समाजले पुरुषलाई जन्मेदेखि नै बलियो, बहादुर, निडर, साहसी, कठोर हुनुपर्छ भन्ने सिकाउँदै आएको छ। केटाले कमजोरी देखाउन, कुनै पनि काम गर्न सक्तिन भन्न, कसैका आँसु झार्न हुन्न भन्ने सोच थोपरेर समाजले पुरुषलाई दुस्साहसी र हिंस्रक पनि बनाएको छ। जीवनमा धेरै पिटाइ केटाहरूले खानछन्। स्कुलमा, घरमा, समाजमा जहाँ ऊ पनि पिटिएको हुन्छ। तैपनि ऊ रुन पाउँदैन। पुरुषको हाडमासुकै शरीर हो। उसको पनि मन हुन्छ। ऊभित्र पनि भावना हुन्छ। त्यसैले उसको पनि तन र मन दुवै दुख्छ। उसलाई पनि रुन मन लाग्छ। आँसुसँग पीडा बगाउन मन लाग्छ। तर उसलाई त आँसु झार्नै निषिद्ध छ। रुने प्रवृत्ति त महिलाको हो।
पुरुष पीडा सहेर पनि आँसु लुकाउने कोसिस गर्छ। जबर्जस्ती पीडा लुकाउनु पर्दा मानसिक स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्छ। पुरुषले नै घरपरिवारको सबै जिम्मेवारी लिनुपर्छ भन्ने पितृसत्तात्मक मान्यताले पनि उनीहरू पीडित भएका हुन्छन्। तराईमा दाजुले बहिनीको विवाह नगरी आफ्नो घरजम गर्न सक्तैन। नत्र छोराको जिम्मेवारी पूरा नगरेको आरोप समाजले लगाउँछ। समाजकै डरले यहाँ पनि पुरुषले पीडा लुकाइरहेका हुन्छन्। यसै गरी मर्द साबित हुन पुरुषलाई नचाहँदा नचाहँदै दुस्साहस तथा जोखिमपूर्ण काम गर्न समाजको दबाब परेको हुन्छ। वेश्यागमन, जोखिमी बाजी थाप्न, रक्सी, लागूपदार्थ, चुरोट सेवन गर्ने, बहुविवाह गर्नेजस्ता काममा पुरुषलाई हौस्याइन्छ। 'यस्तो पनि नगर्ने कोही मर्द हुन्छ र? छोरो भएपछि यस्ता काम त गर्नैपर्छ, मर्दका दुई तिनवटी हुन्छन्।' भन्ने सुन्दासुन्दा ऊ त्यतै उन्मुख हुन्छ।
परिवारलाई हैसियतअनुसारका सुख सुविधा पुर्याउन नसके ऊ नामर्द ठहरिन्छ। सन्तानको भविष्य बनाउन पूरै समय कमाइ गर्न खट्ने त्यही पुरुष उनीहरूसँग राम्ररी बस्न र खेल्न पनि पाउँदैन। कमाउनैका लागि पुरुष धेरैजसो घरबाहिर अथवा विदेशमा हुन्छ। पत्नी र सन्तानबाट टाढा बस्नु पर्दाको पीडा पनि ऊ व्यक्त गर्न सक्दैन। कमजोरी उसले व्यक्त गर्नु हुँदैन। यौनसम्बन्धी कमजोरी व्यक्त गर्यो भने त उसको पुरुषत्वमै सन्देह गरिन्छ। यसैले कतिपय अवस्थामा ऊ रोग पनि दबाउन बाध्य हुन्छ र दीर्घरोगी बन्न पुग्छ।
कथित उपल्लो वर्गको पुरुष रहेछ भने सेवाबाट अवकाश पाएपछि उसको मृत्यु चाँडै हुन्छ। किनभने घरमा उसले गर्ने कुनै काम हुँदैन। घरमा यसले आफूलाई एक्लो र उपेक्षित ठान्छ। पितृसत्तात्मक दम्भले गर्दा परिवारका सदस्यसँग खुलेर कुरा पनि गर्न सक्दैन। आफ्ना दुःख बाँड्न सक्तैन। यिनै कारणले उसको आयु छोटिँदै जान्छ।
कति जना त पुरुषबाटै यौन शोषणमा परेका हुन्छन्। सेनामा, छात्रावासमा मोटर र पानीजहाज चालकहरूमा समलिंगी यौन शोषण हुने गरेको अनुसन्धानहरूबाट थाहा भएको छ। यी सबै पितृसत्ताकै उपज हुन्। आधा जनसंख्या यसरी पीडा दबाएर कुण्ठित हुँदा समाजको विकास हुन सक्दैन। पितृसत्ता हटाउनु आवश्यक छ तर मातृसत्ताको स्थापना गरेर अर्को पीडादायी संसार बनाउनु भने हुँदैन।
शाही हुम्लामा क्रियाशील समाजसेवी हुन्।
प्रकाशित: २ भाद्र २०६७ २२:०७ बुधबार

