coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

ऐतिहासिक सफलता कि असफलता?

हाम्रो गाउँमा एकजना पञ्च खाइलाग्दा थिए । उनी घरमा ठूला पञ्च एवम भान्जा, ज्वाइँहरू पाहुना आउँदा भरुवा बन्दुक बोकेर कालिजको सिकार गर्न जान्थे । भोलिपल्ट गाउँकै चिया पसलमा उधारो चिया खाँदै दिनभर सिकार खेल्दाको कथा बढो रोचक तरिकाले सुनाउँथे । एक दिन बेलुका पाहुनाको सत्कार गर्न उनी भान्जा र ज्वाइँसहितपालेको वनमा सिकार गर्न गएछन्। प्रायः सिकार खेल्न गइरहने हुँदा कालिज पाउने ठाउँ उनलाई थाहा थियो । त्यसैलेकालिजको गुँडतिर गएर ढुंगामुढा गरेर कालिज उडाए । अनि ५ ब्याट्रीवाला टर्चलाइट बालेर कालिजतिर भरुवा बन्दूकको निशाना सोज्याए । जुन उडिरहेको कालिजको पुछारमा लाग्योे । केही प्वाँख झरे ।त्यसपछि पञ्च महोदय र उनका नातेदार ती प्वाँख समाउँदै सिकारी मामा वा जेठानको बखान गर्दै घरतिर फर्किए र दालभात खाएर सुते । भोलिपल्ट चिया पसलमा ‘झण्डै कालिज नमारेको’ भन्दै गाउँलेका अगाडिबखान लगाउँदैथिए।

उनको सिकार कौशलको बखान गर्दै ज्वाइँले आफ्नो छोरातिर देखाउँदै भनेछन्–यो बाबु जन्मेको वर्षदेखि जेठानले नियमित सिकार खेल्नु भएको छ तर प्रत्येक पटक कालिज त बालबालमात्रै बच्ने गरेको छ । कालिज नमरे पनि जेठानको निशाना भने मान्नैपर्छ । अब अर्को साल मेरा छोरा बुहारी मामाघर आउँदा त पक्कै कालिजको मासु खाएर जान्छन् भन्दै जेठानले बखान गर्थे । उधारो चियाको चुस्की लिँदै गाउँघरका सबै हलल्ल हाँस्छन्। उनका आसेपासे र धुपौरेहरू उनको प्रशंसामा थप शब्द फलाक्छन्। उनको अक्षमताबारेजानकारहरू भने घुमाउरो पारामा व्यंग्य गर्थे ।कुनै जमानामा उनबाट सिकारी विद्या सिक्ने संभावना देखेर उनका पछि लागेका गाउँका युवा उनलाई चरम अक्षम र गफाडी सिकारी ठान्छन् । आफ्नो लोकप्रियता घटेकामा ग्लानि भए पनि ग्लानि भएको छनक नदिई अत्यन्तै आत्मविश्वासका साथ आफूलाई निकै रणकौशल सिकारी भएझैँ अहिलेसम्मका प्रयासबाट आफूलेनिकै सिकेको र अर्कोपटक फरकै नपर्ने धारणा बडो गर्वका साथ व्यक्त गर्थे।

सरकारको भावना र चाहना पवित्र र सकारात्मक भए पनि यतिञ्जेलसम्मको भूमिकाका हिसावले सरकारको भूमिका ठ्याक्कै तिनै सिकारीको झैँ भएको छ । भरुवा बन्दूक भने लगातार पड्किरहेको छ तर बारुद, गोली र समय मात्रै बर्बादी ।मासु भात खाने भान्जा र ज्वाइँको चाहना व्यर्थ भएझैँ सुशासन, विकास र कानुनी राज्यको चाहना मृगतृष्णा भएको छ । सही निशाना र सिकार कौशलताको अभाव र वर्षौँदेखिको गलत प्रयास अनि प्रयोगका कारण सिकारीले व्यर्थमा स्रोत र समय बर्बादी गरेझैँ वर्तमानका तीनै तहका सरकारले पनि विकासको सही प्राथामिकता पहिचानको अभावमा स्रोत, साधन र समयमात्रै बर्बादगरिरहेका छन् । यो अवस्था जति जति लम्बिँदै जान्छ, त्यति नै यी सरकारहरूप्रति जनगुनासा र आक्रोश बढ्दै जानेछन् । यी सरकारको असफलताले सरकारमात्रै असफल हुने छैनन्,यो असफलता सिंगो कम्युनिस्ट पार्टीको असफलताको प्रतीकका रूपमा रहनेछ।

