८ वैशाख २०८१ शनिबार
विचार

मदन भण्डारीको वैचारिक मृत्यु

पुष्पलालको वैचारिक मार्गलाई आत्मसात् गरी घनीभूत गराउने निर्णय यथार्थमा जनताको बहुदलीय जनवाद थियो। मनमोहन अधिकारीहरूले पहिले नै राजनीतिकरूपमा जनवादी केन्द्रीयताको स्थानमा जनताको सार्वभौम सर्वोच्चता र स्वतन्त्रतालाई स्वीकार गरी राजनीतिलाई अघि बढाउनुभएको थियो। तर सपनाको खेतीगर्नेहरूले नेपालको सामाजिक परम्परा र विश्वास अनि भूगोल र यसको संवेदनशीलता केही पनि विचार नगरी रुमानी क्रान्तिको व्याख्या गर्दै पुष्पलाललाई गद्दार घोषित गर्न पुगे भने मनमोहन अधिकारी करिव लामो समय एक्लो नै हुनुभयो। सबै क्रान्तिका रोमाञ्चक सपनालाई व्यावहारिक धरातलमा अवतरण गराउने प्रयासस्वरूप नै २०४७ बाट नेपाल कम्युनिस्ट पार्टी एमालेले जनताको बहुदलीय जनवाद भनेर मदन भण्डारीको विचारलाई अनुमोदन गरेको थियो।

अव्यावहारिक र उत्तेजनात्मक विचार र हिंसात्मक वर्ग संघर्षका सपना र सोचहरूलाई पाखा लगाउँदै मदन भण्डारीले नेपाली राजनीतिमा दिएको योगदाननै जनताको बहुदलीय जनवाद हो। यद्यपि यो विचार कुनै पनि अर्थमा नयाँ होइन। शब्द संयोजन र प्रस्तुत गर्ने शैली भने नयाँ तरिकाको छ।कम्युनिस्ट पार्टीका संस्थापक विचारक पुष्पलालले आफ्ना सबै रचनामा नागरिक स्वतन्त्रतालाई कुण्ठित होइन, त्यसलाई पल्लवित गराउने चिन्तनका साथ समाजवादको परिकल्पना गर्नुभएको छ। राजनीतिकरूपमा समाजवाद भन्दा पनि व्यावहारिक धरातलमा सामाजिक आर्थिक रूपान्तरणका साथ वर्गविहीनताको परिकल्पना कुनै पृथक चिन्तन मानिरहनुपर्दैन। २०१७ सालको राजा महेन्द्रको लोकतन्त्र विरोधी कदमविरुद्ध पुष्पलाल र बिपी कोइरालाले निरन्तर संघर्ष केन्द्रित गर्नुभयो। त्यस समय पुष्पलाललाई गद्दार भन्ने र बिपीलाई भारतपरस्त अराष्ट्रिय तत्व भन्ने कम्युनिस्टहरूको विकसित शृंखला आजको नेपाल कम्युनिस्ट पार्टी नै हो। जुनसुकै शाखाका रूपमा फलेफुलेका भए पनि र जतासुकै निबद्ध भए पनि पुष्पलाललाई गद्दार र बिपीलाई अराष्ट्रिय तत्व भन्ने दर्शनको जगमा पलाएको आंखीभौँ भएको छ आजको नेपाल कम्युनिस्ट पार्टी। इतिहासको त्यस दोषबाट मुक्त हुने प्रयास थियो मदन भण्डारीको जनताको बहुदलीय जनवाद।

माओवादीको एउटा शाखा विप्लव जंगलमा पुगेका छन् र सत्तामा बसेका कम्युनिस्ट नेतृत्व समाजवादलाई राजनीतिक लक्ष्यमा अवतरित गर्ने विचार प्रवाह गर्न उद्यत छ। यसेैको चेपुवामा मदन भण्डारीको वैचारिक मृत्यु हुन पुगेको छ।

