२ भाद्र २०७९ बिहीबार
विचार

प्रजातन्त्र हुँदै लोकतन्त्र, अब जोकतन्त्र

नेपालको राजनीतिक रङ्गमञ्चमा चलेका जनआन्दोलन, जनक्रान्ति र संघर्षमध्ये २००७ को क्रान्ति नेपालको लोकतान्त्रिक आन्दोलनको उदय गराउने तिथि हो। नेपाली जनता रैतीबाट नागरिकमा रूपायित हुन जुर्मुराएको यो जनचेतना दिवसले मध्ययुगीन जर्जर सामन्ती सोच, अभिवृत्ति र चिन्तनमाथि विद्रोह बोल्न सिकाउने क्रान्तिकारी शिक्षकको भूमिका निभाएको छ। जसले आधुनिक राजनीतिक संस्कृतिको राजमार्ग देखाउँदै लोकतान्त्रिक अभियानमा हिँड्ने प्रशिक्षण पनि दिन सक्यो। 

यो स्वर्णिम दिन ल्याउन धेरै नेपाल आमाका सन्ततिहरूले सामाजिक, आध्यात्मिक, राजनैतिक, बौद्धिक र सांस्कृतिक क्रान्तिका कित्ता सम्हालेर आपूmलाई बलिवेदीमा होमेका थिए। जब्बर एकाधिकारवादी श्री ३ जङ्गबहादुरदेखि मोहन शमशेरसम्मका नौ शक्तिशाली राणा प्रधानमन्त्रीका दमनकारी, बर्बर र क्रूर यातनासित पौँठीजोरी खेल्न परेको थियो नेपाल माताका सपूतहरूले। वास्तवमा नेपालको यो क्रान्ति अहिलेसम्म चलेका जनपक्षीय संघर्ष, आन्दोलन, विद्रोह र समग्र अभियानहरूको स्रोत, ओत वा गुरु गीता हो। जसले जनतान्त्रिक मूल्यमान्यताको अभिवृत्तिको क्षितिजलाई देखायो। 

महाचतुर एवं महत्वाकांक्षी जङ्गबहादुरले १९०३ मा कोतपर्वको घटना घटाएपछि त्यति बेलादेखि चलेको पारिवारिक निरंकुश राजको एक सय चार वर्षे त्रासदी सत्ता बल्ल बल्ल विश्राम लिन पुग्यो, २००७ फागुन ७ गते। लहडी, निरंकुश र चरम स्वच्छन्द जङ्गबहादुर ‘म नै कानुन हुँ, म नै राज्य हुँ’ भन्नेकै संस्करण जस्ता थिए। उनका पुराना अङ्गरक्षक खड्गसिंह गुरुङको भनाइमा— ‘जङ्गबहादुरको विशेष सोख हात्तीमा, जुवामा, पहलमानको तमासा हेर्नेमा, मैथुनमा र लागु पदार्थमा बढी केन्द्रित थियो।’ इतिहासकारहरूका इतिवृत्तान्त हेर्दा यिनका ४ दर्जनभन्दा बढी घोषित रानी थिए भने अरु अवैध श्रीमती त कतिकति। 

कहाँसम्म भन्नु— छ महिना युरोप भ्रमण गरेर काशी आउँदा काशीमै एउटी केटीसित बिहे गर्ने इच्छा उनमा जाग्यो र लगत्तै त्यहीँका एक रजौटाकी छोरीसित लगनगाँठो बाँधे। यिनी अत्यन्त कामुक भएकाले कन्या, सधवा, विधवा केही पनि हेर्दैन थिए। बालनरसिंहकी दोस्री पत्नी गणेशकुमारी माथवरसिंहकी बहिनी थिइन्। यिनैबाट वीरनरसिंह (पछि जङ्गबहादुर राणा बनेका) समेत सात जना छोरा जन्मेका थिए। सानैदेखि जङ्गबहादुर चरम दुस्साहसी भएकैले यिनको जीवनी अद्भुत बन्न गएको इतिहासको अध्ययनले देखाउँछ।  शक्तिशाली पात्रहरूसित कुन बेला विश्वासिलो बन्ने र कतिखेर कत्लेआम गर्न पनि तयार हुने भन्ने कुरामा यिनी खुबी र दुस्साहस राख्थे। 

एक शताब्दीभन्दा लामो कुशासन फालेर नेपालमा लोकतन्त्रको झुल्के घाम लगाउन धेरै क्षेत्रका अगुवाहरूले जोखिम मोलेका थिए। नेपाल आर्य समाजका संस्थापक माधवराज जोशी आफ्ना गुरु दयानन्द सरस्वतीबाट प्रभावित भई तत्कालीन नेपालको विभेदकारी जर्जर सामाजिक संरचनामा सुधार गर्न कसिए। राणाहरूले कुटपिट गरी दुई वर्ष जेल ठोसी पुनः देशनिकाला गरिदिए। उनले जातपात, उचनीच र कर्मकाण्डको जालो तोडेर नेपाली समाजलाई परिष्कार गर्न भगीरथ यत्न गरे। 

