१४ असार २०८१ शुक्रबार
image/svg+xml
विचार

महाशिवरात्रिको सार्थकता

फागुन कृष्णपक्षको चतुर्दशीलाई हिन्दु धर्मावलम्बीहरू महाशिवरात्रिका रूपमा भगवान् शिव, शङ्कर, पशुपतिनाथको पूजा÷आराधना गरेर धूमधामले मनाउँछन्। हरेक महिनाको चतुर्दशी भगवान् शिवको पूजा गर्ने महान् दिन भए तापनि महाशिवरात्रि महानतम् दिन हो। हिन्दु धर्मका तीन सर्वोच्च शक्ति (ब्रह्मा,विष्णु महेश्वर) मा भगवान् शिवलाई प्रलय अर्थात् संहारका अधिष्ठाता मानिन्छ। वेददेखि लिएर पछिल्ला कालका अनेक भाषाका ग्रन्थमा भगवान् शिवको महŒवगान गरिएको पाइन्छ। यदि ती सबैलाई संग्रह गर्ने हो भने विशद् ग्रन्थ हजारौँ तयार हुन सक्छ।

अधिकांश हिन्दु देवीदेवताको पूजा दिनमा गरिन्छ तर भगवान् शिवको किन रातमा गरिन्छ भन्ने जिज्ञासा जो कसैको मनमा परेको हुन सक्छ । यो सर्वविदितै छ कि भगवान् शङ्कर संहारशक्ति अर्थात् तमोगुणका अधिष्ठाता हुनुहुन्छ। अतः तमोमय रात्रिसँग उहाँको सम्बन्ध हुनु स्वाभाविक नै हो। रात्रि संहारकालको प्रतिनिधित्व गर्छ, त्यसको आगमन हुनासाथ नै सर्वप्रथम प्रकाशको संहार हुन्छ, सम्पूर्ण जीवको दैनिक कर्मचेष्टाको संहार, इन्द्रियहरूको सामथ्र्यको संहार र अन्तमा निद्राद्वारा चेतनताको संहार भएर सम्पूर्ण विश्व संहारिणी रात्रिको काखमा अचेतन भएर  लुट्पुटिन्छ। यस अवस्थामा प्राकृतिक दृष्टिले शिवलाई रात्रिप्रिय हुनु सहज नै हृदयङ्गम हुन्छ।यही कारण हो कि भगवान शिवको आराधना रात्रिमा मात्र नभई सदैव प्रदोषको (रात्रि प्रारम्भ भएपछि) समयमा गरिन्छ।अर्को कुरा तामसी वृत्तिको उदय रात्रिमा ज्यादात्तर हुन्छ। यसैले त्यसको उपशमनार्थ यी प्रवृत्तिका अधिष्ठाता भगवान् आशुतोषको आराधना गर्ने विधान शास्त्रकारहरूले गरेका छन्। यही नै कृष्णचतुर्दशीको रात्रिमा शिवको आराधना गर्नुको रहस्य हो।

क्षयपूर्ण तिथि अर्थात् औँसीको दुष्प्रभावबाट बच्न ठीक एक दिनअगाडि नै चतुर्दशीमा भगवान् शिवको आराधना गर्ने चलन छ। त्यसैगरी वर्षको अन्तिम महिनाभन्दा एक महिनापूर्वको महिनाको पनि उपान्त्य रात्रिमा महाशिवरात्रि मनाइनुको रहस्य नकारात्मकता एवं व्याधिबाट बच्न गरिने प्रयत्न हो भन्दा फरक पर्दैन । प्रकृतिमा पनि यो महिनामा वन÷उपवनहरूमा जताततै पातहरू झरेर मानौँ भगवान् शिवको रौद्र रूपको झलक देख्न पाइन्छ। रुद्रको एघार संख्या हुनु र फागुन महिना चान्द्रमानअनुसार एघारौँ महिना पर्नुको रहस्य पनि प्रकट हुन्छ। संहारको अदिष्ठाता भए तापनि उहाँलाई शिव अर्थात् कल्याणकारक मानिन्छ। यो स्पष्ट छ कि लयमा नै उत्पत्ति गाँसिएको हुन्छ। कुनै वस्तुको विनास नभइकन नयाँ वस्तुको प्राकट्य हुँदैन । उत्पत्तिका लागि विनाश अनिवार्य छ। यसैले भगवान् शिवलाई संहारका अधिष्ठाता माने पनि उहाँ प्रकारान्तरले कल्याणका अधिष्ठाता पनि हुनुहुन्छ।

