१३ जेष्ठ २०७७ मंगलबार
विचार

पृथ्वीनारायण: भ्रम र यथार्थ

आज २९८औं पृथ्वी जयन्ती। २०४७ सालमा सक्रिय राजतन्त्र अन्त्य भई प्रजातन्त्र पुनस्र्थापना भएपछि पनि पृथ्वीनारायण शाहको योगदानलाई मान्यता दिँदै राष्ट्रिय एकता दिवसका रूपमा उनको जन्मजयन्ती मनाउने राजतन्त्रकालीन प्रचलनलाई निरन्तरता दिइएको थियो, उनलाई राजाका पुर्खाका रूपमा नभई राष्ट्र निर्माता एवं एकीकरणकर्ताका रूपमा।

नेपाल देश हुन्थ्यो कि हुन्थेन ?
तर गणतन्त्र आएपछिका शासकबाट पुस २७ को सार्वजनिक बिदा कटौती गर्नेदेखि राज्य तहबाटै पृथ्वीनारायणलाई ‘डिसओन’ गर्ने ढंगका अनेकन् प्रतिशोधात्मक कार्य सुरु गरिए। जातीय उन्मादी÷अतिवादी र ‘नयाँ नेपाल बनाउन पहिलेका सबै थोक भत्काउने’ भन्दै हिंस्रक विद्रोह गरेर सत्तामा आएको माओवादीलाई उनको सालिक तोड्दै हिँड्ने छुट दिइयो। नेपाली कांग्रेसजस्तो उदार र मध्यमार्गी दल पनि पृथ्वीनारायणको ११औं/१२औं पुस्ताका खनाति राजाहरूले लोकतन्त्र अपहरण गरेको रिसमा उनीहरूकै लहैलहैमा लाग्यो, त्यसबखत। आफ्ना नेतामा इतिहास चेत र सुझबुझ अभावका कारण हुन गएको त्यस गल्तीप्रति आज धेरै कांग्रेसजन चुकचुकाउँछन्। तर प्रचण्ड जनदबाबले गरेर सरकारीस्तरमै पनि पृथ्वी जयन्ती मनाउनुपर्छ भन्ने बोध हुन थालेको छ, केही वर्षदेखि।

‘युद्ध उन्मादी, सामन्त र साम्राज्यवादी राज्य विस्तारक’ पृथ्वीनारायण नहुँदा हुन् त आज  नेपाल भन्ने हुन्थ्यो कि हुन्थेन ? हामी नेपाली हुन्थ्यौं कि हुन्थेनौं ?

पृथ्वीनारायणबारे तीनथरी कथ्य स्थापना गरिएका÷गराइएका छन्। पहिलो– बाइसे÷चौबीसे भनिने ससाना क्षेत्रमा विभक्त र आपसमा सधैं लडिरहने राज्यहरूलाई युद्ध गरेर जितेर वा सम्झौतामा आउन बाध्य पारेर उनले एकीकरण गरे र आजको सिंगो नेपाल बनाए। त्यसबाहेक अत्यन्त दूरदर्शी उनले अनेकन् थिति बाँधेर राष्ट्र निर्माणको जग बसाले। दोस्रो– उनी देश एकीकरणकर्ता होइनन्, युद्ध उन्मादी सामन्त र साम्राज्यवादी राज्य विस्तारक हुन्, जसले क्रूरतापूर्वक अन्य राज्यलाई आफ्नो गोर्खा राज्यमा मिलाए र, तेस्रो– उनले देशको भौगोलिक एकीकरण त गरे, तर भावनात्मक एकीकरण गरेनन् वा गर्न चाहेनन्। फलतः आज पनि कतिपय समुदायमा अलगावको भावना छ।

पहिले, दोस्रो कथ्यबाट चर्चा सुरु गरौं र एउटा प्रश्न गरौं– युद्ध उन्मादी सामन्त र साम्राज्यवादी राज्य विस्तारक’ पृथ्वीनारायण नहुँदा हुन् त आज यो नेपाल देश हुन्थ्यो कि हुन्थेन र हामी नेपाली हुन्थ्यौं कि हुन्थेनौं ?

