विश्वमा विभेदका विभिन्न रूप छन्। पश्चिमा मुलुकमा छालको रङका आधारमा विभेद हुने गरेका छन्। पितृसत्तात्मक समाजमा पुरुषबाट महिलालाई हिंसा हुन्छ भने तेस्रो लिंगी, समलिंगीप्रति सामाजिक दृष्टिकोण पनि सकारात्मक छैन। त्यस्तै हिन्दू धर्मको वर्ण व्यवस्थाले सिर्जना गरेको जातीय प्रथाले मानिसलाई खण्डखण्डमा विभाजन गरेको छ। कसैलाई छुत त कसैलाई अछुतको दर्जा दिएको छ। छुतभित्रका बाहुन–क्षत्रीबीच हुने विभेद तुलनात्मक रूपमा लचिलो देखिन्छ। तर यी समुदायले शूद्र वर्ण अर्थात् दलितलाई गर्ने भेदभाव चर्काे छ। अझ दलित समुदायभित्रकै जातिबीच हुने आपसी विभेद उदेकलाग्दो छ। कामी समुदायलाई दलितभित्रको उच्च जात मान्ने कुप्रथा छ। जुन जातिले अन्य दलित जस्तै ः दमाईं, सार्की, बादीप्रति गर्ने व्यवहार कुनै तागाधारीको भन्दा कम हुँदैन।
नेपाली समाजमा सबैभन्दा पीडित समुदाय दलित हो। जुन समुदायलाई जातकै आधारमा सदियौंदेखि आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिक तथा धार्मिक रूपमा पछाडि पारियो। सामाजिक स्वतन्त्रता हनन गरियो। अमानवीय व्यवहार गरेर असीम मानसिक पीडा दिइयो। विडम्बना ! यही समुदायभित्र पनि आपसमा जातीय भेदभाव र छुवाछुत व्याप्त छ, जुन ज्यादै घिनलाग्दो र डरलाग्दो छ। सुन्दा, पढ्दा अलि नमिठो लाग्ला, तर तीतो यथार्थ यही हो। दलित समुदायका नेताहरू साझा मञ्चबाट समानता, दलित अधिकारका विषयमा बहस गर्छन्। विभेदकारी सामाजिक मूल्य–मान्यताविरुद्ध वकालत गर्छन्। दलित एकताका विषयमा चर्को भाषण दिन्छन्। तर दलितभित्रै हुने विभेदबारे किन बोल्दैनन् ? दलित एनजिओ, आइनजिओ, अधिकारकर्मी किन मौन छन् ? एक दलितले अर्को दलितलाई गर्ने जातीय विभेदचाहिँ विभेद होइन र ? एक दलितले अर्को दलितलाई पानी छोएको निहुँमा कुटपिट गरेको, कामी र दमाईं युवक–युवतीले प्रेमविवाह गर्दा बहिष्कार गरिएका खबर दलित अगुवा÷प्रतिनिधिले राम्ररी पढ्ने कि ?
गाउँ–गाउँमा अझै एक दलित(कामी)ले अर्को दलित (दमाईं)लाई गर्ने व्यवहार कुनै बाहुनले गर्ने विभेदभन्दा कम हुँदैन। आपसमा पानी नचल्ने, घरमा पस्न नहुने तथा भोजभतेरमा छुट्टै भान्सा गर्ने आदि । दलितभित्रका फरक जातिबीच मागी विवाह भएको अहिलेसम्म सायदै सुनिएको छ।
दलितका विभिन्न संघसंस्था स्थापना भएका छन्। दातृ निकायले जनचेतना, अनुसन्धान, सामाजिक विकास र रूपान्तरणका लागि भनेर तिनलाई अर्बौं रुपैयाँ दिएका छन्। दलितसम्बन्धी कार्यक्रम जिल्ला–जिल्लामा चलेका हुन्छन्। देश–विदेशमा हुने सेमिनार, भेला, गोष्ठीमा दलित प्रतिनिधि सहभागी भइरहेका हुन्छन्। जसको उद्देश्य भनेकै जातीय विभेदविरुद्ध लड्ने, आवाज उठाउने हो। तर वास्तविकता त्यस्तो छ त ? कदापि छैन। के पहाड के तराई, जहाँसुकै दलित–दलितबीच विभेद छ, फाटो छ। दलित–दलितबीच नै तँभन्दा म ठूलो जातको भन्ने भ्रम र अन्धविश्वास छ। यस्तो सोच र व्यवहारले दलित एकता सम्भव होला ? अनि दलित आन्दोलन अघि बढ्ला ?
गाउँ–गाउँमा अझै पनि एक दलित(कामी)ले अर्को दलित (दमाईं)लाई गर्ने व्यवहार कुनै बाहुनले गर्ने विभेदभन्दा कम हुँदैन। आपसमा पानी नचल्ने, घरमा पस्न नहुने तथा भोजभतेरमा छुट्टै भान्सा गर्ने आदि । दलितभित्रका फरक जातिबीच मागी विवाह भएको अहिलेसम्म सायदै सुनिएको छ। सबै दलितको मञ्च एउटै, अजेन्डा एउटै, समस्या एउटै, तर जब दलितभित्रको पाखण्डपन खोतलिन्छ तब थाहा हुन्छ– वास्तविक धरातल। यस्तो अवस्थाप्रति मौन बस्ने परिपाटीले जातीय कुप्रथा, कुचलनको आगोमा घिउ थप्ने काम गरेको छ। यस विषयमा अहिले नबोले कहिले बोल्ने ?
यसरी जातीय छुवाछुतबाट पीडित दलितभित्रै व्याप्त अन्तरविभेद गैरदलितका निम्ति भने जवाफ फर्काउने सजिलो बहाना बनेको छ– ‘तिमीहरूभित्रै भेदभाव छ ! तिमीहरूबीच नै एकता छैन, पहिले तिमीहरू मिल न।’ एक हिसाबले हो पनि। हामी दलित– गैरदलितहरूबाट हेपियौं, चेपियौं, अन्यायमा प¥यौं, भन्छौं तर आपसको अमानवीय व्यवहार गर्न छाड्दैनौं। जातिप्रथाको विरोध पनि गर्ने अनि आफैं त्यो प्रथा पालना गर्न नछाड्ने, यो भन्दा विडम्बना अरू के हुन सक्छ?
दलित समुदायभित्र आफूलाई ठूला जाति ठान्नेहरू जति पनि छन्, तिनलाई चेतना र चेतावनी दिन आवश्यक छ। दलितबीच हुने जातीय विभेदविरुद्ध यस समुदायका युवा, अधिकारकर्मी, नागरिक अगुवा एकजुट भएर अभियान थाल्न जरुरी छ। जतिसक्दो चाँडो यो अन्तरविभेद अन्त्य गरी ‘हामी’ हुन सक्नुपर्छ। अनि मात्र समाजमा व्याप्त जातीय विभेद र अत्याचारविरुद्ध लड्न सकिन्छ।
प्रकाशित: १९ मंसिर २०७६ ०५:४० बिहीबार