coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

नेपाली राजनीतिक चरित्र

नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलले सामाजिक सञ्जाल फेसबुकमा अहिलेको विषम परिस्थितिमा राज्यले व्यापारीहरूको किन मुख ताक्ने भनेर जिज्ञासा राखेका छन्। यही अप्ठ्यारो परिस्थितिमा चिकित्सकलाई अत्यावश्यक पर्ने सामानमा अरबौँ रुपियाँको नीतिगत भ्रष्टाचार गरिएको समाचारले सामाजिक सञ्जाल भरिएको छ। हिजो पनि यस्तै मौकामा डाडु सोझ्याएर भ्रष्टाचार गर्ने गरिएका प्रशस्त समाचार छापिएकै हुन्। यस्तो किन हुने गर्छ भन्ने आमचासो र जिज्ञासा पाइन्छ।

अधिकांश राजनीतिक नेता तथा कार्यकर्ताको विगत र वर्तमान जीवनशैली र जीवनस्तरको सूक्ष्मअध्ययन, विश्लेषण र तुलना गरिएमा जनताको आमचासो र जिज्ञासाको उत्तर पाउन सकिन्छ। विगतमा औसत मध्यमवर्गीय जीवनस्तरका वर्तमान नवधनाढ्य नेताको सूची तयार गर्दाकहाली लाग्नसक्छ। जुनसुकै राजनीतिक दल, वैचारिकतामा आबद्ध राजनीतिको ठूलोपर्दामा देखापरिरहने प्रायः जोसुकै व्यक्तिलाई ‘स्याम्पल’ बनाउँदा समग्रता धेरै व्यक्तिको समान प्रतिनिधित्व गर्नसक्छ।
विगतको आर्थिक विपन्नता वा हातमुखसम्म जोड्न सम्भव भएका धेरैजना अहिले राजनीतिको चिरपरिचित अनुहारभित्र पर्छन्। आर्थिक कमजोरीले खासै शैक्षिकउपाधि हासिल गर्न नसकेका र कसैगरी उच्च शिक्षा हासिल गरेका केही व्यक्तिको उपाधिमा गौरव गर्नसकिने स्थान कमै भेटिन्छ। त्यसमा पनि राजधानीमा कठिनतम् विद्यार्थी जीवनमै सानोतिनो नोकरी वा पेसा गर्न बाध्य त्यस्ता व्यक्तिले भोगेका हिजोका पीडा सन्तानले भोग्न नपरोस् भन्ने अर्थमा आर्थिक सम्पन्नताको सपना साकार पार्न गर्न हुने र नहुने कामको भिन्नता छुट्याउन सकेका हुँदैनन्।

फलतः भ्रष्टाचार रक्तबीज बनेर निजहरूको नसा–नसामा प्रविष्ट भइसकेका हुन्छन्, अनि विद्यार्थी जीवनमा तिनै अनुहार चिने÷जानेका र भने/सुनेका नेताको फेरो समात्न पल्केपछि भ्रष्ट रक्तबीजले मौलाउने मौका प्राप्त गर्नु स्वाभाविकै हो। कार्यकर्ताको बिल्ला भिर्न थालेपछि हिजोकै कुरा गर्ने हो भने मुठभेटमा कुटपीट, सडकको फलामे बार तोडफोड, सडकमा टायर बाल्ने, सवारीसाधन तोडफोड र आगजनी गर्नेजस्ता काम नियमित बन्न पुगेका पाइन्छ। आफुलाई विद्यार्थी भनेर चिनाउन चाहने त्यस्ता केही व्यक्ति शैक्षिकसंस्थामा आगजनी गर्नसमेत तयार पाइन्छन्। आफ्नाश्रद्धेय नेता तथा आयातित आस्थालाई संस्थागत बनाएर बनेका दलको निर्देशन पालना गर्ने दासवृत्तिले गर्दा साहू/महाजन, उद्योगपति र व्यापारीघरानासित नियमित चन्दा असुली गर्ने र अपेक्षित रकम प्राप्त गर्न नसक्दा भौतिक क्षतिको धम्की दिनसमेत पछि नपर्ने चरित्र यसरी निजहरूमा सामान्य बन्दै गरेको हुन्छ। यस्तैमा बन्धक बनाएर रकम असुली गरिएका समाचार पनि पढ्न पाइएका छन्।

अग्रपंक्तिमा खटिएका चिकित्सकआदिलाई अत्यावश्यक सुरक्षाकवच र अन्य औषधीय सामान खरिदमा अरबौँ रुपियाँको नीतिगत भ्रष्टाचार भएको भन्ने खबर सार्वजनिक हुनु दुःखको विषय हो।

