५ आश्विन २०७७ सोमबार
विचार

दुःखको पहिलो कारण

एक वृद्ध मनौवैज्ञानिककहाँ पुगे र आफ्ना सारा समस्या राख्न थाले। उनका समस्या अनेकौं थिए– देशमा विसंगति, विकास हुन नसक्नु, अशान्ति, आफैंमा बेचैनी, तनाव, निराशा, असफलता, आदि इत्यादि। उनका सबै कुरा सुनेपछि ती मनोवैज्ञानिकले कलम र कागज दिँदै ती वृद्ध मानिसलाई भने– देशमा विकास हुन र तपार्इंको जीवन सुधार्न को सुध्रिनुपर्ला ? ती वृद्धले केहीबेरमै करिब ५० व्यक्तिको नामावली तयार पारे।

मनोवैज्ञानिकले त्यो कागज हेर्दै सोेधे– ‘तपाईंको नामचाहिँ खोइ ?’ यो कहानी ती वृद्धको मात्र नभएर हामी सबैको हो। ती वृद्ध व्यक्तिले केवल ५० जनाको नाम लेखे सुध्रिनपर्ने सूचीमा।  हामीलाई यो अवसर दिने हो भने आफूबाहेक चिनेका तथा नचिनेका सबै व्यक्तिको नाम लेख्ने थियौं होला। मनुष्यको आधारभूत समस्या नै यही हो। हामीलाई लाग्छ कि सारा समस्या अरू व्यक्तिका कारण भएका हुन् र अरू व्यक्ति सुध्रिए हाम्रो जीवन खुसी, सुखी एवं सम्पन्न हुने थियो।

हामीलाई लाग्छ– सारा समस्या अरू व्यक्तिका कारण भएका हुन् र अरू व्यक्ति सुध्रिए हाम्रो जीवन खुसी, सुखी एवं सम्पन्न हुने थियो।

दुःखको पहिलो कारण नै यही हो र मनुष्यको विनास पनि यहींबाट सुरु हुन्छ। राष्ट्र निर्माणमा, जनहितमा काम गर्ने अवसर पाएका व्यक्तिले समेत आफ्नो योगदान दिन सकेको पाइँदैन। अरूकै कारण मैले आफ्नो कामसमेत गर्न पाइनँ, काम गर्ने वातावारण भेटिनँ भन्नेहरूको यहाँ कमी छैन। सन् २००९ मा जापानबाट नेपाल घुम्न आएका मेरा जापानिज प्रोफेसरले भनेका थिए– ‘नेपालको राजनीतिक अस्थिरता र विकास गति हेर्दा लाग्छ, यो देशमा देश बनाउने ४ जना पनि जन्मेका रहेनछन्।’ उनको कुरा मलाई धेरै गहिराइसम्म बिझेको थियो। कल्पना गरौं– ती ४ व्यक्ति को हुन सक्छन्, नेतृत्व तहमा ?

आजको परिवेशमा आइपुग्दा कानुनतः, कागजी रूपमा नेपालले धेरै फड्को मारिसकेको भान हुन्छ। नयाँ संविधान, दुईतिहाइको नयाँ सरकार, देश संघीयतामा प्रवेश गरी कार्यान्वयनको चरणमा अगाडि बढ्दै गरेको, १६ वर्षपछि स्थानीय सरकार गठन र कार्यान्वयन आदि। तर पनि परिवर्तन महसुस गर्न नपाएको जनगुनासो यथावतै छ, किन ? सोचेअनुरूप विकास भएन÷भएको छैन किन त ? बिनाकारण त अवश्य होइन। तर हामीले यसका कारण र सम्भावना खोजेका छैनौं।

हामी मुखले भ्रष्टाचार र अनियमितताका कारण राष्ट्र पछाडि परेको छ त भन्छौं, तर त्यसलाई कसरी समाधान गर्ने भन्ने उपाय खोज्दैनौं। पारदर्शिता र इमान्दारिताले मात्र नियमितता र अव्यस्थाको अन्त्य हुनेछ। त्यसका लागि हरेक क्षेत्र, तह, तप्का अनि व्यवस्थापन पक्षबाट हरेक कार्यक्रम र आयोजना अनुगमन तथा मूल्यांकन हुनुपर्छ। कार्यान्वयन दह्रो रूपमा अगाडि बढ्नुपर्छ भन्ने कुरा हामीले चाहेकै छैनौं। संविधान, चुनाव, सरकार, संघीयता हामीले नै चाहेर प्राप्त भएका होइनन् र ?