माक्र्सवादीहरूको सानो समूहको नेता रहनुभएका मनमोहन अधिकारीलाई आफ्नो पार्टीको सर्वोच्च नेता पदमा आसीन गराई पहिलो कम्युनिस्ट प्रधानमन्त्री बन्ने अवसर जुटाइदिने विचार त्यही जनताको बहुदलीय जनवाद थियो। नेपालमा कम्युनिस्ट विचारका पहिलो भाष्यकार पुष्पलाललाई सबै साम्यवादीको चुलोमा चलाउने काम पनि यही विचारले नै गरेको थियो। त्योभन्दा पनि पर गएर  झापा हिंसाको त्रासदीबाट मुक्त गराइराजनीतिक स्वतन्त्रता र सामाजिक–आर्थिक रूपान्तरणको अभियानमा प्रवेश गराउने काम पनि जनताको बहुदलीय जनवादबाट नै भएको थियो।

नेपालका सबै हिंसावादी कम्युनिस्टले पुष्पलालको पदमार्गविरुद्ध काम गरेका छन्। मोहनविक्रम सिंहको पहिलो चरणको विचार, रूपलाल विश्वकर्माको पहिलो चरण, झापा हिंसा हुँदै माओवादीको चरम आतंककारी हिंसा र अहिले चलिरहेको विप्लव हिंसाले पुष्पलालको घोर अपमान गरेका छन्। तर सबैजना अन्ततः पुष्पलालको विचारविन्दुको टेकोमा अडेस लगाउन पुगेको इतिहास तथ्य छ। माओवादी शान्ति प्रक्रियामा अवतरित भएपछि सबैलाई लागेको थियो– राजनीतिक हिंसाको युग समाप्त भयो। एकप्रकारले राजनीतिक, वेैचारिक द्वन्द्वका नाममा हुने कुनै पनि खाले हिंसाबाट नेपाल र नेपाली जनता सदाकालागि मुक्त भए भन्ने लागेको थियो। तर माओवादीको एउटा शाखा विप्लव जंगलमा पुगेका छन् र सत्तामा बसेका कम्युनिस्ट नेतृत्व समाजवादलाई राजनीतिक लक्ष्यमा अवतरित गर्ने विचार प्रवाह गर्न उद्यत छ। यसेैको चेपुवामा मदन भण्डारीको वैचारिक मृत्यु हुन पुगेको छ।

आफ्नो पार्टीको नेताका विचारलाई ओढुन् वा नओढुन्, बाहिर बस्नेहरूका लागि कुनै महत्वको हुँदेैन। कुनै दिन मदन भण्डारी वा पुष्पलालसमेतलाई नेपाल कम्युनिस्ट पार्टीले सान्दर्भिकता समाप्त भएको औचित्यहीन विचारका भाष्यकार भनेर निष्कर्ष निकाले पनि केही फरक पर्ने होइन। कम्युनिस्ट पार्टीमा आत्मालोचना र आत्मसमीक्षाको क्रमबद्ध परम्परा रहेको छ। केही क्षण पहिले गरिएका वा भनिएका कुनै पनि विषयमा आत्मालोचना गरेपछि सबै पापबाट मुक्त हुने परम्परा कम्युनिस्ट पार्टीको चरित्रभित्र पर्छ। राजनीतिक यात्रामा सबैलाई जतिखेर पनि बाहिर/भित्र गराउन यो सर्वाधिक सहज बाटो हो।शक्ति र सत्ताकालागि कुनै दिन आजकै पूर्व एमालेहरूले पश्चाताप गर्दै मदन भण्डारीले कम्युनिस्ट आन्दोलनलाई क्षति पु-याएको निचोड निकाले भने कुनै आश्चर्य मानिरहनु नपर्ने हुन्छ।

अव्यावहारिक र उत्तेजनात्मक विचार र हिंसात्मक वर्ग संघर्षका सपना र सोचहरूलाई पाखा लगाउँदै मदन भण्डारीले नेपाली राजनीतिमा दिएको योगदाननै जनताको बहुदलीय जनवाद हो।

