१९ जेष्ठ २०७७ सोमबार
विचार

कोभिड–१९ र स्वस्थ खाना

हाल विश्व नै कोभिड–१९ को महामारीबाट आक्रान्त छ । यो झट्ट हेर्दा जनस्वास्थ्य समस्या हो तर यो मानव जातिमाथिको अहिलेसम्मकै ठूलो महामारी पनि हो । यसका कारणले भित्रिएका विभिन्न समस्यामध्ये खानेकुराको संबोधन एउटा महत्वपूर्ण सवाल हो ।  योसँगै यसले निम्त्याउँदै गरेको खाद्य संकट हाम्रासामु टड्कारो बनेको छ । सहरिया आममानिस (जो खानेकुरा उत्पादन गर्ने ठाउँबाट कोषौँ टाढा छन्) खाद्य संकटको भयबाट सबै भन्दा त्रसित छन् । यिनको दैनिक उपभोग्य विविध खानामा पहुँच कम हुँदै गएको छ । यीमध्ये कतिपय पत्रुखाना खाएर गुजारा गर्न बाध्य भएका छन् । किनकि अहिले बजारमा पोषणयुक्त विविध खानेकुरा पाउनै गाह्रो छ । अधिकांश खानेकुराको बजार मूल्य पनि ह्वात्तै बढेको अवस्था छ ।  

कोरोना या यस्ता खालका भाइरसबाट बच्न हाम्रो शरीरको प्रतिरोध क्षमताको योगदान महत्वपूर्ण छ । यस अर्थमा यस्ता महामारीबाट बच्न स्वस्थ खानपिन र सरल जीवनशैली आवश्यक छ । सँगै जनस्वास्थ्य विज्ञहरूका अनुसार प्राकृतिकरूपमा नै रोग प्रतिरोध क्षमता भएका स्थानीय खाना खाएमा मानिसमा रोग प्रतिरोधात्मक क्षमता राम्रो हुन्छ । विश्व स्वास्थ्य संगठनले पनि कोभिडबाट बच्न दैनिकरूपमा सन्तुलित आहार सेवन गर्न सुझाएको छ । खासगरी ताजा र कोरा सब्जी, फलफूल र अप्रशोधित खानेकुरा खान र पत्रु खानेकुरा नखानसमेत सल्लाह दिएको छ ।  

स्वास्थ्यलाई केवल औषधि विज्ञानको नजरबाट मात्र नहेरी समग्र मानव जीवन र पर्यावरणीय हिसावले हेर्न जरुरी छ । जनस्वास्थ्य र पोषणको मूल आधार खानपिन र जीवनशैली भएकाले अब कृषि खेतीलाई स्वास्थ्यसँग नजोडी सुखै छैन ।

अर्कोतिर अहिले हाम्रो रैथानेवाली र स्थानीय खानाको बारेमा पनि चासो बढेको छ । केही उदाहरण हेरौँ : रैथाने खाना, जस्तै– चिनो, काउनो, लट्टे, कोदो, फापर, जौलगायत मूलप्रवाहबाट उपेक्षित बालीहरूको माग बजारमा ह्वात्तै बढेको छ । योसँगै कोरोनाको बन्दाबन्दीमा सहरबासीहरू गाउँघरमा नियमित उपभोग गर्ने सिस्नो, गाभा, निगुरोलगायतका वनस्पतिजन्य खानेकुरा र बेमौसममा खानका लागि तयार पारिने मस्यौरा, किनिमा, गुन्द्रुक र सिन्की सम्झन थालेका छन् । करिब डेढ सालअघि नेताजीहरूले खाएर चर्चित बनेको जुम्ली मार्सी चामल र सिमीलगायतका रैथाने खानेकुरा अहिले फेरि खोजी हुन थालेको छ । यस्ता उत्पादनको माग र बिक्री वितरणसमेत बढेको छ । अहिले पाखा र छेउछाउमा पाइने सिस्नो र जताततै उम्रने लट्टे र बेथे सागको मागसमेत बढेको छ ।  

