रोम पुगेपछि रोमनहरूले जस्तै व्यवहार गर्नुपर्छ भन्ने पुरानो उक्ति पनि छ। पर्यटकले गर्नुपर्ने व्यवहार, मान्नुपर्ने नियम निश्चितरूपमा कायम नगरी नयाँ गन्तव्य खोल्नु पर्या-पर्यटनको धर्म होइन। स्थानअनुसार पर्या-पर्यटनका निश्चित मापदण्ड तोक्न सक्नुपर्छ। नेपाल सरकारले सन् २०११ लाई पर्यटन वर्ष घोषणा गरेको सन्दर्भमा र अनेकौँ नयाँ गन्तव्य स्थल पहिचान गरिसकेको अवस्थामा पर्या-पर्यटनको मर्मलाई गहिरिएर मनन गर्नुपर्ने हुन्छ। किनभने, पर्यटकका लागि प्रकृति र संस्कृति मात्र हैन विकृति पनि आकर्षणको कारण बन्न पुग्छ। नेपाल आउने पर्यटक मूलतः पर्वतारोहण, पदयात्रा, जैविक विविधता, सांस्कृतिक विविधता, धार्मिक तीर्थयात्रा, तथा प्रकृतिसँग गरिने साहसी खेलकुदका लागि आकर्षित हुन्छन्। यी सबै गतिविधिको प्रत्यक्ष सरोकार पर्यावरण र वातावरणसँग गाँसिएको हुन्छ। यस अर्थमा हाम्रा अतिथी वस्तुतः पर्या-पर्यटक हुन्। पर्या-पर्यटकको परिभाषाभित्र ती अतिथी भने पर्दैनन् जस्ले पैसा खर्च गर्दैनन् र पैसा कमाउन बस्छन्। विश्वका विभिन्न संघसंस्थाले परिभाषित गरेअनुसार सैद्धान्तिकरूपमा पर्या-पर्याटनका सात पाटालाई बिर्सन हुँदैन।
(क) प्रकृतिमा आधारित बस्तु र सेवा : हिमाल, पहाड, तराई, भोट र मधेसको प्राकृतिक स्वरूप तथा सांस्कृतिक सम्पदाको रसस्वादका लागि गरिने भ्रमण र यात्रा प्रकृतिमा आधारित पर्यटन हुन्।
(ख) पर्यावरणीय दिगोपन : पर्यटक आउँछन् र जान्छन्। उनीहरूको उपस्थितिले वातावरणमा नकारात्मक प्रभाव पर्नु हुँदैन। शुद्ध हावा र स्वच्छ पानी, भू-स्वरूपको सौन्दर्य र शान्त वातावरण, वन-वनस्पति र वन्यजन्तुको बाहुल्य तथा कौतुकमय सांस्कृतिक सम्पदा र ममतापूर्ण आतिथ्यले सिर्जेको वातावरणीय दिगोपन पर्या-पर्यटनको अर्को आधार हो।
(ग) शैक्षिक अवसर : ज्ञानमूलक शिक्षाप्रद अवसरको बाहुल्यमा पर्या-पर्यटनको विकास हुने गर्छ।
(घ) स्थानीय विकास : स्थानीय जनसमुदायको जीविकोपार्जन र अन्य आर्थिक लाभलाई हेरेर पर्यटन विकास र व्यवस्थापन हुनु पर्या-पर्यटनको अभिन्न पाटो हुन आउँछ।
(ङ) संरक्षणलाई टेवा : प्रकृति तथा संस्कृति संरक्षणलाई टेवा पुर्याउने गतिविधिलाई अंगिकार गरेर पर्या-पर्यटन विकास गरिनु पर्छ।
(च) अतिथि सन्तुष्टि : पर्यटकका आत्म सन्तुष्टिलाई सर्वोपरी राखेर "अतिथि देवो भवः" को सिद्धान्तमा पर्या-पर्यटन सञ्चालन हुन्छ।
(छ) विश्व वन्धुत्व : विश्व वन्धुत्वलाई विशेषरूपमा विकसित गराउने क्रियाकलापले प्रेरित पर्यटन व्यवस्था पनि पर्या-पर्यटनको अभिन्न पाटो हो।
पर्या-पर्यटनका उपर्युक्त सामान्य सैद्धान्तिक पक्षलाई ध्यानमा राखेर गन्तव्य स्थलका लागि छुट्टाछुट्टै आचार संहिता तय गरिनु आवश्यक छ। यही सन्दर्भमा गोरखा जिल्लाको चुम-छेकम्पार क्षेत्र पर्यटन वर्ष २०११ ले सिफारिस गरेको गन्तव्य हुनाले त्यस स्थानबारे केही जानकारी प्रस्तुत गर्नु सान्दर्भिक हुनेछ।