एकीकरणको विकल्प थिएन/छैन
जवाफमा पहिलो कुरा त नेपाल, टाटाढासम्म कतै अरू कुनै मुलुक नभएका समुद्रबीचमा अवस्थित द्विप राष्ट्र होइन, जहाँ विदेशी आक्रमणको खतरा न्यून होस्।  हाम्रो देश त दुई विशाल र शक्तिशाली देशबीच अवस्थित सानो र कमजोर राष्ट्र हो, एकीकृत हुँदा पनि भने एकीकरणपूर्वका बाइसे–चौबीसे राज्य त झनै साना र कमजोर हुने भइगए। यस्तोमा सिंगो हिन्दुस्तानलाई उपनिवेश बनाउन सक्ने अंग्रेजले तिनलाई छुट्टै राज्यको दर्जा दिएर राखिरहने त कुरै थिएन; एकएक गरी ब्रिटिस भारतको अंग बनाइसक्थे, युद्धमा परास्त गरेर हुन्छ कि एकअर्काविरुद्ध लडाएर वा अन्य कुनै तिकडम अथवा सम्झौता गराएर।

बढीमा आफूलाई मालिक मान्ने गरी रियासतसम्मको मान्यता दिन्थे। जसरी ब्रिटिस भारतका अरू राजा÷महाराजा, नबाबहरूका राज्यलाई दिए। अनि पृथ्वीनारायणकै पालादेखि युद्ध गर्दागर्दा पोख्त भएका एकीकृत नेपालका बहादुर गोर्खाली सेनाले त अंग्रेजसँग जित्न नसकिने देखेर देश जोगाउन सुगौली सन्धि गर्नुप¥यो भने एकीकरणपूर्वका ससाना राज्यले बेलायती सेनाबाट आफ्ना भुरे÷टाकुरे राज्य बचाउन सक्ने त कुरै थिएन। अनि रियासतै भएका भए पनि पछि भारत स्वतन्त्र हुँदा अरू रियासत सँगसँगै भारतमा गाभिनु त पथ्र्योे, पथ्र्यो। सरदार पटेलले ती सब फुच्चे राज्यलाई छाड्दैनथे, बलपूर्वक भारतमा मिलाउँथे। भारतको अंग बन्न नमान्ने ठूलठूला राज्य÷रियासतलाई समेत उनले भारतमा मिलाएकै हुन्।

नेपाल त्यो नियतिबाट जोगिनुको मुख्य कारण हो– हाम्रो देश सिंगो र एकीकृत भई बलियो हुनु। र, जसलाई सिंगो र एकीकृत पृथ्वीनारायणले नै बनाएका हुन्। होइन, अब हामीलाई यो देश भएर के भएको छ र ! भूपरिवेष्ठनको अभिशापदेखि दुःख, अभाव, गरिबी र सदियौंदेखिको कुशासनसम्म् बेहोरेर यस्तो देशका नागरिक भइरहनुभन्दा त ठूलो, अहिले तीव्र गतिले विकास भइरहेको र अवसर पनि बढी भएको ठूलो देशकै नागरिक हुन पाएको भए बरु भाग्यमानी हुन्थ्यौं भन्ने हो भने त बेग्लै कुरा। त्यस्तो सोच राख्नेका लागि पृथ्वीनारायण खलनायकै हुन्। पृथ्वीनारायणलाई गाली गर्ने कतिपय पहिचान राजनीति पक्षधरलाई मैले के बाइसे–चौबीसे राज्यमै फर्किनुपर्ने हो भनी सोध्दा ‘होइन’ भने। र, देश एकीकरण गरेकोचाहिँ ठीक हो भने। अनि देश एकीकरण गरेकोचाहिँ ठीक हुने, तर त्यसका नायकचाहिँ युद्ध उन्मादी, साम्राज्यवादी सामन्त वा राज्य विस्तारक हुने, यो कस्तो कथ्य हो भन्दा उनीहरूको जवाफ थियो, ‘पृथ्वीनारायणले भौगोलिक एकीकरण त गरे, तर भावनात्मक एकीकरण गरेनन्।’