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रसँग एमालेको एकताको घोषणा भएको करिब दुई वर्ष पुग्न लागेको छ। २०७४ असोज १७ गते यी दुई दलका बीचमा एकता गर्ने सहमतिपत्र जारी भएको थियो। सहमतिमा समाजवादलाई राजनीतिकरूपमा परिभाषित गरिएको छ। अहिले आएर पूर्वएमालेको नेतृत्वले मदन भण्डारीको विचारको मूलततव बहुदलीयता परित्याग गरेको छभने माओवादीले एक्काइसौंँशताब्दी भन्ने सामान्य विशेषणपरित्याग गर्ने भएको छ। एक्काइसौँ शताव्दीको जनवाद थियो माओवादीको। त्यसबाट एक्काइसौं शताब्दी भन्ने शब्द हटाउँदा कुनै फरकपर्ने होइन। कुनै जनावरको पुच्छरको अन्तिम रौँ काटेर फाल्नु जस्तै हो जनवादमा झुण्डिएको एक्काइसौँ शताब्दी भन्ने शब्दको विसर्जन। तर पूर्वएमालेका लागि बहुदलीय जनवाद परित्याग मदन भण्डारीको वैचारिक विरासतको पूर्ण अन्त्य नै हुनेछ।

केही दिनपहिले पूर्वएमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले नेपाल कम्युनिस्ट पार्टीको वैचारिक बाटो जनताको बहुदलीय जनवाद नै हुने भनेर उद्घोष गरेपछि पूर्वमाओवादी अध्यक्ष पुष्पकमल दाहालले तीव्र प्रतिक्रिया जनाउनुभएको थियो। उहाँले विचारको निष्कर्ष आगामी महाधिवेशनमा हुने पूर्वसहमति विपरित प्रकट भएको ओलीको विचारलाई सिधै अस्वीकार गर्नुमात्र भएन, एकताको मार्ग नै अवरुद्ध हुनसक्ने चेतावनी प्रकारान्तरले दिनुभयो। शायद सत्ताको जीवित तृष्णालाई निरन्तरता दिनकै लागि पूर्वएमाले अध्यक्ष ओली बहुदलीय जनवाद परित्याग गर्ने विचारमा सहमत हुनुभयो। उहाँहरू दुवेैको भनाइमा नेपाल कम्युनिस्ट पार्टीको अबको बाटो जनताको जनवाद हुनेछ।

जनताको जनवादको कुनै भाष्य भइसकेको छैन। यो विचार लाइनलाई संभवतः एकता महाधिवेशनले अनुमोदन गर्नुपर्ने हुन्छ। तर के पूर्वएमालेहरू जसले मदन भण्डारीलाई विचारको मार्गदर्शक व्यक्ति र नायक बनाएका छन् उनीहरू यो विचार र त्यो नायकत्व बिस्थापित गर्न तयार हुन्छन् ? हुन त माक्र्सवादका सिद्धान्तको तिलाञ्जली दिए पनि माक्र्सवादी भन्न उनीहरू अप्ठेरो मान्देैनन्। लेनिनका सूत्र र विचारको एकछेउ नसमाते पनि आफूलाई लेनिनवादी भनिरहेकै छन्। माओका प्रयुक्त विचारहरूका छेउ टुप्पो कतै नपुगे पनि आफूलाई माओवादी भनिरहेकै छन् कम्युनिस्टहरू। यसकारण जनताको बहुदलीय जनवाद परित्याग गरेर पनि मदन भण्डारीका विचारद्वारा संपोषित र पूर्वएमालेकालागि वर्तमानसंम्म आदर्शपथको व्याख्या अमूर्तरूपमा नै हुने गर्छ होला। मदन भण्डारीको एकमात्र योगदानले निर्माण गरेको वैचारिक वटवृक्षको जरा काटेर मूढो बनाएपछि टुप्पोमा मल जल गर्ने रफल लगाउन खोज्ने काम कति औचित्यपूर्ण हुन्छ? अनुमान गर्नै पर्दैन।