हाम्रै चाहनाअनुरूप मुलुकमा संघ, प्रदेश र स्थानीय तीन तह बनेका छन्। नेपालका लागि यो नयाँ अभ्यास भएकाले कार्यान्वयन चरणमा विभिन्न समस्या देखापरिहेका छन्। विकासका माध्यमलाई अगाडि बढाउने अर्थतन्त्रका सन्दर्भमा चुनौती सामना गर्नुपरिरहेको छ। हाम्रो चाहना पूरा गर्न नै सरकारले आर्थिक समृद्धिलाई प्राथमिकतामा राखेको भाषण गरिरहेको छ। र, पनि व्यापारघाटा, महँगी, पूर्वाधार विकासका अधुरा कामलगायत हेर्ने हो भने अपेक्षित सुधार हुने आशा अझै छैन। सरकारले सुशासनका कुरा मात्र गरेर कहाँ हुन्छ ? जनताले त्यसको अनुभूति गर्न पनि पाउनुप¥यो नि !

सरकारी काम उपलब्धिमूलकभन्दा बढी प्रचारमुखी भएका छन्। स्वदेशी रोजगारीका नाममा ठूलो धनराशि खर्च भइरहेको छ। सार्वजनिक जवाफदेहिता छैन। आयोजना व्यवस्थापन प्राविधिक एवं आर्थिक तवरबाट कमजोर देखिन थालेका छन्। अधिकांश ठेक्काका काम आफ्नै परिचितलाई दिने, तैपनि कामहरू म्यादभित्र नसकिने र नसक्नेलाई कारबाही नगरी उल्टो म्याद थप्दै जाने गरेको तथ्य जगजाहेर छ। विकास बजेट कहिल्यै विकासका काममा सकिँदैनन्। विकास भनेकै असारे विकास हो भनेर बुझ्नुपर्ने बाध्यता छ।

त्यसैले त विकास निर्माणका काममा विसंगति बढ्दै गएको अनुभूति हुन्छ। गुठी विधेयक, लोकसेवा आयोगको विज्ञापन प्रसंग र पद्धति, आयोजनागत बेथिति, राजस्व चुहावट, विषादी परीक्षण, सूचनाको हक र पारदर्शितालगायत कुरामा असहज स्थिति देखिनु, भूकम्पपछिको पुनर्निर्माणमा अझै ढिलासुस्ती हुनाको कारण के हो र कमजोरी कसको हो ? जनहितमा हुने गरी यसको समाधानको उपाय के हो ? हामीले वास्तवमै चाह्यौं भने सम्भव छैन र ? सन् २०३०सम्ममा विकास प्रक्रियामा कोही पछाडि छुट्नुहुन्न भन्ने विश्वव्यापी अवधारणा अगाडि सारिएको छ। त्यसलाई सार्थक तुल्याउन पनि विकासका काम तीव्र गतिमा अगाडी बढ्नै पर्ला।

सिद्धान्त, वाद, सम्प्रदाय, शक्ति र धर्मभन्दा माथि उठेर मात्र जीवनको उद्देश्यसँग साक्षात्कार गर्न सकिन्छ, देश र जनताको हितमा काम गर्न सकिन्छ। आफूले नचाहिकन, आफ्नो केन्द्रमा नफर्किकन न देशमा न त आफ्नै  जीवनमा शान्ति, आनन्द, प्रेम र करुणा प्राप्त हुन सक्छ।

प्रकाशित: २७ आश्विन २०७६ ०८:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App