७ वैशाख २०८१ शुक्रबार
विचार

फेर्ने कि ‘ब्रोइलर’ प्राविधिक ?

सहरी क्षेत्रमा खुलेका कक्षाकोठामा बढी केन्द्रित हुने, कण्ठ गरेर नम्बर बढी ल्याउने ध्याउन्नमा लाग्ने र जागिरमा पनि यसकै आधारमा नाम निकाल्ने, खेतबारीमा औपचारिकताका लागि मात्र संलग्न हुनेजस्ता कारण हाम्रा कृषि प्राविधिक ‘ब्रोइलर प्राविधिक’ मा रूपान्तरण भएका छन् ।

घटना नं. १
डडेलधुरास्थित काष्ठमाडौँको ग्वान्नीमा बस्छिन्, राजुदेवी शाही । घरवरिपरि जङ्गल छ । पाखो जमिन भएकाले मकैबाहेक अरू बाली लगाउनै मिल्दैन । नलगाउँ बाँझै रहने । लगाऊँ बँदेलले सोत्राम पारिदिने । अझ त्यसमाथि बाँदर र भालुले पनि उत्तिकै सताउने । हैरान थिइन्, उनी । गाउँका किसानलाई सहयोग गर्न आइपुगेको एउटा कार्यक्रमले सिमी लगाए यो समस्याबाट मुक्ति मिल्ने सुझाएपछि उनले त्यसै गर्न थालिन् ।
तर सिमी लगाउँदा पनि उनको समस्या हटेन । फूलजति सबै चराले खाइदिएर हैरानै पार्न थाल्यो । त्यसपछि राजुदेवीले थालिन्, अनुसन्धान । विषय थियो– ‘कसरी खाँदोरहेछ हेरौँ न त ।’ केही घण्टाको चियोचर्चोपछि पत्ता लगाइन्– आफैँले सिमीलाई हालेको थाँक्रोको कापमा मजाले बसेर खानेरहेछ फूल । त्यसपछि जुक्ति निकालिन्– काप नभएको सुरिलो लट्ठीमात्र थाँक्रो हाल्ने । नभन्दै केही दिनमै कापवाला सबै थाँक्रो फेरिन् । उनले सुनाइन्, ‘बस्ने ठाउँ नै नभएपछि कसरी खानु ? चरा हिस्सै ।’

घटना नं. २
बैतडीको डैसेलीस्थित सिद्धपुर, करिब ६० परिवार बस्ने गाउँको नाम हो । पूरै बीउ उत्पादनमा संलग्न यो गाउँका प्रायः  किसान ‘जेटिए’जस्तै छन् । २० जनाको परिवार त जेटिएभन्दा पनि बढी जानकार छन् । गर्दागर्दै जानेका । यीमध्येकै एक किसान उद्धवराज पन्त भन्छन्, ‘म पनि जेटिए नै हुँ तर यहाँका किसान मभन्दा धेरै जान्ने छन् । त्यसैले सिकाउने आँटै आउँदैन, बरु धेरै कुरा आफैँ सिक्छु, उनीहरूबाट ।’ उनी सुनाउँदै थिए, ‘यही कारण यहाँ सरकारीतवरबाट खटिएर आउने कृषि प्राविधिक पनि सकभर आउनै मान्दैनन् ।

सहरी क्षेत्रमा खुलेका कक्षाकोठामा बढी केन्द्रित हुने, कण्ठ गरेर नम्बर बढी ल्याउने ध्याउन्नमा लाग्ने र जागिरमा पनि यसकै आधारमा नाम निकाल्ने, खेतबारीमा औपचारिकताका लागि मात्र संलग्न हुनेजस्ता कारण हाम्रा कृषि प्राविधिक ‘ब्रोइलर प्राविधिक’ मा रूपान्तरण भएका छन् ।

घटना नं. ३
मेलम्चीबाट किउलतर्फ जाँदा एउटा हातले टोपी थिचेर दाहिनेतर्फ आँखा उचाल्दा देखिन्छ– टुप्पैतिरको जङ्गल । जसको नाम हो– भीरखर्क । सिन्धुपाल्चोकको हेलम्बू गाउँपालिका–२ स्थित यही भीरखर्कमा बस्ने खिना तामाङ मकै लगाउँथे आफ्नो बारीमा । नामै भीरखर्क भएकाले अरू उब्जनी हुने कुरै भएन । त्यही अप्ठेरो ठाउँमा लगाएको मकै पनि घोगा लागिनसक्दै बाँदरले खाइदिने गर्नाले सिङ्गै गाउँले हैरान थिए ।
तर २ वर्षयता खिना खिन्न हुन छाडेका छन् । कारण ? उनी हाँस्दै सुनाउँछन्, ‘मकैको सट्टा किबी लगाउन थालेपछि बाँदर जिल्लै ।’ उनका अनुसार किबी छुँदै पनि बाँदरलाई चिलाउँछ । त्यही भएर नजिकै आउँदैन । उनले यसको रहस्य पनि सुनाए,‘किबीमा हुने झुसले उसलाई ठीक पार्ने रहेछ ।’

