९ मंसिर २०८१ आइतबार
image/svg+xml
विचार

कोभिड–१९ पछि विश्व संरचनामा होला परिवर्तन ?

हाल विश्वव्यापीरूपमा देखापरेको नोबल कोरोना भाइरस (कोभिड–१९) का कारण प्रभावित नहुने क्षेत्र शायदै होलान् । मूलतः यो मानव स्वास्थ्यसँग जोडिएको गम्भीर प्रकृतिको समस्या भए पनि यसको नियन्त्रणका लागि विश्वभरका सरकारहरूले अघि सारेका घरबन्दीसहितका उपायहरूका कारण विश्व अर्थव्यवस्थामा नयाँ र हालसम्मकै गहिरो चरणको आर्थिक महामन्दी आउने अब प्रष्ट भइसकेको छ । विश्वका नाम चलेका थुप्रै अर्थशास्त्रीले आफ्ना फरक फरक शोधपत्रहरूमा यो भाइरसको अनियन्त्रित विस्तारसँगै हालको विश्व आर्थिक मन्दी विगत १५० वर्षयताकै सर्वाधिक ठूलो मन्दी हुने र यसले विश्वव्यापी आर्थिक संरचनामै हलचल उत्पन्न गराउने उल्लेख गर्न थालिसकेका छन् । 

प्रचलित आर्थिक गणनाका सूत्रहरू यसबेला लागु भएका छैनन् किनकि यो स्वास्थ्य संकटको समाधान कहिल्यै र कुनरूपमा हुन्छ अनि यसले विश्व अर्थचक्रका कुन कुन अवयवमा बढी प्रहार गर्नेछ भन्ने कुरामा कुनै पनि अर्थशास्त्रीले ठ्याक्कै भविष्यवाणी गर्न सकेका छैनन् । अमिबाको झैँ यसको आकार हरेक दिन फैलिँदो छ, स्वरूप परिवर्तन हुँदै गएसँगै अर्थतन्त्रका चरहरूमा पार्न सक्ने प्रभावको सही आकलन हुन गाह्रो भएको हो । सुरुमा यसले यात्रा तथा पर्यटन गतिविधिमा सर्वाधिक प्रभाव पार्ने भएकाले सेवा क्षेत्र संकटमा पर्ने बताइयो, त्यसपछि कामदार उपलब्धता तथा आपूर्ति व्यवस्थापनमा परेको प्रभावले चीनले हाँकेको उत्पादनमूलक क्षेत्र प्रभावित हुन्छ भनियो । 

त्यसपछि विश्वकै प्रमुख उपभोग बजार अमेरिका र युरोपमा यसको संक्रमण विस्तार हुँदै गएसँगै विश्व औद्योगिक गतिविधि संकटमा परेको अर्को निष्कर्ष निकालियो । यो विश्व संकटबाट पार पाउन प्रमुख विकसित र विकासशील देशहरूले अर्थतन्त्रको पुनर्बहाली र उद्धारका लागि अर्बौँ डलरका प्याकेजहरू ल्याइए, त्यसका बाबजुद विश्व पुँजी बजारको जग हल्लिएको छ । अब अर्को चरणका उत्पादन चक्रमा उत्पन्न संकट र माग तथा आपूर्ति व्यवस्थापनमा देखापरेको संकटका कारण विश्वव्यापी खाद्य सुरक्षाको संकट सिर्जना हुने विश्व खाद्य संगठनले चेतावनी दिइसकेको छ ।  

अर्थशास्त्रीहरूले यो स्वास्थ्य संकट समाधान हुन कम्तीमा ३ महिनादेखि १ वर्षसम्म लाग्न सक्ने अनुमान गरेका छन् । त्यसबीचमा विश्वको विद्यमान व्यापार तथा आर्थिक संरचनामै परिवर्तन आउन सक्ने आकलन गरिएको छ ।

