१९ मंसिर २०७९ सोमबार
विचार

पृथ्वीसुब्बा, यौन बजार र बैंककको अनुभव

थाइल्यान्डको बैंकक सहर र पटायाबीचका यौन व्यवसाय तथा मसाज गर्ने ठाउँहरू र त्यसमा संलग्न मानिसहरू देख्दा लाग्छ, पूरै सहरभरिका सबै मानिस यस्तै हुँदा हुन्, तर त्यसो होइन रहेछ। पर्यटनका माध्यमले विकास गर्न सकिन्छ र पर्यटक पाउरोटी टोक्दै सहरका गल्लीहरूमा लुखुर लुखर हिँड्नका लागि मात्र आउँदैन बरु वर्षमा एकचोटि आफ्ना जीवनका मूल आदर्शहरूसँग खेलबाड गर्न र अर्कै संसारमा हराउन चाहन्छ भन्ने कुरा थाइल्यान्डले आत्मसात् गरेको रहेछ र त्यहीअनुसारको मेनु बनाएको रहेछ। 

बैंकक सहरमा उभिएका गगनचुम्बी टावरहरू हेर्दा लाग्छ, यिनीहरूले कहिल्यै पनि सन् २०१५ मा नेपालले भोगेको जस्तो भुइँचालो देखेनन्। पूरा ९ दिन बस्दा प्रायःजसो स्यान्डल प्रयोग गरे। घरबाट धोएर लगेको स्यान्डल त्यति दिन लगाएर फर्किंदा पनि मैलो भएन। यता हरेक हप्ता जुत्ता र स्यान्डलहरू धुनुपर्छ र हरेक दिन धुलो झार्नुपर्छ। थाइल्यान्डबारे प्रायः हरेकले सुनेका यौन बजारका कुरा पनि गरौँ। बैंकक र पटाया सहर यौन व्यवसायका लागि खुला र सजिलो भनेर कहलिए जति चाहिँ होइनन्। बैंकक सहरको रहनसहनले यो कुरा एक रत्ति पनि निर्धारण नगर्ने रहेछ। दिउँसोको चर्को घाममा होस् वा नोभेम्बर महिनामा बेलुकाको हल्का चिसोमा होस्, बैंककका मानिसले लगाउने लुगामा खासै फरक छैन। विशेषगरी नेपाली ग्रामीण समाजले पचाउनै नसक्ने किसिमको पहिरन देखिन्छ।

दिन दुनियाँ भोगेका मानिसलाई सामान्य लागे पनि एक किसिमले असामान्य पनि लाग्छ। म बसेको मध्यसहर सुकुम्भितमा त्यस्ता थुप्रै ठाउँहरू रहेछन्, जहाँ यौनकर्मीहरूको खुल्लमखुल्ला मोलमोलाइ हुने रहेछ। तर आम रूपमा सुनिएअनुसार बाटोभरि, जताततै यौन व्यवसायी महिलाहरू भेटिन्छन् र पुरुषहरूको हात तान्छन् भन्ने कुरा झुटा हो। यसरी मोलमोलाई हुने ठाउँमा जान हिम्मत जुटेन। केटाहरू देखेर लुट्छन् होला, तान्छन् होला भन्ने माइन्डसेट थियो। एक दिन भए पनि सो ठाउँ हेर्नैपर्ने कुरा भएपछि बेलुका खाना खाएर १० बजेपछि निस्किएँ। काठमाडौँमा शिवरात्रिको दिन पशुपति वरिपरि हुने भिड जस्तो देखियो। रोडको एक छेउमा उभिइराख्यो भने भिडले धकेलेर आफैँ पल्लोछेउ पुर्‍याइदिने। भारतबाट घुम्न आएका नवविवाहित जोडीहरू बढी थिए। दुवैले एक अर्काको हात यति जोडले समातेका थिए कि मानाैँ तिनीहरूमध्ये एक जनालाई कसैले खोसेर लाँदै छ र बचाउनका लागि जीवनभरिको बल देखाइँदै छ। त्यो रोडमा भित्री वस्त्र मात्र लगाएका युवतीहरू त्यहाँ घुम्न आउने पुरुषहरूलाई आफूले काम गर्ने रेस्टुरेन्टमा गई बियर पिउनका लागि आग्रह गर्दा रहेछन्। त्यो रोडको भित्र छिर्ने र बाहिर निस्कने ठाउँमा यौन व्यवसायीहरूले (पसले तथा महिला) विभिन्न फोटोहरू देखाउने र यौन व्यवसायी चाहियो कि भनी प्रश्न गर्दा रहेछन्।

