१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
विचार

विज्ञानलाई कलाको सम्मान

एक दिन मोदनाथ प्रश्रितको फोन आयो। उनले मेरो अनुसन्धानका विषयबारे जान्न चाहेका रहेछन्। मेरा वैज्ञानिक अनुसन्धानसम्बन्धमा उनको अनपेक्षित जिज्ञासाले मलाई केही आश्चर्य लाग्यो। यसअघि एकपल्ट प्रश्रितले मेरो एउटा लेख 'जैविक क्रान्ति' आफूलार्ई राम्रो लागेको र विज्ञानसम्बन्धी मेरा लेखहरू नियमित पढ्ने गरेको फोनमा भनेका थिए। विज्ञानमा चासो राख्ने स्रष्टा भएकाले प्रश्रितले सम्भवतः मेरा अनुसन्धानबारे जान्न चाहेका होलान् भन्ने ठानेर मैले उनलाई सक्तो सरल भाषामा आफ्ना अनुसन्धानबारे बताएँ। मेरा अनुसन्धानबारे जान्न चाहेको वास्तविक कारण प्रश्रितले बताएनन् र मैले पनि सोधिन।
केही दिनपछि रमण घिमिरेको फोन आयो। उनले श्री लुनकरणदास-गङ्गादेवी चौधरी साहित्य-कला मन्दिरले वैज्ञानिक अनुसन्धानका क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरूप मलाई 'श्री इतिहासशिरोमणि बाबुराम आचार्य शोध सम्मान' प्रदान गर्ने निर्णय गरेको जानकारी दिए र साहित्य-कला मन्दिरकातर्फबाट सो सम्मान स्वीकार गर्न अनुरोध गरे। घिमिरे र प्रश्रित उक्त संस्थामा आबद्ध रहेछन् भन्ने थाहा पाएँ। केही दिनअघि प्रश्रितले मेरा अनुसन्धानबारे जान्न चाहेको कारणको रहस्य खुल्यो।
मैले श्री लुनकरणदास-गङ्गादेवी चौधरी साहित्य-कला मन्दिरबारे जानेबुझेको थिइन। सम्मान प्रदान गर्ने संस्थाबारे राम्ररी थाहा नपाई सम्मान स्वीकार गर्नु मलाई उचित लागेन। त्यसैले तुरुन्तै सम्मान स्वीकार गर्न मलाई केही अप्ठेरो महसुस भयो। मैले घिमिरेसँग यसअघि सम्मानित भएका र यस वर्ष सम्मानित हुने अन्य व्यक्तिबारे जिज्ञासा राखेँ। घिमिरेले उक्त संस्थाले यसअघि ध्रुवचन्द्र गौतम, लैनसिंह वाङ्देल, तारानाथ शर्मा, नरराज ढकाल, नयराज पन्त, गोविन्दबहादुर मल्ल 'गोठाले', सत्यमोहन जोशी, हरिप्रसाद रिमाल, अम्बर गुरुङ, जगदीशचन्द्र रेग्मीलगायतका स्रष्टालाई सम्मान प्रदान गरिसकेको र यस वर्ष सम्मानित हुनेमा मलगायत कृष्णचन्द्रसिंह प्रधान र रामशरण दर्नाल तथा रवीन्द्र पाण्डे 'समीर' रहेको जानकारी दिए। विगतमा श्री लुनकरणदास-गङ्गादेवी चौधरी साहित्य-कला मन्दिरबाट सम्मानित भएका स्रष्टा र कृष्णचन्द्रको नाम सुनेपछि उक्त संस्थाद्वारा प्रदान गरिने सम्मान प्रतिष्ठित हो भन्नेमा म विश्वस्त भएँ। श्री लुनकरणदास गङगादेवी साहित्य-कला मन्दिरबाट मलाई प्रदान गरिने भनिएको शोधसम्मान स्वीकार गर्न म सहमत भएको रमण घिमिरेलाई बताएँ। पछि उक्त साहित्य-कला मन्दिरबाट प्रदान गरिने सम्मान अत्यन्त प्रतिष्ठित रहेको अन्य स्रस्टाबाट थाहा पाएँ।
