१७ जेष्ठ २०८३ आइतबार
image/svg+xml
शिक्षा

विषय छनोटमा थरीथरी शैक्षिक विकल्प

राष्ट्रिय परीक्षा बोर्डले केही दिनअघि मात्र माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा नतिजा प्रकाशन गर्‍यो। कुल चार लाख ३० हजार ६ सय ६७ सहभागी परीक्षार्थीको नतिजा प्रकाशित भएको छ, जसमध्ये दुई लाख ८४ हजार एक सय ६० अर्थात् ६५.९८ प्रतिशत विद्यार्थी पास भएका छन्।  

अब दुई लाख ८४ हजार बढी विद्यार्थी हातमा शैक्षिक प्रमाणपत्र लिएर आफूले हासिल गरेको विषयगत ग्रेड र जिपिएका आधारमा कुन विषय, कुन बोर्ड र कस्तो स्कुलमा कक्षा ११ भर्ना हुने भन्ने सोचमा छन्। यसपटक राष्ट्रिय परीक्षा बोर्डले एसइई सम्पन्न भएको महिना दिनभित्र नतिजा प्रकाशन गरी विद्यार्थीको दुई महिना समय बचत गरिदिएको छ।

हैसियतअनुसारको विकल्प

एसइई उत्तीर्ण भएपछि विद्यार्थीका लागि नेपालमै कक्षा ११ र १२ अध्ययन गर्न माध्यमिक शिक्षा, प्राविधिक शिक्षा, ए–लेभल, केन्द्रीय माध्यमिक शिक्षा बोर्ड (सिबिएसई) र आइबी गरी माध्यमिक शिक्षा हासिल गर्न थरीथरी विकल्प छन्।  

ग्रेडिङ प्रणालीले कक्षा ११ मा भर्ना हुने विद्यार्थीले आफ्नो रुचि र क्षमताअनुसार छानीछानी विषय अध्ययन गर्ने बाटो खुलेको निजी तथा आवासीय विद्यालय सञ्चालक संघ नेपाल (प्याब्सन) का अध्यक्ष कृष्ण अधिकारीले बताए।

नेपालमै स्वदेशी र विदेशी परीक्षा बोर्डका पाठ्यक्रम सञ्चालनमा छन्। विद्यार्थीमा स्वतन्त्र भएर विषय छनोट गर्न सक्ने अधिकार दिएको प्याब्सनका अध्यक्ष एवं भ्याली पब्लिक माविका प्रिन्सिपल कृष्ण अधिकारीले बताए। उनले नेपाली पाठ्यक्रममा विश्वस्तरीय प्रतिस्पर्धा गर्न सक्ने विषयवस्तु समेटिएकाले एसइई उत्तीर्णपछि विद्यार्थीलाई स्वदेशमै बसेर कक्षा ११ अध्ययन गर्ने सहज बाटो खोलिदिएको छ।

हाल नेपालमा राष्ट्रिय परीक्षा बोर्ड, सिटिइभिटी, ए–लेभल, आईबी, सिबिएससिई र आइसिएससी परीक्षा बोर्डका कार्यक्रम सञ्चालनमा छन्। यसअनुसार पछिलो समय विद्यार्थी पनि आफूले अध्ययन गर्ने विषय, बोर्ड र त्यहीअनुसारको विद्यालय छनोट गर्नेबारे सचेत हुँदै गएका छन्।

यस वर्ष एसइईमा ए प्लस ग्रेड ल्याएकी सीता श्रेष्ठले आफूले उत्कृष्ट अंक हासिल गरेकाले घरबाट विज्ञान पढ्न दबाब रहेको भए पनि आफूले व्यवस्थापन पढ्ने रुचि राखेको सुनाइन्। यसका लागि उनले नेपालमा सञ्चालित विभिन्न बोर्डका कार्यक्रमबारे अध्ययन गरिरहेको समेत जनाइन्।

