६ कार्तिक २०७७ बिहीबार
विचार

जगतलाई सन्देश

पहिलो वास्तविकता
पूरै संसार विकासतर्फ अघि बढिरहेको छ। यस क्रममा धनीको सङ्ख्या निकै बढिरहेको छ। यसरी धनीको सङ्ख्या बढ्दा गरिबका सङ्ख्या घट्दै जानुपर्ने हो। तर विडम्बना, गरिबको सङ्ख्या झन् झन् बढ्दो छ। असमानताविरुद्धको नागरिक अभियानका अनुसार १ प्रतिशत मानिसको हातमा रहेको सम्पत्ति बाँकी ९९ प्रतिशतको स्वामित्वमा रहेको भन्दा बढी छ।

दोस्रो वास्तविकता
असमानता दिन दिगुना, रात चौगुनाका दरले बढिरहेको छ। देश–देशबीच, लिङ्ग–लिङ्गबीच, धार्मिक सम्प्रदायबीच, धनी र गरिबबीच खाडल झन् फराकिलो हुँदै गएको छ। जसले सिङ्गो विश्वभर द्वन्द्व निम्त्याइरहेको छ। एक तथ्याङ्कअनुसार विश्वका सम्पूर्ण राष्ट्रले विकासका नाममा जति बजेट छुट्याउँछन् त्यसमध्येको आधा त यस्तै असमानताले सिर्जना गरेका द्वन्द्व साम्य पार्नका लागि खर्च हुने गरेको छ।

तेस्रो वास्तविकता
जलवायु परिवर्तनको असर बढ्दो छ। जसले सबभन्दा बढी कार्बन डाइअक्साइड उत्पादन गर्छ ऊभन्दा बढी असुरक्षित यस्तो कार्यमा कुनै भूमिकै नभएका राष्ट्र परिरहेका छन्। त्यसैले एकातिर दोषी सुरक्षित हुने अर्कोतिर निर्दोषचाहिँ ‘नखाएको विष’ का कारण छट्पटाउने स्थिति सिर्जना भएको छ। उदाहरणका लागि अमेरिका विश्वमै सबैभन्दा बढी कार्बन डाइअक्साइड उत्पादन गर्ने मुलुक हो तर उसैले यसलाई न्यून गर्ने मुख्य सन्धिमा सहमति जनाएको छैन।

चौथो वास्तविकता
मानिस अहिंसक प्राणी हो। त्यसैले यसका दाह्रा बाघका जस्ता नभएका हुन्। आक्रमण गर्ने स्वभाव नभएकै कारण नङ्ग्रा भालुका जस्ता नभएका ठानिन्छ। तर जति पछि भयो उति उति मान्छे हिंसामा रमाउन थालेको छ। हिंसा उब्जाएर त्यसको आडमा व्यापार गर्न उद्यत छ। हिंसा घोलिदिएर धुमिल पानीमा माछा मार्ने कुकर्ममा संलग्न छ। देश भनिने सङ्गठित निकायले यस्ता कामको नेतृत्व गरिरहेका छन्।

हजारौँ मानिसले १ वर्षसम्म घर नफर्कने व्रत लिएका छन्। दुनियाँका लागि समय दान दिएर लागेका उनीहरूको विश्वास छ– गरिबी र अन्याय निर्मूल पार्न कठिन छ तर सम्भव छ।

यी ४ वटा यस्ता प्रतिनिधिमूलक वास्तविकता हुन् जसले शान्त तलाउमा ढुङ्गा फ्याँक्ने काम गरिरहेका छन्। विभेद र द्वन्द्वको बीउ रोपिरहेका छन्। तेरो र मेरोको भावनामा विश्व विभाजित छ। धन थुपार्ने र एक नम्बर अमिर बन्ने सपनामा जस्तासुकै हर्कत पनि गरिन थालिएका छन्। सीमित मानिसका यस्ता केही सोख पूरा गर्ने होडमा सिङ्गो विश्व च्यापिएको छ। परिणाम– अरबौँ मानिस उनीहरूको महत्वाकाङ्क्षाको सिकार भएका छन्। करोडौँ मानिसको बिल्लीबाठ भएको छ। सोझो अर्थमा भन्दा माथिका केही वास्तविकताका कारण आज करोडौँ मानिस सडकमा जन्मेर सडकमै मनुपर्ने अवस्था सिर्जिएको छ।