उहाँको निवासमा नन्दी, वृषभ र सिंह सँगसँगै बसेर मेलमिलापको सन्देश दिन्छन्। मयूर र सर्पसाथसाथ खेल्छन्। न्याय र प्रेमको कत्रो आदर्श! यसबाट विविध विषमताबाट त्रस्त विश्वका लागि सहअस्तित्वको राम्रो पाठ सिक्न सकिन्छ ।

महाशिवरात्रिको दिन जहाँ÷जहाँ हिन्दुहरू छन् त्यहाँ÷त्यहाँ भगवान् शिव अर्थात् पशुपतिनाथको आआफ्नै किसिमले भव्य पूजा÷आराधना गरिन्छ। कहीँ मूर्ति, मन्दिर भेट्टाइएन भने बालुवाको शिवलिङ्ग बनाएर भए पनि पूजा÷आराधना गर्छन्। बालुवा पनि भेट्टाइएन भने मानस पूजा गरेर भए पनि भगवान् शिवप्रति आआफ्नो भक्तिभाव दर्शाउने प्रचलन छ। भगवान् श्रीपशुपतिनाथको मन्दिरमा षोडशोपचारसहित भव्यरूपले पूजाअर्चना हुन्छ। महाशिवरात्रिभन्दा झण्डै आठ–दश दिनअघिदेखि नै साधुसन्त, महात्माहरूको आगमन पशुपतिक्षेत्रमा भइसकेको हुन्छ। यस दिन पशुपतिनाथको चार प्रहरको पूजा हुन्छ । रात्रिको प्रथम प्रहरमा दूधद्वारा इशान मुहारको, द्वितीय प्रहरमा दहीद्वारा अघोर मूर्तिको, तेस्रो प्रहरमा घ्युद्वारा वामदेव मुहारको तथा चौथो प्रहरमा सद्योजात मुहारको स्नान गरिने प्रचलन छ।यस दिन पशुपतिनाथको दर्शन गर्न स्वदेश तथा विदेशबाट भक्तजनहरूको बिहान सबेरैदेखि भीड लाग्छ । वैरागी, उदासी, संन्यासी, नागा आदि विभिन्न सम्प्रदायका साधुसन्त, योगी, भेषधारी जोगीहरू पनि महाशिवरात्रिका लागि टाढाटाढाबाट आइपुग्छन्।फागुनकृष्ण एकादशीदेखि फागुनकृष्ण अमावस्यासम्म भगवान् श्रीपशुपतिनाथमन्दिर प्राङ्गणमा अतिथि नागाबाबाहरू आसन जमाएर बस्छन्। उनीहरूको खानापिना र सुविधा नेपालको तर्फबाट गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले गर्नुपर्ने दायित्व छ।

भारतमा चारधाम,तीनधामको यात्रा गरेपछि भगवान् श्रीपशुपतिनाथको दर्शन पूजनपश्चातमात्र तीर्थयात्राको पूर्णाहुति गर्ने प्रचलन भएका कारण पनि महाशिवरात्रिको दिन भारतीय तीर्थयात्रीको भीडभाड अरुबेलाको भन्दा धेरै देखिन्छ।साथै भारतको प्रसिध्द मन्दिर श्रीकेदारनाथको अक्षयतृतीयाको दिन पट्ट खोल्दा सोही दिन अलग्गै तामाको घडामा जल राखिन्छ र नौ महिनासम्म विशेषरूपले पूजाअर्चना गरेर राखिएको जललाई बूढा केदारका पुजारीले पशुपतिनाथको मन्दिरमा ल्याउने र महाशिवरात्रिको दिन भगवान् श्रीपशुपतिनाथको मन्दिरमा बेलुका चार प्रहर पूजाको अवसरमा सो जलले स्नानादि गरी अर्पण गर्ने प्रचलनअद्यापि छ।