यो सरकार भनेको प्रधानमन्त्री नेतृत्वको मन्त्रिमण्डल र कर्मचारीतन्त्रको समूहमात्रै होइन । यो सिंगो कम्युनिस्ट पार्टी र संघीय समाजवादी पार्टीहरूको सरकार हो । सरकारको असफलतासँगै कम्युनिस्ट र संघीय समाजवादी पार्टीको भविष्य पनि चौपट हुनेछ । समय जान केहीबेर लाग्दैन । सरकारको पहिलो त्रैमासिक बजेट खर्च हेर्दा यो निकै निराशा लाग्दोछ र यो विगतको कामचलाउ सरकारकै हाराहारीमा छ । यतिबेला सरकारको नीति तथा कार्यक्रम र बजेटले मार्गनिर्देश गरेको कार्यक्रम चरम असफल भएको प्रमाणित भएको छ । बारम्बार सरकार चलाएको अनुभव र जनताको बीचबाट अनुमोदित सरकार भएपनि अवैज्ञानिक, अव्यावहारिक र असान्दर्भिक नीति तथा कार्यक्रम अनि बजेट प्राथमिकताका कारण प्रधानमन्त्रीको ‘सुखी नेपाली, समृद्ध नेपाल’ को अभियान खल्लोमात्रै भएको छैन, प्रधानमन्त्रीको निष्ठा, चाहना, इच्छा र सिंगो कम्युनिस्ट पार्टी अनि संघीय समाजवादी फोरमको विश्वासनीयता र प्रभावकारितामा मात्रै होइन, औचित्यमै प्रश्न उठेको छ।

अवैज्ञानिक, अव्यावहारिक र असान्दर्भिक नीति तथा कार्यक्रम अनि बजेट प्राथमिकताका कारण प्रधानमन्त्रीको ‘सुखी नेपाली, समृद्ध नेपाल’ को अभियान खल्लो भएको छ।

विकासबारे सरकारको बुझाइ त्रुटिपूर्ण छ । सरकारले ठूला विकासका योजनालाई प्राथामिकतामा राखे पनि वर्तमानमा व्याप्त कानुनी अन्योल र निर्णायक तहमा भएकाको संकीर्ण सोच अनि अक्षमताका कारण परियोजना छनोट, निर्माण, अनुगमन आदिमा भएको अन्योलले गर्दा भौतिक विकासको लक्ष्यप्रति जनताको विश्वास पलाएको छैन ।जनस्तरमा अझै केही वर्ष यो अन्योल कायमै रहनेछ । सरकारले विकासका लागि सीमित सरकारी बजेटमात्रै गणना गरेकाकारण देशमा रहेको प्राकृतिक, सांस्कृतिक, सांगठानिक, समाजिक स्रोतहरूको सदुपयोग हुन सकेको छैन र सरकार एकलकाटे भएको छ । यो सरकारले विकासलाई सडक, पुल, डोजर, रेलमार्ग, जहाज तथा एयरपोर्टमा मात्रै गणना गरेको छ । जसले गर्दा सरकार चरम असफलतातर्फ निर्देशित भएको देखिन्छ । विकासबारे त्रुटिपूर्ण बुझाइ र गलत प्राथमिकताका कारण जनताले परिवर्तन महसुस गर्न नसकेकालेसरकारको अलोकप्रियता बढ्दोछ  । त्यत्रो त्याग र बलिदानपश्चात बनेको यति शक्तिशाली सरकारले जनताका दैनिक जीवनमा प्रभाव पार्ने कुनै कार्यक्रम ल्याउन नसक्नु दुःखद यथार्थ हो । जतिसक्दो छिटो सरकारले जनताको दैनिक जनजीवनमा प्रत्यक्ष प्रभाव पार्ने कार्यक्रमहरू प्राथमिकताका साथ सञ्चालन गर्छ तबमात्रै जनताको आस्था÷भरोसा यो सरकारले प्राप्त गर्नेछ । स्मरण रहोस्,लहड र सनकमा सरकार सफल हुँदैन।

