१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

उठ्ने आँट छ, छाँट छैन

मुलुकको सबैभन्दा पुरानो प्रजातान्त्रिक दल नेपाली कांग्रेसको महासमिति बैठक चलिरहेको छ। इतिहासमा सबैभन्दा कमजोर र चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको नेपाली कांग्रेसको महासमिति बैठकबाट कस्तो दिशा लिनेछ भनेर आम मुलुकवासीले महासमितिको बैठकतर्फ ध्यान केन्द्रित गरेर बसेका छन्। 

महासमिति बैठकको विधान संशोधन, राजनीतिक, आर्थिक लगायतका प्रस्तावहरू प्रमुख कार्यसूची रहेको छ। नेपाली कांग्रेसको २०१७ सालमा सम्पन्न ७ औँ महाधिवेशन पछि ९ औँ पटक विधान संशोधन हुँदै छ। कुनै पनि जीवन्त पार्टीमा विधान संशोधन वा परिमार्जन निरन्तर रूपमा भइरहने प्रक्रियागत विषय हो। आज नेपाली कांग्रेस इतिहासमै सबैभन्दा कमजोर एवम् दुःखदायी अवस्थामा आइपुगेको विधानको कमजोरीले भने होइन, गतिलो नेता र सही नीति नभएको कारण कमजोर बनेको हो। 

पार्टीले देशप्रेमले भरिएको लोकप्रिय, इमानदार र स्वच्छ छवि भएको आँटिलो नेता खोजेको छ। कांग्रेसप्रति जनताको अगाध आस्था, विश्वास र भरोसा छ तर असल नेता र उपयुक्त नीतिको अभावमा कांग्रेसले जनताबाट प्राप्त आस्था, विश्वास र भरोसालाई सँगाल्न र व्यवस्थापन गर्न सकिरहेको छैन। 

वर्तमान अवस्थामा नेपाली कांग्रेसको नेतृत्व जनतामा यति विघ्न अलोकप्रिय छ, त्यसको के कुरा गर्नु ? तर समस्या यो छ कि, कमसेकम १४ औँ महाधिवेशन अगाडि नेतृत्व परिवर्तनको कुनै सम्भावना छैन, महासमिति बैठकले पार्टी नेतृत्व परिवर्तन गर्न नसके पनि देशको आवश्यकता र जनताको भावना बमोजिम पार्टीको नीति, सिद्धान्त र कार्यक्रमलाई संशोधन, परिमार्जन वा परिवर्तन गर्न सक्थ्यो भने त्यो देश र स्वयं कांग्रेसका लागि ठूलै राजनीतिक उपलब्धि हुन्थ्यो तर दुर्भाग्य, अस्ति केन्द्रीय कार्यसमितिमा प्रस्तुत राजनीतिक प्रस्तावलाई नियालेर हेर्दा यो प्रस्तावले पार्टीको गौरवशाली इतिहास, स्थापनाकालीन सिद्धान्त, बिपीका विचार–चिन्तन, आम नेपाली जनताको चाहना र मर्मअनुरूप कांग्रेस सच्चिएर, सुध्रिएर आओस् भनेर चाहना राख्ने यो पंक्तिकारजस्ता हजारौँ कार्यकर्ता, शुभेच्छुक एवं आम प्रजातन्त्रवादीहरूलाई पूरै निराश बनाएको छ। 

प्रस्तावको मस्यौदा तयारीमा हिजो १२ बुँदे समझदारीदेखि संविधान निर्माणसम्मका रोडम्यापको डिजाइनकर्ता, भाष्यकार र रणनीतिकारहरू नै हाबी भएको र सोहीबमोजिमको प्रस्ताव तयारी भएको अवस्थामा कांग्रेस केन्द्रीय कार्यसमितिबाट यसको सुधार हुने र महासमिति बैठकबाट वैचारिक रूपमा कांग्रेस सच्चिएर आउने सम्भावना कमजोर बन्न पुगेको छ। 

विगत लामो कालखण्डमा कांग्रेस नेतृत्वले न आफ्नो छविलाई कायम राख्न सके न पार्टीको छविलाई उठाउन सके। देशको प्रजातान्त्रिक आन्दोलनमा ७ दशक संघर्ष गरेको, स्पष्ट नीति, सिद्धान्त, आदर्श र उज्यालो राष्ट्रवादी छवि आदि कारणले अन्य राजनीतिक दलभन्दा विशिष्ट स्थान बनाएर कायम गरेको जनताको भरोसालाई पार्टीका पछिल्ला नेतृत्वहरूले चकनाचुर बनाए। 