के कुनै महिला पटाया वा बैंकक गएर यौन चाहना पूरा गर्न सक्छिन् ? के जसरी पुरुषहरू महिलाको मोलमोलाइ गरिरहेका हुन्छन्, महिलाहरूले पनि पुरुषहरूसँग त्यही तरिञकाले मोलमोलाइ गर्न सक्छन ?

प्रायःजसोमा भाषाको समस्या रहेको हुनाले यौन व्यवसायलाई छोटकरी शब्दमा भनी सीधै यति घन्टाको यति उति भाट (थाई रुपियाँ) मात्र भन्दा रहेछन्। करिब आधा घन्टासम्म सो गल्लीमा एक फन्को घुमेपछि कुन संसारमा आइएछ जस्तो महसुुस भयो। के संसार यस्तै हो ? के मानिस पनि वस्तुु सरह किनबेचको साधन भएका हुन ? के अब संस्कार र संस्कृति भन्ने कुरा केही रहेन जस्ता प्रश्नहरूले मन गिजोल्यो। त्यो भन्दा पनि गहिरो गरी ती युवतीहरूको बारेमा सोच्न बाध्य भइयो। यिनका बा आमा छन् कि छैनन् ? यीमध्ये कतिको लागि यो पेसा, रहर र कतिका लागि बाध्यता होला ? यिनीहरूलाई प्रयोग गरी कमाएको पैसाले रेस्टुरेन्टको मालिक कति धनी हुँदै गयो होला ? यिनको परिवार बसाल्ने चाहना होला कि नहोला ? वा दिउँसो भिडभाडको बेलामा रेलमा चढ्दा नजिकैको पुरुषसँग छोइन्छ कि भनी सचेत भई उभिने महिलाहरूमा यिनीहरूमध्ये पनि कोही होलान् कि नहोलान् ?

समुद्र किनारमा रहेको अर्को सहर पटाया बैंककभन्दा बढी भाइब्रेन्ट रहेछ। व्यावसायिक काम सकिएपछि शनिबार त्यतातिर लागे। २ घन्टा लगातार बसको यात्रापछि पुगियो। धागो ताने जस्तो सिधा, चौडा र बलिया सडकहरू जताततै छन् थाइल्यान्डमा। करिब २०० किमिको बैंककदेखि पटायाको यात्रा २ घन्टामा बसमा पार हुनुले सडकको गुणस्तरको अनुमान लगाउन सकिन्छ। नेपालमा काठमाडौँदेखि पोखराको लगभग त्यति नै दुरी हो जहाँ कम्तीमा ६ घन्टा यात्रा गर्नुपर्छ। हामीकहाँ समुद्र नभएकाले पनि होला, हामी जस्तै प्रायः नेपालीहरू समुद्र देख्दा बढी हौसिने। यता निकै जाडो बढी सके तापनि पटायामा अहिले पनि दिउँसोको तापक्रम ३० डिग्रीभन्दा बढी हँदो रहेछ । 

खाना खाएर एक दुई चोटि समुद्र किनारतिर घुम्दा बेलुकाको आठ बज्यो। पटायाले बल्ल आफ्नो रूप देखाउन थाल्यो। समुद्र किनारमा भएको सडक पेटीमा लहरै युवतीहरू उभिन आए। आफैँ भएर खासै कसैले पनि अभद्र व्यवहार देखाएनन्। मानवशास्त्र विषयको शोधार्थी भएको नाताले छोटो समयमा थोरै भए पनि ती महिलाहरूको बारेमा थाहा पाउनु थियो मलाई। ती सयौँ युवतीहरूमध्ये अंग्रेजी बोल्न र बुझ्न सक्ने केही मात्र थिए। तिनैमध्येका दुई चार जनासँग तिनीहरूको यौन व्यवसायको बारेमा आफू ग्राहक बनेर कुरा गरे। त्यहाँ अरु कुराकानीको केही महत्व हुँदैन। ती छोटा कुराकानीवाट जीवनमा कहिल्यै नसोचेका कुराहरू थाहा पाएँ। थाइल्यान्डबाहेक धेरैजसो यौन व्यवसायी महिलाहरूमध्ये पूर्वका देशहरूबाट थिए। ती देशहरूमा महिलाहरूलाई आजका दिन पनि थुप्रै कुरामा बन्देज लगाएको छ। तर तिनै देशहरूबाट महिलाहरू थाइल्यान्ड आएर देह व्यापार गर्छन्।

यो भन्दा अचम्मको कुरा के हुन सक्छ। भिन्न किसिमको लुगा लगाई, उभिएर शृंगार गर्दै गरेका, अलि बेग्लै हाउभाउ गर्ने र पुरुषहरूलाई नियालेर हेर्ने आम चलन हुँदो रहेछ । त्यो भन्दा बाहेक कोही कोही आफैँ बोल्न आउने पनि भेटिए। एउटा अर्को अचम्मको हाउभाउ गर्दा रहेछन्। जिब्रो पड्काउने वा अलि अर्कै ढंगले ताली बजाउने। त्यो एक किसिमको संकेत हो रे। मलाई आफ्नो उद्देश्यमा पुग्नका लागि त्यो संकेत अलि ठीक लाग्यो। म आफैँ एउटा प्रयोग गर्न खोज्दै थिएँ।  यति खुला सहरमा, यतिको उदारबादी बजार व्यवस्थामा र यौन पनि बजारको एउटा हिस्सा भएको सहरमा पनि केवल महिला मात्र बेचबिखनको वस्तुु बनेको कुरा अचम्मलाग्दो पाएँ। मैले एक जना महिलालाई यस विषयका सोधे पनि। उनले पनि पुरुष यौन व्यवसायी भएको कुरा थाहा छैन भनिन्। 

थाइल्यान्डको यौन बजारले पनि पुरुषलाई क्रेता र महिलालाई यौन व्यवसायी नै बनाएको रहेछ। बाहिरबाट गएका पुरुषले सजिलै यौन चाहना पूरा गर्न सक्ने ? के कुनै महिला पटाया वा बैंकक गएर यौन चाहना पूरा गर्न सक्छिन् ? के जसरी पुरुषहरू महिलाको मोलमोलाइ गरिरहेका हुन्छन्, महिलाहरूले पनि पुरुषहरूसँग त्यही तरिकाले मोलमोलाइ गर्न सक्छन ? भन्ने जस्ता प्रश्नमा दिमाग फनफनी घुम्न थाल्यो। ‘सहभागी अवलोकन’ भन्ने शोधको विधि प्रयोग गर्ने निधो गरे। अलि खुला ठाउँमा गएर अलि अनौठो हुने गरी ताली बजाए जसरी यौनकर्मी महिलाहरूले बजाएका थिए। दुई चार जना पुरुषहरूले अनौठो तरिकाले हेरे। सायद तिनीहरूले मलाई समलिंगी सम्झिए होलान्। त्यसपछि मैले फेरि त्यो हर्कत दोहोर्‍याउन सकिनँ। तर एकै पटकमा पक्का के थाहा पाएँ भने पटायाको यौन बजार पनि पितृसत्ताकै उपज हो। 

गण्डकी प्रदेशका मुख्यमन्त्रीको केही महिना अगाडिको भनाइ झल्झली सम्झिरहेँ। उनले गरेको प्रस्ताव सही थियो कि गलत भन्ने छुट्टै बहसको विषय हो। तर नेपालका केही प्रमुख सहरहरूमा यौन व्यवसाय अवैध रूपमा सञ्चालनमा छ। यो अवैैध कार्यलाई अलिकति भए पनि मर्यादित र वैध बनाउन भने जरुरी छ। यसको नमुना योजना बैंकक र पटाया प्रशासनबाट सिक्न सकिन्छ। 

 

प्रकाशित: २९ पुस २०७५ ०९:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App