उत्तरी गोरखाको चुम-छेकम्पार नामक पुण्य भूमिमा पशुवध निषेध गरिएको छ। त्यहाँ पर्या-पर्यटनको विशेष रूप ‘शाकाहारी पर्यटन' लाई प्रोत्साहन गर्नुपर्ने हुन्छ। हिमालयको काखमा लुकिबसेको यो उपत्यका निकै फराकिलो छ र त्यहाँका बासिन्दा फरासिला छन्। समष्टिमा यो भू-स्वर्गको एक अंश हो जसलाई साङ्ग्रिला भन्न सकिन्छ, शम्वाला पनि भन्न मिल्छ। वास्तवमा यो बौद्ध संस्कृतिको एक वेयुल हो, किमोलुङ हो अर्थात् शान्ती प्राप्ति र परमानन्द अनुभूतिको उपत्यका (भ्याली अफ ह्यापिनेस) हो।
गोरखा जिल्लाको उत्तरी भागमा गणेश हिमाल (७,४०६ मिटर) तथा शृंगी हिमालको (७,१८६ मिटर) को बीचमा बग्ने स्यार खोलाले बनाएको उपत्यकालाई परम्परागत रूपमा चुम भनिन्छ। यस क्षेत्रलाई राणाकालमा अठार सय खोला पनि भनिन्थ्यो। छेकम्पार तथा चुम्चेत गाँउ विकास समिति यसैभित्र पर्दछन्। बौद्ध गुरु मेलारेपाले समेत आई ध्यान बसेको यो पवित्र भूमि आजसम्म पनि बौद्ध धर्मको आस्था र उपासनाको कर्म थलोको रूपमा रहिआएको छ। बौद्ध धर्मग्रन्थमा उल्लेख बेयुल किमोलुङको एक अभिन्न अंगका रूपमा यस क्षेत्रलाई पुजिन्छ।
"अहिंसा परमोधर्म" अथवा संसारमा सबैभन्दा ठूलो धर्म अहिंसा हो भन्ने मान्यताको ज्वलन्त उदाहरण यस क्षेत्रमा साकार हुन्छ। यस क्षेत्रमा अवस्थित मू गुम्बा देक्षेन ल्हुण्डुप, राछेन ज्याङ्क्षु छ्येलिङ गुम्बा, घोङेेरेन्छन पुङबा गुम्बा, चिफु साङाग छ्येलिङ् गुम्बा, चौरा होयसाल छ्येलिङ् गुम्बा, गाल्देन गुम्बालगायत सयौं अरू गुम्बालाई धर्मकर्मले परिपोषण गर्ने चलन छ। यहाँका गुरु लामा, आनी र सामान्य जनताले विक्रम सम्बत् १९७७ सालमा महागुरू करुणामय अवतारी पुज्य डुक्पा लामा सेराफ दोर्जेको रोहबरमा यस क्षेत्रलाई अहिंसा क्षेत्र घोषणा गरेका थिए। त्यस परम्परालाई पालन गर्न गराउने प्रतिबद्धताका साथ चुम निवासीहरू आफ्नो धर्मकर्ममा तल्लिन रहिआएका छन्। भोटेभाषामा लिपिबद्ध सम्बत १९७७ को त्यस प्रतिबद्धतालाई २०२९ सालमा पुनः नेपाली भाषामा लिपीबद्ध गरी २२१ स्थानीय व्यक्तिले पुज्य अवतारी गुरू ङावाङ् खेन्रप (डुक्पा रिनपोछे) समक्ष शपथ गरी विभिन्न गाँउ र गुम्बामा सुम्पने काम भएको थियो। उक्त कागजातमा अहिंसा विषयका छ बुँदालाई विशेष किटान गरिएको छ। ती यसप्रकार छन् : -
(१) सिकार नखेल्ने : वन्यजन्तु, पशुपंछीको कल्याण गर्न यस क्षेत्रमा सिकार खेल्न खेलाउन निषेध गर्ने।
(२) पासो नथाप्ने : पासो थापेर चराचुरुंगीलगायत जंगली जनावर छोप्ने र मार्ने कामलाई निषेध गर्ने।
(३) मह नकाढ्ने : भीर पाखामा माहुरीका चाकासमेत भत्काई, आगो, डढेलो लगाई मह काढ्ने चलनले हजारौं प्राणीको ज्यान जान्छ। यस्तो प्रकारले प्राणी हत्या गरी मह काढ्ने काम पनि निषेध गर्ने।