‘मैले राष्ट्रिय परीक्षा बोर्डका पाठ्यक्रम अध्ययन गरें। विश्वस्तरीय पाएँ। पहिले कम्प्युटर साइन्स पढ्न विज्ञान संकायमै भर्ना हुनुपर्ने बाध्यता पाठ्यक्रमले हटाएर विद्यार्थीको रुचिअनुसार विषय छनोट गरी पढ्न सक्ने अवसर दिएको छ’, सीताले नागरिकसँगको भेटमा भनिन्, ‘ मैले ए प्लस ल्याए पनि विज्ञान पढ्नुपर्ने बाध्यता रहेन। मलाई व्यवस्थापन मनपर्छ। म व्यवस्थापनमै कम्प्युटर साइन्स पढ्छु।’ उनले खुसी साटिन्, ‘हाम्रो पाठ्यक्रमले विश्वमा समकक्षता सहजै पाउने भएकाले १२ कक्षा पासपछि विदेशमा समेत उच्च शिक्षा हासिल गर्न सहज हुने भयो।’

रुचिअनुसारको विषय र बोर्ड निश्चित गरौं  

हाल कक्षा ११ को नेपाली बोर्डको पाठ्यक्रमले व्यावहारिक र सिपमूलक सिकाइसँग जोडिएकाले विद्यार्थीलाई जोडेको छ। यसकारण एसइई पास भएका विद्यार्थीमध्ये बहुसंख्यक कक्षा ११ मा राष्ट्रिय परीक्षा बोर्डकै पाठ्यक्रम अध्ययन गर्न उत्साहित देखिएका छन्।

गोल्डेनगेट माविका सञ्चालकसमेत रहेका पूर्वअध्यक्ष सिलवालका अनुसार हाल नेपालमा ६ वटा परीक्षा बोर्डका पाठ्यक्रमबाट विद्यार्थीले कक्षा ११ र १२ पढ्न पाउने व्यवस्था छ, तर पनि सबैभन्दा बढी विद्यार्थी राष्ट्रिय परीक्षा बोर्डमै छन्।

हाल नेपालमा राष्ट्रिय परीक्षा बोर्ड, सिटिइभिटी, ए लेभल, आईबी, सिबिएससिई र आइसिएससी परीक्षा बोर्डका कार्यक्रम सञ्चालनमा रहेको बताउँदै उनले विद्यार्थीले आआफ्नो रुचिको विषय र त्यसअनुसारको बोर्ड छनोट गरी कक्षा ११ मा सोहीअनुसारको स्कुल छनोट गर्नुपर्ने सुझाए।    

‘माध्यमिक तह कक्षा ११ र १२ मा ३–४ लाख विद्यार्थी भर्ना हुन्छन् भने सिभिइभिटीतर्फ ५० देखि ६० हजार भर्ना हुन्छन्’, सिलवालले नागरिकसँग भने, ‘भारतीय बोर्डमा करिब पाँच हजार, आइबीतर्फ तीन सय र ए लेभलतर्फ करिब तीन हजारको हाराहारीमा विद्यार्थी भर्ना हुने गरेका छन्।’ उनले थपे, ‘हालको परिमार्जित पाठ्यक्रमले विद्यार्थीले प्राप्त गरेको शैक्षिक प्रमाणपत्र अन्तर्राष्ट्रिय स्तरमै समकक्षता पाउने व्यवस्थाले कक्षा ११ मा विद्यार्थी भर्ना हुन थप उत्साहित भएका छन्।

हाल देशभरि २७ हजार विद्यालय सञ्चालनमा छन्। निजीतर्फको कक्षा १० सम्म सञ्चालन हुने आठ हजार बढी विद्यालय छन्  भने कक्षा ११ र १२ सञ्चालन रहेका तीन हजार निजी विद्यालय सञ्चालनमा छन्। यसैगरी सिटिइभिटीतर्फका विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन रहेको ६ सय विद्यालय छन् भने ९० वटा निजी विद्यालयले ए लेभल पढाउँछन्। भारतीय बोर्डका सिबिएसई र आइसिएसई पढाइने देशभरि आठ स्कुल सञ्चालनमा रहेको सिलवालले बताए।

एनइबीको पाठ्यक्रम अरुभन्दा फरक र विद्यार्थीको सिकाइ उपलब्धिसँग व्यावहारिक रूपमै जोडिएकाले विद्यार्थीले सबैभन्दा पहिले आफूले प्राप्त गरेको ग्रेडका आधारमा क्षमता पहिचान गरी कुन विषय अध्ययन गर्ने निश्चितपश्चात् मात्र कक्षा ११ मा हुन त्यहीअनुसारको परीक्षा बोर्ड निश्चित गर्नुपर्ने सिलवालको सुझाव छ।

