त्री माधव नेपाललाई यसका लागि पठाउन खोज्दा पनि भारतले लत्याउँदै आएको छ।  

यसैबीच भारतले हाम्रो जमिन भित्रबाट चीन जोड्ने सडक बनाएर २०७७ वैशाख २६ गते उद्घाटन ग-यो। नेपाली जनताले व्यापक विरोध गरे। यसमा छलफल गर्नुको सट्टा भारतले आफ्नो सेना प्रमुखलाई जेठ २ गते यसरी बोल्न लगायो, ‘नेपालले अरू कसैको इसारामा पिथौरागढ–लिपुपेक सडक निर्माणको विरोध गरेको हो।’  

के भनेको ? आफ्नो जमिनलाई आफ्नो भन्न कसको इसारा चाहिने ?  नेपाल आफ्नो हकहित, स्वाभिमान र पहिचानका लागि स्वयं निर्णय गर्छ, यसो गर्न सक्षम छ।  

मुलुकभित्र बढ्दो जन दबाब र जनताको साथ पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आँट देखाए। सही निर्णय लिए। भारतले हडपेको जमिन समावेश गरी नेपाल सरकारले २०७७, जेठ ५ मा राजनीतिक नक्सा निकाल्ने निर्णय ग-यो। उक्त नयाँ नक्सा प्रकाशन भई वितरण भइरहेको छ।

सो नक्सा निसान छापमा समावेश गर्न संविधान संशोधन गर्ने कुरा छ, यो प्रक्रिया छिटो गर्नुपर्छ। यसबीच धेरै कुरा भए।  

भारतले आफ्नो ‘गोदी अर्थात् काखे पत्रकारिता’को व्यापक प्रयोग गरेको छ। आफ्नो मुलुकका लागि बोल्दा कहिले मनिषालाई गाली गर्ने त कहिले नेपाली राजनीतिज्ञलाई धम्क्याउने र हुर्मत लिने काम गरिरहेको छ।  

यसै मेसोमा संसद्मा पेस भएको निसान छापभित्र नेपालको नक्सा राख्न दर्ता भएको संविधान संशोधन प्रस्ताव तुहाउने प्रयोजनका लागि भारतले भीषण प्रयास गरिरहेको छ। उसका संयन्त्रले साम, दाम, दण्ड, भेद सबै नीति प्रयोग गरिरहेका छन्। 

भारतले हाम्रो जमिन भित्रबाट चीन जोड्ने सडक बनाएर २०७७ वैशाख २६ गते उद्घाटन ग-यो। नेपाली जनताले व्यापक विरोध गरे। यसमा छलफल गर्नुको सट्टा भारतले आफ्नो सेना प्रमुखलाई यसरी बोल्न लगायो, ‘नेपालले अरू कसैको इसारामा पिथौरागढ–लिपुपेक सडक निर्माणको विरोध गरेको हो।’ 

सरकार सजग रहोस्, यस्तो दुस्प्रयासविरुद्ध। हामी सबै नेपाली एक ढिक्का छौँ, प्रधानमन्त्री ओलीसँग। ठूलो राष्ट्र भएर सानो छिमेकीको जमिन मिच्ने, अनि हामीले ए हाम्रो जमिन नमिच न भन्नसम्म नपाउने ? यो एक्काइसौँ शताब्दीमा पनि।  

यो कस्तो अन्याय ? यो त हद भयो। भारतले के प्रस्ट बुझ्नुप-यो भने उसले बाह्रबुँदे समझदारी गराएको अवस्थाको नेपाली जनता छैनन् अब। कसैले केही लछार्ने अवस्था पनि छैन अहिले। जनता अजय शक्ति हो। भारतले किन बारम्बार एउटै गल्ती दोहो-याइरहन्छ ? संविधान जारी हुनबाट रोक्न भीषण प्रयासले नपुगेर तत्कालीन परराष्ट्रसचिव सुब्रमण्यम जयशंकरलाई पठाएर के भयो र ? तीक्तता मात्र बढायो। जयशंकर हाल परराष्ट्रमन्त्री छन्।  

अघोषित उपनिवेशिक मानसिकता किन यसरी हाबी हुन्छ ? आफ्नो अनुसन्धानमूलक विश्व प्रसिद्ध पुस्तक ‘पेडागोजी अफ द अप्रेस्ड’मा पाउलो फेरी भन्छन्, ‘शोषितले शोषण गर्ने मौका पायो भने ऊ झन खतरनाक शोषक बन्छ।’ यस्तो शोषण मुलुक–मुलुकबीच र मुलुकभित्र वर्ग–वर्गबीच हुन्छ। मैले आफ्नै मुलुकभित्र नै देखेको एउटा घटना, ४० वर्षअगाडि एउटा अध्ययनको सिलसिलामा जाँदा। दाङमा थारूहरू अत्यन्त सोझा र अत्यन्त शोषित थिए। तर त्यसमध्येकै एउटा शोषित थारु पढे–लेखेर जान्ने–बुझ्ने राजनीतिमा हाटहुट गर्न सक्ने भएपछि ऊ झन् महाशोषक बनेको देखेँ।  

