८ वैशाख २०८१ शनिबार
विचार

प्रधानमन्त्रीले खोज्नुभएको कांग्रेस

प्रकृतिमाथि कसैले पनि र कुनै पनि आविष्कारले विजय पाउन सक्दैन भन्ने तथ्य पुष्टि गरिरहनु पर्दैन। बारा र पर्सामा आएको हुरी र बतासले अनेकौँ मानिसको ज्यान लियो र करोडौँको श्रीसम्पत्ति विनाश भयो। कहिले भुइँचालो, कहिले बाढी÷पहिरो, कहिले आगलागी जस्ता विपत्तिबाट जनजीवन आहत भई नै रहन्छ। हामी समुद्रका नजिक छैनौँं र नै सुनामीको खतरा अनुभव गरेका छैनौँ। ज्वालामुखीको सम्भावना भए पनि हामीले त्यो प्राकृतिक विपद् भोग्नुपरेको छैन। मानव र मेसिनका कारण हुने दुर्घटनाको कुनै सीमा छैन। एउटा बस पल्टिएको अवस्थामा सरकारलाई अलच्छिनीको संज्ञा दिनुहुने नेता नै अहिले सरकारको नेतृत्व गरिरहनुभएको छ। यो एक वर्षमा भएका हवाई दुर्घटना, बाढी÷पहिरो र सडकयातायातमा भएको अपूरणीय क्षति मूल्यांकन गर्दै उहाँ आफैँले आफ्नो लक्षण वा कुलक्षण अथवा लच्छिन वा अलच्छिन कुुन कोटीमा राख्नुहुनेछ  हामीले यहाँ चर्चा गर्नु निरर्थक हुनेछ।

एसइइ परीक्षाको प्रश्नपत्र बाहिर आएको विषयले प्रदेश २ मा समाज उत्तेजित र संवेदित भइरहेका समयमा हुरीको बबण्डरले समाजलाई आहत तुल्याएको छ। यस समयमा सबैले मानवीय कर्तव्य निर्वाह गरी आहत मानिसलाई सहयोग पुर्‍याउनु आवश्यक हुन्छ। सहयोगका विषयमा कुनै राजनीतिका कुरा उठ्नु वा उठाइनु हुँदेैन।नागरिकको शरीरमा लागेको घाउमा राजनीतिले नूनचुक मात्र लगाउने हो, मलम लगाउन सक्देैन। तर आज यस विषयलाई यही थाती राखाैँ र प्रधानमन्त्री केपी शर्मा ओलीले अनायास नेपाली कांग्रेस खोज्न लाग्नुभएको सन्दर्भलाई बहसमा केन्द्रित गरौंँ।

सबै वातावरण अहिले नेपालमा लगानी अनुकूल छन् तर सरकारको दोधारे नीति आफँै लगानीमैत्री छैन।

प्रधानमन्त्रीओलीले नेपाली कांग्रेसको खोजी गर्नुभएको समाचार सार्वजनिक भएको छ। उहाँले नेपाली कांग्रेसलाई सरकारमा नदेखेर खोजी गर्नुभएको हो कि नेपाल कम्युनिस्ट पार्टीमा कांग्रेस नभेटिएर खोज्नुभएको हो, थाहा भएन। तर उहाँले नेपाली कांग्रेसलाई खोज्नुभएको समाचार प्रकाशित भयो। अन्तर्राष्ट्रिय लगानी सम्मेलनको समय निकै नजिक आएपछि  शायद कांग्रेसलाई सम्झनुपर्ने बाध्यता उहाँलाई र उहाँको सरकारलाई परेको हुनुपर्छ। लगानीकर्ताहरू ठूला अन्तर्राष्ट्रिय कम्पनीहरू, पुँजीपतिहरू र समृद्ध सरकार नै हुन्। देशभित्रका पुँजीपति र उद्योगपतिहरू नै हुन् लगानी गर्न सक्ने। आमनागरिकको सहभागिताको प्रत्यक्ष मार्ग सेयर बजारलाई एक वर्षमा नै सरकारले तहसनहस पारिसकेको छ। हिजो विभिन्न विकास आयोजनामा, उद्योगमा, वित्तीय संस्थामा, होटलसहित व्यापार÷व्यवसायमा पुँजी फसाउनेहरू अहिले सडकमा पुगेका छन्।

