८ वैशाख २०८१ शनिबार
विचार

मोदी जीतबाट सिक्ने कुरा

सीमावर्ती क्षेत्र विराटनगरमा जन्मे/हुर्केको मेरो पुस्ताका लागि भारतमा हुने कुनै पनि तहको निर्वाचनलेध्यान आकृष्ट गर्छ। भारतमा हुने निर्वाचनप्रतिको उत्सुकता हाम्रा लागि खेलकुदझैँ थियो। निर्वाचनको जय र पराजयमा हामी हाम्रो मन पर्ने र नपर्ने उमेदवार छनोट गथ्र्यौँ।रमाइलो खेल हो भनी भारतको निर्वाचन प्रणाली जानियो। राज्य र युनियन टेरोटेरी पनि बुझियो। संसदीय व्यवस्थामा सरकार बन्ने र गिर्ने खेल पनि मज्जाले देखियो। संसद्को कार्यविधि र त्यसको गरिमा पनि उत्सुकताको विषय भयो। राजनीति पढेर भन्दा त्यसमा पसेर, भिडेर र खेलेर जानियो। भारतको स्वतन्त्रता आन्दोलनसँगै उपहारका रूपमा प्राप्त त्यहाँको लोकतान्त्रिक अभ्यास मेरो पुस्ताका लागि नेपालमा लोकतान्त्रिक आन्दोलनको ऊर्जा र प्रेरणा थियो। मेरो पुस्ता बिपी कोइराला साँढे ४ दशकअगाडि भारत प्रवासवाट नेपाल फर्केदेखि लोकतान्त्रिक विचारसँग जोडियो। नेपाली कांग्रेससँग जोडियो।

भर्खरैको भारतीय निर्वाचन
भारत स्वतन्त्र भएको ७ दशक बढी भयो। यसक्रममा १७औँ लोकसभाको निर्वाचन भर्खरै सम्पन्न भयो। विगत साँढे ४ दशकदेखि भारतमा भएका लोकसभा, विधानसभा र स्थानीय निकायको निर्वाचनहरूबारे पढ्ने, हेर्ने र बुझ्ने अवसरमेरा लागि हिन्दी र अंगे्रजी पत्रपत्रिका पढ्नुमामात्र सीमित थिएन। भारतमा हिन्दु–मुसलमान दंगा देखियो। तथाकथित ठूला जातिबाट भारतको राजनीति क्रमशः तल्लो जातिमा सरेको बिहार र युपीमा मात्र होइन, दक्षिण भारतमा पनि देखियो।तर यो पटकको निर्वाचन विशेष थियो। र, यो विशेष निर्वाचन हुन गयो भारतका प्रम मोदी र भाजपाका अध्यक्ष अमित

शाहको युगलबन्दीका कारण।   
यसपटकको निर्वाचनविशेष यसकारण थियो कि भारतीय जनता पार्टीले दोस्रो कार्यकाल अर्थात १७औँ लोकसभामा वहुमत ल्याउला वा १५ वर्षअगाडि यही पार्टीका नेता अटलबिहारी वाजपेयीको ‘साइनिङ इन्डिया’ कै नियति भोगी सत्तावाट बहिर्गमन होला ?भारतीय जनता पार्टीले एक्लै बहुमत ल्याउँछ भन्ने अड्कल कमै गरिन्थ्यो। तर निर्वाचन परिणाम सार्वजनिक भयो र भारतीय जनता पार्टी एक्लै ५४२ मा ३०२ सिट जित्न सफल भयो।

भाजपा नेतृत्वको राष्ट्रिय जनतान्त्रिक गठबन्धन अर्थात एनडिएले ३५२ सिट जितेर रिकर्ड कायम ग¥यो। कसरी सम्भव भयो प्रम मोदीको यो दिग्विजय ? किन ५ वर्षको शासनकालमा ‘एन्टी एनकम्वेन्सी’ नभएर प्रो एनकम्वेन्सी भयो ? किन धर्म निरपेक्ष देश भारतका जनताले धार्मिक रथमा सवार मोदीको विजयगाथालाई निरन्तरता दिए ? त्यस्तै ५ वर्ष विपक्षमा बसेको भारतीय राष्ट्रिय कांग्रेसले किन सकेन? र, लज्जाजनक हार बेहोर्नुप-यो।

भारतमा लोकसभाको निर्वाचनमा पराजयपछि राहुल गान्धीले पार्टी अध्यक्षबाट नैतिक जिम्मेवारी लिँदै राजीनामाको प्रस्ताव राखेका छन् । देउवाबाट त्यो सामान्य लोकतान्त्रिक संस्कृति पनि प्रकट भएन।

