जेठ २७ देखि ३२ गतेसम्म तिब्बत भ्रमण गर्ने अवसर मिल्यो। ल्हासामा जेठ ३१ गते आयोजित ‘तिब्बत विकास मञ्च’ गोष्ठीमा भाग लिने क्रममा तिब्बत स्वायत्त प्रदेशको लिन्ची र ल्हासाका विकास देख्न पाइयो। १३ वर्षपछि जुरेको चीनको स्वायत्त प्रदेश तिब्बतको अवलोकन–भ्रमणले उत्साहित बनाएको थियो।नेपालसँग १४ सय १४ किलोमिटर सीमा जोडिएको तिब्बत २६ वर्षदेखि दोहोर अंकमा आर्थिक वृद्धि भइरहेको चीनको एकमात्र प्रान्त हो। सन् २००६ मा नेपालबाट पत्रकारहरूको एक टोलीमा सहभागी भएर तिब्बत भ्रमण गर्दा जुन दृश्य देखिएको थियो १३ वर्षपछि पुग्दा धेरै परिवर्तन भइसकेको रहेछ। सन् २००६ मा हामी तिब्बत स्वायत्त प्रदेशको वाणिज्य विभाग गएका थियौँ। त्यो समयमा १४ तलाको वाणिज्य विभाग ल्हासाको सबैभन्दा अग्लो भवन थियो। अहिले ल्हासामा सयौँ गगनचुम्बी महल बनिसकेछन्। नेपालका लागि चिनियाँ पूर्वराजदूत यु होङले कतै भनेकी थिइन्– ‘चीनमा हरेक ३ महिनामा कुनै न कुनै परिवर्तन भएको हुन्छ।’ तीन महिनामै परिवर्तन हुने चीनमा १३ वर्षमा कायापलट नहुने कुरै भएन।
पाँच दिन तिब्बत भ्रमणक्रममा त्यहाँका भौतिक पूर्वाधार, सामाजिक तथा आर्थिक अवस्था र शैक्षिक परिपाटीलगायत विषय अवलोकन गर्ने अवसर मिल्यो। उच्च अक्षांश, पठार मरुभूमि, कम जनसंख्या, विकट भूगोलजस्ता प्राकृतिक प्रतिकूल अवस्थामा पनि तिब्बतमा भएको भौतिक पूर्वाधार विकास विश्वका लागि अनुकरणीय छ। तिब्बतमा सन् २०१५ सम्ममा ७८ हजार किलोमिटर पक्की सडक बनेका छन्। जुन सडकले तिब्बतका ६ सय ९० टाउन्सिप र ५ सय ४० गाउँ जोडेका छन्। सन् २०१८ सम्ममा तिब्बतमा दुईवटा फास्टट्र्याक सडक खुलिसकेका छन् भने थप तीनवटा निर्माण हुँदै छन्। सन् २०२० देखि पाँचवटै फास्टट्र्याक सडकमा यातायात सञ्चालन भएपछि तिब्बतमा फास्टट्र्याक सडकको दूरी १ हजार ३ सय किलोमिटर पुग्नेछ। सन् २०२० सम्ममा त्यहाँ १ लाख १० किलोमिटर पक्की सडक निर्माण भएर ९० प्रतिशत टाउन्सिप र ४० प्रतिशत गाउँ जोडिनेछन्।
सुन्दर पठार मरुभूमि, पवित्र सांस्कृतिक स्थल, मिलनसार नागरिक, स्वच्छ वातावरण र उच्च अक्षांशमा भएको मानव बस्तीका कारण तिब्बतलाई विश्वको छानो भनेर चिनिन्छ। सन् २००६ मा छिङहाई तिब्बत रेलमार्ग खुलेपछि तिब्बतले ‘स्वर्गीय बाटो’ को नयाँ पहिचान पनि बनाएको छ। चार हजार मिटरभन्दा बढी उचाइका पठार मरुभूमिका थुम्काहरूमा कुनै वनस्पति नभए पनि विद्युत् पोलहरू ठडिएका छन्। सफा ऊर्जामा तिब्बतले छलाङ मारेको छ र चीनका अन्य प्रान्त विद्युत् निर्यात गरेर राम्रो आम्दानी प्राप्त गर्दै आएको छ। तिब्बतमा सञ्चालित स्वरोजगार कार्यक्रममार्फत तिब्बतीहरूले बेरोजगार बन्नुपरेको छैन। कुनै तिब्बतीले बेरोजगार बस्नुनपर्ने उदाहरणका रूपमा ल्हासामा निर्माणाधीन नेपाली महावाणिज्य दूतावासको भवनमा कार्यरत मजदुर हेर्दा पनि पुष्टि हुन्छ। यो भवन बनाउन सबै श्रमिक चीनको मुख्य भूमिबाट गएका चिनियाँ हान जातिका नागरिक छन्।
