coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

बौद्धिक वर्गको भूमिका

बौद्धिक वर्ग भन्नाले ती सबै समेटिन्छन्, जो समुदायका हकहितका लागि बिनास्वार्थ दिशानिर्देश गर्ने क्षमता राख्छन्। जस्तै ः शिक्षक, सञ्चारकर्मी, न्यायकर्मी तथा विभिन्न पेसामा आबद्ध सचेत नागरिक। समाजको अपेक्षा हुन्छ– बौद्धिक वर्गको कुनै जात, धर्म, क्षेत्रसँग विशेष मोह हुँदैन, उसले जे देख्छ र बुझ्छ, त्यही कुरा प्रस्तुत गर्छ।  त्यसैले तिनको काँधमा विभिन्न सामाजिक उत्तरदायित्व हुन्छन्, समाज रूपान्तरण गर्ने, समुदायलाई सामाजिक न्याय अनुभूति गराउने, नागरिकका आशा जीवन्त राख्ने, समाजमा रहेका विभेद अन्त्य गर्ने र राज्यलाई खबरदारी गर्ने जिम्मेवारी पनि बौद्धिक वर्गको काँधमा  हुन्छ। सामाजिक अन्यायप्रति उदासीन भएर रमिता हेर्ने, राज्यका शक्ति सञ्चालकहरूको गलत गतिविधिलाई बुझेर बुझपचाउने, रंगभेद, लिंगभेद, जात र क्षेत्रगतजस्ता विभेदहरूलाई आधार बनाए गरिने राजनीतिलाई मौन समर्थन गर्ने बौद्धिक वर्गलाई  सामाजिक अगुवाका रूपमा इतिहासले सम्मान गर्दैन।


नेपालको इतिहासदेखि वर्तमानसम्मका परिदृश्यमा बौद्धिक वर्गमा गनिएका प्रायः व्यक्ति जो कि त चुपचाप बस्छन् कि त बेलाबखत कुनै निश्चित क्षेत्र, वर्ग, लिंग, जाति र राजनीतिक दलका लागि मात्रै बोल्ने गर्छन्। ती बौद्धिक हुन् कि द्वन्द्वका सर्जक ? किनकि एकातिर उनीहरूले आफ्नो स्वार्थअनुरूप समाजलाई उद्वेलित हुन दिशानिर्देश गरिरहेका हुन्छन् भने अर्कातिर राज्यलाई क्रूरतासाथ अगाडि बढ्न सल्लाह दिइरहेका हुन्छन्। कतिपय बौद्धिक भनिएकाहरू राज्यले गरेका गल्तीहरूलाई मौन समर्थन गर्दै आफ्ना निजी स्वार्थका लागि त्यसमा सहयोग पु¥याइरहेका समेत भेटिन्छन्।

बौद्धिक वर्गको मौनता र निष्क्रियताले सिंगो समाज र देश नै ठूलो संकटमा पर्न सक्छ।

वास्तवमा जुनसुकै शक्ति सत्तामा भए पनि बौद्धिक वर्गको काममा असर पर्नु वा पारिनु  नहुने हो। यसमा नेपालको राजनीतिक संस्कार पनि उत्तिकै जिम्मेवार छ। ज्ञान उत्पादन गरिने प्रमुख ठाउँलाई समेत भागबन्डाको राजनीतिमा पार्दा, विज्ञका रूपमा जिम्मेवारी लिनुपर्ने स्थानमा समेत कर्ममार्गभन्दा भक्तिमार्गबाट आउनेलाई प्राथमिकतामा राखिँदा कतिपय बौद्धिक वर्गका व्यक्तिमा निराशा उब्जिएको अवस्था नौलो होइन। बुद्धिजीवीले ज्ञानको उपयोग, वितरण तथा उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने हुनाले समाजलाई द्वन्द्वमा लाने, उत्तेजित बनाउने अथवा भ्रमित पार्नेजस्ता कुनै पनि नकारात्मक भूमिकामा तिनलाई कल्पनासमेत गरिँदैन र पनि भनिन्छ नि परिणाम राम्रो हुन प्रक्रिया सही हुन आवश्यक हुन्छ। त्यसैले बुद्धिजीवीहरूको ज्ञान उत्पादन गर्न सक्ने क्षमतालाई राज्यले सही रूपमा भरपुर उपयोग गर्न उचित प्रक्रिया र संरचनाप्रति चासो र चिन्ता राख्न ढिला गरिनु हुँदैन।

