८ वैशाख २०८१ शनिबार
विचार

काठमाडौँ खुसी छ...

हामी एकथरी काठमाडौँवासी भन्छौँ– यो काठमाडौँ एउटा होइन, हजार कारणले खुसी छ। काठमाडौँबाहिर, अझै देशैबाहिर रहेका मित्रहरू डाह गर्लान् !  यहीँ काठमाडौँमा हामी एक थरीका ज्याद्रो मान्छेहरू भेट्छौँ जो जहिले गुनासो गर्छन्, एक होइन हजार कुराको, तिनको कमी छैन यहाँ। तिनलाई यो काठमाडौँको हरेक चौबाटो, दोबाटो, कुइनेटो र गल्ली जहाँसुकै जहिले पनि भेट्न सकिन्छ। धुलो उड्यो– गुनासो, बाटो बनेन– गुनासो, ड्राइभरले ढिलो चलायो– गुनासो, छिटो चलायो– गुनासो, जाम भयो– गुनासो, भिडको हिस्सा आफैँ छ– भिडलाई नै गुनासो, मौसमको हिस्सा आफैँ छ– मौसमलाई नै गुनासो। तर यही काठमाडौँ जहाँ कसैलाई कसैको मतलब छैन। त्यहाँ हामी एक थरीका होइन हजार थरीका मानिस एक अर्कालाई सहयोग गरेर रमाइरहेका देख्न सकिन्छ। अचम्मै लाग्दो किसिमले।

कुनै बिहान चक्रपथ आउने माइक्रो बस चढ्यौँ भने डोकोभरि तरकारी लिएर बेच्न वृद्ध र वृद्धा उमेरका मानिस प्रशस्त देख्न सकिन्छ। तिनका कुरा चाखलाग्दा हुन्छन्, ध्यान दिएर सुन्दा, प्रायः तिनका छोराछोरी या नाति–नातिना विदेशमै बस्छन्। तिनलाई पैसाको जरुरतको भएकै होइन, न त यो जाडोमा एकाबिहानै तिनलाई डोकोमा तरकारी बेच्न जानु नै पर्छ, त्यो पनि भिडको सामना गर्दै। तर ती वृद्धवृद्धाको यो दिनचर्या नै बनेको छ, कयौँ वर्षयता। तिनलाई सोध्यो भने भन्छन्, त्यै गरेरै तिनले छोराछोरी पढाए, विदेश पठाए। अब त बानी नै परिसक्यो निरन्तर काम गर्ने अर्थात् काम नगरी बस्ने नसकिने। झट्ट हेर्दा हामी कसलाई पत्याउन गाह्रो होला तर बुझ्दा थाहा हुन्छ, उनीहरू त्यसैमा खुसी छन्। अनि के काठमाडौँ खुसी छैन त ?

अर्को बिहान काठमाडौँलाई नजिकबाट चिहायौँ भने ‘मर्निङ वाक’ मा थुप्रै मानिस भेट्न सकिन्छ– हिँडेका, दौडेका र जगिङ गरिरहेका। काठमाडौँको प्रदूषणको बारेमा उनीहरू विज्ञ छन्। बिहानैदेखि धुलाम्मे हुने काठमाडौँको सडक वरपर पेट घटाउन या स्वस्थ रहन गर्ने शारीरिक व्यायाम गर्नेहरू धुलोकै सामना गरेर भए पनि आफू स्वस्थ हुनेमा विश्वस्त छन्। तिनलाई न मौसमप्रति गुनासो छ, न त काठमाडौँको प्रदूषित धुलोप्रति नै। अनि के काठमाडौँ खुसी छैन त ?

दिनभरि काठमाडौँको कुनै दोबाटो या चौबाटोमा उभियाँै भने हामी नै पर्छौं ट्राफिकलाई गाली गर्नेमा, तर अर्को कुनै साँझ महाराजगञ्ज चक्रपथ या नयाँ वानेश्वर चोकमा पुग्यौँ  भने त्यहाँ एक अधबैँसे महिला हातमा चम्कने रातो छडी लिएर यातायात व्यवस्थापन गर्न तल्लीन रहेकी हुन्छिन्। हामी धेरै उनलाई चिन्दैनौँ होला तर त्यो बाटो भई गाडी चलाउनेलाई सोध्नुभयो भने उनीहरूले ती महिलालाई राम्ररी चिन्छन्। मौसमको परवाह नगरी ट्राफिक व्यवस्थापन गर्न हम्मेहम्मे परेको अवस्थामा कति सहज बनाइदिएकी छिन् यिनले। अनि के काठमाडौँ रमाइलो छैन त ?