मोदी जीतका कारण
प्रम मोदीको १७औँ लोकसभामा जीतका अनेकन् कारण छन्। कारणको खोजी अनेक कोणबाट हुँदै गर्छ। यो राजनीतिक पण्डितहरूको काम हो तर राजनीतिलाई समाजशास्त्र र अर्थशास्त्रको सामान्य कोणबाट बुझ्ने प्रयास गर्ने हो भने निर्वाचन परिणामबाट म आचम्मित भइन। म भारतमा १७औँ लोकसभा  निर्वाचनभन्दा निकै अगाडि दिल्ली, गुजरात र राजस्थान तीन हप्ताका लागि गएको थिएँ। झण्डै ३ हजार किलोमिटरको यात्रा गाडीबाट गर्दा राजस्थान विधानसभा चुनावको सरगर्मी थियो। ट्याक्सी चालकदेखि ढावा र नरिवल पानी बेच्ने सबै मोदीको प्रशंसा गर्थे। मोदीको विकल्प छैन भन्थे तर राजस्थानमा हुन गइरहेको विधानसभा चुनावमा त्यहाँको भाजपा सरकारसँग सबै रुष्ट थिए।

राजस्थानका चिफ मिनिस्टर राजघराना पृष्ठभूमिको मात्र होइन, अहिले पनि ‘रानी’ झैँ जनतासँग व्यवहार गर्ने भएकाले जनताबीच ती अप्रिय थिइन्। राजस्थानको सडकमा ‘मोदी तुझ से वैर नही रानी तेरा खैर नही’ भन्ने नारा थियो। निर्वाचन परिणाम आयो–‘रानी’ हारिन् ४ महिनाअगाडि। अहिले लोकसभाको निर्वाचन परिणाम आउँदा राजस्थानको सबै सिट

मोदी नेतृत्वको भाजपाले जित्यो।
मोदी व्रान्ड छन् भारतमा। उनको व्यक्तित्व पार्टीभन्दा माथिको छ अहिले। मोदीको व्यक्तित्वमा भारतीय जनताले आफ्नो सुरक्षा र समृद्धि दुवै देखे। मोदीले जातिवादी राजनीतिमाथि आक्रामक राष्ट्रवादको नारा वुलन्द गरे।मोदीको परिवार सत्ता र शक्तिबाट टाढा गुजरातमै बस्छन्। ‘फकिर’मोदीको विकल्प छैन र उनको नेतृत्वमा भाजपाले चुनाव जित्नुको कारण यही हो। यस्तै धारणा छन् मोदीबारे। तर यो अपुरो धारणा हो र अधुरो पनि। कसरी?त्यसको उदाहरण यहाँ राख्छु।

चुनाव र विकासको तयारी
मोदी व्रान्ड, संगठन र संवाद मोदीले चुनाव जित्ने कारण मानिन्छ नेपालमा। तर यतिमात्र कारण भाजपालाई चुनाव जित्न पर्याप्त थिएन। यस्तो अवस्था आजभन्दा १५ वर्षअगाडि तत्कालीन प्रम अटलबिहारी पाजपेयीलाई पनि थियो तर उनी हारे, उनको पार्टी हा-यो। योभन्दा पनि केही फरक कारण छन्।

नेपालको सत्ता पक्षमा युगल जोडी अहिले प्रम ओली र प्रचण्ड हुन्। भन्न सकिन्छ– यिनले नेपालमा मोदी र अमित शाहको भूमिका खेल्न सक्थे तर चाहेनन्। नेपालमा सत्ताको सनातनी चरित्रभन्दा यी एक इन्च माथि उठ्न सकिरहेका छैनन् अहिलेसम्म।

प्रम मोदीले जनतालाई प्रत्यक्ष लाभ पुग्ने कैयन् योजना अगाडि सारे। उजाला स्किम, जनधन योजना, किसान योजना, शौचालय योजना, आवास योजना यस्ता अनेकन् योजना छन् जुन प्रममोदीले अगाडि ल्याए। यस्ता योजना कागजीरूपमा विगतका प्रमले पनि नल्याएका होइनन्। तर मोदीले योजनामात्र ल्याएनन्, योजना कार्यान्वयन तहमा लागु भएको छ कि छैन भनी आफैँ अनुगमन गरे। फरक यहाँ छ।  कसरी गरे यो चाखलाग्दो छ।