अहिलेको समयमा सामाजिक सञ्जाल एउटा ठूलो जमातको पहुँचमा छ जसले समाजमा रहेका सम्भावित ऊर्जालाई उद्वेलित गर्न सक्ने क्षमता राख्छ। त्यसैले यसको प्रयोगमा संवेदनशीलता अपनाउन आवश्यक हुन्छ। यहाँनिर एउटा के कुरामा प्रस्ट हुन जरुरी छ भने राज्य र समाज फरक–फरक कुरा हुन्। राज्य फरक हुँदैमा समाज पनि फरक हुन्छ भनी सोच्नु हुँदैन। एउटै समाज विश्वका अनेक मुलुकमा रहेको हुन सक्छ र जुन मुलुकमा हुन्छ, त्यसकै नियम–कानुनले बाँधिएको भए पनि भावनात्मक लगाव सम्बन्धित समाजसँग नै हुन्छ। एउटा राज्यमा अनेक समाज हुन्छन् तर एउटा समाजभित्र राज्य अट्दैन।

समाजलाई कुनै भौगोलिक सीमाले बाँध्न सक्दैन। फरक देशभित्र हुँदैमा त्यो अर्को समाज बनिहाल्दैन। जस्तो कि रेडक्रस समाज संसारका जुनसुकै देशमा भए पनि त्यो रेडक्रस समाज नै हुन्छ। पहाडी समाज नेपाल, दार्जिलिङ, सिक्किम वा हिमाञ्चल प्रदेश जहाँसुकै बसे पनि पहाडी समाज नै कहलिन्छ। त्यस्तै मधेसी समाज अमेरिकामा होस् वा जापानमा, मधेसी समाज नै हुन्छ। जब आफ्नै समाजका कोही पीडामा छन् भने त्यसको अनुभूति समान समाजवालालाई हुनु स्वाभाविकै हो। त्यसैको परिणाम हो– भारतले दार्जिलिङवासी नेपाली भाषीसँग गरेको व्यवहारको विरोध नेपालमा रहेका समान समाजवालाहरूले गर्नु। विडम्बना, फरक समाज भएकै कारण त्यसको पीडा एकै देशका अर्को समाजका नागरिकले महसुस गर्न सक्दैनन् भने त्यहाँ समाजका बुद्धिजीवीहरूका साथै राज्य पनि गम्भीर हुन जरुरी हुन्छ।

पृथक देशका समाजसँगको अनुभूति आफ्नो ठाउँमा छ तर एकताको अनुभूति अपनत्वद्वारा पृथक–पृथक समाजले बनेको एक राज्यभित्र  हुन जरुरी हुन्छ। कुनै समाजलाई राज्यले विभेद र अन्याय गर्छ भने त्यसको पीडा देशभित्रका अर्को समाजकाले पनि गर्न सकेको हुनुपर्छ र अपनत्व महसुस गराउन सक्नुपर्छ। अन्यथा, नागरिक–नागरिकबीच आफ्नोपन लोप हुँदै जान्छ, जसको परिणाम एकै देशका नागरिक कोही बढी शक्तिशाली त कोही अत्यन्तै असुरक्षित महसुस गर्न थाल्छन्। अनि सरकार निरंकुशतातर्फ अघि बढ्न थाल्छ। दीर्घकालसम्मका लागि यो अवस्था कुनै पनि समाजका लागि लाभदायक हुँदैन। केही व्यक्ति विशेषले मात्रै राज्यशक्ति आफ्नाअनुकूल प्रयोग गर्न थाल्छन्। यहाँ फेरि बौद्धिक वर्गले महŒवपूर्ण भूमिका खेल्नुपर्ने हुन्छ। सही कुरालाई सही तरिकाले व्याख्या गरिदिनाका साथै आम नागरिकको बुझाइको धरातल फराकिलो पार्न विभिन्न विधिको सहयोग लिँदै मद्दत गर्नुपर्ने हुन्छ।

नेपालको इतिहासदेखि वर्तमानसम्मका परिदृश्यमा बौद्धिक वर्गमा गनिएका प्रायः व्यक्ति जो कि त चुपचाप बस्छन् कि त बेलाबखत कुनै निश्चित क्षेत्र, वर्ग, लिंग, जाति र राजनीतिक दलका लागि मात्रै बोल्ने गर्छन्। ती बौद्धिक हुन् कि द्वन्द्वका सर्जक ?