सन् २०१९ को अक्टोबर २ बाट सुरु भएको जय जगत् २०२० नामक यात्रा यस्तै विसङ्गति सम्बोधन गर्ने दिशामा अग्रसर छ। करिब १८ सय किलोमिटर यात्रा पार गरेर जेनेभा पुग्ने यो यात्राको उद्देश्य एक मुलुकको समुन्नतिसँग मात्र जोडिएको छैन। यसले विश्वभर दिनानुदिन बढ्दै गएको गरिबी र असमानताविरुद्ध धावा बोल्नेछ। शक्ति राष्ट्रले गर्ने थिचोमिचोमात्र हैन, धनीको लङ्गडे सोख पूरा गर्नका लागि गरिबले बलिदानी हुनुपर्ने अन्यायपूर्ण अवस्थाबारे पनि सचेत गराउनेछ। त्यतिमात्र पनि हैन, यो यात्राले अब अन्याय नसहन र त्यसका विरुद्ध हिंसारहित प्रतिवाद गर्न पनि प्रेरित गर्नेछ।

सिङ्गो भारतमा ‘जल, जङ्गल और जमिन ः जनता के अधीन’ नारालाई सफलीभूत तुल्याउन अग्रसर एकता परिषद्का अध्यक्ष राजगोपाल पिभीको नेतृत्वमा जारी यो यात्रा अहिले भारतका विभिन्न प्रदेश सकाएर विदेश छिरेको छ। जसमा २०० मानिसले १२१ दिन अनवरत यात्रा गरेका थिए। समस्या समाधानका लागि शान्तिपूर्ण यात्रा (जय जगत्) लाई माध्यम बनाउने अवधारणाकर्ता महात्मा गान्धीको १५० औँ जन्म दिवस पारेर नयाँ दिल्लीबाट सुरु भएको यो यात्रा भारतका विभिन्न प्रदेश हुँदै गएको जनवरी ३० मा महाराष्ट्रको बर्धा जिल्लास्थित गान्धीकै कुटीसामु समापन भएको थियो।

यतिबेला दोस्रो चरणअन्तर्गत इरानबाट सुरु भएको यात्रा १० वटा देशमा चेतना फैलाउन उद्यत छ। यसैका लागि यतिबेला अर्मेनिया, जर्जिया, बुल्गेरिया, सर्बिया, बोस्निया, हर्जगोभिना, इटाली तथा स्विट्जरल्यान्ड जस्ता देशमा विश्वमा बढिरहेको असमानताविरुद्ध गरमागरम बहस भइरहेका छन्। यता भारतको टोली नेपाल आएको छ। नेपालको टोली पाकिस्तान गएको छ। बङ्गलादेशको टोली अर्को तेस्रो देश पुगेको छ। जहाँ उनीहरू सरोकारवालासँग भेट्छन्। सञ्चारकर्मीसँग छलफल गर्छन्। कोणसभाहरू गर्छन्। व्यथा आदान–प्रदान गर्छन्। समस्याको गाँठो फुकाउँछन् र समाधानका उपायबारे घण्टौँ बहस गर्छन्। वर्षभर नै चल्ने ‘दिल्ली टु जेनेभा’ यात्रामा भने विभिन्न मुलुकका ५० जना सहभागी छन्।

सन् २०२० को अक्टोबर २ मा जेनेभामा सहस्राब्दी विकास लक्ष्य तथा संयुक्त राष्ट्र सङ्घीय प्रतिनिधिहरूसँग ‘ग्लोबल पिस मिट’ गरेर समापन हुने यो यात्रामा सयौँ मानिस १ वर्षका लागि घरबार नै त्यागेर निस्किएका छन्। अन्तर्राष्ट्रिय स्तरमा करिब १० हजार मानिस प्रत्यक्ष संलग्न हुने अनुमान छ। आंशिकरूपमा सहभागी हुनेको त गणना गरेर साध्य नै छैन। जेनेभामा समापन हुने बेला करिब ५ हजार यात्री सहभागी हुने अनुमान छ। ‘आर्किटेक्ट अफ दि मार्च’ नाम दिइएका राजगोपाल पिभीको नेतृत्वमा जारी यात्राबाट करिब १ करोड मानिस प्रभावित हुने आकलन छ। यसबीचमा यात्री र हजारौँ मानिसबीच संवाद हुनेछ। यात्राले विशेषगरी भूमिहीन, आदिबासी र अन्यायमा पारिएकासँग दोस्ती कसिलो बनाउनेछ। अन्याय र असमानताविरुद्ध आवाज उठाउन हौस्याउनेछ।

