८ वैशाख २०८१ शनिबार
विचार

साउने सोमबारको महिमा

आराध्यदेव पशुपतिनाथसहित नेपाल, भारत तथा विश्वका विभिन्न शिव मन्दिर एवं महादेवस्थानमा हिन्दु नरनारीबाट हुने आराधनाका दृष्टिले साउने सोमबारको ठूलो महिमा छ। जुन दिन यी स्थानमा भक्तजनको ठूलो घुइँचो लाग्छ। पशुपतिनाथ हिन्दुको ठूलो तीर्थस्थल हो। प्रथम गोपालवंशी राजा भुक्तमानले पशुपतिनाथको दिव्यज्योति प्रकट भएको देखेर पशुपतिनाथको देवल बनाएको उल्लेख छ। हिमालयको दक्षिण, गंगाको उत्तरस्थित काठमाडौँ उपत्यका रुद्रको अति नै प्रिय क्षेत्र हो।

पशुपतिनाथकै प्रतापले गोसाइँकुण्ड, पिण्डेश्वरलाई पवित्र क्षेत्रका रूपमा लिइन्छ। कैलाश–मानसरोवर, गोसाइँकुण्ड, अमरनाथलाई विश्वभरका हिन्दु तथा बौद्ध शिवजीको तपोभूमि मान्छन्। पशुपतिनाथलाई शिव, महादेव, किरातेश्वर, शंकर, शम्भु, ज्योतिर्लिङ्ग आदि विभिन्न नामले पुकारिन्छ। महाभारतकालमा युद्ध अन्त्यपछि हिमाल जाँदा पाण्डवहरूले प्रायश्चितस्वरूप पशुपतिनाथको पूजा गरेको र लिच्छवि वंशका पहिलो राजा ‘विक्रमादित्य’ उपाधि धारण गरेर ‘वैशालाधिपति’ का रूपमा पशुपतिनाथ र वज्रयोगिनीको तपस्या गरी शक्ति प्राप्त गरेर बत्तीसपुलतीमा आफ्नो सिंहासन कायम गरेको र उनैबाट काशीमा विश्वनाथ मन्दिर स्थापना भएको कुरा देवमाला वंशावली र हिमवत्खण्डमा उल्लेख छ। नेपालका लिच्छविकालीन तथा शाहवंशीय राजाहरूले पशुपतिनाथको भक्त भएर सेवा गरेको अभिलेख प्रशस्त पाइन्छन्। पशुपतिनाथलाई राष्ट्रिय देवताको मान्यता दिलाउने काम राजा अंशुवर्माले गरेका हुन् भने पञ्चामृतले नुहाउने चलन पृथ्वीनारायण शाहले प्रारम्भ गरेका हुन्।

हिमवत्खण्डका ससाना टुक्रे हिन्दु राज्यहरूलाई गोर्खाका राजा पृथ्वीनारायण शाह तथा उनीपछि उनका कान्छा छोरा बहादुर शाहको नेतृत्वमा एकीकरण भई नेपाल हिन्दु अधिराज्य बनेको हो। यो भूमि हिमाल, पहाड, तराईका हरेक क्षेत्र, पवित्र नदी, ताल, धाम, जंगल, भूभागले भरिपूर्ण छ। भारतखण्डमा हजार वर्षसम्म शासन गरी मुसलमान र अंग्रेज साम्राज्यले हिन्दु र बौद्धका अस्मिता बिटुलो बनाएर आफ्नो भाषा, धर्म र संस्कृति लाद्ने काम गरे। तर यस्ता कुनै शक्ति र षड्यन्त्रबाट कहिले बिटुलो नबनेकाले विश्वमा नेपालको ठूलो प्रतिष्ठा छ। भारतमा चारधाम प्रसिद्ध छन् भने नेपालमा पशुपतिनाथ, स्वयम्भूनाथ, मुक्तिनाथ, गोसाइँकुण्ड, बराहक्षेत्र, पाथीभरा, जनकपुरधाम, लुम्बिनी, बौद्धनाथजस्ता प्रसिद्ध धामहरू छन्। यस्ता धाम, मन्दिर र सयौँको संख्यामा रहेका तीर्थस्थलका साथै यहाँको सभ्यता र सांस्कृतिक वैभवले विश्वमै मान्यता पाएको छ। नेपाल तथा भारत हिन्दुधर्म दर्शनको उद्गम स्थल हो। अमरनाथ, बद्रीनाथ, रामेश्वरम्, गया, काशी, विन्ध्यावासिनी, कामाक्ष–कामरूप, तिरुपति आदि पवित्र स्थलमा नेपाल र भारतबीच त्यत्तिकै तादात्म्य छ। भारतका कतिपय धाम र मन्दिरमा नेपालका राजाहरूको विशेषाशिकार रहिआएको हो।

विश्वभरका हिन्दुका अराध्यदेव पशुपतिनाथको पूजाअर्चना गर्नु आस्कितहरु आत्मगौरव मान्छन् भने नास्तिकहरु यस क्षेत्रलाई परम्परागत अस्तित्व ठान्छन्।