मदन भण्डारीका विषयमा पुष्पकमल दाहालले अलि बढी नै भावुकता देखाइरहनु भएको सुनिन्छ। विचारलाई परित्याग गराएपछि शरीरका विषयमा उहाँको चिन्ता कुनै अर्थपूर्ण छेन। बहुदलीय जनवादबाट जनताको जनवादमा सहमत गराउन उहाँ यतिखेर निकै प्रयत्नशील देखिनुभएको छ। यसैकारण अहिले आएर उहाँ ठोकुवा गरिरहनुभएको छ– मदन भण्डारीको हत्या भएको र त्यो हत्याका विषयमा कुनै सुराकी पाउन सकिएको छैन। असार १४ गते मदन भण्डारीको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा दाहालले अत्यन्त भावुक हुँदै भन्नुभएछ– राजा वीरेन्द्रको सपरिवार हत्या र मदन भण्डारीको हत्याको गुत्थी सुल्झन सकेको छैन। यस्तो राजनीतिक हत्याको सम्भावना रहेको हुनाले कुनै दिन आफूसहित अरु नेताहरू पनि मारिन सक्नेछन्।

दाहालको यस्तो चिन्ता स्वाभाविक हुन सक्छ। तर मदन भण्डारीका विषयमा बोल्न सक्ने जीवित एकमात्र साक्षी अमर लामाको हत्या माओवादीले किन ग¥यो त ? के यसको जवाफ उहाँसँग छ त ? त्यसो त तत्कालीन सशस्त्रका आइजी कृष्णमोहन श्रेष्ठदेखि पुराणवाचक पण्डित नारायण पोख्रेलको हत्याको गुत्थीसमेत सुल्झिएको छैन। यी हत्यामा हिंसामा संलग्न तत्कालीन माओवादीको हात कति छ ? त्यस पार्टीले अहिलेसम्म बताएको छैन। हुन त सत्र हजार नागरिकको जीवन स्वाहा पारिएको परिणाम के भयो त ? नेपालमा हिंसा नभएको भए पनि आमनागरिकको चेतनाबाट नै राजसंस्था अन्त्य सम्भव हुने थियो। केही समयको अन्तरालमा हुन्थ्यो होला त्यो फरक हो। अहिले आफ्नोसमेत हत्या हुनसक्ने संशय प्रकट गर्नुको अर्थ र तर्क दाहालसँग हुनुपर्छ।

मदन भण्डारीको मृत्युलाई असामान्य बनाउँदै विगत २६ वर्षयता तत्कालीन एमालेले जसरी राजनीतिको तावामा रोटी सेकाउँदै उदरपूर्तिको काम गरिरहेको छ, त्यसरी नै आफ्नो हत्याको शंका गर्दै राजनीतिक सहानुभूतिले आफ्नो सत्ताकांक्षाको पेटारो भर्ने प्रयास प्रचण्डको पनि हुन सक्छ। प्रचण्डले त प्रश्न गर्नुपर्ने थियो–२०५० सालमा मदन भण्डारीको मृत्युलगत्तै एमालेका सबै नेताले आफूले हत्यारा चिनेको र यदि सरकारले सार्वजनिक गर्दैन भने आफूहरूले सार्वजनिक गर्ने भनी गरेको घोषणा आजसम्म किन पूरा भएन ? एमालेबाट अनेकपटक प्रधानमन्त्री, अनेकपटक गृहमन्त्री र अहिले त राष्ट्रपतिसमेत सत्तामा बसिरहेको अवस्था छ। खै त २६ वर्षपहिले चिनेको मदन भण्डारीको त्यो हत्यारालाई सार्वजनिक गरेको ? किन लुकाइरहेका छन् मदन भण्डारीका हत्यारालाई ? तर यस्तो आँट दाहालमा किन छैन भने उहाँ यतिखेर एमालेसँग सत्ताविनिमयको खेलमा ब्यस्त हुनुहुन्छ र मदन भण्डारीका शरीरको चिन्ता गरेझैं गरी उहाँको विचारको अवशान गराउन प्रयत्नशील हुनुहुन्छ।

प्रकाशित: १८ असार २०७६ ०३:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App