एकथरी आलोचकहरूले सन् १९९० को दशकपछि अवलम्बन गरिएको भूमण्डलीकरण र पुँजीवादी अर्थतन्त्र यही कारणले संकटको संघारमा पुगेको बताइरहेका छन् । यो फ्रान्सिस फुकुयामाको ‘इन्ड अफ हिस्ट्री’ सँग वा प्याट्रिक जे डेनिनको ‘ह्वाइ लिब्रलाइजेसन फेल्ड’ सँग मिल्दोजुल्दो धारणा हो । यसबीचमा विश्व अर्थतन्त्रले सोचेभन्दा बढी उदारता अपनाएकै हो । विश्व अर्थतन्त्रमा वस्तु, सेवा र मानिसको खुला आप्रवाह यति धेरै अनियन्त्रितरूपमा अघि बढ्यो कि यसको कुनै अन्तिम सीमा हुन्छ भनेर कहिल्यै सोच्दा पनि सोचिएन । विश्वलाई पुँजीले, पैसाले तान्यो । 

मानवीय भावनाहरू, सामाजिक भावनाहरू, परिवार र सम्बन्धका भावनाहरू क्रमशः ओझेलमा पर्दै गए । मौलिक कार्य, परम्परा, सिप, रैथाने खाद्यान्न, खाना सबै ओझेलमा परे, मासिँदै गए । आयातीत संस्कारमा विश्व समुदाय नै आश्रित बन्यो । मानिस, वस्तु, पशुपक्षीको ओसारपसारले रोग, संक्रमणहरू पनि भूमण्डलीकरणसँगै बढाए । कुनै रहरले, कुनै अन्जानबस त कुनै नियतबस्, एक क्षेत्र, देश, महादेश वा भूगोलभित्र रहेका मिचाहा, विषालु र हानिकारक कीटपतंग, जीवजन्तु, झारपात, बोटबिरुवा अर्को देशमा पुगे अनि तिनैले स्थानीय जातजाति, प्रजातिमाथि अतिक्रमण सुरु गरे । 

विकासको अन्धाधुन्ध दौडमा हामीले पर्यावरणको अत्यधिक क्षति ग¥यौँ । किनकि मानव जाति माथि पुग्ने होडमा थियो । अरुभन्दा आफूलाई सर्वश्रेष्ठ देखाउने÷बनाउने होडमा थियो विश्व । केहीगरी अर्कोले जित्नुभएन, आफ्नो मौलिक पहिचान बरु गुमोस्, आफ्नो आन्तरिक सबलताका क्षेत्रहरू नष्ट हुन्, कमजोर बनून् तर अर्कोको बराबरी दौडमा जानै प¥यो । यसले हामीलाई सबल पनि बनायो अनि कमजोर पनि । चाहिने कुरा पनि सिक्यौँ, नचाहिने कुरा पनि सिक्यौँ । हाम्रो आफ्नो मौलिकता गुमायौँ, अरुकै पहिचान अंगाल्यौँ । यो दौड यति तीव्र थियो कि हामीले पछाडि हेर्नै सकेनौँ । यसले विश्वलाई विकासको उच्चतम विन्दुमा पु-याउँदै जाँदा हामीले पृथ्वी र हामीजत्तिकै अधिकार राख्ने जीवजन्तु, प्राणी, वनस्पतिमाथि अन्याय गर्दै गयौँ । 

मानव जातिलाई लाग्थ्यो, हामीसँग कमाउनेमात्र चिज छ, गुमाउने चिज केही पनि छैन । एकले अर्कोमाथि विजय पाउन युद्ध लडे । सानातिना क्षेत्र, समूहदेखि राष्ट्र–राष्ट्र लडे । पहिलो अनि दोस्रो विश्वयुद्ध केका लागि थियो ? आफ्नो शक्ति सञ्चयका लागि, पुँजी सञ्चयका लागि, केबल केही व्यक्ति र राष्ट्रको नायकत्व देखाउनका लागि । अहिले पनि युद्ध जारी छ तर अदृष्यरूपमा । ठूला राष्ट्रहरू हतियार बनाउँछन्, थुपार्छन्, बेच्छन् । सन् २०१८ मा मात्रै विश्वभरि १८ खर्ब २२ अर्ब अमेरिकी डलर बराबरको हतियार किनबेच भएछ । अझ शक्तिशाली राष्ट्रहरू परमाणु बम, रासायनिक बमदेखि जैविक हतियारसम्म बनाउन थालिसकेका छन् । सिरियामा जैविक हतियार प्रयोग भएको भर्खरै सार्वजनिक भएको एउटा लामो अध्ययन प्रतिवेदनले प्रमाणित गरेको छ । 

