६ आश्विन २०७७ मंगलबार
विचार

केका लागि सम्झने मोदीलाई ?

रोहित कुमार
उनका विरोधीहरूले उनलाई अत्यधिक विश्व भ्रमण गरेको र साम्प्रदायिक भावना उचाल्दै त्यसको नियन्त्रण गर्न नसकेको भनी आलोचना गर्नेछन्। लोकतन्त्रलाई कमजोर बनाएको आरोप पनि उनीलाई लाग्ने गरेको छ। भारतका हरेक प्रधानमन्त्रीले कुनै न कुनै विशिष्ट विरासत छाडेर गएका छन्। अधिकांशतः उनीहरूको विरासत मिश्रित खालका छन्। उनीहरूले छाडेका विरासत उनीहरूले चाहेकै जस्तो नहुनु स्वाभाविक हो। प्रधानमन्त्री जवाहरलाल नेहरुलाई विज्ञान र धर्मनिरपेक्षताप्रति बलियो प्रतिबद्धताका लागि स्मरण गरिन्छ। तर काश्मीर समस्या र सन् १९६२ मा चीनसँगको युद्धमा पराजयका लागि उनलाई नै जिम्मेवार ठानिन्छ। सन् १९६५ मा पाकिस्तानसँगको लडाइँमा विजयको जस प्रधानमन्त्री लालबहादुर शास्त्रीलाई दिइन्छ। साथै उनले प्रतिपादन गरेको ‘जय जवान, जय किसान’ नाराका लागि पनि मानिस उनलाई सम्झन्छन्। उनको तासकन्दमा रहस्यमय रूपमा निधन भयो। अर्का प्रधानमन्त्री इन्दिरा गान्धीको सम्झना ‘गरिबी हटाओ’ जस्ता गरिबमुखी नीति र असंलग्न आन्दोलनमा सक्रियताका लागि गरिन्छ। त्यस्तै संकटकाल र अपरेसन ब्लुस्टारसँग पनि उनको सम्झना जोडिएर आउने गरेको छ।

राजीव गान्धीले आफू प्रधानमन्त्री हुँदा भारतमा कम्प्युटर भित्र्याएका थिए। टेलिकम क्षेत्रमा क्रान्ति ल्याएकामा उनको स्मरण गरिन्छ। सँगै स्विडेनसँग हतियार खरिदसम्बन्धी बोफोर्स काण्डका लागि पनि उनको स्मरण गरिन्छ। आर्थिक उदारीकरण युग सुरुवातका लागि प्रधानमन्त्री पिभी नरसिंह रावको सम्झना गरिन्छ। सँगै बाबरी मस्जिद भत्काउनमा रोक लगाउन प्रभावकारी कारबाही गर्न नसकेको भन्दै उनको आलोचना पनि हुने गरेको छ। अटलबिहारी बाजपेयीलाई १३ वटा राजनीतिक दललाई एकै ठाउँमा ल्याउन सक्ने खुबीका लागि सम्झना गरिन्छ। साथै पोखरणमा भएको आणविक परीक्षणका लागि र ‘भारत उदय’ को नारासँगै भारतीय जनता पार्टी गठन प्रक्रिया पूर्णताका लागि बाजपेयीको सम्झना गरिन्छ। प्रधानमन्त्री मनमोहन सिंहलाई भारतको इतिहासमै सबभन्दा बढी शैक्षिक योग्यता भएका प्रधानमन्त्रीका रूपमा स्मरण गरिन्छ। उनकै पालामा भारतको कुल गार्हस्थ्य उत्पादन २ अंकमा उक्लियो। तर भ्रष्टाचार नियन्त्रण गर्न प्रभावकारी भूमिका निर्वाह गर्न नसकेकामा उनको आलोचना हुने गरेको छ। युनाइटेड प्रोगे्रसिभ एलायन्सअन्तर्गत दोस्रो कार्यकाल भ्रष्टाचारका कारण बदनाम भयो। यी त भए हिजोका प्रधानमन्त्रीहरूका कुरा।

अब कुरा गरौँ, भारतका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीलाई भविष्यमा के कुराले सम्झना गरिनेछ त ? प्रधानमन्त्रीका रूपमा मोदीले आफ्नो ५ वर्षे कार्यकाल पूरा गर्दैगर्दा यो प्रश्नको जवाफ भने विभाजित छ। उनका समर्थकहरूले उनलाई ‘विश्वको नक्शामा भारत चिनाउन सफल’ प्रधानमन्त्रीका रूपमा प्रशंसा गर्नेछन्। यसरी मोदीको चर्चा गर्दैगर्दा सम्भवतः उनीहरूले ‘मुस्लिमहरूलाई ठेगान लगाएको’ र ‘हिन्दू गौरव पुनस्र्थापना गरेको’ कुरा भने गर्नेछैन। उनका विरोधीहरूले उनलाई अत्यधिक विश्व भ्रमण गरेको र साम्प्रदायिक भावना उचाल्दै त्यसको नियन्त्रण गर्न नसकेको भनी आलोचना गर्नेछन्। नोटबन्दीले पु¥याएको क्षति र जिएसटी कार्यान्वयनमा भएका कमजोरीले भारतीय अर्थतन्त्रमा पु¥याएका हानिका कारण पनि मोदीको आलोचना हुनेछ। साथै भारतीय लोकतन्त्र कमजोर बनाएको आरोप पनि उनलाई लाग्ने गरेको छ।