‘ए–लेभल पढ्ने रुचि भएकाले प्लसटुतिर घुम्नु जरुरी छैन। त्यस्ता विद्यार्थी ए–लेभल पढाइने स्कुल नै खोज्नुपर्‍यो’, सिलवालले  सुझाए, ‘यसकारण विद्यार्थी के पढ्ने र कुन बोर्डअन्तर्गतको पढ्ने त्यो पहिल्यै निश्चित हुनुपर्छ। यसका लागि अहिल्यैदखि विद्यार्थीले अनुसन्धान पनि गर्नुपर्छ।’

हैसियतअनुसारको स्कुल छान्नुपर्छ

विद्यार्थी आफूले पढ्ने विषय र बोर्ड निश्चित गरिसकेपछि मात्र अब स्कुलतिर घुम्ने हो। धापाखेलमा रहेको जेम्स स्कुलमा अध्यक्ष राजेश खड्काले हालको समयमा निजी विद्यालयले दिएको सुविधाअनुसारको शुल्क तोकेकाले विद्यार्थीले कक्षा ११ पढ्ने स्कुल छनोट गर्दा अभिभावकको खल्ती पनि हेर्नुपर्ने उनको भनाइ छ। ‘अभिभावकले आर्थिक हैसियतअनुसारको गुणस्तरीय शिक्षा दिने स्कुल आफ्ना नानीका लागि छान्नुपर्छ’, अध्यक्ष खड्काले भने, ‘यसका साथै अतिरिक्त क्रियाकलाप गराउने विद्यालय छान्नु अति राम्रो हुन्छ।’

विश्वविद्यालय प्रवेशको तयारी गराउने स्कुल छानौं

हालको समयमा विद्यार्थीलाई स्कुलहरूले किताबी र व्यावहारिक ज्ञान दिने कार्यक्रमले मात्र विद्यार्थीको शिक्षण सिकाइ पर्याप्त नहुने गोल्डेनगेट कलेजका सञ्चालक सिलवालको तर्क छ। ‘कक्षा १२ पछि विद्यार्थीहरू अब विश्वविद्यालय प्रवेश गर्न तयार हुन्छन्’, सिलवालले जोड दिए, ‘यसकारण अब विद्यार्थीले कक्षा ११ मा भर्ना हुँदा विद्यालयको भौतिक पूर्वाधार, शैक्षिक कार्यक्रम, बोर्ड, फ्याकल्टीका साथै त्यस स्कुलले विद्यार्थीलाई ब्याचलरका लागि मेडिकल, इन्जिनियरिङ र सिम्याटलगायतका तयारी कक्षा ननक्रेडिट रूपमा निःशुल्क तयारी गराउनु महत्वपूर्ण जिम्मेवारी हो। यसकारण अबका नयाँ विद्यार्थीलाई तयारी कक्षा पनि स्कुलमै सञ्चालन गर्ने स्कुल छान्नुपर्छ।’  

नेपाली पाठ्यक्रम व्यावहारिक  

उच्च शिक्षा तथा माध्यमिक विद्यालय सञ्चालक संघ नेपालका वर्तमान अध्यक्ष युवराज शर्माका अनुसार कक्षा ११ र १२ मा परिमार्जित नयाँ पाठ्यक्रमले अनिवार्य तीन र ऐच्छिक तीन गरी कुल ६ विषय अध्ययन गर्ने व्यवस्था गरेको छ। वद्यार्थीले चाहेमा थप ज्ञानका लागि एक विषय थप ऐच्छिक विषयका रूपमा अध्ययन गर्ने व्यवस्था छ। ‘सबै विषय व्यावहारिक छन्। २५ नम्बरको प्राक्टिकलले विद्यार्थीलाई अध्ययन गरेको विषयवस्तुसँग व्यावहारिक ज्ञान र सिकाइसँग जोडेको छ’, हिसानका अध्यक्ष शर्माले भने, ‘यसले विद्यार्थीले अध्ययन गरेका विषयवस्तु जीवनभर सम्झन्छन्।’