महाशिवरात्रिलाई भोग र मोक्ष दिने पुण्यदायक पर्वका रूपमा लिइएको पाइन्छ। शिवपुराणमा भगवान् विष्णुले एक पटक भगवान् शिवलाई कुन व्रतबाट उहाँ भक्तजनहरूलाई भोग र मोक्ष एकसाथ प्रदान गर्नुहुन्छ भनी सोध्दा भगवान् शिवले दशवटा व्रतको नाम लिनुभएकामा महाशिवरात्रिलाई अत्यधिक महत्व दिँदै भोग र मोक्ष चाहनेले शिवरात्रिको व्रत बस्नु योग्य छ भनी बताएको प्रसङ्गको चर्चा पाइन्छ । त्यहाँ गुरुद्रुह नाम गरेको एकजना ब्याधाले अञ्जानमै भगवान् शिवको पूजाअर्चना गर्दा उसको जीवनमा आएको परिवर्तनको कुरा पनि उल्लेख छ। अञ्जानमा पूजा गर्दा त दिव्य ज्ञान पाउन सकिन्छ भने जानेर, बुझेर उहाँको पूजाअर्चना गरियो भने के पाइँदैन ? भन्ने कुराको सङ्केत त्यहाँ दिन खोजिएको पाइन्छ।

यस दिन पशुपतिनाथमा चार प्रहरको पूजा हुन्छ । रात्रिको प्रथम प्रहरमा दूधद्वारा इशान मुहारको, द्वितीय प्रहरमा दहीद्वारा अघोर मूर्तिको, तेस्रो प्रहरमा घ्युद्वारा वामदेव मुहारको तथा चौथो प्रहरमा सद्योजात मुहारको स्नान गरिन्छ ।

पुराणहरूमा भगवान् शङ्करमा अनेक किसिमका विरोधी भावहरूको अनुपम सामञ्जस्य स्थापना गर्ने अधिष्ठाताका रूपमा चित्रित गरिएको छ। यस्तो अद्भूत समन्वय जसको जीवनमा पाइन सक्छ उही नै निन्दा स्तुतिमय हलाहललाई पचाएर अमरत्व प्राप्त गर्न सक्छ। शिव नारीश्वर हुनुहुन्छ परन्तु उहाँजस्तो कामविजेता आजसम्म कोही प्रकट भएको देखिन्न। उहाँ गृहस्थ भएर पनि गृहस्थ होइन, श्रीकण्ठ भएर पनि ‘श्री’ बाट धेरै टाढा, ऋध्दिसिध्दिका स्वामी भएर पनि त्यसबाट पराङमुख, उग्र भएर पनि सौम्य, अकिँचन भएर पनि सर्वेश्वर, भयङ्कर विषधर र सौम्य सुधाकर दुवैले उहाँको शरीरमा शोभा बढाएका छन्।निधारमा प्रलयकालिक बह्नी (अग्नि) र शिरमा हिमशीतल जाह्नवी धारा उहाँको अनुपम शृङ्गार हो। उहाँको निवासमा नन्दी, वृषभ र दुर्गाको बाहन सिंह सँगसँगै बसेर मेलमिलापको राम्रो सन्देश दिन्छन्। पारिवारिक सदस्य मयूर र सर्प सहज बैरलाई बिर्सेर साथसाथ खेल्छन्। न्याय र प्रेमको कत्रो आदर्श! यसबाट विविध विषमताबाट त्रस्त एवं आजित भएको विश्वका लागि सहअस्तित्वको राम्रो उदाहरण प्रस्तुत हुन्छ।समुद्रमन्थनबाट निक्लेको कालकूट विषले ब्रह्माण्डलाई विषमय तुल्याउन सक्ने देखेर कालकूट विष ग्रहण गरी विश्वब्रह्माण्ड बचाउने त्यस्तो त्यागमय, उदार विचारका प्रवर्तक शिवको महान् गुणहरूको केही अंशमात्रै हामीले आफ्नो जीवनमा ल्याउन सक्यौँ भने दिनानुदिन बढ्दै गइरहेको स्वार्थीपन, ‘ममात्र बाँचु अरु जेसुकै होउन्’ भन्ने निकृष्ट भावना घटाउन, हटाउन मद्दत पुग्ने देखिन्छ।