मोदीका कट्टर समर्थक र मन्त्री, पार्टी प्रवक्ताहरू (जसको काम नै आफ्नो अनुकूलतामा तथ्य बंग्याउनु भएको छ) ले सत्तासीन भएपछि नरेन्द्र मोदीले आफ्ना प्रतिबद्धता पूरा गरेको दाबी गर्नु स्वाभाविक हो। उनीहरूका दाबीअनुसार मोदी सरकार बनेयता भारतमा वर्षमा करोडौँ युवाले रोजगारी पाएका छन्। भ्रष्टाचार अन्त्य भएको छ। भारत उत्पादनको प्रमुख केन्द्र बनेको छ। महिलाका लागि यो सुरक्षित देश बनेको छ। पेट्रोल र डिजेलको मूल्यवृद्धि नियन्त्रण भएको छ र सबैका लागि ‘अच्छे दिन’(राम्रो दिन) आएको छ। तर धेरै मानिसले नरेन्द्र मोदीलाई निकट भविष्यसम्म उनको अहम्(इगो) का कारण सम्झनेछन्। भारतीय जनताले मोदीको अहम्भावबारे सन् २०१४ को चुनावताका नै भेउ पाइसकेका थिए। चुनावी अभियानका क्रममा उनले आफ्नो छाती ५४ इन्च चौडा भएको भाषण गरेका थिए। (हामीलाई थाहा भएसम्म कोही पनि भारतीय प्रधानमन्त्रीले कुनै पनि सार्वजनिक समारोहमा आफ्नो कुनै पनि शरीरको अंगको चर्चा गरेका थिएनन्।)
त्यसपछि उनको सेल्फी र क्यामराप्रतिको आशक्ति पनि मानिसले सम्झनेछन्। एउटा संक्षिप्त भिडियोमा उनी आफू क्यामरामा देखिन सुरक्षाकर्मीलाई धकेलिरहेका थिए। आफूतिर क्यामराको राम्रो कोण परोस् भनी मोदी फेसबुकका प्रबन्धक मार्क जुकरबर्गलाई समेत तानिरहेको श्रव्य दृश्य ‘भाइरल’ भयो। एक पत्रकारले क्यामरामार्फत मोदीकै नाम बुनिएको १० लाख पर्ने सुट सार्वजनिक हुँदा प्रधानमन्त्रीको आत्माश्लाघा गम्भीर तहमा पुगेको भारतीय जनताले महसुस गरे।
सरकारले घोषणा गरेका ठूला आकारका सबै कार्यक्रमको नामअघि ‘प्रधानमन्त्री’ उपसर्ग झुन्ड्याएबाट पनि उनको आत्मश्लाघा अझ प्रष्ट हुँदै गयो। जस्तोः प्रधानमन्त्री फसल बिमा योजना, प्रधानमन्त्री आवास योजना, प्रधानमन्त्री कौशल विकास योजना, प्रधानमन्त्री जनधन योजना, प्रधानमन्त्री उज्याला योजना, प्रधानमन्त्री ग्राम सडक योजना आदि।
समयान्तरमा भारतका प्रचार माध्यमहरूमा प्रधानमन्त्रीका तस्बिर जताततै प्रयोग हुँदै गएको देखिन थाल्यो। जस्तैः कार्यालय, भित्तेपात्रो, पेट्रोल पम्प, विमानस्थल, रेलवे स्टेसन, बस स्टेसनका होर्डिङबोर्ड आदि स्थानमा। भारतमा धेरै अघिदेखिका शासकहरूले आफ्ना राजनीतिक प्रभाव र ऐतिहासिक विरासतका लागि आफ्नो नाम छापिएको मुद्रा बनाउँथे। तर आधुनिक समयमा सन् २०१४ देखि २०१९ सम्मको भाजपा सरकार जति आफ्न नेता प्रचारमा पैसा खर्च गर्ने कुनै सरकार भेट्टाउन गाह्रो हुनेछ।
आधुनिक मनोविज्ञहरूले ‘अहम्वादी’ शब्दलाई आफ्ना लागिमात्र सोच्ने र अरूलाई निकै कम आँक्ने खतरनाक मनोविज्ञानका रूपमा व्याख्या गरेका छन्। त्यस अर्थमा ‘अहम्’ भन्नाले आक्रामक सक्रियता, आत्मकेन्द्रित महŒवाकांक्षा र आफ्नै कुरालाई ज्यादा महŒव दिनु हो। अहम्वादीलाई उनीहरू रक्सीबाजसँग पनि तुलना गर्छन्। रक्सीजस्तै अहम्वाद पनि मादक हुन्छ। दुवैले मानिसलाई अन्ततः वास्तविकताभन्दा पर धकेलेर सिकार बनाउँछ।
