बुद्ध र बौद्ध धर्मसम्बन्धी चर्चा हुँदा रामबहादुर बम्जन के हो भन्ने जिज्ञासा राख्नेहरू पनि छन्। सिद्धार्थ (गौतम बुद्धको गृहस्थ नाम) कोे महाभिनिष्क्रमण र बुद्धत्वप्राप्तिबीच ६ वर्षको अन्तर छ। केहीलाई लाग्दोरहेछ– उनले ६ वर्षसम्म कठोर तपस्या गरी बुद्धत्व लाभ गरेका थिए र बुद्ध बने। तर वास्तविक कुरा त्यस्तो होइन। सिद्धार्थले कठोर तपस्या गरेका त थिए तर त्यसअघि विभिन्न गुरुकहाँ पुगी धर्म दर्शन तथा साधनाका कुरा अध्ययन गरेका थिए।पछि तपस्चर्या गर्दा पनि केही नखाइ तपस्या गरेका थिएनन्, खानाको मात्रा घटाउँदै लगेकामात्र थिए। तर यस्ता साधनाले ज्ञान प्राप्त नहुने निष्कर्षमा पुगी पूर्ववत् चाहिँदो मात्रामा खाना खान थालेका थिए। यसप्रकार निराहार बसी शरीरलाई कष्ट दिने अभ्यास वा दृष्टिकोण बौद्ध धर्मअनुसार मिथ्यादृष्टि हो। सिद्धार्थले खाना नखाई तपस्या गरेको भन्ने जानकारीमात्र भएको र रामबहादुर बम्जनले पनि खाना नखाइ तपस्या गरेको भनेर उनलाई बुद्धको अवतारका रूपमा लिन पुगेको हो।
बाराको हलखोरिया जंगलमा लामो समयदेखि केही नखाइतपस्या गरेर बसेको भन्दै चर्चामा आउँदा नेपाली मिडियाले उनलाई बुद्धको अवतार भनेर प्रचार गर्नुले नेपाली सञ्चारकर्मीको ज्ञानको दायरा बताउँछ। ती सञ्चारकर्मीका सामाजिक तथा धार्मिक पृष्ठभूमि हिन्दु भएको र यो धर्मले अवतारका कुरालाई मान्ने भएका कारण त्यस्तो प्रभाव परेको हुनसक्छ। तर बौद्ध धर्ममा बुद्धको अवतार भन्ने नै हुँदैन। यस प्रकरणले धर्मको रिपोर्टिङ गर्न तम्सेका ती सञ्चारकर्मीमा बौद्ध र हिन्दु दुवै धर्म दर्शनको आधारभूत ज्ञान नै नभएको प्रष्ट भयो। सञ्चारकर्मीका कमजोरीलाई व्यक्तिगत भन्न सकिएला तर ‘न्युजरुम’ हुँदै सम्पादनको प्रक्रियाबाट गुज्रेर ती सञ्चार सामग्री बजार आइपुग्नु सम्वेदनशील कुरा हो। बौद्ध धर्ममा बुद्धको अवतार भन्ने कुरा हुँदैन, अर्को बुद्ध आउनुको पनि अघिल्लोको अवतार नभएको बुझ्नुपर्छ। अब निकट भविष्यमा आउने बुद्धको नाम मैत्रेय भएपनि अघिल्लो बुद्धको शासन हुन्जेल आगमन हुँदैन भनेर बौद्धहरूले भन्दा पनि त्यसलाई बेवास्ता गरी उही कुरा दोहोर्याइरहनु नेपाली मिडियाको ठूलो लापरबाही, गल्ती र सम्वेदनशील हुन नसक्नु हो।
त्यसपछिका दिनहरूमा सर्वसाधारण मात्रै नभएर स्वयं बौद्धहरू पनि भ्रममा परे र बौद्ध भिक्षुहरू पनि त्यतातिर ओइरिए। अरु त अरु, सही तथ्य पत्ता लगाउने भन्दै संस्कृति मन्त्रालयले ज्यादै हाँस्यास्पद काम पनि गर्यो। रामबहादुर बम्जमका सम्बन्धमा अध्ययन गर्न बनाएको एक कार्यदलमा लुम्बिनी विकास कोषका पुरातŒवविद्, त्रिभुवन विश्वविद्यालयका बौद्ध अध्ययन विभागका प्राध्यापक र अन्यलाई राखेर हलखोर पठाइयो। जमिन उत्खनन गरेर पुराना वस्तुको अध्ययन गर्ने विद्या पाएको मान्छेले कोही मान्छे बुद्ध हुन् वा होइनन् कसरी जाँच्ने हो उनीहरू नै जानून्। बौद्ध अध्ययनको प्राध्यापक हुँदैमा बुद्ध हो वा होइन भन्ने जाँच्ने क्षमता हुँदैन भन्ने कुरा ती प्राध्यापक आफँैले बुझ्नुपर्ने हो किनभने बुद्ध त के, अर्हत्लाई पनि अर्हत्ले मात्रै चिन्न सक्ने कुरा बौद्ध शास्त्रहरूमा उल्लेख पाइन्छ।
बाराको हलखोरिया जंगलमा लामो समयदेखि केही नखाइतपस्या गरेर बसेको भन्दै चर्चामा आउँदा नेपाली मिडियाले उनलाई बुद्धको अवतार भनेर प्रचार गर्नुले नेपाली सञ्चारकर्मीको ज्ञानको दायरा बताउँछ।
