१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

प्रहरीको प्रस्तुति

प्रायः चाडबाडमा घरमा बुबा उपस्थित नभएकामा हामीले गुनासो गर्दा उहाँको जवाफ हुन्थ्यो– ‘प्रहरी एउटा त्यस्तो पेसा हो, जसको परिवार पूरै देश हुन्छ र कुनै समय पनि जिम्मेवारीरहित हुन सक्दैन, किनकि सत्यको रक्षा गर्दै आम नागरिकलाई सुरक्षाको अनुभूति गराउनु प्रहरीको धर्म हो।’ त्यसैले उहाँको टोपीमा लेखिएको ‘सत्य सेवा सुरक्षणम्’, अहिले पनि झल्झली सम्झना आउँछ।

समय, सन्दर्भ र सरकार परिवर्तन भइरहन्छन्, तर प्रहरीको धर्म सधैं कानुनी राज्यको अनुभूति गराउनु हो। तर नेपालका पछिल्ला केही घटनाका कारण समाजमा प्रहरी कसको हो, कोबाट सञ्चालित हुन्छ, कानुनबाट कि कसैको निर्देशनबाट जस्ता प्रश्न उब्जिन थालेका छन्। यो भनेको प्रहरीप्रतिको जनविश्वास डगमगाउनु हो। जुन ज्यादै घातक कुरा हो। किनकि राज्यले  समाजलाई प्रहरीको कार्य र व्यवहारबाटै अपनत्व महसुस गराउन  सक्छ। अन्यथा समाजमा सत्ताप्रति वितृष्णा र अराजकता मौलाउन बेर लाग्दैन।

कुमार पौडेल हत्या प्रकरणमा गत साता नेपाल मानव अधिकार आयोगबाट आएको प्रतिवेदन, सोही हत्याको विरोधमा उत्रेका सर्लाहीका युवाको टाउकामा बज्रिएका प्रहरीका लाठी, केही महिनाअगाडि चितवनमा सार्वजनिक स्थलमा ज्ञानेन्द्र शाहीलाई भएको आक्रमण, १२ वर्षपछि पर्दाफास भएको रौतहटको बम काण्ड, निर्मला बलात्कार÷हत्या तथा महरा प्रकरणमा देखिएको प्रहरीको भूमिकाले अहिले जनमानसमा ‘प्रहरी मेरो साथी’ को उल्टो अनूभूति भइरहेको छ।

अहिलेको आधुनिक युगमा मानिसका हातहातमा प्रविधि छ, जसका सहायताले कुनै पनि घटनाको सूचना क्षणभरमै प्रमाणसहित विश्वभर पुग्न सक्छ। अनि बदलिएको चेतनास्तर, जसले आम नागरिक कुनै पनि घटनालाई अरूले बुझाएअनुसार होइन, उपलब्ध दृश्य र प्रमाण आफैं विश्लेषण गरेर बुझ्ने गर्छन्। यस्तो अवस्थामा नेपाल प्रहरीको प्रस्तुति जनअपेक्षाअनुसार हुन नसकेको जगजाहेर छ।

कुनै पनि घटना हुन नदिन तथा घटना भइहाले पीडितलाई न्याय दिलाउन प्रहरीको भूमिका अहम् हुन्छ। फौजदारी प्रकृतिका घटना हुँदा सबैभन्दा पहिले त्यसको जानकारी पुग्ने ठाउँ भनेको प्रहरी नै हो। तर अहिले प्रायः सर्वसाधारणको भोगाइ के छ भने उजुरी दर्ता गर्नसमेत हारगुहार गर्नुपर्ने, अति संवेदनशील मानवीय हिंसाका घटना हुँदा पनि, विश्वले थाहा पाइसकेको हुन्छ तर नेपाल प्रहरीले निर्देशन पर्खेर आलटाल गर्नेजस्ता असंवेदनशीले व्यवहारले प्रहरी संस्थाप्रति नै आम नागरिकको विश्वास घट्दो छ।

