२० असार २०७७ शनिबार
विचार

सवाल जात र भातको

यतिबेला संघीय संसद्का समितिमा, मन्त्रालयमा, किसान आयोग र अधिकारका लागि वकालत गर्ने संघ÷संगठनमा भूमिसम्बन्धी आठौँ विधयेकबारे तीव्र छलफल भइरहेका छन्। यो सवाल एउटा निश्चित जातको मात्र नभई भूमिको अधिकारबाट वञ्चित सबै जातिको सवाल हो। खेतमा धानको बीउ छरेर धान फलाइन्छ, धान फलेमात्र चामल निस्कन्छ। चामलबाट भात बनाइन्छ। जुन सबैलाई नभई नहुने खाद्य पदार्थ हो।

मकै, गहुँ, कोदो, फापर, तरकारी त परै जाओस्, पशुपालनलगायत मानिस, जीवजन्तु र अन्य सबै प्राणी अटाउने बासस्थल भनेको भूमि नै हो। भूमिमा हुर्केका बोटबिरुवा कसैका लागि बास पनि बनेका छन्। तर असुरक्षित बास बस्न कसैलाई पनि रहर हुन्न, बाध्यता हो। हामी सबैको सवाल भूमि हो। त्यसैले होला, संविधानको भाग ४, राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्वमा पनि भूमि र कृषि सुधारका कुरा उल्लेख भएका।

संविधानको धारा ४० मा दलितको हक उल्लेख छ। धारा ३७ मा आवासको हक छ। तर व्यवहार ? छैन।  संविधानमा यी विषयले ठाउँ पाउन दलित समुदाय गरेका योगदान बिर्सन पाइन्न। सडकमा खाली खट्टा, सडकमा भाँटा, आन्दोलनमा बाजा नियमित नै दलित समुदायको कर्म थियो। राति राति सूचना पु¥याउन र हाम्रा नेताहरूको सुरक्षामा खटेर अघि हिँड्ने पनि दलित नै थिए। तिनै जातले गर्दा गणतन्त्र ल्याउन सफल भएका हौंँ। दलित समुदाय दलित आफैँ दलित बनेन। बनाइयो। व्यवहार, संस्कृतिका आधारमा पन्छाइयो। न आज रोजगारी, न घर, न कसैको भर।सोझै पाखा पारियो। जुन सरकार आएपनि दलित समुदाय र भूमिबाट वञ्चितहरू न जातका भयौँ न त भातकै हुन सक्यौँ।

किसान संगठनका प्रतिनिधिहरू पनि न किसान भए न त किसानकै नेता हुन सके। मुख्य पेशा कृषि लेखेर किसान संगठन बनाउनेहरू कहिल्यै माटो छुँदैनन्। एक बोट साग, एक बोट खुर्सानी पनि रोप्दैनन्। आज तिनीहरू गरिब मान्छेका धनी किसान नेता भएका छन्। आफ्नो जमिन अरुलाई कमाउन दिएर उत्पादन खानेहरू नेता भएको देशमा भूमि सुधार किन हुँदैन भनेर बुझ्न धेरै खोतलखातल चाहिन्न।

हामीले चाहेको भूमि र कृषि क्षेत्रको समग्र विकासमा किसान संगठनले नेतृत्व गरोस् भन्ने हो। तर त्यस्तो नहुँदो रहेछ। आज देशभर बाढी÷पहिरोले मानिसको मृत्यु भएको छ। घरबास र खेतीपाती नोक्सान भएको छ। तीमध्ये सबैभन्दा धेरै मारमा दलित नै परेका छन्। उनीहरू भोकभोकै रात काट्न बाध्य छन्। यसको मुख्य कारण पनि भूमि सुधार नहुनु नै हो। भूमिको व्यवस्थापनबिना समृद्धि कसरी हुन्छ ? समृद्धि ल्याउनका लागि त पहिलो स्रोत भूमि नै हो। भूमिमा वन छ, पानी छ, खानी छ। यसैमा हाम्रो जीवन टिकेको छ। भूमिको व्यवस्थापनबिना हाम्रो खाद्यान्नमा असर पर्छ।अनि भोक र रोग पनि त्यहीँबाट सिर्जना हुन्छ।

तर हामी भने यो वास्तविकताबाट अनविज्ञ छौँ। विषय हाँसउठ्दो छ– कुरा समृद्धिको गर्ने तर भूमि र कृषि सुधारका पक्षमा भने ध्यानै नदिने। यस्तो पाराले समृद्धि हुनै सक्दैन, मरे सक्दैन। संरक्षक, राष्ट्रिय भूमि अधिकार मञ्च, नेपाल

 

 

 

 

 

प्रकाशित: २६ श्रावण २०७६ ०८:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App