सुरुका दिनदेखि नै धेरै कुरा रहस्यमय थिए। तिनीमाथि निगरानी राख्न खोज्नेलाई रामबहादुर स्वयंले हातपात गरेको, हातहतियार राखेर हिँडेको, विदेशी महिला अनुयायीलाई आश्रमभित्रै बन्धक बनाएको जस्ता विभिन्न घटनाले उनी बेलाबेलामा चर्चामा आइराख्थे। केही अनुयायी बेपत्ता र एकको हत्यासमेत भएको भनी प्रहरीमा परेका उजुरीपछि धेरै कुरा छताछुल्ल हुन पुग्यो। देशका विभिन्न ठाउँमा ठुल्ठूला आश्रम बनिसकेका रहेछन् तर ती विधिवत् दर्ता होइनन्। यति धेरै घटना भइसक्दा पनि उनी र उनका अनुयायीमाथि निगरानी हुन नसक्नु राज्यको लापरबाही हो।
केही नैतिक वा आदर्शका कुरा मिल्दोजुल्दो हुनासाथ त्यसलाई ‘लेबलिङ’ गरिहाल्ने सतही प्रवृत्ति हामीसँग छ। रामबहादुरका केही कुरा बुद्धसँग मिल्दैमा तिनलाई बुद्ध र बौद्ध धर्मसँग जोडेर हेरिहाल्नु हुँदैन। उनी र उनका अनुयायीहरूकै अनुसार पनि यो बौद्ध धर्म होइन। यही भएर अनुयायीहरू आआफ्नो घरमा फर्की परम्परागतरूपमा राखिएका बौद्ध धर्मग्रन्थहरू नष्ट गर्न थालिसकेका छन्। उनले बोधि श्रवण धर्म संघ नाममा यसलाई संस्थागत गरेको पाइन्छ। र, मैत्री धर्म नाम दिइएको छ। यस्तै गरी रामबहादुर बम्जनलाई गुरु मान्नेहरू उनलाई बोधी मार्ग दर्शनको प्रतिपादक ठान्छन्। यो बौद्ध धर्मभन्दा फरक रहेको भन्दै केही यहाँबाट फर्केका पनि पाइन्छ।
जमिन उत्खनन गरेर पुराना वस्तुको अध्ययन गर्ने विद्या पाएको मान्छेले कोही मान्छे बुद्ध हुन् वा होइनन् कसरी जाँच्ने हो उनीहरू नै जानून् । बौद्ध अध्ययनको प्राध्यापक हुँदैमा बुद्ध हो वा होइन भन्ने जाँच्ने क्षमता हुँदैन भन्ने कुरा ती प्राध्यापक आफैँले बुझ्नुपर्ने हो ।
बिनाआहार जंगलमा तपस्या गरेर बसेको घटनालाई थाती राखेर त्यसपछिका घटना प्रवृत्ति नियाल्दा कुनै अज्ञात ठाउँबाट बौद्ध धर्मविरुद्ध उनी प्रयोग भएका पो हुन् कि भन्ने शंका गर्ने ठाउँ दिएको छ। यसलाई बुद्ध र बौद्ध धर्मसँग जोडेर प्रचारमा ल्याइनुमा कतै नेपाली सञ्चारजगत नै पनि नजानिँदो पाराले प्रयोग हुन पुगेको छ। बम्जन तामाङ जातीय समुदायको एक थर हो। सुरुदेखि नै उनका सहयोगीहरू तामाङ जातिका रहेका छन्। आफ्नो तामाङ जातिको एक सदस्य बुद्ध बनेको भन्दै नेपाल तामाङ घेदुङका पदाधिकारी संस्थागतरूपमै त्यहाँ पुगेका थिए र उनीमाथि विवाद वा समस्या आइपर्दा घेदुङ रक्षाकवचका रूपमा उभिने गथ्र्याे। जातीय रूप दिएको यो परिघटनाले तामाङ जनजातिलाई धेरै मात्रामा आकर्षित गरेको पाइयो। रामबहादुरका नाममा घरवार छाडेर अनुयायी बन्न जानेहरूमातामाङ समुदाय नै बढी रह्यो। नेपालका तामाङ जातिमध्येअधिकांश वज्रयानअन्तर्गत निङ्मा उपसम्प्रदाय (तिब्बत) का अभ्यासी हुन्।
रामबहादुर बम्जनका बारेमा बेलाबेलामा बाहिर आउने समाचारमा मात्रै नभएर जनमानसमा पनि ‘बुद्ध’ र‘लिटिल बुद्ध’ जस्ता शब्दको प्रयोगले प्रशस्त मात्रामा भ्रम फैलायो। उनले के÷कस्तो शिक्षा दिए वा ध्यान विधि के÷कस्तो हो, यी यावत् विषयमा छलफल र खण्डनमण्डन पनि गर्न सकिन्छ। तर उनी आफैँले आफूलाई बुद्ध र बौद्ध धर्मसँग सम्बन्धित होइन भनेपछि पनि सोहीरूपमा चित्रण गरिरहनुको आशय बुद्ध र बौद्ध धर्म सम्बन्धमा अल्मल्याउने योजना पो हो कि भन्ने शंका गर्ने ठाउँ भने छ।
प्रकाशित: १७ माघ २०७५ ०४:१३ बिहीबार