साथै स्वार्थपूर्तिको नाममा हत्या र हिंसाको अवस्था सिर्जना हुनुलाई राजनीतिक इतिहास लेखिने पुस्तकका पानामा देखिनु अन्यथा नमानिएला। चन्दाआदिको नाममा असुल गर्ने रकमको भर्पाइ बिरलै दिइन्छ। यिनै वस्तुगत वास्तविकतामा उठाइएका रकमको पारदर्शी प्रस्तुति हुने गर्दैन। दल वा नेतालाई कम रकम बुझाइएमा आश्चर्य मान्नुपर्ने कुरै नउठ्ला। साथै आर्थिक सहायता, चन्दा र पुरस्कार शीर्षकको रकम दुरूपयोग हुने चलनभित्र फाइदा लिनेमा यिनै कार्यकर्ता पनि हुन्छन्। यसरी विद्यार्थी जीवनमा कार्यकर्ता हुनुको परिचय बोकेर भ्रष्टाचारलाई रक्तबीज बनाउन सफल व्यक्ति आज उच्चस्थ राजनीतिक परिचय बोकेका अनुहारको नैतिकतामा विश्वास गर्न कठिन हुन्छ। असुल रकमलाई अनैतिक तरिकाले गवन गर्न सिकिसकेका व्यक्ति भ्रष्टाचारमा अनुभवसिद्ध अनुहार मानिन्छन्। ती परिचित अनुहारलाई विश्वास गरेर वा भरोसामा परेर त्यही वंशबीज क्रमशः सरुवारोगको शैलीमा कार्यकर्तामा रूपान्तरित भएर यसरी भ्रष्टाचार संस्थागत बनेको हुन्छ। यही स्वभाव र लाचारीले गर्दा आफ्नै दल वा नेताको गलत कामको विरोध गर्न नसक्ने गरी कार्यकर्ता थलापरेका हुन्छन्।

कार्यकर्ता र नेताको आचरण र नैतिकताको परीक्षण चुनावताका सजिलैसित गर्न सकिन्छ। नेपालजस्तो सानो देशमा निर्वाचन प्रयोजनका लागि लगभग सयको संख्यामा दल दर्ता हुनु देशको हितअनुकूल मान्न सकिँदैन। यति महँगो निर्वाचनको खर्च एकजना उम्मेदवारले बेहोर्नु निश्चय पनि कठिन हुन्छ। कतिपय अवस्थामा मतदाता किन्नुपर्ने अवस्था सिर्जना हुने गरेको घटना पनि सुनिएका हुन्। कार्यकर्ता पाल्नु त्यति सजिलो हुँदैन, अनि तिनै कार्यकर्ता लगाएर वा आफ्नै व्यक्तिगत पहुँचमा तिनै साहू÷महाजन, उद्योगपति वा व्यापारीवर्गसित चन्दा असुल गर्ने गरिन्छ। कसैले पनि यस्तोमा निरर्थक लगानी गर्दैनन्। तिनै उम्मेदवार विजयी वा पराजित भएको अवस्थामा पनि निजहरूबाट कतिपय गैरकानुनी कामका लागि अनैतिक सौदाबाजी गरेर लगानी असुल गर्नु लगानीकर्ताको स्वभाव हो। तिनीहरूमध्ये विजयी बनेर कतिजना सत्ताको बागडोर सम्हाल्न पुगेका हुन्छन् र त्यस्ता व्यक्ति चुनावमा खर्च जुटाएर सहयोग गर्ने मालिकप्रति कृतघ्न हुनसक्ने सम्भावना रहँदैन। यसरी राजनीतिमा अनैतिक सौदाबाजी र भ्रष्टाचार विषवृक्ष बनेर मौलाइरहेको पाइन्छ।

