१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

मानव अधिकार आन्दोलनमा क्षति

नेपालको आधुनिक मानव अधिकार आन्दोलन क्षेत्रका मूर्धन्य पद्मरत्न तुलाधरको पार्थिव अवशान भएको छ । उहाँ लेखक, भाषासेवी, सामाजिक अभियन्ता र राजनीतिकर्मीसमेत हुनुहुन्थ्यो । नेपालमा मानव अधिकारको विषयले निकै पछि प्रवेश पाएको हो । यद्यपि लखन थापाको विरोधको स्वर हुँदै कृष्णलाल अधिकारीको मकै पर्वसम्म आउँदा स्वतन्त्रताका बाछिटाले नेपाली समाजलाई भिजाउन लागिसकेको बुझ्न सकिन्छ । योगमायाको योगदान मानव अधिकारका मूल्यमा बेजोड छ। योगमायाका विषयमा त निलम निहारिकाको‘योगमाया’ ले सामाजिक आन्दोलनमा तरंग ल्याउनसक्छ । सय वर्षपहिलेको नेपाली समाजमा मानव अधिकारको कुनै व्याख्या र परिभाषा भएकै थिएन। अन्तर्राष्ट्रिय समुदाय पनि यसमा स्पष्ट थिएन । त्यस अवस्थामा पनि योगमायाले सामाजिक जागरणकालागि पाएको कष्ट र गरेको तपस्या रोमाञ्चकारी छ । त्यो वर्णन गर्ने सामथ्र्य, कला र साधनाका लागिनिहारिकाको प्रशंसा गर्नैपर्ने हुन्छ।

मानव अधिकारका सन्दर्भमा कृष्णप्रसाद कोइरालाको योगदान बिर्सन सकिन्न । उनले निरंकुश राणासत्तालाई कम्पित तुल्याउँदै गरिबहरूको थोत्रो कपडा पार्सल गरी शासकको हातमा ससन्देश पु¥याएका थिए ।त्यसपछिका दिनमा राजनीतिक जागरणले नेपाली समाजलाई अधिकार, स्वतन्त्रता तथा सामाजिक न्यायप्रति निरन्तर उत्प्रेरित गर्दै लगेको छ । राजा जयपृथ्वीनारायणले नेपालमा राजनीतिक सोचका साथ मानव अधिकारका मूल्यलाई केही आधार प्रदान गरेका थिए । उनले मानव अधिकारका मानकहरूको व्याख्या गर्दै नेपालीले स्वतन्त्रता, समानता र अधिकार पाउनुपर्ने वकालत गरेका थिए । यी व्यक्तिगत अभियानको शृंखला अब सामूहिकतामा परिवर्तन हुनपुगेको छ । नेपाल मानव अधिकारको विश्व समुदायको सदस्य भएको छ । राज्य पक्ष भएर धेरै घोषणा, सन्धि, अभिसन्धि र संयन्त्रप्रति नेपालको प्रतिबद्धता भइसकेको छ । आन्तरिक राजनीतिक नेतृत्वले मानव अधिकारका मूल्यलाई आफूअनुकूल र अवस्थाअनुकूल परिभाषित गर्दै आत्मकेन्द्रित सोच बनाएको भए पनि मानव अधिकारका विश्वव्यापी सिद्धान्तको अपव्याख्या हुनसक्दैन।

तुलाधरको शालीनता, सहयोगी व्यक्तित्व हरेक राजनीतिकर्मी, सामाजिक अभियन्ता, सञ्चारकर्मी र लेखक साहित्यकारका निम्ति अनुकरणीय छ।

पद्मरत्नको योगदानलाई बहुकोणबाट मूल्यांकन गर्न सकिन्छ । केही महत्वपूर्ण सन्दर्भमा उहाँलाई निरन्तर स्मरण गरिरहनुपर्ने हुन्छ । कतिपय विवादास्पद अभिव्यक्तिले उहाँको आलोचना पनि भयो ।तुलाधर एक सञ्चारकर्मी भएको समयमा यो पंक्तिकारले उहाँलाई कुनै दिन कम्पोज गर्दै अखबारका पाना भर्दै गरेको देखेको थियो । पहिलो परिचय त्यहीँबाट भयो । आफैँ प्रेस मालिक, कम्पोज गर्ने, सम्पादन गर्ने, मेसिन चलाउने सबै क्षमता र सिप थियो । किशोर नेपालको सम्पादनमा प्रकाशित देशान्तर साप्ताहिक केही दिन उहाँकै प्रेसबाट प्रकाशित भएको थियो भने मेरै सम्पादनमा प्रकाशित नेपाल वाणी साप्ताहिक पनि निकै दिन त्यही प्रेसमा छापियो । तुलाधरको शालीनता, सहयोगी व्यक्तित्व हरेक राजनीतिकर्मी, सामाजिक अभियन्ता, सञ्चारकर्मी र लेखक साहित्यकारका निम्ति अनुकरणीय छ । विनम्र स्वभाव र भावुक हृदयले द्रविभूत गराउने कला उहाँमा पर्याप्त थियो।