कतिपयको घर÷खेत गएको छ। यही अवस्था अरु एक वर्षसम्म रहेमा धेरै लगानीकर्ता धरतीमा नै नरहने अवस्था देखिँदैछ। नेप्से परिसूचकको एक वर्षको तुलना गर्ने हो भने लगानीको कहालीलाग्दो हालत देख्न सकिन्छ। नेपाली लगानीकर्ता यसरी दिन÷प्रतिदिन  हरिकंगाल भएको दृश्यले आहत नहुने सरकारले गरेको लगानी सम्मेलन निकै उत्साहप्रद् रहेको सरकारी अधिकारीको मूल्यांकन छ।  करिब२२ खरबभन्दा बढीको लगानी प्रतिबद्धता हुने अपेक्षा गरेको सरकारले २ दिनसम्मको कसरतपश्चात् पाएको आश्वासन भने उत्साहप्रद् देखिँदैन। तत्कालीन उद्योगमन्त्री नवीन्द्रराज जोशीको पहलमा २०७३ मा पनि लगानी सम्मेलन भएको थियो। करिब एक खरबको अपेक्षा गरिएको त्यस सम्मेलनका अवसरमा लगानीकर्ताले करिब चौध खरबको प्रतिबद्धता जनाए पनि करिब ४ खरबमात्र कार्यान्वयनमा आउन सक्यो। बाँकी १० खरबका विषयमा त्यसपछिका सरकारले कुनै चासो दिएनन्।

अहिलेको सरकारलाई कुनै व्यवधान छैन। थोरै व्यवधान गर्न सक्ने नेकपा विप्लव समूहलाई अवैधानिक घोषणा गर्दै प्रतिबन्ध लगाइसकिएको छ। स्वतन्त्र मधेस गठबन्धनले चलाएको स्वतन्त्र मधेसको माग त्यस गठबन्धनका कार्यकर्तालाई नेपालमा बसोबास गर्न पाउने भनी सम्झौता गरेपछि टुंगिएको छ। यद्यपि यो संझौताबाट सिके राउतले स्वतन्त्र मधेसको अजेन्डा छाडेको देखिएपनि बृहद् शान्ति संझौतागर्ने पुष्पकमल दाहालका शिष्य र सहयोगीहरूले हिंसाको बाटो रोजेजस्तो गरी सिकेका शिष्यहरूले यही ११ बुँदे सहमतिको सूत्र समातेर अर्को बाटो लिँदैनन् भन्ने छैन। तैपनि वर्तमान सरकारका सामु कुनै पनि व्यवधान छैन। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलाई आफ्नै ससानो कुवामा पौडी खेल्दै र एकअर्काका हातखुट्टा मुसार्दैमा ठिक्क छ। यसैपनि नेपाली कांग्रेस विगत समयमा साम्यवादी दलहरूले सरकारविरुद्ध चलाएको अराजकशैली पुनरावृत्त गर्न चाहँदेैन। उसले अराजक प्रतिपक्ष नभएर रचनात्मक प्रतिपक्षको संस्कृति वरण गरिरहेको हुन्छ। केही अपवाद छाडेर लोकतन्त्रका मूल्य बिस्थापित हुन नदिइकनै नेपाली कांग्रेस प्रतिपक्षको भूमिकामा रहन्छ। अर्थात् वर्तमान सरकारका सकारात्मक कार्यविरुद्ध सवल तगारो केही पनि छैन।