मानिसले पृथ्वीमाथि, प्रकृतिमाथि र आफैँमाथि गरेको अन्यायको बोध कुनै न कुनै समय, कुनैरूपमा गराउने बेला भइसकेको थियो । पूर्वीय दर्शन अझ सनातन हिन्दु धर्म मान्नेहरू कलियुगको अन्त्यमाथि विश्वास गर्छन् । यसले समयको अन्त्यको कुरा गर्छ । काल (युग) परिवर्तनको कुरा गर्छ । यसका लागि कुनै महाप्रलय वा विनासको कल्पना गर्छ । वर्तमान एकीकृत विश्वमा तेस्रो विश्वयुद्धको विषय शायद गौण मान्न थालिएको थियो किनकि पहिलो र दोस्रो विश्वयुद्धमा झैँ राष्ट्रहरू कुनै एक–दुई ध्रुवमा बाँडिन असम्भव मानिएको थियो । अपवादका नेपालजस्ता साना राष्ट्र छाडेर विश्व अर्थतन्त्रका प्रायः सबै खेलाडी (प्लेयर)हरू कुनै न कुनै रूपमा फरक ढंगले सामथ्र्यवान् भइसकेका मानिन्थ्यो । तर नयाँ कोरोना भाइरस महामारीले सबैलाई एउटै सतहमा उभ्याइदियो ।

यो विश्व स्वास्थ्य संकटले स्पष्ट शब्दमा सबैलाई भनिदियो– तिमीहरू कोही शक्तिशाली छैनौँ । सबैका सामथ्र्य उही हो । २०७७ वैशाख १ गते अपराह्न १२ बजेसम्म विश्वका २०० भन्दा बढी देशमा १८ लाख ५४ हजार १७४ जनामा यो भाइरसको संक्रमण देखापरिसकेको थियो भने १ लाख १४ हजार २९१ जनाको मृत्यु भइसकेको थियो । विश्वका शक्तिशाली भनेर चिनिएका देशमध्ये अमेरिकामा ५ लाख ६० हजारको संक्रमण, २२ हजारको मृत्यु, फ्रान्समा १ लाख ३२ हजारमा संक्रमण, १४ हजारको मृत्यु, जर्मनीमा १ लाख २७ हजारमा संक्रमण, ३ हजारको मृत्यु, बेलायतमा ८४ हजारको संक्रमण, १० हजारको मृत्यु, चीनमा ८२ हजारलाई संक्रमण ३३०० को मृत्यु भइसकेको छ । शक्तिको होडबाजीमा लागेको छिमेकी मुलुक भारतमा पनि साँढे ९ हजारलाई संक्रमण र ३३० जनाको मृत्यु भइसकेको छ ।

अत्यधिक मृत्युदर भएका स्पेन, इटली, इरान, टर्कीलगायतका देशहरूको आँकडालाई पनि सँगै राख्ने हो भने स्थिति अझ विकराल देखिन्छ । अर्थात् यसले न धनी राष्ट्र चिन्यो न त धेरै हतियार भएका, धेरै सैनिक भएका देशलाई चिन्यो, न धर्मलाई चिन्यो, न त जातलाई नै चिन्यो । चिन्यो त केबल मान्छेलाई । मान्छेका कमजोरीलाई चिन्यो । 

यो भयाबह महामारीबाट बच्न, बचाउनका लागि सुरुमा चीनले अवलम्बन गरेको घरबन्दी र संक्रमण विस्तार भइरहेका क्षेत्रलाई ‘हटस्पट’ घोषणा गरी पूर्ण आवतजावत ठप्प पार्ने (सिल्ड) को नीतिलाई विश्वमा संक्रमण विस्तार हुँदै गइरहेका देशहरूले क्रमशः अबलम्बन गर्दै लगेपछि बल्ल मानिसमा आफूतिर फर्कने चेत पलाएको छ । कोरोना भाइरसको महामारीबाट बच्नका लागि ठूला÷साना राष्ट्रहरूले घोषणा गरेका घरबन्दीमा बसेका बेला बल्ल मानिसले भागदौडको जिन्दगीमा आफूलाई, परिवारलाई समय दिन पाएका छन् । सवारीसाधन, हवाईजहाज कम चल्दा, उद्योगहरू कम चल्दा पृथ्वीले श्वास फेर्ने मौका पाएको छ । क्रमशः पृथ्वीको तल्लो सतहमा प्रदूषण कम हुँदै गएको छ । मानिसको चहलपहल कम हुनेबित्तिकै वसन्तयामसँगै बोटबिरुवा उम्रन÷फस्टाउन थालेका छन् । मुख्य सहरी क्षेत्रमा बाहेक थोरै वनसँग जोडिएका गाउँ तथा नगरहरूमा वन्यजन्तु देखिन थालेका छन् । कोभिड–१९ ले हामीलाई कतै फेरि प्रकृतितिर फर्क त भनेको होइन ?