धेरै पटक तपाईंले रत्नपार्क, बागबजार र गोंगबु बसपार्कस्थित सडकछेउमा जुत्ता चम्काएर बसेको देख्नुभएको छ होला, त्यो पनि अति कम मूल्यमा। धेरै पटक सुन्धारा, काठमाडौँमल र सिभिल मल अघि सुमधुर स्वरमा मिठासपूर्ण गाना सुन्नुभाको होला, त्यो बाटो पर्दा ती आवाजले मन नै आनन्द पारिदिन्छन। नियालेर हेर्ने हो भने ती आवाज शारीरिक अपांगता भएकाहरूका हुन्छन्। कर्म नगरी खाली हाल फैलाएर माग्न शर्म लाग्छ, कति उदार र ठूलो मन छ तिनको। अनि के काठमाडौँ सानो कुरामा खुसी छैन त  ?  

कुनै साँझ बाग्मती नदी जसको पानी सिञ्चन गरेर हामी पितृ सम्झन्छौँ, हो त्यही बाग्मती किनारै किनारमा भएका भट्टीमा गएर एक साँझ बिताउनु भयो भने हामी जो कोहीलाई मज्जा लाग्छ। पितृ सम्झने बागमतीको किनारमा भट्टीमा मातेर निस्कनेहरू पूर्व फर्केर तुर्काइरहेका सजिलै अवलोकन गर्न सकिन्छ। शनिबार बिहानै बाग्मती सरसफाइ या काठमाडौँको अन्य सरसफाइ अभियानमा ती अघिल्लो दिन तुक्र्याउनेहरू भोलिपल्ट हातेमालो गरी आफैँ नेतृत्व गरेर सरसफाइमा जुटिरहेका हुन्छन्। अनि के काठमाडौँ खुसी छैन त ?

के तपार्इंले सडक छेउमा ठेलाको भुटान, मःम, ससेज या स्याफाले खानुभाको छ ? कुनै दिन मौका पर्दा ती ठेलावालालाई सोध्नुहोला, उनीहरू दैनिक दसौँ हजारको व्यापार गर्छन् त्यो पनि सडक छेउको त्यो साँघुरो बाटोमा निकै सास्ती खेपेर। प्रहरी आउँछ, सामान प्याक गरेर भाग्नुपर्छ, मान्छेको भिड बढ्छ। आफ्नो सामान जोगाउन गाह्रो पर्छ तर पनि दैनिक जोईपोइ मिलेर ५–७ घन्टाको मेहनतले कमाएको पैसा जोहो गरेर परिवार धान्ने र छोराछोरी पढाउन मनग्य पैसा कमाउँछन्। दुःख नगरेको, नभएको पक्कै होइन तर उनीहरू यसैमा खुसीले बाँचेका छन्। अनि के काठमाडौँ खुसी छैन त ?

यही काठमाडौँमा हामी एकथरी मानिस देख्छौँ, जो सधैँ आफ्नो काममा तल्लीन छन् जसलाई देखेको राजनीति, आर्थिक, सामाजिक पाटोको कुनै चासो छैन। केही जानकार अवश्य होलान् तर तिनलाई अरुको कुरा काटेर, सडकमा सरकार विरोधी ब्यानर बोकेर, आन्दोलन या विरोधमा उत्रनु छैन।  उनीहरूलाई  आफ्नो काम गर्न नै भ्याईनभ्याई छ।  मेहनत गरेर आफ्नो र पारिवारिक खुसीका निम्ति सदैव पाइला चाल्ने तिनीहरू आफ्नै कर्ममा रमेका छन्। अधिकांश मानिस आजकाल यसरी जीवनयापन गरी रमेका देख्न सकिन्छ।  अनि के काठमाडौँवासी खुसी छैनन् त ?

के तपार्इंले केलाएर राखेको तरकारी किन्नुभएको छ ? के तपाईंले पिनेर राखेको आलो पिन्पान किन्नुभाको छ ? अनि छोडाएर राखेको बोडी र भटमास किन्नुभएको छ ? त्यो पनि अति सस्तो मूल्यमा ? मैले धेरै पटक किनेको छु। मलाई थाहा छैन, तपाईं काठमाडौँलाई माया गर्नुहुन्छ ? तर काठमाडौँप्रति जहिले पनि मलाई सद्भाव र सम्मान जाग्छ भित्रैदेखि।

मलाई थाहा छ, तपाईंहरू सबैको ठाउँमा केही न केही रमाइला कुरा छन् तर म यतिबेला के भन्न खोजिरहेको छु भने काठमाडौँ स–सानो कुराले खुसी छ। हो, काठमाडौँ साँच्चै खुसी छ।

प्रकाशित: १३ पुस २०७५ ०२:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App