घटना नं. ४
चन्द्रा जोशी डडेलधुराको मणिलेकस्थित नहराकी बासिन्दा हुन् । अरू गाउँले जस्तै उनी पनि अरुण–२ जातको मकै लगाउँथिन्, धेरै फल्छ भनेर । फल्न त पहिलेको भन्दा बढी फल्यो, तर दुम्सी र स्यालले खुबै मन पराएर स्वात्तै पारिदिने । त्यसपछि चन्द्रा र अरू किसानले जुक्ति निकाले– अब रामपुर कम्पोजिट नामको मकै लगाउने । उनीहरूको निष्कर्ष थियो– अरुण–२ होचो हुने भएकाले बाँदर र दुम्सीले सहजै भेट्नेरहेछन्, तर रामपुरचाहिँ अग्लो हुने भएकाले खान सक्दैनन् । नभन्दै त्यसपछि उनीहरूको बाली सुरक्षित भयो ।

सरकारले जेटिए, जेटीजस्ता कृषि प्राविधिक गाउँमा खटाएको धेरै भयो । तर कतिपय ठाउँका किसानले यस्ता प्राविधिक देखेकै छैनन् भने कतिपय प्राविधिकले किसान नै भेटेका छैनन् । खासगरी दुर्गम भनिने ठाउँमा खटाइएका कृषि प्राविधिक किसानको खेतबारीसम्म पुग्दै पुग्दैनन् । जब उनीहरू उत्पादनको साधन जमिनसम्मै पुग्दैनन् तब वास्तविक समस्या कसरी थाहा हुन्छ ? समस्यै थाहा नभएपछि समाधान निस्कन्छ कसरी ? अहिलेको कृषि क्षेत्रमा देखिएको एउटा मुख्य समस्या हो यो ।

अनुसन्धान र व्यावहारिक प्रयोग कृषि प्राविधिकका लागि अर्को अभावको क्षेत्र हो । खासगरी सहरी क्षेत्रमा खुलेका कक्षाकोठामा बढी केन्द्रित हुने, कण्ठ गरेर नम्बर बढी ल्याउने ध्याउन्नमा लाग्ने र जागिरमा पनि यसकै आधारमा नाम निकाल्ने, खेतबारीमा प्रत्यक्ष संलग्नता कम हुने वा भए पनि औपचारिकताका लागि मात्र हुनेजस्ता कारण हाम्रा कृषि प्राविधिक ‘ब्रोइलर प्राविधिक’ मा रूपान्तरण भएका छन् । भनाइको मतलब उनीहरू सैद्धान्तिक विषयमा दिनभर नै प्रशिक्षण दिन सक्छन्, तर व्यावहारिक रूपमा निकै कमजोर । यही कारण हो– वास्तविक किसानअगाडि पर्दा उनीहरू बिरालोसामु परेको मुसोझैँ बन्न बाध्य हुन्छन् ।

गर्ने के त ?
मुलुक सङ्घीय संरचनामा गएपछि हरक्षेत्रमा विकेन्द्रीकरण तीव्र देखिएको छ । विडम्बना, कृषि क्षेत्रमा भने ठ्याक्कै उल्टो अवस्था सिर्जना भएको छ । ‘एक गाविस ः एक कृषि प्राविधिक’ माग भइरहेका बेला सरकारले भने अहिले आएर कृषि ज्ञान केन्द्रका नाममा २–३ वटा स्थानीय तह समेट्ने गरी एउटा निकाय स्थापना गरेको छ । कृषिप्रधान देशका लागि योभन्दा ठूलो विडम्बना अरू के हुन सक्छ ? कृषि प्राविधिक बढाउने र घटाउने विषय अहिले कृषि र अर्थ शब्द जोडिएका मन्त्रालयको ‘इगो’ बन्न पुगेको छ । जसको सोझो मार किसानलाई परिरहेको छ ।

हामीले प्रमाणपत्रलाई मान्यता दिँदै आयौँ । लब्धाङ्कपत्रको नम्बरलाई ‘वाह’ भन्दै आयौँ । तर हामीले बुझ्न नसकेको कुराचाहिँ के हो भने बढी नम्बर ल्याउने र सिद्धान्त सबै कण्ठस्थ पार्नेले राम्रो शिक्षक हुने हैसियत राख्छ । अनि आफूजस्तै ‘ट्यालेन्ट’ विद्यार्थी उत्पादन गर्छ । तर उसको सिद्धान्त व्यवहारमा मेल नखान सक्छ । अहिलेसम्म हाम्रो कृषि क्षेत्रले आशा जगाउन नसक्नाको एउटा प्रमुख कारण यो पनि हो । नत्र कैलालीको पहाडी क्षेत्र बूढीतोलास्थित बाख्रा विकास फार्ममा हुर्काइएका बाख्रा तराईको गर्मी हावापानीमा पाल्न प्रेरित गरिन्नथ्यो र बर्सेनि सयौँ बाख्रा हावापानी नमिलेकै कारण मर्ने अवस्था सिर्जना हुने थिएन ।