रामशरण दर्नाल र रवीन्द्र पाण्डे 'समीर'को योगदान सम्बन्धमा धेरै जानकारी नभए पनि कृष्णचन्द्रसिंह प्रधानले साहित्यका क्षेत्रमा पुर्‍याएको योगदानबारे म राम्ररी परिचित थिएँ। उनी साहित्यको क्षेत्रमा प्रदान गरिने धेरैजसो प्रतिष्ठित पुरस्कारबाट सम्मानित व्यक्ति हुन्। मेरो पुस्तक 'वैज्ञानिक गोरेटोमा'को लोकार्पण प्रधानले नै २०६२ चैत १९ मा नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित कार्यक्रममा गरेका थिए। संयोगवश, उनको पहिलो साहित्यिक कृति म जन्मेको साल अर्थात् २००२ मा प्रकाशित भएको रहेछ, उनीबाटै थाहा भयो। त्यसैगरी कुनै बेला उनी शिक्षक रहेको शान्ति निकुञ्ज विद्यालयको म विद्यार्थी थिएँ। त्यसैले कृष्णचन्›लाई मैले उनको कृतिमार्फत्मात्र चिनेको होइन। कृष्णचन्द्र मेरा निम्ति अत्यन्तै आदरणीय स्रष्टा भएकाले उनीसँगै एउटै कार्यक्रममा सम्मानित हुने भएकोमा म हर्षित थिएँ। तर दुःखको कुरा, सम्मानित हुनुअघि नै कृष्णचन्द्रको आकस्मिक निधन भयो।
श्री लुनकरणदास-गङ्गादेवी चौधरी साहित्य-कला मन्दिरले असोज १८ गते सम्मान कार्यक्रमको आयोजना गरेको थियो। यस प्रकारको कार्यक्रममा सामान्यतया प्रमुख अतिथिकारूपमा धेरैजसो प्रधानमन्त्री, मन्त्री वा कुनै चर्चित राजनीतिक व्यक्तित्वलाई बोलाउने चलन छ, तर उक्त कार्यक्रमका प्रमुख अतिथि कुनै राजनीतिज्ञ नभएर वरिष्ठ साहित्यकार तारानाथ शर्मा थिए। उनी स्वयम् २०५३ मा श्री इतिहास शिरोमणि बाबुराम आचार्य शोध सम्मानबाट सम्मानित स्रष्टा हुन्। एक वरिष्ठ प्राज्ञिक व्यक्तित्वलाई प्रमुख अतिथि बनाइएकोमा मलाई खुसी लाग्यो।
श्री लुनकरणदास-गङ्गादेवी चौधरी साहित्य-कला मन्दिरका अध्यक्ष बसन्तकुमार चौधरी स्वयम् एक गीतकार पनि भएकाले होला कार्यक्रममा कला र साहित्यका विभिन्न विधाका चर्चित स्रष्टाको बाक्लो उपस्थिति थियो। त्यहाँ व्यापार र राजनीतिक क्षेत्रका व्यक्तिको उपस्थिति अति न्यून थियो। कार्यक्रममा सम्मानित हुने व्यक्तिमध्ये म वैज्ञानिक पनि परेकाले केही वैज्ञानिकको उपस्थितिको अपेक्षा गरेको थिएँ, तर त्यहाँ अरू कुनै वैज्ञानिकको उपस्थिति भने थिएन।
कार्यक्रममा सम्मानित व्यक्तिमध्येबाट मैले केही शब्द बोल्नु परेको थियो। कृष्णचन्द्रसिंह प्रधानको उपस्थिति भएको भए सम्भवतः उनले नै सम्मानित व्यक्तिकातर्फबाट बोल्ने थिए र श्रोतालाई उनको कुरा बढी सान्दर्भिक लाग्ने थियो। हाम्रो समाजका सामान्य मानिसले जस्तै कतिपय स्रष्टाले पनि विज्ञानलाई जटिल, नीरस र नकारात्मक विषयका रूपमा लिने गर्छन् र विज्ञान मानव हितकारी होइन, अहितकारी हो भन्ने उनीहरूको बुझाइ छ। त्यसैले विज्ञानेतरका श्रोतासामु बोल्न पर्दा मलाई केही असजिलो अनुभूत भयो। एक वैज्ञानिकले भनेका कुराबाट उनीहरूमा