१७ धार्नी नाक काटेका जस्ता असत्य र अतिरञ्जित कथनका आधारमा उनलाई बदनाम गर्नु भ्रमपूर्ण कुरा हो। औचित्यहीन, अनावश्यक र क्रूर युद्ध देशमा थोपरेर १७ हजार मान्छे मार्ने÷मराउने र तिनलाई क्रान्तिकारी देख्नेहरूले १७ धार्नी नाकको कुरा गर्नु त झन् दुराशय नै हो।

भावनात्मक एकीकरणमा चुकेकै हुन् ?
यो ‘न्यारेटिभ’मा पनि दम छैन। किनकि सर्वप्रथम त कुन समुदाय वा क्षेत्रलाई पृथ्वीनारायणले काखी च्यापे र कुनविरुद्ध के–कस्ता विभेद गरे भन्ने कुरा कतै खुल्दैन। उनले त बरु ‘मेरा साना दुःखले आज्र्याको मुलुक होइन, सबै जातको फूलबारी हो, सबैलाई चेतना भया’ भनेका छन्, आफ्नो दिव्योपदेशमा (जुन ग्रन्थ आजका मितिमा पनि उत्तिकै सान्दर्भिक राजकाज र सुशासनका अनमोल सूत्र हुन्)। हो, भावनात्मक एकीकरण भनेर आजको जस्तो समानुपातिक प्रतिनिधित्व, समावेशी राज्य व्यवस्था नभएको अवस्थालाई भनेको हो भने त्यसबखतको शासन व्यवस्थालाई आजका मानकका आधारमा मूल्यांकन गर्न मिल्दैन। यो हिसाबबाट त अढाई शतकपूर्वका पृथ्वीनारायणको त के कुरा, आधा शतकपूर्वका पुष्पलाल पनि प्रगतिशील देखिँदैनन्। उनको पार्टीका केन्द्रीय सदस्य वा पदाधिकारीमा  महिला, दलित र अरू जातीय समूहको प्रतिनिधित्व तिनको जनसंख्याका अनुपातमा थिए ? थिएन भने ७० वर्षपूर्व गठित कम्युनिस्ट पार्टीले गर्न नसकेको समावेशी÷समानुपातिक अढाई सय वर्षअघिका राजा पृथ्वीनारायणले कसरी गर्न सक्थे ? आजको विश्वका उन्नत, लोकतान्त्रिक र प्रगतिशील कहलिएका कुनचाहिँ राज्यमा जातीय, नृवंशीय, लैंगिक, भाषिक, भौगोलिक, वर्णगत इत्यादि हरेक कोणबाट समानता, समावेशिता र समानुपातिकता थियो, पृथ्वीनारायणका समयमा ?

वास्तवमा, समयभन्दा धेरैअगाडिको चेत कसैसँग पनि हुँदैन। पृथ्वीनारायण त हदका राजनेता थिए। उनले विजय प्राप्त गरेकै काठमाडौंमा जीवित नेवारहरूकी देवी शाक्य जातकी कुमारीसँग टीका लगाए, उनको खुट्टा ढोगे र आशीर्वाद लिए। त्यसपछि पनि यहाँका नेवार समुदायका यावत् रीतिथितिलाई यथावत् चलाए, रोकेनन्। देशको नाम नेपाल नै राखे र राजधानी काठमाडौंलाई नै चुने। उनले चाहेका भए देशको नाम आफ्नो राज्यका नामबाट गोर्खा भनी बदल्न र राजधानी पनि गोर्खा नै तोक्न सजिलै सक्थे। युद्ध जितेका हरेक ठाउँमा यसैगरी स्थानीय समुदायका रीतिथिति, परम्परालाई मान्यता दिँदै गए। किनकि उनको ‘मिसन’ देशको एकीकरण गर्नु थियो, सांस्कृतिक अतिक्रमण गर्नु होइन। र, उनी आफ्नो लक्ष्य एवं उद्देश्यमा स्पष्ट र दृढ थिए। त्यसैले राजाको विलासी जीवन व्यतीत गर्न छाडेर कलिलै उमेरदेखि १ मिनेट विश्राम नलिई उनी एकपछि अर्को युद्धको मैदानमा होमिएका थिए।