ह्यारोल्ड गिन्नीका अनुसार यी अहम्वादी र रक्सीाबाजबीच ठूलो भिन्नता भनेको ‘अहम्वादीहरू रक्सीबाजजस्तै टेबुलमा कतै ठोक्किएर लड्ने गर्दैनन्। उनीहरू रुक्सीबाजले झैँ बोल्दा लर्बराउँदैनन् न त कुनै असामान्य गतिविधि नै गर्छन्। बरु उनीहरू झन् पछि झन् सक्रिय बन्छन्। केही मानिस यस्ता आक्रामक सक्रियताको अन्तरनिहीत अर्थ नबुझी त्यसलाई नै शक्ति र आत्मविश्वासका रूपमा बुझ्ने गर्छन्।’
कुनै अंकुशबिनाका नेता देशका लागि निकै खतरनाक हुन्छ किनभने त्यसले उसलाई एक असल राजनेताको विशेषतासम्म पुग्न दिँदैन। अहम्वादी नेताहरूले अरू कसैसँग सहकार्य गर्न सक्दैन किनभने उनीहरू अरूका भनाइको पर्वाह गर्दैनन्। उनीहरू एकपक्षीय ढंगले निर्णय गर्छन् किनभने उनीहरू आफूभन्दा योग्य वा जानकार व्यक्तिबाट वस्तुगत सल्लाह लिन सक्दैनन्। उनीहरू अरूलाई प्राथमिकतामा राख्न सक्दैनन् किनभने उनीहरू आफैँमा पूर्ण भएको ठान्छन्। उनीहरू आफ्ना राजनीतिक विपक्षीलाई आफ्नो शत्रु मान्छन् र उनीहरूलाई सिध्याउनुपर्ने सोच्छन्।
अहम्वादी नेताहरू आफ्ना गल्तीका लागि क्षमा माग्न न त आफ्ना कमजोरी नै स्वीकार्न तयार हुन्छन्। यस्ता नेताहरूको अन्त्य दुःखद र पीडादायी हुने गर्छ। आफूभित्र प्रतिभा वा इमान्दारी अभाव भएको वास्तविकता बाहिर आउने हो कि भन्ने डर उनीहरूमा सधैं रहने गर्छ। यस्तो नेतृत्वको सबभन्दा खराब पक्ष भनेको गलत निर्णयको अधिकता हो जसले ठूलै आकारको क्षति हुने गर्छ। यसको अन्तिम दुष्परिणाम भने देशले भोग्नुपर्ने हुन्छ।
मोदी शासन सन् २०१९ सम्ममात्र हुन्छ वा अझै अघि बढ्छ ? आगामी चुनावले निर्णय गर्नेछ। (धेरै भारतीयहरू अझ अर्को ५ वर्ष यस्तो अहम्वादी नेतृत्वलाई कसरी झेल्ने हो भन्ने विषयमा चिन्तित छन्) तर मोदी शासन विश्लेषणका लागि राजनीतिक चिन्तक, इतिहासकार र मनोविश्लेषकहरूसमक्ष मोदीका नीति, गतिविधि, निर्णय र सम्बन्धहरू तथ्यका रूपमा बाँकी रहनेछन्। उनीहरूले प्रश्न गर्नेछन्ः
भारतका एकसेएक प्रतिभाशाली व्यक्तिले नोटबन्दी नगर्न खबरदारी गर्दा पनि प्रधानमन्त्रीले किन यो निर्णय गरे ? उनले किन आधा पाकेको अवस्थामा जिएसटी छाडे ? किन उनले आफ्नो सल्लाहकार टोलीमा आफ्ना अन्धभक्तलाई मात्र भर्ती गरे ? किन उनको सत्तागठबन्धनका सहयोगीहरूले एकपछि अर्को गर्दै छाड्दै गए ? किन यी वर्षमा मित्र देशमा लामो समयदेखि स्थापित कूटनीतिक सम्बन्धमा तिक्तता आयो ? धेरै मानिसले सावधानीपूर्वक गरेका पटकपटकको आग्रहबीच मोदीको अहम् किन सच्चिएन ?
सबै प्रश्नका उत्तर भएको बलियो नेतृत्व भनेको एउटा मिथकमात्र हो। बितेका ५ वर्षमा भारतले यो कुरा भोगिसकेको छ। एक्काइसौँ शताब्दी जटिल समय हो। यो समयमा सफलपूर्वक सम्झौता गर्न हामीसँग अरूका कुरा सुन्नसक्ने, सिक्नसक्ने, सहकार्य गर्नसक्ने नेतृत्वको खाँचो छ जसले समग्रतामा सद्भावपूर्ण र साहसिक निर्णय गर्नसक्छ। त्यो नेतृत्व आत्मकेन्द्रित, आत्माश्लाघा पालेको र आत्मप्रशंसक हुनुहुन्न।
सकारात्मक मनोविज्ञान र मनोरासायनिक पृष्ठभूमिका शिक्षक÷ स्रोत ः द वायर
नेपाली अनुवादः नीरज लवजू

प्रकाशित: २६ चैत्र २०७५ ०८:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App