यस्तो अवस्थामा सरकारले ‘ट्याग’ लगाएका कृषि प्राविधिक भन्दा माथि उल्लिखित पात्रहरू नै बढी प्रभावी हुन सक्नेमा शङ्का छैन । एकातिर उनीहरू ‘पढेर भन्दा पनि परेर’ सानोतिनो विज्ञ नै बनिसकेका छन् भने अर्कातिर स्थानीय भएकाले उनीहरूलाई आफ्ना गाउँठाउँको माया अरूलाई भन्दा बढी हुन्छ । त्यसैले अब च्याउझैँ उम्रेका संस्थाले वितरण गरेका प्रमाणपत्रलाई हैन, रैथाने ज्ञान र सीपलाई मान्यता दिने बेला आएको छ । जसले आफ्नो माटोको पत्र–पत्र समस्या केलाउने र समाधान गर्नेसमेतको हैसियत राख्छन् ।

यसो गर्दा एकातिर किसानले २४सै घण्टा गाउँठाउँमै रहने स्थानीय कृषि प्राविधिक पाउँथे भने अर्कातिर आफ्नै घरमा खाने÷बस्ने र आफ्नै खेतबारीमा काम पनि गर्न कुनै बाधा नपर्ने भएकाले सरकारले पनि थोरै पारिश्रमिक दिए पुग्छ । यस्तो अवस्थामा दुवैलाई फाइदा । अनि यसरी आउने थोरतिनो नै किन नहोस्, त्यो पैसाले आर्थिक भरथेग हुन्छ । अर्कातर्फ गाउँमै अवसर पाइने भएपछि अरू किसान पनि थप ज्ञान हासिल गर्न स्वउत्प्रेरित हुने अवस्था आउँछ । जसले कृषि क्षेत्रलाई माथि उठाउन उत्तोलकको भूमिका निर्वाह गर्न सक्छ ।

माथि उल्लिखित घटनामध्ये डडेलधुरा र बैतडीका किसानलाई अक्सफामको उद्यम विकास कार्यक्रमले सघाएका थिए भने सिन्धुपाल्चोकमा सामुदायिक आत्मनिर्भर सेवा केन्द्रले । यसबाट थाहा हुन्छ कि अलिकति आर्थिक र प्राविधिक सहयोग उपलब्ध गराउने हो भने कृषि क्षेत्रमै लागेर पनि किसान टाठाबाठा बन्न सक्दारहेछन् । वास्तवमा सानोतिनो तालिम र अन्तरक्रियाजस्तो अवसरले पनि सधैँजसो खेतबारीमै व्यस्त रहने किसानलाई कुनै पनि समस्या समाधान आफैँ जुराउने वातावरण बनाइदिँदोरहेछ । अब कृषि क्षेत्र सपार्ने जिम्मा लिएर बसेकाहरूले यसतर्फ ध्यान दिन ढिला गर्नु हुँदैन ।

अन्त्यमा,
माउ चारा खोज्न टाढा टाढा जानुपर्ने । गुँडमा बचेराहरू मात्रै । माउ जोडीलाई सधैँ चिन्ता– कतै हामी नभएका बेला सिकारीले बच्चालाई लोभमा पारेर लैजाने त हैन ? एकदिन माउ जोडीले सल्लाह गरेछन्– अब बच्चाहरूलाई कण्ठ गराउनुप¥यो कि बाउ–आमा चारा खोज्न गएका बेला सिकारीले हाम्रो गुँडमुनि जाल फिँजाउन सक्छ । जालमा अन्न हुन्छ । हामी त्यो देखेर लोभिँदै खान जान्छौँ । अनि जालमा खुट्टा अड्किएपछि हामीलाई सिकारीले उठाएर लैजान्छ र पकाएर खान्छ ।

नभन्दै सबै बच्चालाई कण्ठै पार्न लगाए । बाउ–आमा नभएका बेला चराका बच्चा यही कुरा मात्र भट्ट्याउँथे । सबैलाई कण्ठ । एकदिन बचेराहरू यही कुरा भट्याइरहेकै बेला उनीहरूको गुँडभन्दा मुनि सिकारीले जाल हाल्यो । जालमा अन्न थियो । बचेराहरू भोकाएका थिए । बाउ–आमाले कण्ठ बनाएकै कुरा भट्याउँदै ह्वार्र उडेर जालमा हामफाले । त्यसपछि सिकारी खुसी हुँदै जाल बटारबुटुर पा¥यो र लाग्यो गन्तव्यतिर ।
अहिले हाम्रो कृषि क्षेत्रले गरिखान नसक्नाको मुख्य कारण यस्तै व्यवहार र सिद्धान्तबीचको बेमेल मुख्य हो भन्नेमा शङ्का छैन ।

प्रकाशित: १५ कार्तिक २०७६ ०१:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App