उनले स्थापना गरेका गुरुङ र मगरको (मात्र) छुट्टै पल्टन (क्रमशः कालीबहादुर गण र पुरानो गोरख गण भनिने) नेपाली सेनामा आज पनि कायम छ। तर अहिले तिनमा अरू जातिकाले पनि प्रवेश पाउने चलन छ। उनले राई÷लिम्बूका पनि छुट्टै पल्टन बनाउँथे होलान्, पूर्वतिरको एकीकरण पनि आफ्नै जीवनकालमा गर्न पाएका भए। ५२ वर्षमै बितेका उनले त्यो अवसर पाएनन्। र, पूर्वतर्फकोे एकीकरणको कार्यभार उनका कान्छा छोरा बहादुर शाहले पूरा गरे। क्षत्री त उनका सेनामा पहिल्यैदेखि छँदै थिए। धार्मिक/सामाजिक मान्यताका कारण उतिबेला बाहुनलाई सेनामा लिने कुरै आउँदैनथ्यो। छोटकरीमा भन्नुपर्दा, पृथ्वीनारायण आजका नेता र राज्य सञ्चालकभन्दा बढी नै समावेशी थिए, कम थिएनन्।
नियोजित प्रचार कि वस्तुनिष्ठ मूल्यांकन ?

वास्तवमा उनलाई मन नपराउने विदेशी र उनले लखेटेका क्रिस्चियन धर्म प्रचारकहरूले उनीबारे भ्रम छर्नकै लागि बंग्याएका पुस्तकका आधारमा हामीले मूल्यांकन ग-यौं भने पृथ्वीनारायणप्रति अन्याय हुनेछ। यसर्थ उनका विषयमा हामी आफैंले सोधखोज, अध्ययन, अनुसन्धान गर्नुपर्छ। उनका कमी÷कमजोरीको पनि मूल्यांकन गर्नुपर्छ, तर यथार्थमा आधारित। हो, युद्ध सधैंभरि मानवीय हुँदैन। निर्दयी हुन्छ। राष्ट्र एकीकरण गर्न युद्ध गर्नुपर्दा कति ठाउँमा केही ज्यादती पनि भए होलान्, जुन उनले आदेश दिएका होइनन्। तर १७ धार्नी नाक काटेको जस्ता असत्य र अतिरञ्जित कथनका आधारमा उनलाई बदनाम गर्नु भ्रमपूर्ण कुरा हो। औचित्यहीन, अनावश्यक र क्रूर युद्ध देशमा थोपरेर १७ हजार मान्छे मार्ने÷मराउने र तिनलाई क्रान्तिकारी देख्नेहरूले १७ धार्नी नाकको कुरा गर्नु त झन् दुराशय नै हो।  
त्यसैले राष्ट्र निर्माताप्रति कृतघ्न होइन, कृतज्ञ बनौं।

प्रकाशित: २७ पुस २०७६ १०:३६ आइतबार

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%

नेपाल रिपब्लिक मिडिया (प्रा) लि.ले नेपाली भाषामा नागरिक राष्ट्रिय दैनिक (गुणराज लुइँटेलको सम्पादकत्वमा) काठमाडौँ, विराटनगर, नेपालगञ्ज, पोखरा र बुटवलबाट एक साथ प्रकाशन गर्दै आएको छ।

मुद्रा विनिमय

नेपाल रिपब्लिक मिडिया (प्रा) लि

रजिस्टर्ड नंः १६३/०५४/०५५
जेडिए कम्प्लेक्स
सुन्धारा, काठमाडौं
फोनः ४२६५१००
फ्याक्सः ४२५२२६२
प्रबन्ध निर्देशकः विनोदराज ज्ञवाली
निर्देशकः शोभा ज्ञवाली
प्रधान सम्पादक: गुणराज लुइँटेल