आफूले काम गर्न नसकेपछि विपक्षले काम गर्न दिएन भनेर सरकारमा बस्नेहरूको भाषण नसुनिएको होइन। तर सबैलाई थाहा भएको विषय के हो भने जति नाच्न जान्देैन उति आँगन टेढो भनेजस्तै हो यस्तो संभाषण। यो पटकको लगानी सम्मेलनमा सरकारले करिब६० खरबको आशा गरेको थियो। झण्डै १५ सय विदेशी लगानीकर्ता र दाता सहभागी भएका सम्मेलनमा पहिले नै सहमति भइसकेका केही महŒवपूर्ण योजनामा लगानी सहमति भएको छ। यसलाई सरकारले आफ्नो सफलतामा गनिरहेको छ। हुनत पहिलेका सरकारका समयमा सुरु भएका आयोजनाहरूको पुनः शिलान्यास गर्ने, पहिले नै उद्घाटन भइसकेका विकास कार्यको पुनः उद्घाटन गर्ने, पहिले नै बनिसकेका कानुन र नीतिलाई लिएर आफ्नो ऐतिहासिक कार्य भनी प्रचार गर्ने ऐतिहासिक कार्यहरू यसबीच नभएका होइनन्। लगानी सम्मेलनमा समेत यो ऐतिहासिक गौरव दोहोरिएको थाहा पाउनेहरू सरकारका कामको मुक्तकण्ठले प्रशंसा गरिरहेका हुनुपर्छ।

संवेैधानिक संस्थाहरूमा नेपाली कांग्रेसको गणितीय उपस्थिति निकै कमजोर रहे पनि अन्तर्राष्ट्रिय छवि नेपाल कम्युनिस्ट पार्टीको भन्दा बढी भएको जगजाहेर छ।

सरकार अपेक्षाकृत स्थायी छ। कम्तीमा पनि दुई वर्षसम्म यसको कुनै विकल्प छैन। दुई वर्षपछि विकल्प खोजिए पनि नेपाल कम्युनिस्ट पार्टीबाहिर त्यस्तो विकल्प हुन सक्देैन। नेपाल कम्युनिस्ट पार्टीको सरकार ५ वर्षसम्म निष्कण्टक देखिन्छ। अन्तर्राष्ट्रिय लगानीकालागि स्थिर राजनीति र सरकार, खुला र पारदर्शी नीति, सहयोगी वातावरण र सजिला कानुन हुनुपर्छ। नेपालमा श्रमिकको समस्या छैन। खाडीको तातो घाममा पसिना चुहाउनेलाई केही सहुलियतकासाथ नेपालमा नै रोजगारी दिन सकिन्छ। अन्यत्र भन्दा नेपालको श्रम बजार सस्तो र सहज हुन्छ। यी सबै वातावरण अहिले नेपालमा लगानी अनुकूल छन् तर सरकारको दोधारे नीति आफँै लगानीमैत्री छैन। खुला र उदार अर्थनीति कि समाजवादी अर्थनीति ? अझ भनौँ, लक्ष्य विकसित समाजवादको राखेको नीति कुनमा विश्वास गर्ने लगानीकर्ताले ? नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र परराष्ट्रमन्त्रीको अमेरिका भ्रमणले अथवा अन्तर्राष्ट्रिय आर्थिक मञ्चमा प्रधानमन्त्रीको उपस्थिति र सम्बोधनले मात्र कम्युनिस्ट पार्टीको रंगलाई धोइपखाली भएको र उसको विचार स्पष्ट लोकतान्त्रिक भएको स्वीकार हुनेमा प्रशस्त शंका रहन्छ।

यसैकारण सरकारले आशा गरेको र प्रक्षेपण गरेजस्तो लगानी सम्मेलनको उपादेयता भएन। सरकारको दाबीलाई स्वतन्त्र विशेषज्ञहरूले अस्वीकार गरिदिएका छन्। यसै पनि लगानी सम्मेलनमा गरिने वाचा र सहमतिहरू नेपालमा कुनै कामकालागि आयोजित महायज्ञमा गरिने वाचाहरूभन्दा फरक लाग्दैनन्। एकपटक महेन्द्रनारायण निधी मेमोरियल अस्पताल निर्माण गर्न महायज्ञ लगाउन हाम्रा मित्रहरूले गरेका प्रयास यतिखेर मेरो सम्झनामा आइरहेको छ। कथावाचक दीनबन्धु पोख्रेलले खुबै मेहनत गर्नुभयो र ७ दिनमा करिब७ करोडदिने वचन मिल्यो। त्यसरी वचन दिनेहरूलाई अस्पतालका आयोजकले फूलमाला, खादा, प्रमाणपत्र, सम्मान अनेक गरे तर कालान्तरमा २ करोड पनि उठेन। ७ करोड दिन तयार जमातका सदस्यहरू एकपछि अर्को गरी सम्मान लिएर भागे। अहिले अनेक कष्ट गरी अस्पतालको भवन आफ्नै जग्गामा बन्न सकेको अवस्था छ। लाग्छ, लगानी सम्मेलनको नियति पनि महायज्ञको वचन जस्तै हुनेछ। विगतको यही पाठ हो।