पद्मरत्न अंग्रेजी साहित्यको ज्ञातादेखि नेपाल भाषाको विशेषज्ञ साधक, नेपाली भाषाको मर्मज्ञ र भाषा साहित्यको, संस्कृतिको उत्थानमा समर्पित हुनुहुन्थ्यो । नेपालको मानव अधिकार आन्दोलनमा सहभागी हुनुभन्दा शायद पहिलेदेखि नै वामपन्थी राजनीतिमा उहाँको झुकाव थियो । २०४३ को राष्ट्रिय पञ्चायत निर्वाचनमा सूर्य चिह्न लिएर भाग लिएपछि तुलाधरको फरक व्यक्तित्व प्रकट भयो । भूमिगत नेकपा मालेले निर्दलीय पञ्चायतमा सहभागी हुने निर्णय गरेपछि जनपक्षीय उमेदवारका रूपमा केही स्थानमा वाम समर्थक उमेदवार उठेका थिए । जसमध्ये झापामा द्रोणप्रसाद आचार्य, मकवानपुरमा विरोध खतिवडा, चितवनमा भीमबहादुर श्रेष्ठ कास्कीमा सोमनाथ प्यासी अधिकारी र भक्तपुरमा कर्ण ह्योजुथिए । त्यतिबेला राजधानीमा पद्मरत्नले परिवर्तनका पक्षमा मत माग्नुभएको थियो।

उहाँको लोकप्रियता एकताकाका वाम नेताहरूमनमोहन अधिकारी, पुष्पकमल दाहाल वा खड्गप्रसाद ओलीकै जस्तो थियो । यद्यपि २०६३ यताको उतारचढावमा अनेकरूपमा प्रकट भएका पुष्पकमलको केही उचाइ घटेपनि राजनीतिको लहरमा अरुभन्दा अग्लो आकर्षण उनीसँगै देखिएको छ । केपी ओली माओवादी हिंसा विरोधी अभिव्यक्ति हुँदै सुशील कोइरालाको राष्ट्रवादी अडानबाट उत्पन्न प्रतिक्रियाको सामना गर्दा आकर्षणको केन्द्रमा पुगेका थिए । तर आजको दिनमा सबै राजनीतिक अनुहारको लस्करमा पुष्पकमल समान कोही पनि आकर्षणको केन्द्रमा छैनन् । केही दिनपहिले नेपाली कांग्रेसले आयोजना गरेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा उपस्थित प्रेस र जनलहर उनीपट्टि अकस्मात् सर्लक्क पल्टिएको दृश्य रोमाञ्चक थियो । माओवादी हिंसाको विद्रूप सदा निन्दनीय छ । सामन्ती, दलाल पुँजीपतिविरुद्ध लगाएको नाराको आवरणमा साधारण नागरिक, किसान, श्रमजीवी, शिक्षक, प्राध्यापक, सामान्य कर्मचारी र तल्लो तहका सुरक्षाकर्मीदेखि सामान्य व्यवसायमा संलग्न महिलाको समेत क्रूर हत्या माओवादीको कलंकपूर्ण कृत्य नै हो । त्यसमा पनि क्रान्तिका नाउँमा उत्तेजित गराउँदै सामान्य नागरिकका सन्तानलाई युद्धभूमिमा आहुति दिने र आफ्ना सन्तानको सुरक्षा गर्ने हिंसात्मक कारबाहीहरूको जति निन्दा गरे पनि कम हुन्छ।

एक समय पद्मरत्नको लोकप्रियता र आकर्षण आजका पुष्पकमलको जस्तै थियो तर उहाँ२०६३ को जनआन्दोलनपछि भने छायाँमा पर्नुभयो ।

करिब २ सय आफ्ना होनहार सदस्य गुमाएको नेकपा एमालेले क्रूर हत्याको सिकार भएकाको त्यस परिवारका सदस्यको चित्त कसरी बुझाउने? त्यो फरक कुरा हो । तर पनि माओवादी र एमालेबीच लय मिलेको अवस्था छ । एकताकाका केपी ओलीलाई पञ्चायतकालीन सूर्यबहादुर थापाजस्तै भनी टिप्पणी गर्ने प्रचण्ड र हिंसाको आहालमा हात धुनेहरूसँग सहकार्य हुननसक्ने भनी यो वा त्यो कोणबाट माओवादी र यसका नेता दाहालमाथि निरन्तर प्रहार गर्ने ओलीका बीचमा लय मिल्नु आफैँमा आश्चर्यजनक छ । यी सबै घटनालाई जुन कोणबाट हेरे पनि अहिले पुष्पकमल अरु कुनै नेताभन्दा आकर्षणको केन्द्रमा देखिनुभएको छ । अर्थात् एकसमय पद्मरत्नको लोकप्रियता र आकर्षण आजका पुष्पकमलको जस्तै थियो तर उहाँ २०६३ को जनआन्दोलनपछि भने छायाँमा पर्नुभयो । उहाँको आफ्नै इच्छा हो वा कार्यकारण परिस्थितिका कारण उहाँ राजनीतिक दृश्यपटलबाट अल्पिनुभयो।

