२३ श्रावण २०७९ सोमबार
विचार

कम्युनिस्ट होइन, कन्फ्युसियाली चीन

नयाँ शीतयुद्ध ? को बीच ? चीन र अमेरिका सम्बन्ध जब–जब संकटमा पर्छ, तबतब नयाँ शीतयुद्धको चर्चा चल्न थाल्छ। पुरानो शीतयुद्ध समाप्त भएको तीन दशक पुग्न लाग्दा त्यो धङधङीबाट विश्व राजनीति मुक्त हुन सकेको छैन तर अमेरिका र चीनबीच भविष्यमा युद्ध हुनसक्ने आँकलन अन्तर्राष्ट्रिय मामलाका जानकारहरू बताउँछन्। तर यहाँ यस्तो पुस्तक छ जसले वैचारिक ध्रुवमा बाँडिएको अति जटिल शीतयुद्धको चरमोत्कर्षमा विकसित चीन अमेरिका सम्बन्धको जीवित दस्तावेज हो। सन् १९७२ मा राष्ट्रपति रिचर्ड निक्सनले चीनको भ्रमण गर्दा जारी संयुक्त विज्ञप्तिको अवसरमा प्रधानमन्त्री चाउ एन लाइले भनेका थिए “यसले संसार हल्लाउँछ” साँच्चै त्यो भाषणले विश्वको भूराजनीतिक नक्सा नै बदलिदियो।

त्यो दिन संसार परिवर्तन भयो। त्यही परिवर्तनदेखि अहिलेसम्मको उतारचढावपूर्ण चीन–अमेरिका सम्बन्धका प्रत्यक्ष साक्षी पूर्वअमेरिकी विदेशमन्त्री हेनरी किसिन्जरको “अन चाइना” पुस्तक त्यो सम्बन्धको जीवित दस्तावेज हो। राष्ट्रपति निक्सनका राष्ट्रिय सुरक्षा सल्लाहकार हेनरी किसिन्जर ती राजनेतामा पर्छन् जसका प्रत्येक शब्द गम्भीरताका साथ लिइन्छ। चीनसँग सम्बन्ध विस्तारका लागि उनी सन् १९७१ मा पाकिस्तानको रावलपिण्डीबाट चीन गएका थिए “पिङपङ कूटनीति” नाम दिइएको यो घटनापश्चात् चीनले कहिल्यै पछाडि फर्केर हेर्न परेन। अध्यक्ष माओ र प्रधानमन्त्री चाउ एन लाइसंँग वार्ता गरेर निक्सनको भ्रमणको तयारी गरेका किसिन्जरको यो पुस्तक केही संस्मरण, केही इतिहास र विश्व कूटनीतिको विवरण भएको आधिकारिक दस्तावेज हो।

अहिले चीन कम्युनिस्ट होइन, कन्फ्युसियाली भएको छ। चीनमा राष्ट्रवादको धारणा प्रबल छ। चीनका सैनिक र राजनीतिक नेताहरू आफ्नो राष्ट्रलाई विश्वको पहिलो स्थानमा राख्ने मत दिन्छन्।

