६ वैशाख २०८१ बिहीबार
विचार

रसुवाको पीडा

हिमाली जिल्ला रसुवा राजधानीबाट नजिक भएर पनि विकासका निकै दृष्टिले पछि परेको छ । भूकम्पपछि त यहाँको जनजीवन झनै खस्केको छ । भूकम्पले माववीय, भौतिक मात्र नभई सांस्कृतिक, आर्थिक, क्षेत्रमा पनि ठूलो क्षति भएको छ । प्राकृतिकरूपमा पनि धेरै नोक्सानी भएको छ । यसअघि पनि समान ढंगले विकासमा गति लिन नसकेको रसुवा अघि नबढ्नुका पछि धेरै कारण छन् । देशले छुट्याउने बजेटदेखि मुख्य कारणचाहिँमुलुकको  राजनीतिक अस्थिरता नै हो। 

अहिले निकै धराप सडकले चीन जोड्ने मुलुकको एकमात्र नाका रसुवागढीले धानेको छ । यात्रीहरू दैनिकरूपमा जोखिम मोलेर बस र अन्य गाडीमा यात्रा गर्नुपर्ने अवस्था छ ।त्यसैले दिनहुँजसो दुर्घटना हुने गरेका छन् । त्यसैले रसुवागढीसम्म सेवा दिने यातायात व्यवसायी अहिले निराश हुन थालेका छन् । छिटफुटरूपमा सुनिने गरेको चोरी निकासीको चर्चा र सडकको दुरावस्थाले यो नाकाको भविष्य अन्योल जस्तै देखिएको छ । यहाँबाट उठ्ने राजश्वको केही हिस्सा लगानी गरेर भए पनि यहाँको सडक बिस्तार गरेरमात्र नाका सुचारु गर्नुपर्ने देखिन्छ।

रसुवामा अर्को सम्भावना रहेको जलविद्युत् हो ।त्यसबाहेक पर्यटन र जडीबुटी, कृषि, पशुपालन जस्ता कुराले गति पाउन सकेमा भूकम्पले थिचिएका गरिब रसुवालीहरूको मुहार हँसिलो हुन सक्थ्यो । त्यसका लागि सर्वप्रथम त सुरक्षित बाटोको विकास नै पहिलो हो । बाटो निर्माण गर्दा रसुवाको भूभागमा जताततै पहिरो जाने गरेको तथ्य पनि बिर्सनु भएन । लाङटाङ, गोसाइँ–कुण्ड जस्ता धेरै धार्मिक पर्यटकीय स्थल, रेडपाण्डा, हिम चितुवा जस्ता वन्यजन्तु , जैविक विविधता प्रकृतिको संरक्षण गरी भावी पुस्तामा पनि हस्तान्तरण गर्ने हाम्रो अभिभारा हो भन्ने तथ्य बिर्सनु हुन्न।

खासगरी भूकम्पपछि यहाँका दलित, गरिब, भूमिहीन, सुकुमवासी, गुठीपीडित आदिबढी नै पीडित भए । वर्षौँदेखि गरिबीको रेखामुनि रहेकाहरूले झनै आफ्नो थातथलो नै छाड्नुपर्यो । हाकु, डाडागाउँ र राम्चेका नागरिकले यतिबेला बिस्थपित जीवन जिउनुपरको छ । असरल्ल पाखामा रहेका बिस्थापितहरूआवास निर्माण अनुदान सम्झौतामा सहभागी हुन पाइराखेका छैनन् । त्यस्तै निमुखाहरूको घर घरमा गएका प्राविधिकले सर्वेमा धेरै त्रुटि गरिदिएकाले सम्झौतासमेत गर्न पाएनन् । जसले गर्दा गाउँगाउँमा धेरै वास्तविक पीडितहरू अनुदानको पहिलो किस्ता पाउनबाट पनि वञ्चित भएका छन्।

अर्कोतर्फ जिल्लामा रहेको अनुपम प्राकृतिक सुन्दरतासँगै अधिकतम स्रोतको उपयोग हुन सकेको छैन । यहाँ प्राकृतिक स्रोतको विविधतासँगै पर्यटन क्षेत्रको ठूलो सम्भावना छ । यहाँको हिमाली क्षेत्रमा जडीबुटी खेतीको विस्तार गरी करोडौँआम्दानी लिन सकिने विभिन्न अध्ययनले देखाएका छन् । तर ती अध्ययनभन्दा माथि उठ्न सकेका छैनन्।

हरेक वर्ष करोडौँरकम जिल्लामा भित्रन्छ । त्यो रकम कहाँ कसरी उपयोग भइरहेको छ ? त्यसको लेखाजोखा कहिल्यै हुँदैन । सडकको विकासमा पनि बर्सेनि धेरै रकम खर्च नभएको हैन तर प्रतिफल हेर्दा लाग्छ, यो सबै बालुवामा पानीसरह भइरहेको छ । यहाँको पासाङल्हामु सडकमा निरन्तर हुने दुर्घटना नै यसको मुख्य कारण हो । सूचना सञ्चारको क्षेत्रमा पनि यो राजधानीसँग नजिक भएर पनि निकै दरिद्र छ ।यसरी रसुवामा धेरै चुनौती छन् साथै अवसर पनि । गरिब किसानका भूमिसम्बन्धी समस्या समाधान गरी जिल्लामा प्रतिबद्ध र कर्तव्यनिष्ट अनि आँट भएका व्यक्तिहरू एक झमट जुर्मुराउने हो भने साँच्चै रसुवालीको मुहार फेरिन सक्छ।

प्रकाशित: २४ आश्विन २०७५ ०३:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App