शिवरात्रि यिनै महान् देवाधिदेव भगवान् शिव, महादेव, शङ्कर, पशुपतिनाथको आराधनाको प्रमुख पर्व हो। यस्ता अनुपम गुणशाली देवको आराधना गर्दै, उनको आदर्श चरित्रको कीर्तन र पारायण गर्दै यदि उनको आदर्शको केही अंशमात्र पनि ग्रहण ग¥यौँ भने कति कल्याण हुने होला कल्पना गरौँ त ! स्वार्थपरता, अहंमन्यता र विलासिताले हाम्रो जीवन खोक्रो बनाइरहेको छ। त्यसबाट उन्मुक्त भएर त्यागमय, सेवामय जीवन व्यतीत गर्ने हो भने मनुष्य जीवनको आनन्द र सौन्दर्य सहजरूपमा प्राप्त गर्न सक्छौँ। महाशिवरात्रिलाई व्रतहरूमा सबैभन्दा प्रमुख अर्थात् व्रतराज मानिन्छ। यो परम पावन दिनमा कस्तो व्रत बस्ने  वा कस्तो संकल्प गर्ने ?  स्नान, पूजापाठ तथा फलफूलादि ग्रहण त गरौँला तर त्यसभन्दा पनि ठूलो व्रत त ‘दया, माया, करुणा, अहिंसा, सद्भाव, न्याय, मैत्रीभावलाई सम्मान गरेर मानवतालाई आत्मसात् गर्छु, पृथ्वीका सम्पूर्ण जीवलाई ईश्वरको स्वरूप सम्झेर तिनको अस्तित्वको ख्याल गर्छु, मातृभूमिको चातुर्दिक विकासमा इमानदारीसाथ आफ्नो गच्छे, क्षमता, योग्यताले भ्याएसम्म योगदान पु¥याउँछु, सकारात्मक सोचका साथ जे काम गर्छु त्यसले राष्ट्रको प्रतिष्ठालाई अभिवृध्दि गर्ने काममात्रै गर्छु’ भन्ने सङ्कल्प लिएर कर्म क्षेत्रमा जुट्न सके नै महाशिवरात्रिजस्तो पर्वको युगान्तकारी महत्व हुन सक्छ ।अनि व्रतराजको महानता प्रष्टिन सक्छ। नत्र हरेक वर्ष महाशिवरात्रि आउँछ÷जान्छ। औपचारिकतामै समाप्त हुन्छ, जसको कुनै अर्थ हुँदैन।महाशिवरात्रिको धार्मिक, आध्यात्मिकरूपले अनगिन्ती महŒव रहेको सन्दर्भमा यसलाई अरु उजागर गरेर बढीभन्दा बढी तीर्थयात्री पशुपतिनाथ मन्दिरमा आउने तथा उनीहरूका लागि आवश्यक सरसुविधाको विकास गर्न सक्यौँ भने धार्मिक पर्यटन प्रवर्धनमा समेत हाम्रा चाडपर्वको अतुलनीय योगदान पुग्ने कुरा मननीय छ ।

प्रकाशित: २० फाल्गुन २०७५ ०३:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App