वर्तमान राजनीतिको कुर्सी मनोविज्ञानको रमाइलो पक्ष के हो भने विभिन्न ‘क्लस्टर’बाटविधायक बन्ने र बनाइने संवैधानिक व्यवस्था छ। नाताका व्यक्ति त स्वभावतः त्यसरी विधायक बन्न सफल भएकै हुन्छन् तर त्यसभन्दा बाहेकका कस्ता व्यक्ति विधायक बन्न सफल भएका छन् भनेर छरपष्ट पारिरहनु नपर्ला। चुनावको सट्टाकिनबेचबाट विधायक बन्न र बनाइने अजीवको राजनीतिमा तीनकरोडको लेनदेनसम्बन्धी एक श्रव्यसामग्री सामाजिक सञ्जालमा ‘भाइरल’ भएको पाइन्छ। राजनीतिक विश्लेषणमा यसलाई कुनै अनौठो मान्न सकिँदैन किनभने अनैनिकता र भ्रष्टाचारको वशंबीजमा हुर्केका नेताबाट यस्तो कार्य हुनुलाई नितान्त स्वाभाविक मान्नुपर्ने हुन्छ। यसरी राजनीतिमा भ्रष्टाचार संस्थागत बन्न र बनाउन सहज भएको पाइन्छ। दक्षिणपूर्व एसियामा कुनै दिन धेरैकुरामा आत्मनिर्भर बन्न सफल देशको दर्जामा नेपालले गरेको प्रगति प्रशंसायोग्य मानिन्थ्यो तर राजनीतिक कायापलटमा देशलाई त्यसरी आत्मनिर्भर बनाउन सफल उद्योगधन्धा क्रमशः बेचिँदै र मासिँदै गए।

बाँसबारी छालाजुत्ता कारखाना, भक्तपुर इँटाटायल कारखाना, हरिसिद्धि इँटाटायल कारखाना जनकपुर चुरोट कारखाना, वीरगन्ज कृषिऔजार कारखाना, भृकुटी कागज कारखाना, हेटौँडा कपडा उद्योगजस्ता उद्योग इतिहासको गर्भमा हराइसकेका छन्। देश आत्मनिर्भर हुँदै गएमा भ्रष्टाचार र भ्रष्ट नेता कमजोर हुन्छन्। भ्रष्टनेता बलियो बन्न देशलाई कहिल्यै आत्मनिर्भर बन्न दिनुहुँदैन भन्ने मान्यताले ती उद्योगलाई बेच्नु र मास्नु आवश्यक देखेको हुनुपर्छ। ती उद्योगआदि बेच्न र मास्न नेताले खेलेका भूमिकाको बारेमा धेरै चर्चा–परिचर्चा हुने गरेकै हो। तत्कालमा सत्ताको बागडोर सम्हालेका नेता तथा निजका आसेपासेका जीवनस्तर परिवर्तन हुँदै क्रमशः गगनचुम्बी महलका मालिकमा रुपान्तरण हुनु नै यसका ज्वलन्त दृष्टान्त हुन्।
कुनै घटनामा सहयोग गरेको भरमा मालिकप्रतिको कृतज्ञता अन्त्य हुँदैन। मन र मस्तिष्कमा कसैप्रति श्रद्धाभन्दा स्वार्थसिद्धिको नाममा झुकाव गरिँदा त्यसको बोझ जीवनपर्यन्त रहिरहन्छ। आफूभित्र दासवृत्तिको हैसियतमा अन्तर्मुख हुने त्यस्तो विषयले गर्दा मानिस खुलेर चारआँखा मिलाउन नसक्नेगरी झुक्न बाध्य हुन्छन्। त्यस्ता काम देशको कानुन र नैतिकताको दृष्टिकोणमा कसुरजन्य र अनैतिक हो भन्ने आपराधिकबोध भइरहने हुँदा धेरै लामो कालखण्डसम्म यसले व्यक्तिलाई लखेटिरहेको हुन्छ।

सुधारको सम्भावना नखोज्ने र यही निर्वाचन पद्धति र सांसद बन्ने/बनाउने चलखेल रहेसम्म यिनै नेताले यसरी नै कार्यकर्तादेखि मन्त्रीसम्म र झुप्रोदेखि गगनचुम्बी महलसम्मको राजनीतिक यात्रा तय गरेकै हुन् र गर्दै पनि जानेछन् !

आजको वैज्ञानिक तथा तकनिकीले गर्दा आफूविरुद्ध मालिकले थाहा नपाउने गरी कुनै श्रव्य वा दृश्य अभिलेखीकरण गरेर राखेको हुन्छ कि भन्ने त्रासले व्यक्तिलाई निरन्तर दासवृत्तिमा लगाइरहन्छ। फलस्वरूप कति अवैध र गैरकानुनी कार्यमा आफ्नो संलग्नता बुझ्न नसकेर आफूबाट कति फाइदा उठाएका हुन्छन् भनेर लेखाजोखा गर्न तयार हुन सक्दैनन्। कति गैरकानुनी धन्धा वा व्यवसायको पछाडि यिनै नेताको लाचारी स्पष्ट देखिन्छ। मालिक आखिरमा मालिक नै हुन्छन् ! यिनै राजनीतिक/मनोवैज्ञानिक पृष्ठाधारका कारण खासगरी तेस्रो मुलुकका कतिपय नेता देशमा सङ्कट आइपर्दा पनि मौन रहन्छन्। यस्तो अवस्थामा सहयोग नपुर्‍याउने कति स्वनामधन्य व्यक्ति र संस्थालाई कारबाही गर्न सरकार पछाडि पर्नुको कारण त्यहाँभित्र रहेका कतिपय नेताका लाचारी र दासवृत्ति प्रमुख कारण हुन्। २०७२ सालमा देश र जनता महाभूकम्पका कारण आक्रान्त भइरहँदा एकद्वार प्रणालीमा समाहित हुन धेरै व्यक्ति र संस्था तयार भएनन्।