कुनै पनि समस्या निराकरण गर्न त्यसको असरको व्याख्याभन्दा उत्पत्तिका कारण के–के हुन् र त्यसको जरो कहाँ छ, त्यो बुझ्न जरुरी छ। यसले कसरी, कता र कति असर पार्दै छ भनी गहन अध्ययन गर्न आवश्यक हुन्छ। नेपालको सन्दर्भमा जहिले पनि समस्याका असरलाई आआफ्नो वाकपटुताले व्याख्या, पुनःव्याख्या र अपव्याख्या गरिराखेको पाइन्छ, जसले समस्या निराकरणतर्फ कुनै योगदान पुग्दैन, बरु असरका भयावहताले गर्दा समाजलाई  झन्झन् त्रसित बनाइदिन्छ।

अहिलेको सन्दर्भमा किन हरेक दिन बाटोमा भएका दुर्घटनाले देशभरिमा सयौं सर्वसाधारणको ज्यान जाँदासमेत कुनै ठोस योजना छैन, राज्यसँग ? सर्वसाधारण नागरिक  मत  र करका लागि मात्रै चाहिने हो ? ती सर्वसाधारण नेपाली जो हेलिकोप्टर र  हवाईजहाज चढ्ने क्षमता राख्दैनन्, तिनले सधैं सडक दुर्घटनामा अकाल मर्नुपर्ने हो ? यी प्रश्नका जवाफ कारणसहित खोज्नुपर्ने हुन्छ। हो, यहींनिर फेरि चाहिन्छ– बौद्धिक वर्ग, जसले निष्पक्ष भावले यी प्रश्नका उत्तर खोज्न जवाफदेहीपूर्ण जिम्मेवारी लिन्छ । यसका लागि राज्यले मुख्य भूमिका निर्वाह गर्नुपर्ने हुन्छ। शैक्षिक डिग्रीलाई मात्रै आधार नबनाई  सामाजिक समस्या बुझ्न सक्ने विज्ञका रूपमा स्थानीय ज्ञातालाई पनि प्राथमिकतामा राख्नुपर्छ, जसले समस्याको जरो पत्ता लगाउन समाजशास्त्रीय दृष्टिकोण प्रयोग गर्न सकोस्। किनकि सामाजिक विकासको मूल नै मानवतामा आधारित हुनुपर्छ।

हाम्रा पौराणिक ग्रन्थहरू जस्तै ः रामायण, महाभारतमा पनि राज्यहरूमा विद्वान्हरूको सभा/गोष्ठी गराइरहने अनेक प्रसंग उल्लेख छन्, जसले नयाँ–नयाँ ज्ञान उत्पादन भई न्याय सम्पादनको आधार फराकिलो पारिदिन्थे। चाहे त्यो कुनै जाति, क्षेत्र वा लिंगका अधिकार खुम्च्याउन गरिएका प्रयास हुन् वा राज्यको अहित हुने सन्धि–सम्झौताहरू, समयमै सच्याइएन भने तिनका नकारात्मक प्रभाव समाजमा असन्तुष्टिका रूपमा देखापर्छन र त्यसबाट जन्मेका द्वन्द्वहरूको सही पहिचान, विश्लेषण र व्यवस्थापन गर्न सकिएन भने त्यसले द्वन्द्वको पुनरावृत्ति गराउँछ अनि राज्य र नागरिकबीच विश्वास र अपनत्व घट्दै जान्छ। सामाजिक असमानता बढ्दै जान्छ। सफल र समृद्ध राज्यका लागि हरेक नागरिकको ढुकढुकीमा देशप्रेम भावना हुन अनिवार्य छ। जसका लागि राज्यका नीति–नियम र व्यवहार जिम्मेवार हुन्छन्। यहाँनिर पनि बौद्धिक वर्गको महत्वपूर्ण भूमिका हुन्छ। जसले राज्यका निकायहरू जुन नागरिकसँग सीधै जोडिएका छन्, तिनका व्यवहारगत परिवर्तनको आवश्यकता महसुस गराई सेवा प्रदान गरिने तरिकालाई प्रभावशाली बनाउन सहयोग गर्न सक्छ।

त्यसैले समाजमा बौद्धिक वर्गका महत्वपूर्ण भूमिका र कर्तव्य हुन्छन्। तसर्थ राज्यले उचित व्यवस्था र वातावरण बनाई बौद्धिक शक्तिलाई विकाश र समृद्धिका लागि तथा  राजनीतिक संस्कार परिष्कृत गर्न उपयोग गर्न सक्नुपर्छ। अन्यथा, बौद्धिक वर्गको मौनता र निष्क्रियताले सिंगो समाज र देश नै ठूलो संकटमा पर्न सक्छ।
समाजशास्त्री

प्रकाशित: १९ मंसिर २०७६ ०५:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App