प्रम मोदीले पहल गरेका योजनामा २४ करोड ८१ लाख लाभार्थी प्रत्यक्ष जोडिए। यी लाभार्थीसँग प्रम र पार्टी अध्यक्ष अमित शाह सिधा जोडिए। कसरी ? हेरौँ ः मोदी–शाहको युगलवन्दीले लाभार्थी र  योजनाहरूलाई अनुगमन गर्न प्रत्येक ३ निर्वाचन क्षेत्रमा ‘एउटा कल सेन्टर’ निर्माण गरे । यसरी १ सय ६८ कल सेन्टर निर्माण भयो मोदी–शाहको नेतृत्वमा। यसमा १५ हजार ६ सयले रोजगारी पाए। यी कल सेन्टर र यहाँ काम गर्नेले निरन्तररूपमा किसानको खातामा २ हजार पुग्यो कि पुगेन, शौचालय बन्यो कि बनेन, घरमा बिजुली पुग्योकिपुगेन भनी निगरानी राखे। सबै सूचना प्रम वा पार्टी अध्यक्षसामु सिधा पु-याउँथे।

प्रम मोदी र पार्टी अध्यक्ष अमित शाह तलको सूचनाका आधारमा पार्टीको गाउँ एकाइसम्म भिडियो कन्फ्रेन्स गर्थे। पार्टी कार्यकर्ताहरूमा विकास र राजनीतिलाई सँगै लग्ने स्किमबारे बहस र छलफल गर्थे। कार्यकर्ता आफ्नो नेतासँग ज्ञान र सामीप्यता पाएपछि मेसिनझैँ खट्थे। यो अनवरत साधना प्रम मोदीले २०१४ मा निर्वाचन जितेर सत्ता सम्हालेपछि लगत्तै २०१९को तयारीका रूपमा सुरु गरे। यही कारण थियो, पश्चिम बंगाल र उडिसामा भाजपाका कार्यकर्ता ५ वर्ष अहोरात्र खटे। यही कारण हो, ग्रामीण मतदातासमक्ष मोदी र अमित शाह ५ वर्ष अनवरत सम्पर्कमा रहे। यहीकारण हो, भाजपा आज सहरिया मध्यमवर्गको मात्र होइन, गाउँका सीमान्त वर्गको पनि आशा र भरोसाको केन्द्र भएको छ। 

मोदी र शाहको जोडीले यी कल सेन्टरबाट १४ करोडसँग सम्पर्क गरे५ वर्षमा। ६ करोडलाई त ‘एसएमएस’ नै गरे। यी कल सेन्टरमा सरकारी योजनाअनुरूप सुविधा नपाएको ११ करोड फोन आए। ती ११ करोड ग्रामीण जनताको घर÷घरमा भाजपाको पार्टी संगठन पुग्यो। यसमा राष्ट्रिय स्वयम्सेवक संघका ३३ युनिटको सक्रियता अद्भूत र आश्चर्यमा पार्नेखालको छ। भातृ संघ इमान्दार र उद्देश्यप्रति निष्ठावान भए निर्वाचनमा ‘सुनामी’ ल्याउन कसरी सकिन्छ भन्ने उदाहरण भारतको यो निर्वाचन हो।

सरकारी सुविधा र योजना प्रक्रियामा जोडिन महिला अग्रणी थिए। दलितहरूको आवाज रिकर्ड भयो पहिलोपल्टयी कल सेन्टरमा। लाखौँलाख दलितको आवाज र गुनासो सिधा प्रम र पार्टी अध्यक्षले सुने।  शौचालय थियो, पानी थिएन। अब अर्कोपल्ट मोदी जितेमा पानी आउँछ भनेर आश्वस्त पार्ने काम कार्यकर्ताले गरे। प्रत्येक अधुरो र अपुरो योजनालाई भाजपाका कार्यकताले १७औँ लोकसभाको निर्वाचनपछि मोदी सरकारले गर्छ भने। ग्रामीण जनताले पत्याए। १५ वर्षअगाडि अटलबिहारी वाजपेयीको सरकार जहाँ चुक्यो मोदी र अमितशाहको जोडीले त्यहीँबाट कार्य प्रारम्भ गरे।

अर्थात गाउँ र गरिबबाट
प्रत्येक योजनामा देखिएका कमजोरी सुधार्ने वाचा स्थानीय कार्यकर्ताले मात्र दिएनन्, भिडियो कन्फ्रेन्समार्फत मोदी र अमित शाहले पनि दिए। ७ चरणको चुनावको मिति र क्षेत्र निर्धारण गर्दा यी दुई युगल बन्दीले यस्ता समस्या सम्बोधन गर्ने र मतदातालाई विश्वास र भरोसा दिलाउने रणनीतिक चाल अपनाएको विपक्षी दलले पत्तो नै पाएनन्।प्रम मोदी भन्दै थिए–‘म जम्मा ३ घण्टा सुत्छु।’ तर उनी राति के गर्थे भन्नेतर्फ कसैको ध्यान नै गएन। प्रम मोदी र अमित शाहको जोडी प्रत्येक रात गाउँका किसान, विद्यार्थी, शिक्षक र मजदूरसँग भिडियो कन्फ्रेन्स गर्थे र त्यो गराउन १ सय ६८ कल सेन्टरमा काम गर्ने १५ हजार ६ सय युवा५ वर्ष निरन्तर सक्रिय रहे।

