९ मंसिर २०८१ आइतबार
image/svg+xml
विचार

राजनीतिमा धर्मको बहस

शास्त्रीय भाषामा धर्मको अर्थ मानव तथा जीवको स्वाभाविक गुण हुन्छ। धर्मका दुईवटा पक्ष र आठवटा मार्ग हुन्छन्। धर्मका दुईवटा पक्ष कर्तव्यपालन र परोपकार हुन् भने आठमार्ग कर्म, अध्ययन, ज्ञान, तप, सत्य, क्षमा, दया र लोभको त्याग हुन्। धर्मको रक्षा सत्यबाट मात्रै हुन्छ। धर्म भनेको हिन्दू, मुस्लिम, इसाई वा अरु केही हैनन्। ती सबै त आस्था हुन्।

सबै आस्थामा धर्मका मार्ग र पक्ष एकै हुन्छन्। यो कुरा गीता, कुरान, बाइबल जे पढे पनि बुझिन्छ। तीमध्ये कुनै एक मात्रको अध्ययन गर्नेले यसलाई अलग बुझ्नुलाई अस्वाभाविक मान्न सकिन्न। धर्म कहिल्यै परिवर्तन भएको छैन र हुन्न तर नेताले राजनीतिक दल परिवर्तन गरेजस्तो वा कर्मचारीले कार्यालय परिवर्तन गरेजस्तो आस्था भने यदाकदा परिवर्तन भएको हुनसक्छ। तर हालका वर्षमा जनमानसको बोली र बुझाइमा आस्था नै धर्म हुनपुगेको छ।

नेपाली कांग्रेसको नेतृत्वमा जारी भएको वर्तमान संविधानले नेपाललाई अर्ध धर्मनिरपेक्ष राज्यको रूपमा स्थापित गर्‍यो। एकातिर संविधानमा नेपाललाई धर्मनिरपेक्ष राज्य भनियो भने अर्कोतिर धर्मको अस्तित्व स्वीकार गर्दै सनातन देखि चलिआएको धर्म संस्कृतिको संरक्षण र धार्मिक सांस्कृतिक स्वतन्त्रता पनि यही संविधानमा अंगिकार गरियो।

आधुनिक समाजले धर्मलाई कर्मकाण्ड र पूजापाठका रूपमा बुझ्यो। मन्दिर जानु धर्म भयो, व्रत बस्नुलाई धर्म मानियो र आशीर्वादलाई सफलताको सूचक मानियो। साथै बालक जन्मँदाको न्वारनदेखि मर्दाको काज किरियालाई धर्म मान्न थाल्यो। जुन सवर्था गलत हो र थियो। साथै नेपालका कम्युनिस्टहरूले धर्म र कर्मकाण्डलाई धेरै हदसम्म राजतन्त्रसँग जोडेर गलत प्रचार गर्ने काम गरे। अझै पनि कम्युनिस्टहरू मन्दिरमा राजाको अवशेष देख्छन्, चाडबाडमा राजा देख्छन् र त्यो नामसँग तर्सन्छन्। आजको समस्या यही हो।

भर्खरै सम्पन्न नेपाली कांगे्रेसको महासमितिको बैठकको बाहिरी घेरा धर्मको विषयले तात्यो। आफ्नो राजनीतिक प्रतिवेदनमा संविधानमा भएका सबै प्रावधानको स्पष्ट स्वामित्व लिएको नेपाली कांग्रेसको नेतृत्वलाई महासमिति बैठक कक्ष बाहिर भएका गतिविधिले अलिकति झस्कायो।

नेपाली कांगे्रसको ठूलो कार्यकर्ता पंक्तिभित्र यो धर्मनिरपेक्षता भन्ने शब्द कम्युनिस्टहरूको मात्रै हो, हाम्रो हैन भन्ने धारणा रहेको कुरा नेतृत्व पंक्तिलाई राम्ररी थाहा छ। तर संघीयताको माध्यमबाट समतामूलक र आर्थिक समाजवादको बाटोमा हिँडन मद्दत गर्ने यो संविधानको त्यो प्रावधानलाई आजको सन्दर्भमा बढी नउछाल्ने नीति नेपाली कांग्रेसले लियो। नेपाली कांग्रेसका सभापतिलाई अहिले पनि धर्मको विषयमा तपाईंको विचार के हो भनी कसैले प्रश्न गर्‍यो भने सभापतिको जवाफ जहिले पनि एउटै र छोटो हुने गरेको छ, “संविधानमा जे छ त्यही हो।” तर त्यसका साथै के पनि सत्य हो भने केही समयदेखि नेपाली कांग्रेसका महामन्त्रीले नेपाल हिन्दू धर्म हुनुपर्छ भनी दिएका अभिव्यक्तिपछि नेपाली कांग्रेसभित्र र बाहिर तरंग ल्यायो। यो तरंगले नेपाली कांग्रेसभित्र भन्दा नेकपामा बढी छटपटी ल्यायो। एकातिर संविधानमा भएको धर्मनिरपेक्षताको प्रावधानमा धेरै कांग्रेसी कार्यकर्ताको असन्तुष्टि र अर्कोतिर महामन्त्रीको पटक पटकको अभिव्यक्ति, यो विषय अब त्यत्तिकै सेलाउने देखिन्न। महासमिति बैठक त सकियो तर अबको महाधिवेशनसम्म र त्यो बेलामा के गर्ने ?

