२९ श्रावण २०७७ बिहीबार
विचार

हुरीपीडितलाई घर कि भर ?

पशुपक्षीका गतिविधि र आकाश हेरेर दिनभरको काम तय गर्ने नेपाली बिस्तारै ‘रेडियो नेपाल’तिर तानिए। तर रेडियो नेपालले सुनाउने मौसमसम्बन्धी खबरमा भर पर्दा दिनचर्या बिग्रिएपछि थुप्रै किस्सा नै बनाइए। यसले मौसम पूर्वानुमानको महŒव बुझाउँछ। अहिले पूर्वानुमान गर्ने रूप बदलिए पनि चासो घटेको छैन र घट्ने पनि छैन। किनभने मानवले मात्र नभई प्राणी जगत्ले नै मौसमको पूर्वानुमान गर्दै सृष्टि जोगाउँदै आएका हुन्।

मौसममा आकस्मिक परिवर्तन प्राकृतिक सन्तुलनकै निम्ति चल्ने प्रकृतिको नियमित चक्र हो। रोक्न नसकिने तर जोगिन सकिने भएकाले मौसम पूर्वानुमानमा चासो, चिन्ता र सजगता मानव समाजको ऐतिहासिक निरन्तरता हो। पानी पर्ने, हावाहुरी चल्ने, पहिरो जाने अनि भूकम्प आउनेजस्ता प्राकृतिक घटनाको पूर्वानुमान गर्न मानिसले परापूर्वकालदेखि पशुपक्षीको सहारा लिने गर्थे। तर बारा–पर्सामा यही चैत १७ गते साँझ मौसम बदलीको पूर्वानुमान गर्ने पशुपक्षीहरू समेत जोगिएनन्। उडिरहेका चरा र भागिरहेका पशुहरू चक्रवातको भुमरीमा हेलिए। क्षणभरमै प्राण गुमाए।

बाराको फेटा गाउँपालिकामा विनाशकारी चक्रवात आएको खबर बिजुलीको गतिमा संसारका कुना–कुना पुग्यो। जहाँ–जहाँ नेपाली मन थिए। चक्रवातबाट २८ जनाको मृत्यु र ६ सय जनाभन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय समाचार बन्यो। सुत्न ओछ्यानमा गइसकेका छिमेकी तथा स्थानीय सरकार र प्रहरी प्रशासन उद्धारमा दौडिए। अनि खबर प्रवाह गर्न पत्रकारहरू। दुःख परेको रात सायद धेरै नेपाली आनन्दले निदाउन सकेनन्। उद्धारमा खट्नेहरू रातभर खटिरहे। दूरदराजका गाउँ र परदेशमा रहेकाहरू चिन्तित भए। रात लम्बिएको अनुभूति गरे। कतिपय त रातभर यात्रा गरेर हुरी प्रभावित फेटा र आसपासका गाउँ पुगे। उद्धारमा खटिए।

स्थानीय, प्रदेश र संघीय सरकारका प्रतिनिधिले तत्काल उद्धारमा खट्न राज्य संयन्त्रलाई निर्देशन दिए। त्यसैले त मृतकको संख्या बढ्न पाएन। अर्थात्, उद्धारमा कमी देखिएन। आफन्त र घरबार गुमाएका चक्रवात पीडितले पक्कै तत्कालै पर्याप्त राहत पाउन सकेनन्। विपत्तिको खाडलबाट निस्कन उति सजिलो छैन। तर नेपाली समाज र संस्कृति यति बलियो छ कि आपत्मा परेकाहरूको उद्धार हुन धेरै समय पनि लाग्दैन। व्यक्तिगत र संस्थागत सहयोग घोषणाको लहर नै चल्यो। व्यवस्थित गर्न नसक्नु एउटा कमजोर पक्ष भयो। संघीय र प्रदेश सरकारले वर्षाअघि नै घर बनाइदिने घोषणा गरेका छन् भने तत्कालका लागि अस्थायी टहरा बनाइदिन थुपै्र संघसंस्था तथा राजनीतिक दलका भ्रातृ संगठन जुटेका छन्। सबैजसो प्रदेश तथा स्थानीय सरकार र प्रतिपक्षी दलले पनि मुख्यमन्त्री राहत कोषमा सहयोग जम्मा गर्ने घोषणा गरिसकेका छन्। यसकारण अब बिस्तारै चक्रवात पीडित सामान्य अवस्थामा फर्कने वातावरण बन्दै गएको छ।

पीडा सम्झिरहे जिन्दगीको गाडी अगाडि बढ्दैन। यसकारण आउने उज्याला दिन सम्झेर गएको अँध्यारो बिर्सनैपर्छ। जापानीहरूले दोस्रो विश्वयुद्धपछि मन्त्रै बनाए– ‘तिमीले सबै कुरा गुमाए पनि भविष्य त बाँकी नै रहन्छ।’ यही मूलमन्त्रले जापान जुरूक्क उठेन मात्रै बेस्सरी दौडियो। ठूलो विपत्तिबाट उठ्न जापानी नागरिकले आत्मसात गरेको यो मनोविज्ञान मानव सभ्यताको वास्तविकता हो। मानव सिर्जित होस् वा प्राकृतिक, पीडा भुल्ने भविष्यको चुम्बकीय आकर्षणले हो। यसको अर्थ के हो भने पुराना कुरामा अल्झेर नबस्ने, नयाँ यात्रा थाल्ने तर पीडाका कारण नै भुल्ने भन्ने  होइन। पीडाका कारण पत्ता लगाएर सुधारतिर लागेकैले प्राणी जगत्मा मानिस श्रेष्ठ बन्यो। तर हामीले पीडासँगै त्यसका कारण पनि भुलिरहेका त छैनौं ? केही तथ्य हेर्ने हो भने पीडासँगै पीडा निम्त्याउने कारण पनि हामी भुलिरहेका छौं। महाभूकम्पपछिको पुनर्सँरचना मात्र हेर्ने हो भने पनि यो कुरा पुष्टि हुन्छ।

