३१ असार २०७७ बुधबार
विचार

नेपाल जनक पृथ्वीनारायण

भारतीय उपमहाद्वीप एक सहस्राब्दीदेखि पराधीन रही युरोपेली साम्राज्यवादले समेत करिब डेढ शताब्दीसम्म शासन गर्‍यो। यस अवधिमा खैबर भञ्ज्याङदेखि बंगालको खाडीसम्मको भागमध्ये बहुसंख्यक जनता हिन्दू नभएका भागबाट पाकिस्तान र हाल बंगलादेश बन्यो। उपमहाद्वीपमा कश्मीर, हैदरावादलगायत ‘देशी राज्य’ पनि थिए। सन् १९४७ मा अंग्रेजले उपमहाद्वीपबाट बहिर्गमन गर्दा नेपाल भने एक स्वतन्त्र र सार्वभौमिक देशका रूपमा कसरी उदाउन सक्यो भन्ने कुरा विवेचना गर्न योग्य छ। इतिहासको क्रममा एउटा मात्र व्यक्तिलाई यस्तो हुन पूरा श्रेय दिन सकिँदैन। तैपनि सबभन्दा बढी श्रेय भने पृथ्वीनारायण शाहलाई दिनुपर्छ।

नेपालको एकीकरण सुरु हुनुभन्दा अगाडि गण्डकी क्षेत्रमा चौबिसी, कर्णाली क्षेत्रमा बाइसी, काठमाडौँ उपत्यकामा तीन र पूर्वी पहाडमा रहेका केही राज्यहरू भएको भेटिन्छ जसको संख्या करिब पचास थियो। यी स्वतन्त्र र सार्वभौमिक थिए। यीमध्ये गोरखा राज्य तुलनात्मक दृष्टिले पनि गरिब थियो। यस्तो राज्यबाट नेपालको एकीकरणको प्रक्रिया सुरु हुनु र सो सफल हुनु आश्चर्यजनक कुरा हो। पृथ्वीनारायण शाहले एकीकरणको प्रक्रियामा मीर कासिमको तथा अंग्रेजको हमलालाई विफल पार्न नसकेको भए नेपाल कैयौँ टुक्रामा विभाजित भएको हुन्थ्यो र यसलाई केही वर्षपछि अंग्रेजले आपूm शासित भारतमा मिलाउँथ्यो। सन् १९४७ मा भारत स्वतन्त्र भएपछि यी भारतमै मिल्थे र यिनको स्वतन्त्र अस्तित्व रहने थिएन।

गोरखादेखि पश्चिमको सम्पूर्ण क्षेत्रको एकीकरण नेपालमा मिलाउने श्रेय पृथ्वीनारायणका योग्य छोरा बहादुर शाहलाई जान्छ। नेपालको पश्चिमी सीमा महाकालीदेखि सतलजसम्म फैलिएको थियो। सुगौलीको सन्धिपछि यो क्षेत्र नेपालले गुमायो। यसरी गुमाएको क्षेत्रको एक भाग नयाँ मुलुक (बाँके, बर्दिया, कैलाली र कञ्चनपुर) जङ्गबहादुरले सन् १८५७ मा उत्तर भारतमा भएको विद्रोहमा अंग्रेजलाई सहायता गरेकाले नेपालमा फिर्ता आयो। राणाशासनको जति विरोध गरे पनि जङ्गबहादुरको यस कदमको सराहना गर्नैपर्छ।

प्रथम विश्वयुद्ध (सन् १९१४–१८) मा नेपालले ब्रिटिस सरकारलाई सहायता गर्‍यो र भारतमा फौजसमेत पठायो। त्यसैको फलस्वरूप बेलायतले नेपाललाई सार्वभौम देशका रूपमा मान्यता दियो। सन् १९२० मा नेपाल र ब्रिटेनको बीच भएको सन्धिअघि नेपालको राजालाई हिज हाइनेस भन्दै आएको र काठमाडौँमा अंग्रेजी सरकारको रेजिडेन्ट बस्दै आएकामा नेपालको राजालाई हिज मेजेस्टी भन्न थाल्यो र नेपालमा राजदूत बस्न थाल्यो।

सन् १९५० मा भारत स्वतन्त्र भइसकेपछि सरदार बल्लभभाइ पटेलले देशी राज्यहरूलाई भारतमा विलय गराउने अभियान चलाएका थिए। तर नेपाल स्वतन्त्र र सार्वभौम देश हुनाले बच्यो। यसकारण पृथ्वीनारायण शाहले एकीकरण गरेको नेपालले आफ्नो स्वतन्त्र अस्तित्व कायम राख्न सक्यो। यस कामको निमित्त चन्द्रशम्शेरलाई पनि धन्यवाद दिनुपर्छ। यसका अतिरिक्त ब्रिटिस सेनामा काम गर्ने गोरखा सिपाहीहरूले समेत बेलायतको निमित्त दुई विश्वयुद्धमा बहादुरीपूर्वक लडे। यीमध्ये १२ जनाले बेलायतको बहादुरीको सर्वोच्च पदक भिक्टोरिया क्रस पनि पाए। यसले पनि केही मद्दत गर्‍यो कि ?

प्रकाशित: २० पुस २०७५ ०८:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App