पार्टीको उच्च राष्ट्रवादी छवि, प्रजातन्त्रका लागि गरेको संघर्षको गौरवशाली इतिहास, बिपी, सुवर्ण शम्शेर, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईजस्ता उच्च नैतिक छवि भएका संस्थापक नेताको आदर्शवादी छवि, संवैधानिक राजतन्त्र, संसदीय प्रजातन्त्र, मानवअधिकार, स्वतन्त्र न्यायालय, स्वतन्त्र प्रेस लगायतको विश्वव्यापी प्रजातान्त्रिक मूल्य–मान्यताप्रतिको विश्वास, परम्परागत वैदिक सनातन धर्म र सांस्कृतिक विविधता र धार्मिक स्वतन्त्रतासहित हिन्दू राष्ट्रका लागि ०४७ को संविधानमा खेलेको नेतृत्वदायी भूमिका आदि कारणले नेपाली कांग्रेस छुट्टै पहिचानसहित देशको एउटा विशिष्ट प्रजातान्त्रिक एवं जनताको भरोसाको पार्टी बनेको थियो। 

०६२ मा कांग्रेसले आफ्नो अगुवाइमा अन्य ६ दलसँगको सहकार्यमा विद्रोही माओवादीसँग भारतको दिल्लीमा गरेको चर्चित १२ बुँदे समझदारी, ०६२/०६३ को जनआन्दोलन, ४ जेठ ०६३ मा अन्तरिम संसद्को घोषणा, बृहत् शान्ति सम्झौता, ०४७ को संविधान खारेज गरेर अन्तरिम संविधानको घोषणा, संविधानसभाबाट नयाँ संविधानको घोषणा जारी हुँदै देशको राजनीति यहाँसम्म आइपुग्दा नेपाली कांग्रेसको त्यो गौरवशाली इतिहास, पहिचान र विशिष्ट छवि पूरै धराशयी हुन पुगेको छ। कांग्रेसप्रतिको जनताको भरोसा र विश्वास डग्मगाएको छ। 

वर्तमान कांग्रेसले लिएको राजनीतिक मुद्दा हिजोको माओवादी र एमाले (नेकपा) को राजनीतिक मुद्दामा खासै भिन्नता छैन। प्रजातान्त्रिक (लोकतान्त्रिक ?) आन्दोलन, शान्ति प्रक्रिया र संविधान निर्माणको चरणमा जे–जे राजनीतिक मुद्दा कांग्रेसले काँधमा बोक्यो, ती मुद्दामा कांग्रेसले आफ्नो स्वामित्व स्थापित गर्न सकेन। नेपाली राजनीतिमा माओवादीले स्थापित गरेको मुद्दा बोकेपछि स्वामित्व स्थापित हुने अवस्था थिएन।

२००७ सालको जनक्रान्तिको सफलतापछि शाही घोाषणामा नै उठेको संविधानसभाको मुद्दाको ऐतिहासिक दृष्टिले स्वाभाविक रूपमा कांग्रेसका स्वामित्व भए पनि पछिल्लो क्रममा यसलाई नेपाली राजनीतिमा स्थापित गरेको माओवादीले नै हो, यसमा कांग्रेससहित एमाले लतारिएका हुन्। संघीयता मधेस आन्दोलन र गणतन्त्र कांग्रेस नेताको प्रथम राष्ट्रपति बन्ने सपनाको उपज हुन्। धर्मनिरपेक्षता कहीँ कतै राजनीतिक मुद्दा नै थिएन। 

नेपाली कांग्रेस अहिलेकै स्थितिबाट अगाडि बढ्न सम्भव छैन। नेपाली राजनीतिमा पछिल्ला राजनीतिक परिवर्तनका मुद्दाहरू संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता यी सबै वामपन्थीहरूले स्थापित गरेका राजनीतिक मुद्दालाई कांग्रेसले केवल राजनीतिक आवेश, प्रतिक्रिया, सत्ता स्वार्थ वा लहडमा ग्रहण गरेका मात्र हुन् भनेर आत्मसमीक्षा गर्न तयार नहुँदासम्म कांग्रेसले सही बाटो समात्न सक्नेछैन।