यहाँ भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धी मोदी रअमितशाहको कुनै पनि रणनीति बुझ्न पूर्णतः असफल भए। राहुल गान्धी पार्टी सञ्चालनमा नयाँ ऊर्जा भर्न र संसद्मा प्रतिपक्षको भूमिका खेल्न दुवै भूमिकामा असफल भए।उनी प्रम मोदीलाई ‘चौकिदार चोर है’ भन्दै थिए तर मोदीका कार्यकर्ता ‘हामी सबै चौकिदार’ भनी झनै उत्साही भए। काउन्टर चुनावी रणनीति भनेको यही हो।

मोदी र शाहको युगल जोडीले २०१४ मा चुनाव जितेर सत्ता सम्हालेपछि २०१९ को जुन तयारी गरे त्योभन्दा पनि ठूलो तयारी राहुलबाट अपेक्षित थियो। तर उनी मोदीले सत्ता सम्हालेको ३ वर्षसम्म ‘पार्ट टाइम पोलिटिसियन’ भए। अन्तिम वर्ष आएरमात्र ब्यँझिए।

नेपालमा कसले के सिक्ने ?
नेपालको सत्ता पक्षमा युगल जोडी अहिले प्रम ओली र प्रचण्ड हुन्। भन्न सकिन्छ– यिनले नेपालमा मोदी र अमित शाहको भूमिका खेल्न सक्थे तर चाहेनन्। नेपालमा सत्ताको सनातनी चरित्रभन्दा यी एक इन्च माथि उठ्न सकिरहेका छैनन् अहिलेसम्म। कम्तीमा केही नसके पनि मोदीले आफ्ना सांसदलाई ‘भिआइपी कल्चर र दिल्लीमा हुने बिचौलिया ट्राप’ बाट जोगिन दिएको नसिहतमात्र ओली प्रचण्डले सिके पुग्थ्यो। तर सत्ता नै बिचौलिया भएपछि ओली र प्रचण्डको युगल जोडीबाट के आश गर्ने ?समय अझै छ, ओली प्रचण्ड जोडीले नयाँ सोचबाट सुरु गर्ने।

नेपाली कांग्रेस र भारतीय राष्ट्रिय कांग्रेसको नियति एउटै दिशातर्फ उन्मुख छ। भारतमा लोकसभाको निर्वाचनमा पराजयपछि राहुल गान्धीले पार्टी अध्यक्षबाट नैतिक जिम्मेवारी लिँदै राजीनामाको प्रस्ताव राखेका छन्। देउवाबाट त्यो सामान्य लोकतान्त्रिक संस्कृति पनि प्रकट भएन। कांग्रेस सभापति देउवाको इतिहास जोगाउने हो भने उनले सम्मानपूर्वक राजनीतिबाट बिदावारी लिनुपर्छ भन्दैआएको छु म। मैले कैयन् ठाउँमा उनको योग्यता र क्षमताबारे कुरा राख्दा आलोचना भोग्दैछु। भारतीय जनता पार्टी आजको ठाउँमा पुग्न लालकृष्ण आडवानी, मुरलीमनोहर जोशी र ‘दिल्लियाइट’ सुविधाभोगीलाई पार्टीबाट किक गरेरमात्र सम्भव भयो। आउटडेटेड र अल्छीलाई ‘किक’ गरे पार्टीका युवापंक्तिले त्यहाँ। नेपालमा अक्षमलाई किक गर्ने कुनै उपाय छैन पार्टी विधान र संविधानमा। नेकामा त झन् कोही तयार नै देखिँदैनन्।

अन्तमा, भारतमा कांग्रेस ठेलिएर छेउ किनाराको पार्टी भएको छ। नेपालमा नेकाको नियति यतिखेर त्यही छ। कम्तीमा पनि भारतमा मोदी र अमितशाहको जोडीसँग करोडौँ भारतीय यतिखेर जोडिएका छन्। दुर्भाग्यले  नेपालमा त्यो आशा र विश्वास पनि कतै देखिएको छैन अहिलेसम्म।

प्रकाशित: १४ जेष्ठ २०७६ ०३:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App