अर्थशास्त्रीहरूले यो स्वास्थ्य संकट समाधान हुन कम्तीमा ३ महिनादेखि १ वर्षसम्म लाग्नसक्ने अनुमान गरेका छन् । त्यसबीचमा विश्वको विद्यमान व्यापार तथा आर्थिक संरचनामै परिवर्तन आउन सक्ने आकलन गरिएको छ । उसो भए यसअघि भन्ने गरिएको एक्काइसौँ शताब्दी एसियाले हाँकेको अर्थतन्त्रको हुनेछ भन्ने सिद्धान्त परिवर्तन हुन्छ त वा चीनले फेरि आरम्भ गरेका कारखाना गतिविधिसँगै अमेरिका र युरोपमा बढ्दो संक्रमणका कारण संकुचित हुने औद्योगिक गतिविधिलाई आफ्नातर्फबाट कुनै टेवा दिन्छ ? अहिले नै यसै भन्न सकिने अवस्था छैन । सबैभन्दा चिन्ताको विषयचाहिँ यसको कारणले अब फेरि विश्वव्यापीरूपमा नै हुनेखाने र हुँदा खानेबीचको खाडल अझ तीव्र भएर जाने खतरा बढेको छ । 

अहिले नै लकडाउनसँगै तल्लो विपन्न वर्ग र गरिबीको रेखा आसपासमा रहेको मध्यम वर्ग खाद्य सुरक्षाको जोखिममा परिसकेको छ । विश्व कृषि गतिविधिलाई ठूला बृहत् उत्पादकहरूले होइन, साना किसानहरूले थेग्दै आएका छन् । नेपालजस्ता कृषि आश्रित मुलुकमा त ससानो भूस्वामित्व भएका साना किसानको भूमिका अझ बढी रहँदै आएको छ । अहिले घरबन्दीका अवस्थामा पनि नेपालको ग्रामीण क्षेत्रमा रहेका साना किसानले गहुँबाली भित्र्याउने, चैते धान लगाउने जस्ता कृषि गतिविधि कायमै राखेका छन् । उता नेपालभन्दा ठूलो कृषि जनसंख्या रहेको भारतको कृषि क्षेत्र पनि यसकै कारणले संकटमा पर्न थालेको, कृषकहरूको बाली उठाएर मन्डीसम्म लैजान नसकिएको खबरहरू आउन थालेका छन् । 

घरबन्दीका अवस्था बढ्दै गएसँगै यो समस्या अझ गहिरो बन्दै जाने खतरा छ । नेपाल कृषिमा स्वःनिर्भर छैन । वर्षमा १ खर्ब ९५ अर्ब जतिको कृषिजन्य वस्तु किनेर खान्छ, त्यसको ठूलो हिस्सा भारतबाटै आउँछ । यो स्थिति छिट्टै सुल्झेन भने अर्को खाद्य संकट जन्मनेछ, त्यसतर्फ पनि सरकारहरूले सोच्ने बेला भइसकेको छ । र, भनिरहनु पर्दैन, खाद्य आपूर्ति चक्रमा प्रभाव पर्नेबित्तिकै त्यसको मूल्य बढ्नेछ र यो सन् २०१०÷११ कै तहमा पुग्ने चेतावनी दिन थालिएको छ । नियमित पेसा, व्यवसाय र कृषि कर्ममा संलग्न हुन नपाउँदा आय खुम्चेको अवस्थामा खाद्य मूल्य पनि आकासिन थालेपछि त्यसको ठाडो मार विपन्न र तल्लो मध्यम वर्गमा पर्ने हुन्छ । यसको समाधानका लागि समेत राज्यहरूले सोच्न ढिलाइ गर्नुहुँदैन ।

प्रकाशित: ३ वैशाख २०७७ ०३:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App