सन् १९१७ मा साम्यवादी विजय भएपछि विश्व राजनीतिमा वैचारिक ध्रुव सिर्जना गरेर सोभियत संघ शक्तिशाली बन्यो। तर सन् १९४९ मा स्वतन्त्र भएको चीनसँग वैचारिक समता हुँदाहुँदै सोभियत संघको भू–राजनीति चीनसँग मिलेन। दुवैै राष्ट्र बीच उरुसी नदीमा सीमा युद्धसमेत भयो। चीन “साम्राज्यवादी अमेरिकाको विरोधी त थियो। तर सोभियत रणनीतिसँग आफ्नो राजनीति नमिलेपछि माओ दुइटा महाशक्तिको सामना गर्नुपर्दा असुरक्षित बनेका थिए। जापानसँग पनि त्रस्त थिए। भारतसँग अरुणाचल प्रदेशमा सीमा विवाद चलिरहेको थियो। सन् १९५९ मा तिब्बतका राजा दलाई लामा भारतमा पलायन भएपछि समस्या झन् चर्कियो। साम्यवादी प्रस्तावनाको आदर्शअनुसार चिनियाँ समाज चलाउने उनको जोसमा कमी आएको थिएन। विभिन्न सामाजिक राजनीतिक प्रयोगहरू पनि गरिरहेका थिए। अमेरिका भियतनाम युद्धमा फसेको थियो। कोरियाली युद्धमा उत्तर कोरियाको पक्षमा चीन उभिएको थियो। यस्तो तनावपूर्ण अवस्थामा माओ चीनको सुरक्षा र स्थायित्व चाहन्थे। उता अमेरिका साम्यवादी चीनलाई सोभियत धुरीबाट अलग गर्न चाहन्थ्यो। जस्ले गर्दा विश्व भूराजनीतिमा सोभियत शक्तिलाई रोक्न सफलता मिलोस्। यही मौका छोपेर हेनरी किसिन्जरले चीन–अमेरिका सम्बन्ध सुधार्न आफ्ना सहयोगीहरूसहित पहल गरे। त्यसपछि परिणामस्वरूप आज चीन अमेरिका सम्बन्ध नछुटिने गरी जोडिएको छ। किसिन्जर पुस्तकमा माओको निधनपछि अविनाशीरूपमा पुनः उदाएको देङको कार्यकालको पनि चर्चा गर्छन्। देङको जिमी कार्टर राष्ट्रपति हुँदा भएको अमेरिका भ्रमणको चर्चा गर्छन्। यस सम्बन्धबाट अमेरिकाले चीनलाई विज्ञान, प्रविधि र लगानी दियो। भूराजनीतिक रूपमा दुई राष्ट्र साझेदार भए। ताइवानलाई मान्यता दिएको अमेरिकाले चीनलाई मान्यता दियो।

सम्बन्ध सामान्य हुँदै गएपछि ताइवान स्वतन्त्रताको प्रश्न, तिब्बत मामला, मानव अधिकार, व्यापारिक सम्बन्ध र अहिले आएर दक्षिण चीन समुद्रको टापुहरूमाथि छिमेकीहरूको दाबीलाई लिएर चीन अमेरिकाबीच द्वन्द्व जारी छ। देङपछि चीनका सबै राष्ट्रपतिहरूले अमेरिका भ्रमण गरेका छन्। सन् १९९० मा सोभियत साम्यवादको पतन र विघटनपछि पनि चीन साम्यवादी दलको शासनअन्तर्गत भए पनि त्यहाँ परिवर्तन भएन। सन् १९८९ मा विद्यार्थीहरूको तियानमेन चोकको आन्दोलन हुँदा त्यसमाथि बलपूर्वक दमन गरिएको थियो। चिनियाँ चरित्रसहितको समाजवादसँगै चार सुधारहरू गर्ने देङ अचानक तानाशाह कहलिए। यसले चीन–अमेरिका सम्बन्धमा दरार उत्पन्न गर्‍यो। पछिबाट पुनः सम्बन्ध सामान्य भयो। भनिन्छ, माओले चीनलाई स्वतन्त्र बनाए। देङले सम्पन्न बनाए। राष्ट्रपति जियाङ जमिनले अन्तर्राष्ट्रिय प्रतिष्ठा दिलाए। विगत ४५ वर्षमा चीनले ७० करोड मानिसहरूलाई गरिबीबाट मुक्त दिलाएको छ। यसको श्रेय किसिन्जर देङलाई दिन्छन्। सुुरुमा उनी चीनको कन्फ्युसियाली कूटनीति र विश्व व्यवस्थाको विवरण दिन्छन्। अहिले चीन कम्युनिस्ट होइन, कन्फ्युसियाली भएको छ। चीनमा राष्ट्रवादको धारणा प्रबल छ। चीनका सैनिक र राजनीतिक नेताहरू आफ्नो राष्ट्रलाई विश्वको पहिलो स्थानमा राख्ने मतहरू दिन्छन्। यिनै भावनाको विकास कसरी एउटा गरिब र युरोपेली उपनिवेशवादीहरूबाट सताइएको राष्ट्र त्यहाँसम्म पुग्यो भन्ने कथा हो, यो पुस्तक। आज चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र र सबैभन्दा बढी विदेशी मुद्रा सञ्चित गर्ने राष्ट्र भएको छ। चीन सन् ५० सम्म हरेक क्षेत्रमा अमेरिकाको दाँजोमा पुग्नेछ।