हुन त प्रहरी भनेको अर्कै समाज र बाहिरका व्यक्ति होइनन्, त्यसैले उनीहरूमा पनि हाम्रो सामाजिक संरचना र सोचको धेरथोर प्रभाव देखिनु स्वाभाविकै हो। कतिपय विद्वान्ले त प्रहरीलाई कलमको उपमा दिएका छन्। जसरी लेख्ने कला भएकाको हातमा कलम प-यो भने सुन्दर अक्षर लेखिन्छ भने त्यही कलम लेख्न नजान्नेको हातमा प¥यो भने परिणाम फरक हुन्छ त्यसरी नै राजनीतिक संस्कार भ्रष्ट छ भने अन्य क्षेत्रसरह प्रहरी पनि त्यसबाट अछूतो रहन सक्दैन। तर लोकतन्त्रमा राजनीतिक दुश्चक्रबाट नागरिकलाई जोगाउन सक्ने पनि प्रहरी नै हुन्। उसो त कुनै पनि घटनाको सुरुवाती चरणमै संवेदनशील भएर लाग्दा प्रहरीले राम्रा परिणाम प्राप्त गरेका उदाहरण नभएका होइनन्। यसबाट के बुझिन्छ भने नेपाल प्रहरी सक्षम छ। तर कतिपय अवस्थामा भ्रष्ट राजनीतिक संस्कारका असरले सिर्जित दबाब र प्रभावले तिनको गिरेको मनोबल उकास्न नसक्दा अपेक्षित परिणाम प्राप्त हुन सकेको देखिन्न।

के कुरामा दुईमत हुँदैन भने शेरको ठाउँमा स्याललाई नेतृत्व दिइयो भने सोचेजस्तो  परिणाम प्राप्त हुँदैन। अहिलेको राजनीतिक विडम्बना एकाधबाहेक प्रायः असल र सक्षम व्यक्तिलाई सही ठाउँ प्रदान गर्न सकेको देखिन्न। जसको असर हो– नेतृत्व पंक्तिमा इमान्दारिता र नैतिकतामा खडेरी। तर अब तिनका अगाडि दुइटा विकल्प मात्र बाँकी छन्– सुध्रिने  कि सकिने ? विश्व परिवेशको असर नेपालमा पनि पर्छ नै। अहिले जुन किसिमले आम सर्वसाधारणको चेतनास्तर परिवर्तन भएको छ, त्यो विश्व राजनीतिमा देखिएका परिदृश्यहरूको प्रभाव हो।

अब बुझ्नुपर्ने कुरा के हो भने आधुनिक वैज्ञानिक प्रविधिहरूका कारण आम नागरिकसँग सूचनाका विभिन्न स्रोत छन्, जसले गर्दा एकातिर तिनको चेतनास्तर वृद्धि भएको छ भने अर्कातिर कसैले गलत सूचना फैलाएर झुक्याउन सक्दैन। यसैका उदाहरण हुन्– विभिन्न समयमा सम्बन्धित निकायबाट प्रसारित  प्रतिक्रियाको सामाजिक सञ्जालदेखि सडकसम्म हुने गरेका विरोध र प्रदर्शन। त्यसैले प्रहरीले पनि समयमै आफ्ना कमीकमजोरी हटाएर व्यवहार परिमार्जन गर्न जरुरी छ।

जसरी गाडी चलाउने सिटमा बसेकाले कसैको निर्देशनअनुसार स्टेयरिङ घुमाउने हो भने दुर्घटना निश्चित छ र उक्त दुर्घटनाको दोष चालकलाई नै लाग्छ, निर्देशन दिनेलाई होइन, त्यसरी नै कुनै घटनामा पीडितले सुरक्षा र न्याय पाएनन् भने सर्वप्रथम प्रहरीलाई दोष आउँछ, उसलाई परिचालन गर्नेलाई होइन। त्यसैले आफ्नो पेसाप्रति इमान्दार भएर काम गर्दै प्रहरीले सर्वसाधारण नागरिकमा न्यायप्रति आशा र विश्वास जगाउनु आजको आवश्यकता हो। राजनीतिक चरित्र त नेतृत्वकर्ताअनुसार बदलिरहन्छ, तर प्रहरीका पेसागत चरित्र कहिले फेरिनुहुन्न।
समाजशास्त्री

प्रकाशित: १८ कार्तिक २०७६ ०६:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App