विदेशी दातृनिकायका स्वार्थमा चल्ने आरोप लाग्छन् यस्ता सामाजिक संस्थालाई। तर एकता परिषद्ले आयोजना गरेको यो १ वर्षे यात्राको आर्थिक जोहोमा दातृ निकायको कुनै भूमिका छैन। परिषद्ले यात्राअघि आयोजना गरेको कलश यात्राले १४ लाख सहयोग पायो। त्यसबाहेक देशी/विदेशी सहयोगीले व्यक्तिगतरूपमा खुसी हुँदै दिएका रकमले यात्रा चलिरहेको छ। सकभर स्थानीय सहयोगीकै घरमा खाने, सार्वजनिकस्थलमा सुत्ने, मिलेसम्म पदलै हिँड्ने जस्ता विशेषताले यात्रा जुन देश पुग्छ, सञ्चार माध्यमको चासोमा पर्ने अवस्था छ। केही हितैषीले सीमित अवधिका लागि दिएका जिपले औषधोपचार र आपत्कालीन अवस्थाका समस्या सम्बोधन गर्दै आएका छन्। जसमा इन्धनसमेत जहाँ पुगिन्छ त्यहीँका पेट्रोल पम्पलाई अनुरोध गरेर २–३ लिटर जति दिन्छन् त्यति नै हाल्ने व्यवस्था मिलाइएको छ। समापनका बेला उपस्थित हुने ५ हजार यात्रीको खानपिन व्यवस्थापन गर्ने प्रतिबद्धता जेनेभाका मेयरले सार्वजनिक गरिसकेका छन्।

भारतमा लाखौँ भूमिहीन, आदिवासी अहिले पनि जमिनसँग जोडिएको समस्याले सताइएका छन्। वन संरक्षण गर्ने तथा विभिन्न कम्पनी, फार्म स्थापना गर्ने नाममा आदिवासीलाई उठिबास लगाउने क्रम जारी छ। बर्सेनि हजारौँ किसान ऋणको पासोले बेरिएर मर्छन्। उनीहरूका यिनै समस्या समाधान गर्न वर्षौँदेखि कटिबद्ध एकता परिषद्ले यसअघि पनि यस्ता यात्रा आयोजना गरिसकेको छ। गान्धीवाद अर्थात अहिंसात्मक मार्ग अपनाएर शान्तिलाई साक्षी राख्दै आयोजना हुने यस्ता यात्राले यसअघि राम्रा परिणाम पनि हात परिसकेको छ भारतमा।

परिषद्कै आयोजनमा सन् २००७ मा पनि लामो यात्रा आयोजना भएको थियो। ८ वर्षअघि अर्थात सन् २०१२ मा पनि ग्वालियरदेखि दिल्लीसम्मको यात्रा आयोजना भएको थियो। तर करिब १ लाख जना सम्मिलित यो यात्रा दिल्ली पुग्नै पाएन। दिल्लीमा बस्ने सरकार आग्रा आइपुग्यो र बरु समस्या समाधान गरिदिने तर यात्रा आइपुग्यो भने दिल्ली अस्तव्यस्त हुने भएकाले नआइदिन आग्रह ग-यो। यस्तै यात्राहरूको परिणाम हो कि भारत सरकार फरेस्ट राइट एक्ट ल्याउन बाध्य भयो। जसअन्तर्गत आफूले पुर्खौँदेखि खेती गरिरहेका जमिनमा लाखौँ किसानले स्वामित्व पाए।

अहिलेको यात्रा भने विश्वव्यापी हो। गान्धीवादमा विश्वास राख्ने भएकाले पनि यो यात्रा न सत्ताका लागि कसिङ्गर बन्छ न त शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारीमा बसेका सुरक्षा निकायकै लागि तनावको स्रोत हुन्छ। जसले यात्राबारे थाहा पाउँछ खल्ती टक्टक्याएर भए पनि केही रकम दिन्छ दिन्छ। किनकि यो गरिबीविरुद्धको शान्तिपूर्ण लडाइँ हो। किनकि यो विश्वमा व्याप्त असमानताको खाडल साँघु¥याउने आवाज हो। किनकि यो भुइँ तहका मानिसको क्रन्दन सतहमा ल्याउने उपाय पनि हो। त्यसैले राजगोपाल पिभी सञ्चार माध्यमको मात्र हैन, सरकारको समेत दैनिक निगरानीमा पर्ने विषय भएका छन्– कहाँ जान्छन्, के गर्दैछन्, कस्ता अजेन्डा उठाउँदैछन् आदि।

प्रकाशित: १२ फाल्गुन २०७६ १२:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App