खानामा पहुँच कसको ? 
स्वस्थ खानामा मात्र होइन, अहिले खानेकुराको पहुँच किनेर खान सक्नेका लागि मात्र छ । गरिब र छेउ पारिएका जाति, वर्ग र समुदायको यसमा छैन । तिनका पनि केटाकेटी र महिला अझै जोखिममा छन् । अहिले भकारीमा अन्नपात नभएका साना किसान र दैनिक ज्यालादारीमा गुजारा चलाउने सहरिया श्रमिकहरू ठूलो खाद्य संकटको चपेटामा परेका छन् । यीसँगै सहर वा विदेशमा रहेका तथा रोजगारी गुमाउँदै गरेका आममानिस भोकमरीको मारमा पर्ने जोखिम बढेको छ । पोषणको कुरा त परै जाओस् उनीहरूले पेटभरि खान नपाउने समस्यासमेत जिउँदै छ । आगामी दिनमा यो अझै विकराल बन्दै जाने संकेत देखिएको छ ।  

हाम्रो खानामा पोषण  
आजका मानिसको खानपिन र जीवनशैलीमा ब्यापक फेरबदल आएको छ । त्यसैले हामी जस्तो खायो त्यस्तौ बन्छौँ । अखाद्य पदार्थका कारण विभिन्न नसर्ने रोगको दर बढेर गएको छ । दबाइका नाममा विष र छिटो अनि धेरै बाली लिने नाममा गलत रसायनहरूको प्रयोग बढेको छ । जुन माटो, पानी, मानव स्वास्थ्य र पर्यावरणीय हिसावले कुनै अर्थमा पनि लाभदायक छैन । अस्वस्थ र पत्रुखानाको उत्पादन, आपूर्ति र उपभोग भने बढेको छ ।  

भारतीय वातावरण तथा खाद्य सम्प्रभुता अभियन्ता वन्दना शिवाको ‘हेल्थ पर एकर’ पुस्तकका अनुसार पनि प्रतिएकर जग्गामा बढी उत्पादन हैन, पोषणयुक्त बाली उत्पादनमा जोड दिनुपर्ने हो तर अहिले बढी फलाउने र पैसा कमाउन बेच्ने लालसाले यो धेरै फलाउनेमै सीमित छ । हाम्रा पढे÷लेखेका मानिस पनि खानका लागि खेतीपाती गर्नेभन्दा पनि व्यावसायिक हुने नाममा यस्तै कृषिमा जोड दिन्छन् । मानव पोषणका लागि हाम्रो खेती प्रणालीलाई व्यापारिक होइन, पोषणमैत्री बनाउनुपर्छ ।  

पोषण र जनस्वास्थ्यको सवाल
पोषण र जनस्वास्थ्यको मूल आधार नै खाना हो भन्नेमा अब अलमल छैन । त्यसैले स्वास्थ्यलाई केवल औषधि विज्ञानको नजरबाट मात्र नहेरी समग्र मानव जीवन र पर्यावरणीय हिसावले हेर्न जरुरी छ । जनस्वास्थ्य र पोषणको मूल आधार खानपिन र जीवनशैली भएकाले अब कृषि खेतीलाई स्वास्थ्यसँग नजोडी सुखै छैन ।  

नोबेल पुस्कार विजेता डा. अभिजीत ब्यानर्जी र एस्तर डुफ्लोका अनुसार गरिब देशहरूमा कुपोषित बालबालिकाहरूको स्वास्थ्य अवस्था अति कमजोर छ । किनकि उनीहरूले खान नै राम्रोसँग पाउँदैनन् । उनीहरू अस्वस्थ र कुपोषित भएपछि शिक्षामा पछि पर्छन् र आफ्नो जीवनका संभावना के छ भन्ने थाहा नपाइ उनीहरूको जीवनको इहलीला समाप्त हुने गरेको उल्लेख छ । उनका अनुसार यी समुदाय आफू, आफ्नो र परिवारका लागि पोषिलो खाना र स्वास्थ्यमा कम खर्च गरेर गुजारा चलाउन बाध्य छन् । अतः उनीहरूको स्वास्थ्य कमजोर, आयु कम र रोग प्रतिरोध क्षमता पनि कम नै हुन्छ । यसैकारण यिनमा यस्ता महामारीको जोखिम पनि बढी नै हुने गर्छ ।  