भूकम्प आफैँमा विपत्ति होइन, बरु मानव आफैँले निर्माण गरेका भौतिक संरचनाले निम्त्याउने महाकाल हो। हामीले विनाशकारी भूकम्पपछि बनाएका संरचना फेरि पनि विपत्ति रोक्ने किसिमका बने त ? यसको जवाफ समाज र सरकारले दिनैपर्छ। नेपालमा सरकारको उत्तरदायित्व बहन गर्ने प्रचलन उति बलियो छैन। तर नेपाली मन पवित्र छ, हिमनदीझैँ। तर त्यो हिमनदीमा केही दूषित पानी पनि बग्छन्। त्यही पाटोलाई प्रस्ट पार्ने मुख्य उद्देश्य हो यस आलेखको। भूकम्पले घर भत्कायो, घरसँगै कतिपय घरमुलीको पनि अत्येष्टि भयो। तत्कालीन उद्धार र राहतमा नदीजस्तै बगेको समाज बिस्तारै जम्यो। घरमुली अर्थात् परिवार धान्ने मुख्य मानिस नै नभएपछि टुहुरो बनेको परिवार कसरी बाँचिरहेका होलान् ? राहत त घरमा आयो। घर बनाउन भनेर पैसा पनि आउने भयो। तर बनाइदिने कसले ? स–साना लालाबाला र तिनका आमा÷हजुरआमालाई पालिदिने कसले ? यस्तो भएपछि न बन्छ घर, न बन्छ भविष्य।

यसतर्फ न सरकारको ध्यान गएको छ न त सामाजिक चेत नै पुगेको छ। महाभूकम्पमा मात्र होइन, बर्सेनि आउने अन्य प्राकृतिक प्रकोप र दुर्घटनाबाट अभिभावक गुमाएका परिवारका समस्या उस्तै छन्। माओवादी सशस्त्र विद्रोहका क्रममा हुन् अथवा जनआन्दोलन र मधेश विद्रोहमा, अभिभावक गुमाएकाहरू दयनीय जीवन बाँचिरहेका छन्। सरकारर तथा अन्य निकायबाट आएका एकमुष्ट अथवा किस्ताका अनुदानले नियमित चुलो बल्न सकेको छैन। बालबालिकाको शिक्षा, सामाजिक सम्बन्ध र स्वास्थ्य समस्या अनुदानको मोटै रकमले पनि धान्न मुस्किल छ। प्राकृतिक प्रकोप, यातायात तथा सामाजिक दुर्घटनाबाट अभिभावक गुमाएका परिवारले त बोलेको खासै सुनिँदैन। मनमा पीरको पोको पारेर हास्न बाध्य छन् उनीहरू। तर राजनीतिक कारणले अभिभावक गुमाएका परिवारले रोजगारीको कुरा बारम्बार उठाएका छन्। माग सही छ। राजनीतिक मात्र नभएर अन्य कारणबाट अभिभावक गुमाएका परिवारलाई रोजगारी दिँदा मात्रै नमीठो विगत भुलेर मीठो आगत बनाउने वातावरण बन्छ।

सहयोगी मन भएकाहरू अहिले बारा र पर्सातिर ओइरिएका छन्। धमिलो पानीमा माछा मार्न खोज्ने छिमेकी भेटियो भन्ने पनि सुनिन्छ। संघीयदेखि स्थानीय सरकारसम्म अनि गैससकर्मीदेखि प्रवासी नेपालीसम्मको ध्यान अहिले उतै तानिएको छ। तर फेरि पनि भुल्नै नहुने तथ्य राहत र अनुदानको मोटो सहयोगले मात्रै चक्रवात पीडितको भविष्य सुरक्षित हुँदैन। भविष्य सुनिश्चित हुनेगरी बैंक मौज्दात गरिदिए पनि हुँदैन। किनकि मुहानबिना पोखरीको पानी बिस्तारै रित्तिँदै जान्छ। तर तत्कालीन उद्धार र राहतसँगै दीर्घकालीन जीविकाको व्यवस्था पनि गरिदिने हो भने पीडितहरूको नयाँ जिन्दगी सुरू हुन्छ। त्यो दायित्व हामी सबैको हो, विशेषगरी दुईतिहाइको बलियो सरकारको। यसो नगर्ने हो भने नेपाली सेनाले फेटामा होइन, राजधानी उपत्यकामै भव्य घर बनाइदिए पनि चक्रवातबाट अभिभावक गुमाएका परिवारको चोट कहिल्यै निको हुनेछैन।

प्रकाशित: २७ चैत्र २०७५ ११:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App