धर्म मान्ने वा नमान्ने भन्ने कुरा मानिसको व्यक्तिगत स्वतन्त्रता हो। अझ शास्त्र त के भन्छ भने, मानिसले जे धारण गर्छ त्यो नै धर्म हो। यसको अर्थ धर्म जसरी माने पनि हुन्छ किनकि सामग्रीभन्दा श्रद्धा ठूलो हो। यस अर्थमा आफूलाई कम्युनिस्ट वा भौतिकवादी भन्न रुचाउनेहरूले धर्म नमान्दा वा उनीहरूको अनुकूल मान्दा समाजलाई कुनै समस्या थिएन। हिजो बाबुआमाको किरिया गरेकाहरूलाई आक्रमण गर्नेहरू अहिले आफैँ आफ्ना बाबु आमाको तेह्र किरिया गर्दा पनि समाज त चुप नै छ। यही जगमा नेपाली समाज रहँदै आएको थियो। एकले अर्काको व्यवहारको आलोचना नगर्दासम्म यो विषय ठूलो थिएन। यो विषयको मूल समस्या नेकपाका कारणले आएको हो र त्यसलाई दुई भागमा बाँड्न सकिन्छ।

पहिलो, आफू धर्म नमाने पनि अरुको धर्मको सम्मान गर्ने। यो उनीहरूबाट भएको पाइन्न। दोस्रो, कुनै पनि धर्म पालन गर्न नेपालको संविधानले छुट दिएको हो, धर्म परिवर्तनको हैन। आजको दिनमा नेकपा पार्टीका नेता र अझ सरकार धर्म परिवर्तनको अभियन्ता बनेपछि त्यो कुरा कुनै हालतमा कसैलाई पनि स्वीकार्य भएन। यो अस्वीकार गर्ने ठूलो जमात नेकपाभित्रै छन्।

एकातिर देशको एउटा पार्टी संवैधानिक राजतन्त्र र हिन्दू राज्यको मागका साथ समाजमा क्रियाशील छ भने अर्कोतिर देशको प्रमुख पार्टी नेपाली कांग्रेसभित्र यसको चर्चा सुरु भइसकेको छ। सरकार र सरकार चलाउने पार्टी सनातन धर्म विरोधी अभियानमा लागेको कुरा पनि अब कसैबाट लुकेको छैन। तसर्थ अब यो विषय त्यत्तिकै शान्त हुन्छ भन्न सकिन्न। यदि यो विषयको व्यवस्थापन अहिले नै गरिएन भने समाज व्यापक ध्रुवीकरणमा जान्छ त्यहाँ कुनै पार्टीका कुनै सिद्धान्त काम लाग्दैनन्। आस्थाका अगाडि संसारमा न आजसम्म कुनै वादले जितेका छन् न भोलि नै जित्नेछन्।

यो विषयको समाधान गर्ने एउटा मात्रै उपाय भनेको धर्मका विषयमा मौनता हो। धर्मका बारेमा कुनै पनि पार्टीका कुनै पनि नेताले आफूले नबोल्ने र कार्यकर्तालाई सम्झाउने हो। आफूलाई मन परे धर्म मान्ने मन नपरे नमान्ने तर धर्म परिवर्तन गराउने कार्यमा सामेल हुन भने पाइन्न। यो पक्का हो। तर त्यो भन्दा पनि महत्वपूर्ण भनेको सरकारले आफूले गरेको गल्तीको क्षमायाचना गरी अब त्यस्ता क्रियाकलाप आफूबाट नहुने प्रतिबद्धता आउनैपर्छ। यदि सरकारले त्यसो गरेन भने आजसम्म धर्मको राजनीतिबाट टाढा बसेको नेपाली कांग्रेस अबका दिनमा यो विषयबाट टाढा बस्न सक्दैन। त्यो दिन आयो भने आजको सरकार र सरकार चलाउने पार्टीले यो विरोधको सामना कुनै हालतमा गर्न सक्दैनन्।

प्रकाशित: २४ पुस २०७५ ०२:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App