(४) कुनै पनि जीव जनावरलाई काटमार नगर्ने : भेडा, खसी, बोका वा हाँस, कुखुरा आदि कुनै पनि पाल्तु जीव जनावरलाई काटमार नगर्ने। यस क्षेत्रमा आउने पाहुना, अतिथि, पर्यटक तथा कर्मचारी एवं सुरक्षाकर्मीले पनि दसैंसमेत कुनै चाडपर्वमा पशुबध नगरी अहिंसाको श्रद्धा गर्ने। काटमार र पशुबध पूर्णरूपमा निषेध गर्ने गराउने।
(५) काम दिन नसक्ने गरी बूढो भएपछि पनि कुनै जनावरलाई मारिकाटी खाने व्यक्तिको हातमा नबेच्ने र चौंरी गाईको बाच्छा नमार्ने।
(६) कुनै तवरबाट जीव हिंसा मारकाटन नगर्ने चलनलाई यथावत कायम राख्ने : यस सन्दर्भमा गुरु डुक्पा रिनपोछेको आदेशअनुसार वनंगलमा डढेलो नलगाउने र काटमारका लागि व्यापारीले ल्याउने भेडा, च्याङ्ग्रा वा हाँस कुखुरालाई अहिंसा क्षेत्रभित्र प्रवेश नगराउने।
माथिका छ बुँदालाई स्थानीय बासिन्दा, गुम्बा व्यवस्थापन र गाँउ विकास समितिले परम्परागत रूपमा पालना गर्दै गराउँदै आएका छन्।
वर्तमान नेपालको बदलिँदो परिस्थितिमा चुम-छेकम्पार क्षेत्रलाई आन्तरिक तथा बाह्य पर्यटन प्रबर्द्धन गर्ने, स्थानीय धर्म संस्कृति, परम्परा र प्रकृतिका संरक्षण एवं सम्बर्द्धन गर्ने कार्यलाई सघाउ पुर्याउन चुम कल्याण समिति आफ्नो स्थापना काल (२०६३) देखि नै सक्रिय देखिन्छ। तदअनुरुप २०६६ आषाढ ३० देखि श्रावण २ गतेसम्म चुम महोत्सव २०६६ पनि भव्य सफलताका साथ सम्पन्न भयो। चुम महोत्सव सफल पार्ने सिलसिलामा, गोरखाका प्रमुख जिल्ला अधिकारी एवं स्थानीय विकास अधिकारीबाट समेत चुम क्षेत्रलाई अहिंसा क्षेत्र घोषणा गर्ने दिशातर्फ शुभकामना र समर्थन जनाइएको थियो। यसबाट चुम कल्याण समितिलाई विशेष बल मिलेको छ। यिनै कुरालाई दृष्टिगत तरी छेकम्पार नमूना गाँउ विकास समितिको कार्यालयले मिति २०६५/१२/२५ मा गरेको निर्णयअनुसार चुम छेकम्पार क्षेत्रलाई, अहिंसा क्षेत्र कायम गरी कानुनी मानयता प्रदान गर्ने निधो भएको छ। यसको पूर्वमा ङुलाभञ्ज्याङ, पश्चिममा थाप्ला भञ्ज्याङ, उत्तरमा यामडोल, चीन-तिब्बतको सिमाना र दक्षिणमा चुमचेतको गोग् गाँउ मानी गुम्बा र केरौजा गा.वि.स.को सिमाना, यति ४ किल्लाभित्रको क्षेत्रलाई अहिंसा क्षेत्र भनी काटमार निषेधित गरिएको छ। अहिंसा क्षेत्रलाई चिरकालसम्म कायम राख्न छेकम्पारका बासिन्दाले मन, वचन र कर्मले प्रतिबद्धता व्यक्त गरेका छन्। तसर्थ यस क्षेत्रमा पर्यटन विकास गर्दा शाकाहारी भोजनमा आधारित पर्यटन व्यवस्थापन गर्नु पर्या-पर्यटनको मूल कडी हुन आउँछ। नेपाल भ्रमण वर्ष २०११ को उपलक्ष्यमा सोहीअनुरूप आचार संहिता बन्ने र पालना हुने अपेक्षा र विश्वास छ।
लेखक नेपाल प्रज्ञा-प्रतिष्ठानका आजीवन सदस्य हुन्।
प्रकाशित: ५ आश्विन २०६७ २३:४० मंगलबार