पद्मरत्न नेपालको मानव अधिकार आन्दोलनमा अत्यन्त सक्रिय रहनुभयो । साथै तुलाधरको राजनीतिक छवि पनि कमजोर छैन ।२०४६ सालमा संयुक्त वाम मोर्चा गठन गर्न र आन्दोलनलाई आधार प्रदान गर्नमा उहाँको भूमिका महत्वपूर्ण रह्यो । राष्ट्रिय पञ्चायतको सदस्य भएर पनि निरन्तर सदनमा पञ्चायतलाई क्षति पु-याउने अभिव्यक्ति दिनु सरल थिएन । सदनमा कहिले रुने र कहिले भावुक भएर जनताको अवस्था चित्रण गर्ने कला उहाँमा थियो । २०४६ को परिवर्तनपछि गठित एमालेमा आबद्धता जनाउँदै आफूले विगतमा लिएको सूर्य चुनाव चिह्नमा सोही पार्टीबाट२०४८ मा उमेदवार भई तुलाधरले नेपालको लोकतान्त्रिक आन्दोलनको एक अविस्मरणीय महिला नेतृ मंगलादेवी सिंहलाई पराजित गर्नुभएको थियो । निर्दलीय निरंकुशता फाल्न नायकत्व गर्नुभएका जनआन्दोलनका कमान्डर गणेशमान सिंहको तेजोवध गर्न चाहने सबै शक्तिले तुलाधरलाई समर्थन गरेका थिए । यसले तुलाधरको रहस्यमय राजनीतिक व्यक्तित्व छ भन्नेका लागि जमिन प्रदान गरेको थियो।

तर तुलाधर निरन्तर राजनीतिमा सक्रिय हुँदै गएर २०५१ को निर्वाचनमा विजयी भई स्वास्थ्यमन्त्रीसमेत हुनुभयो ।त्यहीबेला कलैयामा सम्पन्न नेपाल मानव अधिकार संगठनको महाधिवेशनलाई सम्बोधन गर्दै तुलाधरले अधिकारको व्याख्या गर्ने क्रममा हिन्दुले पूजा गरेका र राष्ट्रिय जनावर गाई काटेर खाने अधिकार अरु समुदायलाई दिनुपर्छ भन्नुभएपछि त्यो विवादास्पदमात्र भएन, यही कारण उहाँले राजीनामा नै दिनुप-यो । उहाँको त्यस भनाइका कारण झण्डै साम्प्रदायिक उग्रताले प्रवेश पाएको थियो तर राजीनामापश्चात् मत्थर भयो । जातीयताबाट राजनीति गर्ने र समुदायबीच द्वेष फैलाउने काम निश्चय पनि घातक हुन्छ । पद्मरत्न जस्तो बौद्धिक व्यक्तिले सामाजिक मनोविज्ञानको उपेक्षा गर्नु उपयुक्त थिएन । कलैया प्रकरण शान्त पार्न नेपाल मानव अधिकार संगठनका संस्थापक सभापति ऋषिकेश शाहलाई हम्मे परेको थियो । कलैया यसै पनि अत्यन्त संवेदनशील स्थान मानिन्छ । जातीय र धार्मिक संवेदनशीलता बुझ्न नसक्दा हुन सक्ने दुष्परिणामहरूको मूल्य चुक्ता गर्नुप-यो भने सबै परिवर्तन निष्फल हुनसक्छन्।

पद्मरत्नले पछिल्लो चरणमा शान्ति प्रक्रियामा माओवादीलाई ल्याउन गरेको प्रयास प्रशंसनीय छ । उहाँको हलजोडीका रूपमा विचारक दमननाथ ढुंगानाको योगदान अवमूल्यन हुनसक्देैन ।  यद्यपि माओवादी निकट रहेर तुलाधरले काम गरेको आरोप पनि नलागेको होइन । तर हिंसाको दलदलमा फसेको राष्ट्र र जनतालाई शान्तिको महासमुद्रमा खेल्ने वातावरण निर्माण गर्नमा तुलाधरको योगदान स्मरणीय हुन्छ । यद्यपि शान्ति प्रक्रियामा राजनीतिक इच्छाशक्ति नै पहिलो विषय हो । राजनीतिक इच्छाशक्तिबेगर माओवादीशान्ति प्रक्रियामा आउनु र माओवादीलाई मूलधारमा स्थान मिल्नु दुवै सम्भव थिएन । राजनीतिक इच्छाशक्तिलाई जाग्रत गर्नमा तुलाधर र ढुंगानाको जस्तै गरी अरु धेरैले त्यस समय आफ्नो क्षमता खर्च गरेका हुन् । ती सबैको समवेत प्रयत्नले आजको अवस्था सिर्जना हुनपुगेको छ । हामी धेरैका आदरणीय पद्मरत्नको पार्थिव अवशानले एउटा कालखण्डको अभ्यासमा रिक्तता थपिएको छ । यसबेला दिवंगत तुलाधरप्रति श्रद्धाञ्जलिका साथ परिवारजनमा समवेदना दिनुबाहेक कुनै शब्द छैन।

प्रकाशित: २१ कार्तिक २०७५ ०४:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App