बिपी कोइराला प्रजातन्त्रका लागि वामपन्थीहरूसँग कहिल्यै सहकार्य गर्न तयार भएनन्। बिपीको विचार विपरीत कांग्रेसले वामपन्थीहरूसँगको सहकार्यको नतिजा अहिले कांग्रेसले भोग्दैछ। सत्ताधारी नेकपामा विग्रह आयो भने पटके प्रधानमन्त्री बन्न दौरा–सुरुवालमा आइरन लगाएर बसेको नेताले वामपन्थीहरूसँगको सत्ता एवम् राजनीतिक सहकार्य त्यागको निर्णय गर्न स्वीकार गर्ने छैनन् तर युनिभर्सल चर्चको युनिटको रूपमा विकसित हुँदै गरेको वामपन्थीहरूसँग बिपी कोइरालाको विचार र दर्शन बमोजिम सत्ता र प्रजातन्त्रका लागि आयन्दा कांग्रेसले कुनै प्रकारको सहकार्य गर्नेछैन भनेर महासमिति बैठकले स्पष्टसँग राजनीतिक निर्णय लिन जरुरी छ। 

पूर्वसभामुख, शान्ति प्रक्रियाका सहजकर्ता एवं नागरिक अगुवा दमननाथ ढुङ्गानाले दुई साता अगाडि ०६३ वैशाख ११ गते राजा र राजनीतिक दलबीच भएको सहमतिको हिसाब खोइ भनेर प्रश्न उठाएका छन्। यो  विषयमा संविधान बन्दै गर्दा कुरा नउठाएर अहिले किन उठाए भनेर प्रश्न गर्न त सकिन्छ तर जेठ ४ को संसद्को घोषणाको अन्तर्यले पनि ढुङ्गानाको कथनलाई झुठा साबित गर्दैन। यस हिसाबले पनि देशमा संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र कसरी आए भन्ने कुरा बुझ्नलाई गाह्रो पर्दैन।

नेपाली कांग्रेस न वामपन्थी हो, न दक्षिणपन्थी, यो मध्यमार्गी पार्टी हो। उग्रवामपन्थीको त्रास र मनोवैज्ञानिक दबाब, राजाको निरंकुश कदमविरुद्ध लड्ने हिम्मत गुमाउँदा र नेतृत्वको उग्र राजनीतिक महत्वाकांक्षाका कारण कांग्रेस वामपन्थी भाषमा फसेको हो। यसबाट नउम्कने हो भने केवल सत्ता स्वार्थीहरूको झुण्डले चलाएको नेपाली कांग्रेस नाम गरेको एउटा पार्टी निर्वाचन आयोगमा त रहला तर विचार, सिद्धान्त र आदर्शले इतिहासको त्यो गौरवशाली कांग्रेस भने रहँदैन। 

महासमिति बैठकले विगत १२/१३ वर्षको कथित राजनीतिक उपलब्धिको जस आफूले मात्र नलिएर वामपन्थीहरूको भागमा पनि अलिकति छोड्दै प्रस्तावित राजनीतिक प्रस्तावलाई जस्ताको तस्तै पास नगरेर सुधार गर्न सकेन भने महासमिति बैठकको नतिजा निराशा परिणत हुनेछ।

महासमिति सदस्यहरू गुटगत स्वार्थबाट माथि उठेर देश र पार्टीको हितलाई ध्यानमा राखेर एक भएर केन्द्रीय कार्यसमितिले राखेको राजनीतिक लगायतका प्रस्तावमा हस्तक्षेप गर्ने आँट ग-यो, परम्परागत वैदिक सनातन धर्म र संस्कृतिको पक्षमा उभिँदै कांग्रेसलाई विचार, सिद्धान्त, दर्शन र आदर्शको मार्गमा डोहो-याउँदै पार्टीलाई जोगाउन हिम्मतिलो निर्णय लिन सक्यो भने मात्र महासमिति बैठकबाट केही आशा गर्न सकिन्छ, अन्यथा महासमितिको बैठक केवल परम्परा निर्वाह गरेको मात्र ठहरिनेछ। 

प्रकाशित: २ पुस २०७५ ०२:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App