खासै प्रभाव पर्ला भन्नेमा मलाई द्विविधा थियो। हुन पनि यसअघि मैले त्यति ठूलो सङ्ख्यामा स्रष्टाहरू उपस्थित भएको कार्यक्रममा विज्ञानबारे बोलेको थिइन। तर आफ्नो विषय नै विज्ञान भएकाले मैले विज्ञानबारे नै आफूले जाने बुझेका केही कुरा त्यहाँ प्रकट गरेँ। आफ्नो मन्तव्यमा मैले विश्वमा विज्ञान र प्रविधिका क्षेत्रमा भइरहेको द्रुत विकास र त्यस विकासले ल्याएको समृद्धि, नेपालमा विद्यमान विज्ञान र प्रविधिको कमजोर अवस्था, विज्ञान र प्रविधिप्रति राज्य र समाजको उदासीनता र नेपालमा वैज्ञानिक भएर बाँच्नुको कथाव्यथालगायतका विषयमा आफूलाई लागेका केही व्यक्त गरेँ। मैले बोलेका कुरा त्यहाँ उपस्थित स्रष्टाहरूका लागि असान्दर्भिक र पट्यारलाग्दो भयो होला भन्ने मलाई लागेको थियो, तर कार्यक्रमपछि स्रष्टाहरूसँग भएको अन्तर्क्रियामा उनीहरूले विज्ञान र वैज्ञानिकमात्र होइन, कला, साहित्य र स्रष्टाप्रति पनि हाम्रो राज्य र समाज त्यतिकै उदासीन रहेको बताए। यो देशमा वैज्ञानिक र स्रष्टाको कथाव्यथा उस्तै उस्तै रहेछ। त्यतिबेला मलाई लागेको थियो, ज्ञान र विज्ञान दुवैको विकासप्रति उदासीन राष्ट्रको समग्र विकास कसरी सम्भव होला? यस देशको भविष्य कस्तो होला?
श्री लुनकरणदास-गङ्गादेवी चौधरी साहित्य-कला मन्दिरजस्ता मूलतः साहित्य र कलाको विकास र प्रवर्द्धनमा समर्पित संस्थाले एक इतिहासकारका नाउँमा स्थापित सम्मान एक वैज्ञानिककारूपमा मलाई प्रदान गरेकामा केही आश्चर्य पनि लागेको थियो। तर पछि उक्त साहित्य-कला मन्दिरसँग आबद्ध केही व्यक्तिबाट 'श्री इतिहास शिरोमणि बाबुराम आचार्य शोध सम्मान'का लागि कला र साहित्यका क्षेत्रमा मात्र नभएर कुनै पनि क्षेत्रमा शोध/अनुसन्धानमार्फत् उल्लेखनीय योगदान पुर्‍याएका व्यक्ति योग्य हुने जानकारी पाएँ। तथापि, एक वैज्ञानिकलाई उक्त शोध सम्मान प्रदान गरिएको यो पहिलो पटक थियो। त्यसैले उक्त सम्मान मेरो व्यक्तिगतमात्र नभएर सम्पूर्ण वैज्ञानिक समुदायकै भएको मैले ठानेको छु।
श्री लुनकरणदास-गङ्गादेवी चौधरी साहित्य-कला मन्दिरले एक वैज्ञानिकलाई शोध सम्मान प्रदान गरेकोमा त्यस संस्थाले आजको युगमा देशको समग्र विकासमा वैज्ञानिक अनुसन्धानको महत्व बुझेको मलाई अनुभव भयो। यसरी वैज्ञानिक एवं प्राविधिज्ञहरू गैरवैज्ञानिक संस्थाबाट सम्मानित हुनुलाई मैले हाम्रो समाजमा विज्ञान र प्रविधिप्रतिको सोचमा आएको सकारात्मक परिवर्तनको सङ्केत मानेको छु। यस प्रकारको परिवर्तन नेपाली समाजमा वैज्ञानिक चेतनाको अभिवृद्धि गर्ने कार्र्यमा प्रयासरत मजस्ता वैज्ञानिकका लागि थोरै भएपनि सन्तोषको विषय हो।

प्रकाशित: २७ आश्विन २०६७ १९:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %