coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

दूरदर्शी राजा

श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह आधुनिक नेपालका निर्माता हुन्। उनकै परिकल्पना, योजना र साहसको परिणामस्वरूप आज हामीले नेपाली नाम, पहिचान र स्वतन्त्र देश प्राप्त गरेका छौँ। यद्यपि, पछिल्लो कालखण्डमा राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाहको योगदानलाई अवमूल्यन गर्ने, अपमान गर्ने र इतिहासको गलत व्याख्या गर्ने प्रवृत्ति देखापरेको छ। २०६२/६३ को जनआन्दोलनपश्चात् परिवर्तनलाई संस्थागत गर्ने क्रममा परम्परादेखि नेपालको अस्तित्व र स्थायित्वको आधारस्तम्भका रूपमा रहेको हिन्दू राष्ट्र, राजसंस्था र एकात्मक राज्यव्यवस्थालाई हटाएर धर्मनिरपेक्षता, गणतन्त्र र संघीयतालाई स्थापित गर्ने प्रयास भयो।

मूलतः नेपालमा आफ्नो प्रभाव विस्तार गर्न चाहने तथा नेपाललाई नवसांस्कृतिक उपनिवेश बनाउने उद्देश्यबाट पश्चिमा मुलुकहरूबाट अभिप्रेरित र  प्रायोजितरूपमा आएका हुन् यी मान्यताहरू। यी मान्यताहरू स्थापित गर्न र संस्थागत गर्न राज्यव्यवस्थाको महत्वपूर्ण धरोहर राजसंस्थालाई समाप्त पार्नु नितान्त आवश्यक थियो। राजसंस्था समाप्त पार्न राजसंस्थालाई राक्षसीकरण गर्नु, नेपालको गौरवपूर्ण इतिहासलाई अपव्याख्या गर्नु तथा राजासंस्थाको योगदानलाई न्यूनीकरण गर्नु आवश्यक ठानियो। त्यसैको फलस्वरूप राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाहको योगदान र इतिहासलाई समेत गलत ढंगबाट व्याख्या–विश्लेषण गर्ने तथा कलंकित गर्ने प्रयासहरू भए। यस कार्यमा कतिपय राजनीतिक दलहरू, नागरिक समाज, बुद्धिजीवी वर्ग र आमसञ्चार माध्यमहरूलाई समेत प्रयोग गरियो। नेपाली जनताको मनमस्तिष्कलाई बौद्धिकरूपमा प्रदूषित गर्न योजनाबद्ध र संगठित अभियान नै चलाइयो। श्री ५ पृथ्वीनारायण शाहले राष्ट्रको एकीकरण गरेका होइनन् केवल निहित स्वार्थपूर्ति गर्न नरसंहार गरेर गोरखा राज्यको विस्तार गरेका हुन्, उनको अभियान र कार्यशैली निरंकुश र अधिनायकवादी थिए तथा विजित राज्यका जनताको संस्कृति र सम्पत्तिमाथि शोषण गरे भन्ने जस्ता तथ्यहीन र भ्रामक प्रचारहरू गरियो। प्रत्येक वर्ष पुस २७ गते पृथ्वीजयन्ती र राष्ट्रिय एकता दिवस मनाउने परम्परासमेत २०६२/६३ को परिवर्तनलगत्तै तत्कालीन सरकारले अन्त ग-यो।

सरकारी स्तरबाट उपेक्षा गरिए तापनि जनस्तरबाट भने पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाउने चलनमा कहिल्यै कमी आएन। बरु त्यो अझ व्यापक हुँदै गएको छ। राष्ट्रनिर्माताका बारेमा फैलाइएका भ्रमहरू समेत क्रमशः हटदै गएका छन्। वास्तवमा २५० वर्षअघिको नेपालको सामाजिक, राजनीतिक र आर्थिक अवस्थालाई वर्तमान समयको मापदण्डबाट मूल्यांकन गरेर निष्कर्ष निकाल्नु सर्वथा अतिशयोक्ति ठहर्छ। एकीकरण अभियानको क्रममा केही ज्यादती भए होलान् वा केही कमजोरी भए होलान् तर, जे भए तापनि श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको योगदानको परिणामस्वरूप आज हामी स्वतन्त्र राष्ट्र नेपालको नागरिक हुने गौरव प्राप्त गरेका छौँ। उक्त समयमा नेपालको एकीकरण हुन नसकेको भए वर्तमान नेपालको भूभाग तत्कालीन ब्र्रिटिस साम्राज्यको एक अंग हुन पुग्ने थियो। दक्षिण एसियाली भूभागमा त्यसबेला रहेका सयौँ ससाना राज्यहरूको नियति नेपालले समेत भोग्नुपर्ने हुनसक्थ्यो। भारतमा सुरुमा व्यापारको बहानामा पसेको इस्ट इन्डिया कम्पनीले कालान्तारमा सिंगो भारतलाई आफ्नो कब्जामा लिएर उपनिवेश बनाएको थियो। यही नीति नेपालमा समेत अवलम्बन गर्न अंगे्रजहरूले प्रयास गरेका थिए। नेपाली जनतामा शिक्षाको विस्तार र स्वास्थ्य सेवा पुु¥याउने बहानामा केपुचिन पादरीहरू नेपाल पसेका थिए, उनीहरू नेपाललाई कमजोर बनाएर व्यापारिक सम्बन्ध बढाउने तथा बिस्तारै राजनीतिक कब्जा जमाउन चाहन्थे। दूरदर्शी राजा श्री ५ पृथ्वीनारायण शाहले अंग्रेजहरूको यो षड्यन्त्रलाई समयमै बुझेर असफल बनाइदिएका थिए। साथै, सन् १७६७ मा सिन्धुलीको लडाइँमा अंग्रेजहरूलाई पराजित गरी नेपालको अस्तित्व जोगाएका थिए।

राष्ट्रनिर्माताको योगदानको अवमूल्यन गर्ने पिँढीले राष्ट्र बचाउन र बनाउन सक्दैन। श्री ५ पृथ्वीनारायण शाहको नेपालीको मनमस्तिष्कमा सदैव जीवन्त रहन्छ। नेपाल रहेसम्म श्री ५ पृथ्वीनारायण अमर रहनेछन्।

त्यस बेला नेपाल एकीकृत नभएको भए तत्कालीन बाइसी चौबीसी राज्यहरूमा आफ्नो स्वतन्त्र अस्तित्व कायम राख्न सक्ने सैन्य र सामरिक शक्ति एवं क्षमता थिएन। यस्तो घामझैँ टड्कारो सत्यलाई उपेक्षा गर्दै राष्ट्र निर्माताप्रति नकारात्मक र अनर्गल व्याख्या विश्लेषण गर्नु तथा राष्ट्रनिर्मातालाई सम्मान गर्न नचाहनु सर्वथा अतिशयोक्तिपूर्ण देखिन्छ।

आधुनिक नेपालको निर्माणसँगै प्रशासन व्यवस्था, न्याय व्यवस्था, अर्थनीति, परराष्ट्र व्यवस्था, सैन्य संगठन एवं राज्य व्यवस्थाको जग हाल्ने तथा पद्धति स्थापित गर्ने क्रममा पनि श्री ५ पृथ्वीनारायण शाहको महत्वपूर्ण  योगदान रहेको छ। आफ्नो जीवनको उत्तराद्र्धतिर उनले दिव्यउपदेशमार्फत भावी पिँढीलाई राज्य सञ्चालनको निमित्त सार्वकालिक महत्व रहेको मागदर्शन दिएका छन्। दिव्यउपदेशमा उल्लेख भएका कतिपय विचारहरू अहिले पनि सान्दर्भिक रहेको पाइन्छ। ‘यो नेपाल चार वर्ण छत्तीस जातको साझा फूलबारी हो र सबै मिलिजुली यसको रक्षा गर्नुपर्छ’ भन्ने दिव्यउपदेशमा उल्लिखित महावाणीको औचित्य र महत्व अद्यापि कायम नै छ। नेपाल अधिराज्य आफ्नो मात्र आर्जन होइन, यो राजाको व्यक्तिगत सम्पत्ति पनि होइन, यो सबै नेपालीको साझा सम्पत्ति हो भन्ने मान्यतालाई त्यसै बखत श्री ५ पृथ्वीनारायण शाहले स्थापित गरेका थिए।

एकीकरणमार्फत राज्यको सीमा विस्तार गर्नुका साथै एकीकृत र विजित क्षेत्रका धार्मिक सांस्कृतिक सम्पदा र परम्पराको संरक्षणमा समेत उनले ध्यान दिएका थिए। यही नीतिको परिणामस्वरूप नै एकीकरण अभियानमा व्यापक सहयोग र सहभागिता जुट्न सम्भव भयो। श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको गुण र चरित्रका बारेमा विद्वान् राजनीतिज्ञ डा. डिल्लीरमण रेग्मीले सटीक ढंगबाट चित्रण गरेका छन्। डा. रेग्मीको भनाइमा ‘श्री ५ पृथ्वीनारायण शाहको हृदय देशभक्तिमा चुर्लुम्म डुबेको थियो। विजय उनको जीवनको ध्येय थियो, त्यस लक्ष्यको नियामक शक्ति उनको हृदयमा रहेको देशभक्ति थियो। देशभक्त, साहसी योद्धा, संगठनकर्ता र सेनापति सबै गुणहरू एकसाथ उनमा विद्यमान थिए। त्यसैले नयाँ अधिकार गरेको विस्तृत भूभाग एक संगठित केन्द्रीय शासनको अधीन होस् र तिनमा बसोवास गर्ने विभिन्न सम्प्रदाय र जातिका जनसाधारणले निर्भय भएर सुरक्षाको उपभोग गर्न पाऊन् र उनीहरूको दमन नहोस् भन्ने कुरामा उनी सदा प्रयत्नशील रहन्थे।’

श्री ५ पृथ्वीनारायण शाहको योगदनलाई कुनै निश्चित राजनीतिक व्यवस्था वा संस्थासँग जोडेर हेर्नु अतिशयोक्तिपूर्ण हुनेछ। तत्कालीन राजनीतिक प्रणालीलाई वर्तमान व्यवस्थाको औचित्यको कसीमा विश्लेषण गर्न पनि गलत हुनेछ। श्री ५ पृथ्वीनारायण शाहप्रतिको सम्मानबाट राजसंस्थालााई समर्थन गरेको निष्कर्ष निकाल्नु वा त्यस कार्यबाट गणतन्त्र कमजोर हुन्छ भन्ने मानसिकता सर्वथा अनुपयुक्त छ। त्यो केवल हीन मनस्थितिको उपज मात्र हो। वास्तवमा राष्ट्रनिर्माताको सम्मान हामी नेपाली हुनुको गौरवको अभिव्यक्ति हो। नेपालमा राजसंस्था आवश्यक छ वा गण्नतन्त्र भन्ने बहस अलग राजनीतिक विषय हो।

श्री ५ पृथ्वीनारायण शाहले राष्ट्र एकीकरण गरेका हुन् वा गोरखा राज्यको विस्तार गरेका हुन् भन्ने विवाद पनि निरर्थक छ। जसरी व्याख्या गरे पनि परिणाम एउटै हो– नेपाल राज्यको निर्माण। उनकै योगदानको कारणबाट नेपाल दक्षिण एसियाली भूभागको सबैभन्दा जेठो राष्ट्र, सगरमाथाको देश अनि बुद्ध जन्मभूमि भन्ने सौभाग्य हामी नेपालीले प्राप्त गरेका छाँै। विगतमा जेजस्ता त्रुटि भए तापनि अब राष्ट्रनिर्मातालाई सम्मान गर्ने र राष्ट्रिय एकता दिवस मनाउनेबारे राष्ट्रिय सहमति हुनु आवश्यक छ। राष्ट्रनिर्माताको योगदानको अवमूल्यन गर्ने पिँढीले राष्ट्र बचाउन र बनाउन सक्दैन। श्री ५ पृथ्वीनारायण शाहको नेपालीको मनमस्तिष्कमा सदैव जीवन्त रहन्छ। नेपाल रहेसम्म श्री ५ पृथ्वीनारायण अमर रहनेछन्।

प्रकाशित: २७ पुस २०७५ ०२:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App