तिब्बतीहरू आफ्नै व्यवसाय सञ्चालन गर्न, होमस्टे चलाउन, पर्यटक गाइड गर्न व्यस्त भएकाले कडा श्रममा रुचि राख्दैनन्। तिब्बतीहरूले केन्द्रीय सरकार र प्रान्तीय सरकारबाट पनि विशेष आरक्षण र सुविधा प्राप्त गरेकाले उनीहरूको आम्दानी उच्च छ। तसर्थ निर्माण क्षेत्रमा काम गर्न चीनले मुख्य भूमिबाट मजदुर लगेर तिब्बतको विकास गरिरहेको छ। सरकारी अनुदान प्राप्त गरेर बनाइएका चिटिक्क परेका सुविधासम्पन्न घरहरूमा तिब्बती आफू मात्र बस्दैनन् पर्यटकलाई होमस्टेका रूपमा स्वागत–सत्कार पनि गर्छन्। घरहरू आधुनिक भए पनि तिब्बती कला र संस्कृतिले भरिपूर्ण छन्। हरेक घरको भित्रपट्टि तिब्बती परम्परा झल्किने वस्तुहरू संकलन गरेर राखिएका छन्। चौँरीको घिउबाट बनाइने चिया, परम्परागत पोसाक, चौँरीका चमार, काठका बुट्टामा तिब्बती कला, तिब्बती धार्मिक मन्त्रअंकित लुङदर, भेडा र च्यांग्राका ऊनबाट बनेका पोसाक, याकका छालाबाट उत्पादित हस्तकलाका सामान, स्थानीय स्याउका सुकुटी, जौको सातु र जौबाटै बनाइएका छ्याङ तथा रक्सीजस्ता स्थानीय उत्पादनले तिब्बतीहरूको परम्परा कायम राखेको छ। तिब्बती परम्पराले सजिएका घरमा आधुनिक सुविधाका रूपमा टेलिभिजन, गाडी, वासिङ मेसिन, फ्रिजहरू छन्। फोरजीको वाइफाई सुविधा सबै घरमा पु¥याइएको छ।
तिब्बतका सबै विद्यालयमा निःशुल्क शिक्षाको व्यवस्था छ। त्यहाँ पढ्न मात्र होइन, आवास सुविधासहित खाना, पोसाक, पाठ्यसामग्री सबै निःशुल्क उपलब्ध छन्। तिब्बतको पश्चिमी क्षेत्र नाकुमा रहेको विद्यालय सन् २०१२ मा ल्हासामा सारिएको छ। नाकु समुद्री सतहदेखि ४ हजार ५ सय मिटर उचाइमा छ। त्यसकारण त्यहाँ अत्यन्त चिसो हुन्छ। वर्षको आधा समय पठनपाठनमा कठिन हुने हुनाले ल्हासामा सारिएको यो विद्यालयको नाम २ नम्बर उच्च माध्यमिक विद्यालय हो। १५ हेक्टर क्षेत्रफलमा रहेको यो विद्यालय निर्माणमा २२ करोड ८० लाख चिनियाँ युआन अर्थात् ३ अर्ब ७६ करोड नेपाली रुपैयाँ लगानी भएको छ। यहाँ ३ हजार २ सय २७ विद्यार्थी पढ्छन् भने २ सय ८४ शिक्षक कार्यरत छन्। विद्यालयमा तिब्बती, चिनियाँ र अंग्रेजी तीन भाषाका साथै विज्ञान, गणित, कृषि, नैतिक शिक्षा, सामाजिक शिक्षा, अर्थशास्त्र, संस्कृतिलगायत व्यावहारिक ज्ञानका विषय पनि पढाइन्छ।
ल्हासाको छङक्वान जिल्लास्थित समाज कल्याण संस्थाको अवलोकन गर्दा तिब्बती वृद्धवृद्धाको सामाजिक सुरक्षाबारे जानकारी पाइयो। ११२ कोठाको सो समाजकल्याण भवनमा खान बस्न बाहेक डाक्टर तथा नर्सबाट स्वास्थ्य उपचार, योगाभ्यास, सौना बाथ लगायतका आधुनिक सुविधाहरू रहेका छन्। कुनै पाँचतारे होटलको सुविधा सरह कोठा रहेको भवनमा असहाय वृद्धहरू निःशुल्क रुपमा बस्न पाउँछन् भने पैसा तिरेर अन्य व्यक्तिले पनि त्यहाँको सुविधा लिन सक्ने रहेछन्। २८ जना कर्मचारी रहेको सो समाजकल्याण संस्थामा हाल ५० जना वृद्धहरू आश्रित रहेछन्। भवनको बाहिर पार्कमा तिब्बती गीतमा तिब्बती बृद्ध महिलाहरू मस्तसँग नाचिरहेका थिए।