शिक्षाविद् विद्यानाथ कोइरालाका अनुसार विद्यार्थीले आफू कुन विषय अध्ययन गर्नेबारे स्पष्ट हुनुपर्छ। राष्ट्रिय परीक्षा बोर्डको एकलपथीय पाठ्यक्रमले स्कुलको संरचनाको स्तर माथि पुर्‍याएको शिक्षाविद् कोइरालाको भनाइ छ। ‘कक्षा १२ विश्वविद्यालय प्रवेश गर्ने आधार हो। कक्षा ११ बाट संकायको बन्देज हटाएपछि विद्यार्थीले विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकीअन्तर्गतका जुनसुकै विषय पनि छानीछानी पढ्न पाएका छन्’, शिक्षाविद् कोइरालाले स्पष्ट पारे, ‘अब हाम्रा विद्यार्थी पनि आफ्नो सक्षमताअनुसारका विषय पढ्न पाउने भएकाले नेपाली पाठ्यक्रम विश्वस्तरीय बनेको छ।’

टेक्सस माविका निर्देशक नारायण पोखरेलका अनुसार पाठ्यक्रमले निर्धारण गरेअनुसार विद्यार्थीले सबै विषयमा प्राक्टिकल गर्ने व्यवस्थाले विद्यार्थीको सिकाइ स्तर विश्व बजारमा प्रतिस्पर्धी बनेको छ। ‘विद्यार्थीले एनइबीको ६ विषय पढ्नुपर्छ। सबै विषयमा २५ नम्बरको प्राक्टिकल अनिवार्य गर्नुपर्छ’, निर्देशक पोखरेलले अनुभव सुनाए, ‘हरेक विषयले विद्यार्थीलाई सहभागी गराएको छ। यसले विद्यार्थीको विषयगत व्यावहारिक सिकाइ गर्न थप सहयोग पुगको छ।’

सर्वसुलभ शुल्कले आकर्षण  

हिसानका अध्यक्ष शर्माका अनुसार कक्षा ११ र १२ अध्ययन गर्न नेपालमा अन्य बोर्डहरूभन्दा तुलनात्मक रूपमा सस्तो भएका कारण पनि राष्ट्रिय परीक्षा बोर्ड (एनइबी) तर्फ विद्यार्थी आकर्षण बढ्दै गएको हो। एनइबीको कक्षा ११ र १२ पूरा गर्न विद्यार्थीले २५ हजारदेखि तीन लाखसम्म खर्च गरे पुग्छ।  

चुस्त परीक्षा प्रणाली, शैक्षिक क्यालेन्डर समयमै  

राष्ट्रिय परीक्षा बोर्डले एक महिनाभित्र एसइई नतिजा सार्वजनिक गरी तारिफयोग्य काम गरेकोमा अध्यक्ष शर्माले बोर्डको प्रशंसा गरेका छन्। ‘विगतमा भन्दा तुलनात्मक रूपमा दुई महिना छिटो एसइई नतिजा प्रकाशन भएको छ। यसले विद्यार्थीको दुई महिना समय जोगिएको छ’, अध्यक्ष शर्माले नागरिकसँग भने, ‘विगतमा साउनदेखि कक्षा ११ को पठनपाठन सुरु हुने गरेकोमा यस वर्ष जेठबाटै भर्ना प्रक्रिया अगाडि बढ्छ। जेठको तेस्रो सातादेखि कक्षा सञ्चालनका लागि बोर्डले शैक्षिक क्यालेन्डर प्रकाशनको तयारी गरिरहेको सूचना प्राप्त भएको छ।’ यसले विद्यार्थीको शैक्षिक वर्ष छिटो पूरा हुने निश्चित बनेको र स्वदेश तथा विदेशमा समेत अवसरको थप सम्भावना बढेको उनको विश्लेषण छ। उनले अब यसैअनुसार विश्वविद्यालयको शैक्षिक क्यालेन्डरसमेत दुई महिनाअगाडि सार्नुपर्ने अवगत गराए।

प्रकाशित: ८ जेष्ठ २०८३ १३:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App