पुनः १९७० पछि नेपाल आई सक्रिय भए। त्यसै गरी सैनिक सेवाबाट निवृत्त खड्गमान सिंह बस्नेतले रङ्गनाथ शर्मा, उमेशविक्रम शाह, लक्ष्मण राजा, मैनाबहादुरजस्ता योद्धाहरू सम्मिलित प्रचण्ड गोर्खा नामक संस्था १९८८ मा स्थापना गरे। जसको उद्देश्य नेपालमा संसदीय प्रणाली, संसदीय राजतन्त्र र बहुदलीय प्रजातन्त्र स्थापना गर्ने थियो। जनचेतनाका तगारा चन्द्रशमशेर, जुद्धशमशेर र तिनका भरौटेहरूलाई ठेगान लगाउन १९९४ मा नेपाली नागरिक अधिकार समिति स्थापना गरी सहिद शुक्रराज, राजलाल कलवार, केदारमान व्यथित, पण्डित मुरलीधर आदिले जनचेतनाको बिगुल फुके। महावीर स्कुलको स्थापनाले राणाहरू अत्तालिएर बन्दै गरे। यसै गरी राजनीतिज्ञ टङ्कप्रसादको नेतृत्वमा नेपाल प्रजापरिषद्, नेपाली राष्ट्रिय काङ्ग्रेस, नेपाल प्रजातान्त्रिक काङ्ग्रेस, नेपाल कम्युनिस्ट पार्टीजस्ता राजनीतिक शक्ति गृहहरूले धेरै सहिद र योद्धा जन्माए। भारतीय स्वतन्त्रता संग्राममा समेत क्रान्तिकारी रोल निभाएका बीपीलगायतका जनपक्षीय नायकहरूको भूमिका उत्तिकै उल्लेखनीय छ।

यसरी हाम्रा स्वतन्त्रताप्रेमी वीर पुर्खाहरूले रगत, पसिना, बौद्धिक चिन्तन र बलिदान दिएर ल्याएको लोकतान्त्रिक संस्कारलाई सात दशक पुग्न लाग्दा पनि अझै व्यवस्थित गर्न सकेका छैनौँ। गणतन्त्र आइसकेपछि पनि शासनको बागडोर सम्हाल्नेहरू स्वच्छन्दवादी राणा र विलासप्रिय महाराजकै गलत बाटोमा रिङ्दा नेपालमा लोकतन्त्र संस्थागत हुन नसकेको हो। संविधान अत्यधिक बहुमतले निर्माण गरेर पनि त्यसको सही कार्यान्वयनको अनुपालन स्वयं सत्तासीन र प्रतिपक्षीहरूबाट नहुनु राष्टकै लागि अभिशाप गौरवमय अतीतमाथिको अन्याय हो। 

जनतान्त्रिक र जनवादका शब्दहरूको खोलभित्र जङ्गबहादुररूपी फोहोर डुङडुङ गनाइनु हुन्न। राष्ट्रियता, राष्ट्रिय अखण्डता र सार्वभौमसत्ता नै सधैँ जोखिममा रहनु नेपालीहरूका लागि पेचिलो अध्याय हो। अतः नेपालमा लोकतन्त्रको स्वर्णिम युग ल्याउने यो तिथिमा सबै नायक र बुज्रुक जमातले छातीमा हात राखेर देश जोगाउन र यही तिथिले दिएको राजनीतिक कार्यक्रमलाई प्रयोगमा बदल्नु आजको आवश्यकता हो। अतः जिम्मेवार दलहरूले आत्मनिरीक्षण, आत्मपरीक्षण र आत्मशोधन गरेर हिजोको निकृष्ट स्वार्थरूपी पाप पखाल्ने हिम्मत गर्नैपर्छ। भनिएको पनि छ— ‘महाजनो येन गतः सः पन्था।’ यसैले भ्रष्ट, तस्कर, बलात्कारी र हिंसावादीलाई प्रतिकारात्मक दण्ड दिएर समाजबाट अराजकता र उच्छृङ्खलताको कलङ्क मेट्नैपर्छ। यही जनवादी आचरण, संस्कार र व्यहार देखाउनु नेपालको यो क्रान्ति दिवस भव्यतासाथ युगयुगसम्म मनाउनु लोकतन्त्रप्रतिको यथार्थ निष्ठा हो। 

प्रकाशित: ५ फाल्गुन २०७५ ०८:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App