सरकारलाई सहयोग गरेर पर्दाभित्रको खेलाडी भनेर जनताको नजरमा हराउनुभन्दा आफू नै अग्रपंक्तिमा उभिएर सहयोग गरेका नाटक मञ्चन भएकै हुन्।सरकारसित हातेमालो नगर्ने र आफूखुसी सहयोग गर्ने तथाकथित दातालाई कारबाही गर्न र दाताको त्यस्तो सम्पत्तिको स्रोत खोज्ने हैसियत सरकारसित रहेन। यस्तोमा कताकता सरकार निरीह र खास व्यक्ति वा संस्था सरकारभन्दा सहयोगी प्रमाणित भएका हुन्छन्।तिनै पृष्ठपोषक मालिकविरुद्ध आँखा चिम्लनुपर्ने राजनीति र सत्ताको बाध्यता नै वर्तमान पीडानुभूति हो। यिनै नेताका कारण सरकारको साख गिर्नु र सरकार हार्नु भनेको देश र जनताको हकमा कदाचित हितकर मानिँदैन। सांसद वा मन्त्री हुनुपूर्व समाज र देशलाई कुनै योगदान पुर्‍याउन अक्षम व्यक्ति पदमा पुग्नुपछाडिको चलखेल जान्नुपर्ने खाँचो महसुस हुनथालेको छ। राजनीतिमा कदम चाल्दाको प्रारम्भिक दिनदेखि आत्मसात गरिएको मालिकभक्ति र आर्थिक स्वार्थसिद्ध गरेर स्वाद लिनपल्केको मनोविज्ञान पदमा पुगेपछि झनै मौलाउने वातावरण बन्नेगर्छ। राज्यशक्तिको दुरूपयोग गरेर सत्ताको लामोहात राज्यसंयन्त्रको जताततै पुगेको हुन्छ।

मनोनयनदेखि नियुक्तिसम्म राजनीतीकरण गरेर देशलाई उम्कनै नसक्नेगरी राजनीतिको आस्थाबन्दीमा कैद गरिसकेका हुन्छन्। यही चुनावी प्रणाली रहेसम्म यिनै कुपात्रले देशको बागडोर सम्हालिरहेका हुन्छन्। आज देशमा कोरोना भाइरसको यत्रो सन्त्रास हुँदा पनि सांसद भनाइने परिचय बोकेका त्यत्रो हुलमा सचेत र दूरदर्शी नेता वा मन्त्री छन् कि छैनन् भनेर खोज्नुपर्ने भएको छ। विश्व स्वास्थ्य सङ्गठन उठिरहँदा हाम्रा नेता सुतिरहेका हुन्छन्। उताबाट तेस्रो व्यक्तिमा संक्रमण भएको सूचना सार्वजनिक गरेपछि निद्राबाट जागेजस्तो गरी उठेर‘पच्चीसजनाभन्दा बढी भेला नहुनू’ भन्ने नीतिविरुद्ध तीन–चार सय व्यक्ति भेला गरेर पत्रकार सम्मेलन गर्छन्।  यतिमात्र नभएर अग्रपंक्तिमा खटिएका चिकित्सकआदिलाई अत्यावश्यक सुरक्षाकवच र अन्य औषधीय सामान खरिदमा अरबौँ रुपियाँको नीतिगत भ्रष्टाचार भएको भन्ने खबर सार्वजनिक हुनु दुःखको विषय हो। निष्पक्षता र पारदर्शिता यिनीहरूका शत्रु हुन् जसले गर्दा देशको अर्थतन्त्र र सामाजिक मनोविज्ञान अधोगतिमा जान बाध्य छन्।सुधारको सम्भावना नखोज्ने र यही निर्वाचन पद्धति र सांसद बन्ने/बनाउने चलखेल रहेसम्म यिनै नेताले यसरी नै कार्यकर्तादेखि मन्त्रीसम्म र झुप्रोदेखि गगनचुम्बी महलसम्मको राजनीतिक यात्रा तय गरेकैहुन् र गर्दै पनि जानेछन् !

प्रकाशित: १७ चैत्र २०७६ ०८:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App