सरकार सफल हुनुमा सरकारको नीति तथा कार्यक्रमलाई सिंगो कर्मचारी संयन्त्र, नेपाल कम्युनिस्ट पार्टी र संघीय समाजवादी पाटीले स्वामित्व लिनुपर्छ । नेपाली समाजले यो सरकारसँग आशा र भरोसा गरेको कुरा भनेको समाजिक न्याय हो । यदि समाजिक न्यायको सुनिश्चितामा यो सरकार चुक्यो भने सरकारप्रति नेपाली जनताको आशा र भरोशा टुटेर जानेछ र सिंगो देश निराशाको भूमरीमा जकडिनेछ । त्यो निराशाले सिर्जना गर्ने परिस्थिति एकदम कहालीलाग्दो हुनेछ । हाम्रो सामाजिक संरचना, कर्मचारीतन्त्र र राजनीतिक पार्टीहरूमा अत्याधिक प्रतिगामी सोच हावी छ । यहाँ परिवर्तनलाई संस्थागत गर्ने र अग्रगामी कार्यक्रम सञ्चालन गर्ने भन्दा पनि यथास्थितिमा रमाउने र समय बर्बाद गर्ने परमपरा हावी छ । परिस्थितिमा सकारात्मक प्रभाव प्रवाह गर्न तीनै तहको सरकारको प्रभावकारिताका लागि प्रधानमन्त्रीको हस्तक्षेपकारी भूमिका आवश्यक छ। तीनै तहका सरकारको साझा दृष्टिकोणको अभावमा सरकार निष्प्रभावी हुँदै गएको वर्तमान अवस्थामा सरकारको सफलताका लागि तीनै तहका सरकार प्रमुखकोे साझा दृष्टिकोण निर्माण गर्न सरकार प्रमुखहरूको बृहत्तर सम्मेलन गरेर विकासका प्राथमिकता निर्धारण गरी नयाँ रणनीति निर्माण गर्न प्रधानमन्त्रीले नेतृत्वदायी र हस्तक्षेपकारी भूमिका खेल्नुपर्छ।

तीनै तहका सरकारी काम–कारबाहीका कारण प्रधानमन्त्रीको निष्ठा, चाहना, इच्छा र सिंगो कम्युनिस्ट पार्टी अनि संघीय समाजवादी फोरमको विश्वासनीयता र प्रभावकारितामा मात्रै होइन, औचित्यमै प्रश्न उठेको छ।

सरकारको शक्तिका रूपमा रहेको नेपाल कम्युनिस्ट पार्टी र संघीय समाजवादी पार्टीको जनाधार, १० औँ लाख विद्यार्थी, गाउँगाउँमा भएका आमा समूह, सामुदायिक वन उपभोक्ता समूह जस्ता संगठित जनशक्तिको सदुपयोग गरेर गाउँ तथा नगर सरसफाइ, जातीय छुवाछूत, दाइजो, बोक्सी, छाउपडी, बालविवाह भ्रष्टाचार जस्ता कुरीतिहरू अन्त्य गर्ने अभियान सञ्चालन गर्न आवश्यक छ । त्यसैगरी संगठित समूहहरूमा स्वयम्सेवाको भावना विकास गराएर भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, गैरकानुनी कार्य निमिट्यान्न पार्न सञ्चालन गरिने अभियानले सरकार र जनतालाई जोड्नेछ।

नयाँ संविधानले प्रदत्त गरेका मौलिक हक अधिकारको संरक्षण गर्नु यो सरकारको पहिलो कर्तव्य हो भने ती मौलिक हक अधिकार के के हुन् भन्ने कुरा हरजन–जनलाई जानाकारी गराउने काम पनि यही सरकारको हो । स्मरण रहोस्, जबसम्म जनताले संविधान र कानुनबारे स्पष्ट जानकारी पाउँदैनन् तबसम्म जनता स्वयं मौलिक हकको दाबी र प्रयोग गर्न सक्दैनन् । यदि जनताले मौलिक हक दावी गरेर ती हक सदुपयोग गर्न सकेनन् भने यो सरकार र विगतका सरकारमा केही पनि फरक हुँदैन । त्यस कारण हरनागरिकलाई नयाँ संविधान, नयाँ कानुन र नयाँ संविधानले व्यवस्था गरेको शासकीय स्वरूपबारे जानकारी गराउने दायित्व र जिम्मेवारीलाई अत्यन्तै जिम्मेवारी र महत्वका साथ पूरा गर्नुपर्छ। प्रत्येक नेपाली नागरिकका लागि यो सरकार सफल हुन जरुरी छ । त्यसकारण समय छँदै प्रधानमन्त्रीले नयाँ रणनीति अवलम्बन गर्न जरुरी छ।

सरकारको विरोधमा जनउभार सडकमा नआउला तर यो सरकारबाट जनताले आश गर्न छाडे र सरकार सीमित व्यक्तिको रोजगारीको माध्यममात्रै हो भन्ने मान्यता विकास भयो भने नेपाली राजनीतिको सबैभन्दा दुर्भाग्य अवस्था हुनेछ । राजनीतिलाई पवित्र र उच्च बनाउन सरकारले विकासलाई पुनः परिभाषित गरेर नयाँ रणनीति तय गरोस् । शुभकामना।
        प्रमुख कार्यकारी अधिकृत, इस्टर्न रिसर्च इन्स्टिच्युट अफ पोजिटिभ साइन्स

प्रकाशित: २७ कार्तिक २०७५ ०२:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App