विक्रम् संवत् १७१४ भन्दा अगाडि सन्यासीहरू पशुपतिनाथका पुजारी थिए। त्यसपछि यहीँकै राजोपाध्यायहरूबाट पशुपतिनाथको पूजा गरिन्थ्यो। क्रमशः पशुपतिनाथका पूजारीको सहायताका लागि बनेपाबाट नेवार जातिका पुजारीहरू पशुपतिको भण्डारे बनाइए। पछि प्रताप मल्ल कर्नाटक राजाको सम्पर्कमा जाँदा उनले सहयोगीका रूपमा तान्त्रिकहरू ज्ञानानन्द र लुम्मकर्ण भट्ट नेपाललाई दाइजोका रूपमा दिए र पछि तिनैलाई पशपतिनाथका पुजारी बनाइयो। अहिलेसम्म पशुपतिनाथको मन्दिरमा मलभट्टसहित भारतका चार भट्ट पुजारी र १०६ जना नेवार भण्डारी छन्। पशुपतिनाथका चार ढोका बिहान ४ बजे खुल्छ। बिहान साढे ८ बजे भट्टहरू भित्र प्रवेश गर्छन्।

बालाचतुर्दशी, शिवरात्री, अक्षतृतीया, एकादशी, तीज, साउनका हरेक सोमबार पशपुतिनाथ तथा संसारका सबै शिव मन्दिरमा भक्तजनको भिड लाग्छ। साउने सोमबार शिवजीको जन्मदिन भक्तिपूर्वक धूमधामसाथ मनाइन्छ। अधिकतर साउनमा सोमबार पाँचवटा पर्छन्। तर यसपटक सोमबार चार दिन मात्र परेको छ। साउनको सोमबार बोलबम बनेर राता र पहेँला वस्त्र लगाएका महिला–पुरुषहरूले पवित्र नदीहरूको जल घडामा लिएर पशुपतिनाथ र शिवमूर्तिहरूमा भक्तिपूर्वक चढाउँछन्। निधारमा टीका लगाएका भक्तजनहरूको मेला र भेलाले पशुपतिनाथ, गोसाइँकुण्ड, भक्तपुरको डोलेश्वर, पाटनको कुम्भेश्वर, धरानको पिण्डेश्वर भरिभराउ हुन्छन्। नेपाल हिन्दुको, जेरुसेलम क्रिस्चियन र यहुदीको तथा मक्का मदिना मुसलमानको पवित्र स्थल मानिन्छन्। क्रिस्चियनका क्रस र चर्च, यहुदीको षड्कोण, मुसलमानको नमाज तथा मस्जिद र हामी हिन्दु र बौद्धको पशुपतिनाथ र स्वयम्भूनाथ त्यतिकै पूजनीय छन्।

विक्रम संवत् १४६५ मा राजा ज्योतिर्मल्लले पशुपति अभिलेखमा उल्लेख गरेका छन्– ‘पूण्यभूमि नेपालखण्डमा वत्सलेस पाँचमुख भएका परम पशुपति वाग्मतीतिरमा हुनुहुन्छ र यहीँं पूज्य वासुकी नाग पनि हुनुहुन्छ।’ राजामध्ये प्रताप मल्लले पशुपतिनाथको धेरै सेवा गरेको कुरा पशुपतिनाथका शिलालेखहरूमा उल्लेख छन्। पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दाका समय पशुपतिनाथको पूजाअर्चना गरेको कुरा भाषा वंशावलीमा बताइएको छ। विक्रम संवत् १८२६ मा वसन्तपुर दरबारको अभिलेखमा उल्लेख छ– ‘राजा पृथ्वीनारायण शाहको वंश गुह्यकाली र पशुपतिको दुईपाउका धुलाका प्रसादले नेपाल स्थिर भइरहोस्।’ यसैगरी शाहवंशीय राजामा रणबहादुर शाह र विक्रम संवत् १८६७ मंसिरमा राजा गिर्वाणयुद्ध विक्रम शाहबाट पुजारीहरूको अलग–अलग खान्की तोकिदिएका थिए। राजा महेन्द्र तथा राजा वीरेन्द्रबाट पनि साविकबमोजिम चल्दै आएका पशुपतिनाथका पूजाआजासम्बन्धी अनेकौँ लालमोहर लागू हुँदै आएका छन्।

कैलाश मानसरोवर शिवजीको क्रीडा तथा तपस्थान र हिन्दु तथा बौद्धहरूको पवित्र तीर्थस्थल हो। अहिले तिब्बतमा परे तापनि यो क्षेत्र पनि हिमवत्खण्डकै भूभाग हो। हरेक हिन्दु तथा बौद्ध बिनाअवरोध कैलाश मानसरोवर जान स्वतन्त्र छन्। मानव कल्याणका लागि विषलाई आफ्नो कण्ठमा राखी त्यसको डाहाबाट मुक्त हुन त्रिशूलबाट जल निकालेर कुण्ड बनाइ त्यसैैमा विराजमान भएकाले गोसाइँकुण्डको पनि ठूलो महिमा छ। अठारै पुराणमा शिवको महिमा छ र शिव पुराण शिवजीको वृतान्त हो। हिमवत्खण्डको पुस्तकमा मरिचि, पुलह, ऋतु, भृगु, अत्री आदि ऋषिले पशुपतिनाथको पूजा गरेर बसेको उल्लेख छ।

विशेष गरेर साउने सोमबार महिलाले आफ्ना पति, सन्तानको सुस्वास्थ्य र समृद्धि कामना गरेर उपवास(व्रत) बस्ने गर्छन्। विश्वभरका हिन्दुका आराध्यदेव पशुपतिनाथको पूजाअर्चना गर्नु आस्तिकहरू आत्मगौरव मान्छन् भने नास्तिकहरू यस क्षेत्रलाई परम्परागत अस्तित्व ठान्छन्। २०७६ सालको साउन महिना सबैका लागि शुभ बनोस्। पशुपतिनाथले सबैको कल्याण गरुन्।

प्रकाशित: १३ श्रावण २०७६ ०२:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App