ल्हासाको केन्द्रबिन्दुमा रहेको पोतला दरवार र नेपाली राजकुमारी भृकुटीले बनाउन लगाएको जोखाङ मन्दिरका वरिपरी माला जप्तै लम्पसार परेर प्राथना गर्ने पाका तिब्बतीहरू प्रशस्त देखिन्थे। मुजा परेको अनुहारमा चम्किएको खुशीसँगै हातमा घुमाइरहेको मानेले उनीहरूमा धार्मिक तथा सांस्कृतिक सन्तुष्टि देखिन्थ्यो। चीनले आगामी वर्ष सन् २०२० मा पूर्ण रुपमा गरिबी निवारण गर्ने घोषणा गरेको छ। तिब्बत चीनका अति गरिब प्रान्त मध्येको एक हो। सन् १९५९ सम्म भूदाष प्रथा रहेको तिब्बतले चालु वर्ष प्रजातान्त्रिक सुधारको ६० औँ वार्षिकोत्सव मनाउँदैछ। छ दसक अगाडि चौँरीको गोठमा बस्ने फिरन्ता तिब्बतीहरू यतिबेला सुविधासम्पन्न घरमा बस्छन्। ल्हासा सहरभन्दा बाहिर बस्ने गुङ्गाको घरमा पुग्दा उनले स्वागत गर्दै भने ‘हाम्रा बाबुबाजेहरू त चौँरीको गोठमा बस्थे। आज हामी यस्तो घरमा बस्छौँ।’ उनका जेठा छोरा प्रहरी सेवामा काम गर्छन् भने छोरी पेकिङ विश्वविद्यालयमा अध्ययन गर्दैछिन्। कान्छा छोराले आफूलाई व्यवसायमा सहयोग गरिरहेको गुङ्गाले बताए। उनको घरको प्राङ्गणमा चारवटा गाडी पार्किङ गरिएको थियो। दुईवटा गाडी चौँरीका लागि दाना ओसार्न प्रयोग गर्ने र दुईवटा गाडी आफूले कतै जाँदा चलाउने उनले बताए। उनीसँग अहिले पनि ६० वटा चौँरी र २०० वटा च्यांग्रा रहेछन्। तिनीहरूलाई हेरचाह गर्न मान्छे राखेको उनले बताए।
तिब्बत स्वायत्त प्रदेशमा गरिबी निवारण कार्यक्रम अन्तर्गत तिब्बतलाई सहयोग गहन पार्ने कार्य बैठक गत सोमबार तिब्बतको लिन्चीमा सम्पन्न भयो। सो बैठकमा तिब्बतलाई सहयोग गर्ने २०२ वटा कार्यक्रममा हस्ताक्षर भई २१ अर्ब ५० करोड चिनियाँ युआन लगानी गर्नका लागि चीनका १७ वटा प्रान्त र १६ वटा केन्द्रीय व्यावसायिक कम्पनीले सम्झौता गरेका छन्। सम्झौतामा उद्योग, शिक्षा, चिकित्सा, रोजगारी, उपभोग र विज्ञान तथा प्रविधि लगायतका विविध क्षेत्र समेटिएको छ। चीनले गरिबी निवारणलाई तीब्र गतिमा अगाडि बढाउँदै आएको छ। सन् २०१२ मा तिब्बतमा गरिबको जनसंख्या ५ लाख ९० हजार थियो। हाल तिब्बतमा एक लाख ५० हजारमा तिब्बती गरिबीको रेखामुनि छन्। सन् २०१४ को जनगणना अनुसार तिब्बत स्वायत्त प्रदेशको जनसंख्या ३१ लाख ४० हजार रहेको छ र तिब्बतीहरूको सरदर आयु ६७ वर्ष पुगेको छ। आचार्य चिनियाँ अन्तर्राष्ट्रिय रेडियो सीआरआईको नेपाली विभागमा विदेशी विशेषज्ञका रुपमा कार्यरत छन्।
प्रकाशित: ५ असार २०७६ ०३:४६ बिहीबार