लगानी सम्मेलनको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस कहाँ छ भनेर सार्वजनिक प्रश्न गर्नुभएछ। अन्तर्राष्ट्रिय विश्वसनीयताका लागि उहाँंका छेवेैमा कांग्रेस भइदिए हुने थियो भन्ने इच्छा हुनसक्छ।संवेैधानिक संस्थाहरूमा नेपाली कांग्रेसको गणितीय उपस्थिति निकै कमजोर रहे पनि अन्तर्राष्ट्रिय छवि नेपाल कम्युनिस्ट पार्टीको भन्दा बढी भएको जगजाहेर छ। लोकतन्त्रमा नेपाली कांग्रेसको पूर्ण प्रतिबद्धता र विगतका सबै परिवर्तनमा उसले गरेको नेतृत्वले समेत अन्तर्राष्ट्रिय लोकतान्त्रिक जगतको विश्वास आर्जन गरेको छ। खासगरी बिपी कोइरालादेखि गिरिजाप्रसाद कोइराला हँुदै शेरबहादुर देउवासम्मको नेतृत्वमा अन्तर्राष्ट्रिय छवि निर्माण भएको मान्नुपर्छ। निर्दलीय पञ्चायतकालमा राजाहरूको छवि अन्तर्राष्ट्रिय स्तरमा त्यति नराम्रो थिएन। लोकतन्त्रका सन्दर्भमा मात्र उनीहरू विवादित थिए। खुला अर्थतन्त्र, लोकतान्त्रिक समाजवादले परिकल्पना गरेको समता र समानताको सिद्धान्त नभएको र साम्यवादलाई घोषित लक्ष्य बनाएको शक्ति राज्यसत्ताको निर्णायक भएर बसेको स्थानमा खुला अर्थतन्त्रका पक्षधरहरू र पुँजीमा विश्वास गर्नेहरू कसरी विश्वस्त हुनसक्लान् ? यो आफेँैमा अविश्वसनीय र सन्देहपूर्ण छ।

तर ओलीले सकारात्मक सोचका साथ यस्तो प्रश्न गर्नुभएको होइन। उहाँंले देशबाट नेपाली कांग्रेसको पत्तासाफ भइसकेको, कांग्रेस धुलो भएको, यसको कुनै पनि हैसियत बाँकी नरहेको भन्दै व्यंंग्योक्ति गर्नुभएको हो। उहाँंमा ठट्टा गर्नेबाहेक अरु कुनै त्यस्तो क्षमता देख्न पाइएको छैन। प्रधानमन्त्री ओली हात बाँंधेर बसेको कांग्रेसलाई जिस्काउनमा जति शब्द खर्च गरिरहनुभएको छ त्यति नै काममा समय दिनुभएको भए यो एक वर्ष फगत सपनाका वर्ष प्रमाणित हुने थिएनन्।  ओलीले खोज्नुभएको कांग्रेस देखाउन सक्ने, बनाउन सक्ने तागत, चातुर्य, क्रियाशीलता कांग्रेसजनमा हुनुपर्छ। ओलीको कांग्रेसको खोजी प्रत्येक कांग्रेसजनको विवेकमाथि प्रहार हो। यो प्रहार सामना गर्ने हो भने कांग्रेस कुवामा बसेका भ्यागुताहरूको चरित्रबाट माथि निस्कनुपर्छ। नत्र कुवामा एकअर्काका खुट्टा तान्दै बसेका भ्यागुताहरूको सान्दर्भिकता, शक्ति र औचित्य केही पनि देखिँदैन। अनि ओली र उहाँका सहयोगीहरूले कांग्रेस कता छ भन्दै शंखनाद गर्ने अवसर सदा पाइ नै रहनेछन्।

प्रकाशित: २० चैत्र २०७५ ०३:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App