७ वैशाख २०८१ शुक्रबार
विचार

विधिको शासन

गृहमन्त्रीका भाइ अपराध गरेको अभियोगमा पक्राउ परे। अहिले कानुनी प्रक्रियामा छन्। सभामुख कृष्णबहादुर महरा यौन दुव्र्यवहारको कसुरमा पक्राउ परी कारागारमा छन्। कांग्रेस सांसद आलम मानिसलाई आततायीतवरले मारेको अभियोगमा समातिएका छन् र कारबाहीको प्रक्रियामा छन्। यी पछिल्ला तीन घटनाले देखाउँछन् कि मुलुकमा थोरै भए पनि न्यायिक आशाको सञ्चार जागेको छ।

वर्तमान सरकार दुईतिहाइको यो। यसको मतलव यो सरकार शक्तिशाली छ र चाहेको काम गर्न स्वतन्त्र छ। आमजनताले बुझेका यही हो। तर यही मर्मअनुसार काम भने हुन नसक्दा जनता विरक्तिएका छन्।

न्यायिक पाटोदेखि विकास निर्माण हुँदै हरक्षेत्रमा बढ्दो लापरबाहीले जनताको आशामाथि तुषारापात हुँदै गएको पक्कै हो। यस्तो अवस्थामा पछिल्लोपटक देखिएको न्यायिक सक्रियता मरुभूमिको पानी सावित भएको छ। यसले निराश जनतामाथि थोरै भए पनि सरकारप्रति विश्वास गर्ने वातावरण दिलाएको छ।

खासमा कानुन सबैका लागि बराबर हो। यसले पद र शक्तिलाई चिन्नु हुन्न। तर नेपालमा पद र शक्तिकै भरमा दण्डहीनता मौलाउँदै गइरहेको सबैले वर्षौँदेखि देख्दै आएका हौँ। जसले ‘सानालाई ऐन, ठूलालाई चैन’ भन्ने उखानै बसाल्न सम्भव तुल्याएको हो। जो सत्तामा हुन्छ उसले सत्ताकै प्रभावमा अपराध लुकाउने चलन धेरै वर्षदेखि चल्दै आयो। तर यतिबेला सतहमा जे देखिँदैछ, त्यसले भने अब यो स्थितिमा क्रमभंगता छाएको त हैन भन्ने अवस्था पनि देखाएको छ। जुन सकारात्मक पक्ष हो।

कतिपय घटना जसरी बाहिर आउँछन् र ल्याइन्छन्, पछि विभिन्न बहानामा सुस्त तुल्याइन्छन्। यसले सरकार र न्यायालय तथा प्रहरी÷प्रशासनप्रति जनताको शंका बढ्दै गएको छ। त्यसैले यसरी बढ्दै गएको शंका भड्ताल गर्ने अवसर पनि हो यो। त्यसैले बिनापूर्वाग्रह स्वच्छ छानबिन, अनुसन्धान गर्ने र त्यसबाट पीडक देखिएकालाई सजाय गर्ने तथा पीडित पक्षलाई न्याय दिलाउने अवसर अहिले सरकारलाई छ। जसबाट कुनै हालतमा चुक्नुहुन्न। यदि यतिबेला पनि चुकियो भने पुनः जनताको विश्वास डगमगाउने छ। अनि हामीमाझ पश्चातापबाहेक केही बाँकी हुने छैन।

समाज बेलगाम भयो भने त्यहाँ अपराधले प्रश्रय पाउँछ। पछिल्ला घटनाहरू यिनैका उदाहरण हुन्। त्यसैले जबसम्म कानुनी व्यवस्था कडाइका साथ लागु गरिन्न तबसम्म यस्ता परिस्थिति सामना गरिरहनुपर्ने हुन्छ। र, यसमा पनि पद र शक्तिमा बसेकाहरूले उदाहरण बनेर देखाउनुपर्छ। अनिमात्र अन्य सर्वसाधारणलाई पनि कानुन पालना गर्न बाध्य पार्छ। यस्तो अवस्थामा मात्र म कानुन र विधियुक्त मुलुकमा छु भन्ने आभाष जोकोहीलाई हुन्छ।

राजनीति सबै नीतिको माउ हो। त्यसैले यसले अरुलाई पनि मार्गनिर्देश गर्ने हैसियत बनाउनुपर्छ। सोचिन्छ पनि त्यस्तै। तर हाम्रो मुलुकको सन्दर्भमा राजनीतिको उच्च तहमा पुग्नेहरू यस्तो हैसियत बनाउनबट पटक पटक चुकेका छन्। राजनीतिप्रति आमघृणा बढ्दै जानुको एउटा मुख्य कारण यो पनि हो। त्यसैले राजनीति गर्नेहरू र सत्ताको चुचुरोमा बस्नेहरू यसप्रति बढी चनाखो हुनु अत्यावश्यक छ।
 

प्रकाशित: ४ कार्तिक २०७६ ०३:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App