खेतीपाती र पोषणको सम्बन्ध  
नेपालमा बहुसंख्यक साना र गरिब किसान छन् । उनीहरूका प्राथमिक समस्या खानेकुरा, शिक्षा र जनस्वास्थ्यसँग जोडिएका छन् । किसानी गरेर जीवनयापनका यी प्राथमिक आवश्यकता पूरा गर्ने किसानलाई सरकारले ल्याउने नीति तथा कार्यक्रमहरूले छुने गरेको छैन । अहिले कोरोनाको महामारीका कारणले यी समस्या झनै विकराल बन्ने देखिएको छ । यसलाई समयमै सम्बोधन गर्न एकीकृत र सघन कार्ययोजना बनाउन आवश्यक छ । तर स्वास्थ्य, शिक्षा र खानेकुराका लागि गरिने कृषिका कामहरू एकअर्कामा परिपुरक नभई आआफ्नै ढंगबाट सञ्चालित छन् । यिनका बीचमा बलियो सहकार्यबिना यी समस्या सम्बोधन हुन सक्दैनन् तर यिनको एकापसमा संयोजनसमेत छैन । स्वास्थ्य मन्त्रालयका अधिकांश काम अझै पनि उपचारात्मक छन् । स्वास्थ्यका लागि पोषण र खानामा जोड दिएको छैन । उता कृषिलाई उत्पादन बढाउने र आधुनिकीकरणका नाममा विष र रासायनिक मल बाँड्ने गरिन्छ । जुन मानव स्वास्थ्य, माटो, पानी र वातावरणका लागि हानिकारक छन् । तर अधिकांश नीति र कार्यक्रम शिक्षा, जनस्वास्थ्य र खानेकुराको महत्वबारे केही बोल्दैनन् ।  

देश संघीयतामा गइसकेको अवस्थामा अब संघीय सरकारबाट अनुदान र विकास बाँड्ने भन्दा स्थानीयरूपमा नै माटो सुहाउँदो विभिन्न प्रयासको थालनी जरुरी छ । एकीकृत खेती प्रणाली, उत्पादन, प्रशोधन र वितरणको दिगो व्यवस्था, बजारीकरण र जनचेतनाका लागि नीतिगत पहल तथा अभ्यासहरू थाल्न ढिला गर्न हँुदैन । स्थानीय रैथाने बालीको संरक्षण र प्रवद्र्धन, आयातित पत्रुखानामाथि कडा प्रतिबन्ध, औषधिजन्य बाली विकास गर्ने नीति र कार्यक्रमहरू लागु गर्नुपर्छ ।

निष्कर्ष
खाना नै कोभिड–१९ रोकथामको प्राथमिक उपाय हो । मानव स्वास्थ्य, पोषण र रोग प्रतिरोधको आधार नै खाना भएकाले अहिलेको अवस्थामा स्वस्थ खानाको महत्व झनै बढेको छ । मानिसलाई स्वास्थ्य, खेतीपाती र पोषणका लागि खाना भन्ने कुराको चेत आउनैपर्छ । खाद्य प्रणाली नै धेरै हिसाबले प्रभावित भएको हालको अवस्थामा आमजनता नै कुपोषित र कमजोर हुन सक्ने देखिएको छ । अहिलेसम्म मृत्यु भएकाको तथ्यांक हेर्दा पनि कोरोनाले रोग प्रतिरोध क्षमता कम भएका, दीर्घरोगी र स्वास/प्रस्वासका रोगीलाई लगिसकेको छ । जनस्वास्थ्यका अन्य सरोकारसँगै रोग प्रतिरोध क्षमता पनि बढाउन आवश्यक छ ।

प्रकाशित: ६ जेष्ठ २०७७ ०८:०३ मंगलबार

खुशी 100%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%

नेपाल रिपब्लिक मिडिया (प्रा) लि.ले नेपाली भाषामा नागरिक राष्ट्रिय दैनिक (गुणराज लुइँटेलको सम्पादकत्वमा) काठमाडौँ, विराटनगर, नेपालगञ्ज, पोखरा र बुटवलबाट एक साथ प्रकाशन गर्दै आएको छ।

मुद्रा विनिमय

नेपाल रिपब्लिक मिडिया (प्रा) लि

रजिस्टर्ड नंः १६३/०५४/०५५
जेडिए कम्प्लेक्स
सुन्धारा, काठमाडौं
फोनः ४२६५१००
फ्याक्सः ४२५२२६२
प्रबन्ध निर्देशकः विनोदराज ज्ञवाली
निर्देशकः शोभा ज्ञवाली
प्रधान सम्पादक: गुणराज लुइँटेल