उसले यो अवसर प्राप्त गर्नका लागि अमेरिकासँगको सम्बन्ध महत्वपूर्ण कारक हो। बेलायतका पूर्वप्रधानमन्त्री टोनी ब्लेयरका अनुसार सन् ५० सम्म विश्व पूर्णरूपमा बहुध्रुवीय हुनेछ। जसमा अमेरिका, चीन र भारत महाशक्तिको भूमिकामा रहनेछन्। अहिले चीन–अमेरिकाबीच व्यापार युद्ध मत्थर पार्न प्रयत्न भइरहेको छ। किसिन्जर भविष्यमा चीन अमेरिका युद्ध भएमा शताब्दीकै युद्ध हुनेछ पनि भन्छन्। उनले पुस्तकमा यो संकटलाई टार्न एसिया प्रशान्त समुदाय जसमा जापान, भारत र अस्ट्रेलिया मिलेर अघि बढ्नुपर्ने राय पनि दिन्छन्। चीन ५ हजार वर्षको लिखित इतिहास बोकेको विशेष सभ्यताको मुलुक भएको विवरण किसिन्जर दिन्छन्। उनी चीनको विश्वको केन्द्रमा रहेन “मध्य अधिराज्य”को ग्रन्थीको पनि चर्चा गर्छन्। तर प्रसिद्ध दार्शनिक फ्रान्सिस फुकुयामा चीनको कन्फ्युसियाली इतिहास र समाज स्थानीय भएकाले यसलाई पश्चिमीकरण जस्तो विश्वव्यापी बनाउन नसकिने धारणा राख्छन्।

आज चीन उत्तरकोरियाको आणविक निशस्त्रीकरणदेखि इरान आणविक सम्झौतासम्म महत्वपूर्ण भूमिका खेल्छ। अफ्रिकामा लगानीमार्फत नवउपनिवेश सिर्जना गर्न लागेको आरोप पनि छ। राष्ट्रपति निक्सनदेखि बाराक ओबामासम्म चीनका माओदेखि सी जिङ पिङसम्म सबैलाई सल्लाह दिन भ्याइसकेका किसिन्जर अन्तर्राष्ट्रिय मामलामा यथार्थवादी विचारधाराका अभ्यासकर्ता हुन्। जहाँ ठूलाठूला आदर्शहरूको कुनै स्थान छैन। हार्वर्ड विश्वविद्यालयमा २० वर्ष प्राध्यापन गरेका किसिन्जरको यो पुस्तक चीन अमेरिका सम्बन्ध बुझ्न चाहनेहरूका लागि खजाना साबित हुनेछ। माओदेखि वर्तमानसम्म चीनको विश्व कूटनीतिमा भएको महत्वपूर्ण उदयलाई सविस्तार व्याख्या गरेका छन्। पल केनेडीले सन् १०८० मा “दि राइज एन्ड फलअफ ग्रेट पावर्स” पुस्तक लेखी अमेरिकाको क्षय हुने संकेत गरेका थिए। त्यो क्षय चीनको कारणले नै आउने त होइन भन्ने प्रश्न आज टड्कारो छ। राष्ट्रहरू सैनिक र आर्थिक शक्तिले आफ्नो गन्तव्य तय गर्छन्। चीनको यही गन्तव्यलाई उनले सविस्तार व्याख्या गरेका छन्।

प्रकाशित: २५ माघ २०७५ ०९:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App