अहिले नेपालको सबभन्दा ठूलो शोषक सर्वहारा वर्गको राजनीतिक ठालुहरू छन्। यी नै सामन्ती हुन् अहिले। पहिले नेपालमा आर्थिक क्रियाकलापमा जमिन आबद्ध या जमिनमा केन्द्रित थियो। त्यतिबेला जमिनको माध्यमबाट आम जनताको शोषण गर्नेलाई  सामन्ती भनिन्थ्यो। यसको स्वरूप बदलिएको छ। अहिले वास्तविक अर्थमा नयाँ स्वरुपमा सामन्ती भनेको राजनीतिक ठालुहरू हुन्। नवसामन्ती मात्र पनि होइनन् यी। खतरनाक शोषक नै यिनीहरू बनेका छन्। यसैगरी ठूला र शक्तिशाली मुलुकहरू निर्धो मुलुकमा गएर त्यहाँको स्रोत र साधनको शोषण गर्दै आएका छन्। यसै पंक्तिमा यस क्षेत्रमा भारत पर्दछ। यसले गर्दा नै होला भारत आफ्नो  छिमेकीहरुसँग मिलेर बस्नै सक्दैन। दादागिरी गरिरहन्छ।  

नेपाल मुलुक बनिसकेको थियो, जतिबेला भारत मुलुक नै थिएन। ६ सयभन्दा बढी राज्य थिए त्यहाँ। ब्रिटिसले उपनिवेश बनाउन एकीकृत गरिदिएको हो। त्यतिबेला बिश्व शक्ति बनेको त्यही ब्रिटिससँग नेपाल युद्ध लडिरहेको थियो।

भारतको मानसिकतामा परिवर्तन आउनु ढिलो भइसकेको छ।  नेपाल आफू जत्तिकै एक स्वतन्त्र मुलुक हो भन्ने वास्तविकलाई आत्मसात गर्न सकेमा मात्र दुवै देशको आम जनताको भावनाको कदर हुनेछ। अनि मात्र दुवै देशको कल्याण हुनेछ। कूटनीतिक भाषाको सतही शब्दावलीमा होइन, भरतीय दादागिरी  मानसिकता नै परिवर्तन आउन सक्नुप¥यो।  

आफ्नै हातको भुटानमा पनि भनेको मानेन भनेर भारतले नाकाबन्दी गरेर सत्ता परिवर्तन गराएको विश्वले राम्ररी देखेको छ। हामीले थेग्न सक्यौँ। नेपालका केही राजनीतिक ठालुहरूलाई जोडेर, फुटाएर, लोभ्याएर, फकाएर वा तिनको कमजोरीमा खेलेर वा धम्क्याएर नेपालमा नेपाली जनताको चाहना भनेर राजकाज गर्ने धृष्टता भारतले नरोकेसम्म दुई देशबीचको सम्बन्ध कहिले पनि राम्रो हुन सक्तैन। सिक्किमी जनताको चाहना भनेर सिंगो स्वतन्त्र मुलुक निलेको घटनाले छिमेकीहरू सधैँ त्रसित छन् भारतसँग।  

भारतको संघीयता कमजोर छ। जसले गर्दा सोभियत संघ जस्तै टुक्रिने फोर्सले काम गरी नै रहेको हुन्छ। त्यसको न्यूनीकरण गर्न सकिन्छ ‘इमोसनल इन्ट्रिगेसन’लाई बलियो पारेर। तर, पूर्ण रूपमा रोक्न सकिँदैन। जुट्ने शक्ति र फुट्ने शक्ति एकसाथ काम गरिरहेका हुन्छन्। यो वैज्ञानिक नियम हो। ब्रिटिसले सिकाएको ‘विभाजन गरेर राज्य गर्ने’ अम्बलले गर्दा भारत आफैँ अप्ठेरोमा छ। शक्ति राष्ट्र बन्दै गएको भारतमा हिंसाको स्तरमा भएको वृद्धि, गरिब र धनीबीचको बढ्दो फासला कहालीलाग्दो छ। गरिबीको रेखामुनि होइन, कतिपय अफ्रिकी मुलुकमा जस्तै गरिबभन्दा गरिब जनता भोकमरीको चपेटामा धकेलिँदै गएका छन्।  

नेपाल सधैँ बाँचिरहने मुलुक हो। यसको मूल कारण हाम्रो ‘स्ट्रक्चरल पिक्युलियारिटिज’ हो।  ‘भारतका लागि नेपालमा राजनीति गर्ने’ सानो जमात बनाएर वा तिनलाई नेतृत्वमा पुर्याएर दुःख दिन सकिन्छ हामीलाई। तर, त्यो निर्णायक हुन सक्तैन। प्रधानमन्त्री ओली दृढ रहनुहोस्। हामी सँगै छौँ। 

प्रकाशित: १७ जेष्ठ २०७७ ०८:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App